विश्व सिनेमाको सवा सय वर्ष

विश्व सिनेमाको सवा सय वर्ष

विश्व सिनेमा १२२ वर्ष पूरा भएको छ। यसबीच विश्व सिनेमाको आरोह, अवरोह र आन्दोलनका महत्वपूर्ण सिनेमाबारे लेखाजोखा गरिएको सूचनामूलक एक आलेख :

फ्रान्सका लुमिएर दाजुभाइले सन् १८९५, डिसेम्बर २८ मा आफ्ना छोटा फिल्महरूको प्रदर्शन गर्दा विश्वभरि ठूलो हलचल मच्चिएको थियो। तिनमा स्टेसनतर्फ आइरहेको रेल, कारखानाको ढोकाबाट भित्रबाहिर गरिरहेका मजदुर, बगैंचामा पानी हालिरहेको माली आदिका दृश्यांशहरू थिए। त्यतिखेर दृश्यांशहरू जोडेर दृश्य बनाउने तरिका सुरु भइसकेको थिएन। लुमