स्टारडममा फेरिएको मानक
हाम्रा पुराना फिल्मले त्यस समयको कथा भन्छ, जुन आफ्नै ढंगको सुन्दर थियो । फिल्मको स्टाइल बदलियो, सुगन्ध अझै उस्तै छ । समयको दा“तीमा धेरै स्वरूप बदलिएका छन् । नायकनायिका पुराना भएका छन् । पाँच दशक बूढो सिनेमा पनि पुरानिएको छ । समयले नै समाजमा स्थापित मान्यता विस्थापित गराउँदै नयाँ मानक स्थापित गराउँछ । समयसँगै नेपाली ग्ल्यामर उद्योगमा पनि स्थापित पुराना धेरै मान्यता भत्किँदै र नयाँ स्थापित हुँदै गएका छन् । कुनै समय यस्तो थियो, सिनेमामा हिरो बन्न जिम गरेर गठिलो बनाएको अग्लो शरीर, सिल्की कपाल, नृत्यमा पारंगत आकर्षक अनुहार खोजिन्थ्यो । एउटै हिरोले दर्जनौं खलपात्रलाई रामधुलाइ गरेर हिरोइन आकर्षित गर्नुपथ्र्यो, अनि हिरोइनसँग पाखापखेरा र पार्कहरूमा थुप्रै कोरसबाट घेरिएर कम्मर मर्काइमर्काई नाच्नुपथ्र्यो ।
नेपाली सिनेमाको ‘गोल्डेन इरा’मा जन्मिएका शिव श्रेष्ठ, भुवन केसी, राजेश हमालले उद्योगमा हिरोको आ–आफ्नै मान्यता स्थापित गराए । यसअघिसम्म हिरोको ‘स्टारडम’ नेपाली सिनेमा उद्योगमा स्थापित थिएन । ‘भुवन स्टाइल’, ‘शिव स्टाइल’, ‘राजेश स्टाइल’मा उनीहरूका फ्यान बजारमा देखा परे । शिवको मुक्का, राजेशको रिसाहा रौद्ररूप अनि कपाल र भुवनको डिंगो बुट उनीहरूका फ्यानका लागि नक्कल गर्ने विषय बने । सिनेमामा भुवनले लगाएको डिंगो बुटको रङ अनि डिजाइनका जुत्ता खोज्न पसलहरूमा ग्राहकको भीड बढ्न थाल्यो भने सैलुनमा राजेशको स्टाइलमा कपाल काट्ने युवा । तर, झन्डै तीन दशक एकछत्र राज गरेका यी तीनैजना हिरोले नृत्यमा भने आफूलाई अब्बल देखाउन सकेनन् र नृत्यपरक सिनेमाका लागि उनीहरूको विकल्प खोज्न थालियो । यही क्रममा देखापरे— श्रीकृष्ण श्रेष्ठ, दिलीप रायमाझी, सुशील क्षेत्री, रमेश उप्रेती । यो समयमा आएर हिरोको परिभाषा अलिकति बदलियो र दुई धार देखा परे । एउटा, भुवनहरूले स्थापित गरेको आफ्नै स्टारडम अनि अर्को, नृत्यमा पारंगत श्रीकृष्णहरूले ल्याएको चकलेटीपन । यी दुवै मान्यता एकसाथ स्थापित भए र धेरै सिनेमा बने । सिनेमाको बजार निकै विस्तार पनि भयो ।
यी दुई धारको हिरोइज्म चलिरहेकै बेला सिनेमा उद्योगमा एक्कासि अर्को ठूलो परिवर्तत आयो— ‘पिँजडा’ चलचित्रमार्फत निखिल उप्रेतीको प्रवेश । हिरो बन्ने पुरानो मान्यतामा अझै परिवर्तन आयो । अब हिरो बन्न फाइट र डान्स मात्रै होइन, साहस पनि चाहिन्छ भन्ने आवश्यकता महसुस गराए निखिलले अनेकौं स्टन्ट गरेर । कहिले नौ तलाबाट हामफाल्ने त कहिले ठाडो भित्तामा कुद्ने, कहिले आगोसँग खेल्ने दृश्य दिएर उनले आफूलाई छोटो समयमा ‘स्टन्ट हिरो’का रूपमा स्थापित गराए । हिरोको यही परिभाषालाई निरन्तरता दिँदै उद्योगमा भिœयाइएका विराज भट्टले पनि ६ फुटे शरीर, फराकिलो छाती र मुक्का बजारेरै आफ्नो हिरोइज्म प्रमाणित गरे । उनीहरूको स्टन्ट स्टाइल केही समय हट केक नै बन्यो ।
प्रविधिको विकास, दर्शकको फेरिएको स्वाद अनि नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजारीकरणले पछिल्लो समय नेपाली चलचित्र उद्योगमा स्थापित हिरोइज्मका पुराना सबै मान्यतालाई परिवर्तन गरिदिएको छ । अब मुक्का हानेर दर्जनौं खलपात्र ढाल्दैमा हिरोइन पट्टिनेवाला छैनन् । न त भुवनको डिंगोले काम गर्नेवाला छ, न त राजेशको कपालले नै । अहिलेका दर्शक दौरासुरुवालमाथि डिंगो बुट लगाएर चलचित्र ‘सपना’मा नाचेका भुवन खोज्दैनन् । उनीहरूका आँखा चलचित्र ‘ड्रिम्स’मा लजाउँदै मुस्कुराइरहेका कलिला अनमोल खोजिरहेका छन्, र खोजिरहेछन् प्रदीप खड्का, पल शाहहरूलाई । चलचित्रको मूलधार अहिले यिनै ‘चकलेटी’ र ‘क्युट’ युवाको पछि लागेको छ । एकपछि अर्का निर्माताले उनीहरूको ‘भाउ’ बढाइरहेका छन् । स्वदेशमा मात्रै होइन, विदेशमा समेत छायांकनको अफर गरिरहेका छन् ।
‘हिम्यान हिरो’पछि आएका यी चकलेटीहरूले एकातिर आफ्नो बजार तताइरहेका छन् भने अर्कोतिर रंगमञ्चबाट आएका अभिनेताहरू पनि पर्दामा हिरो बन्न सक्छन् भन्ने प्रमाणित गरिदिए— सौगात मल्ल, दयाहाङ राई र विपिन कार्कीहरूले । ‘लुट’का ‘फोहोरी सौगात’, ‘नेप्टे दयाहाङ’ अनि ‘जात्रा’का ‘नालायक ज्वाइँ’ विपिन हिरोको ‘ब्रन्ड’ बन्लान् भन्ने अड्कल कमैले काटेका थिए । तर, उनीहरूले ‘मुक्केबाज’ र ‘चकलेटी’हरूसँग पौंठाजोरी गर्दै दर्शकको मन जितिरहेका छन् ।
एउटा समय थियो, आफू गर्भवती भएपछि हिरोइनहरू कि त पेट छोप्दै हिँड्थे कि त सार्वजनिक स्थलमा देखा नै पर्दैनथे । करिश्मा छोरी कविता जन्माउने बेलामा लामो समय सार्वजनिक कार्यक्रममा देखा परेकी थिइनन् । तर, पछिल्लो छिमलका हिरोइनहरू आफू गर्भवती भएको सार्वजनिक गर्न सामाजिक सञ्जाल प्रयोग गर्छन् । कसको पेट ठूलो ? कसको सानो ? लेखाजोखा गर्छन्, बहस गर्छन् ।
नेपाली रजतपटमा विकसित घटनाक्रमले के देखाउँछ भने अब एउटै स्टारले राजेश, भुवन वा शिवले जस्तो तीसौं वर्ष राज गर्ने अवस्था छैन । एकपछि अर्को प्रतिभाले अघिल्लो पुस्ता विस्थापित गर्ने क्रम बढ्दो छ । त्यसैले, न अनमोलले भुवनले झैं तीनपुस्ते हिरोइन नचाइरहने अवस्था आउनेछ न त प्रदीपले राजेशले झैं गन्नै नभ्याउने चलचित्र जन्माउन सक्नेछन् ।
हिरो मात्रै होइन, हिरोइनको रोल पनि पछिल्लो समय धेरै फेरिएको छ । सुरुका दिनमा बनेका धेरै सिनेमाका नाम नायिका प्रधान राखिए पनि व्यावसायिक रूपमा धेरै सिनेमा बन्न थालेपछि हिरोइनलाई सो–पिसको रूपमा मात्रै देखाइयो । ‘आमा’, ‘सिन्दूर’, ‘आदर्श नारी’, ‘माइतीघर’, ‘कान्छी’ लगायतका सिनेमा नारीप्रधान बने ।
गौरी मल्ल, करिश्मा मानन्धर, कृष्टि केसीहरू उद्योगमा प्रवेश गरेसँगै हिरोइनको ब्रान्ड बनेको हो । गौरीको बोल्ड अभिनय, करिश्माको सुन्दरता अनि कृष्टिको ग्ल्यामरले यद्योगमा एउटा छुट्टै मान्यता स्थापित गर्यो । उनीहरूको पदचाप पच्छ्याउँदै निरुता सिंह, जल शाह र विपना थापाको अर्को पुस्ता उद्योगमा प्रवेश गर्यो । उनीहरूले सयौं चलचित्र दिए पनि करिश्माहरूले स्थापित गरेको हिरोकै वरिपरि नाच्ने र हिरोले खलपात्रलाई मुक्का हान्दा ताली बजाउनेबाहेक फरक मान्यता स्थापित गर्न सकेनन् । यही बीचमा सिल्भर स्क्रिनमा देखा परेकी रेखा थापाले भने उद्योगमा ‘लेडी हिरो’का रूपमा केही चलचित्रमा आफूलाई उभ्याउने प्रयास गरिन् । उनको चलचित्रमा अभिनय गर्ने हिरो सधैं छायामा परिरह्यो । सिंगो चलचित्र आफैं बोक्ने प्रयास गरे पनि पछिल्लो समय भने उनको यो एकल प्रयास सफल हुन सकिरहेको छैन ।
अहिले बजारमा ‘मोस्ट डिमान्डेड’ छन् प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, ऋचा शर्मा र केकी अधिकारीहरू । यिनीहरू सिनेमामा आफूले निर्वाह गरेको भूमिकाले मात्रै होइन विभिन्न विषयमा दिने गरेका प्रतिक्रियाका कारण पनि चर्चामा रहँदै आएका छन् । शैक्षिक योग्यता, पारिवारिक पृष्ठभूमि अनि समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण लगायतका कारणले पछिल्लो पुस्ताका हिरोइनले उद्योगमा स्थापित हिरोइनको पुरानो मानक विस्थापित गरेको छ । भलै ऋचा र केकी अभिनीत प्रायः चलचित्र बक्स अफिसमा असफल भएका किन नहुन् उनीहरूको क्रेज कम भएको छैन ।
समयको परिवर्तनसँगै हिरो–हिरोइनको मानक मात्रै परिवर्तन भएको छैन, स्वयं स्टारको सोच र जीवनशैलीमा पनि धेरै परिर्वतन आएको छ । एउटा समय थियो, आफू गर्भवती भएपछि हिरोइनहरू कि त पेट छोप्दै हिँड्थे कि त सार्वजनिक स्थलमा देखा नै पर्दैनथे । करिश्मा छोरी कविता जन्माउने बेलामा लामो समय सार्वजनिक कार्यक्रममा देखा परेकी थिइनन् । तर, पछिल्लो छिमलका हिरोइनहरू आफू गर्भवती भएको सार्वजनिक गर्न सामाजिक सञ्जाल प्रयोग गर्छन् । कसको पेट ठूलो ? कसको सानो ? लेखाजोखा गर्छन्, बहस गर्छन् ।
ऋचा घिमिरे, सञ्चिता लुइँटेल, माल्भिका सुब्बा, रेजिना उप्रेती लगायतले आफू गर्भवती भएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । अहिले नायिका निशा अधिकारीले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको गर्भावस्थाको तस्बिरले चर्चा पाइरहेको छ । यी सबै क्रियाकलापले एकातिर नेपाली समाज निकै खुला बन्दै गइरहेको संकेत गर्छ भने अर्कोतिर सिनेमा र सिनेकर्मीहरू पनि समयअनुसार बदलिइरहेका छन् भन्ने देखाउँछ ।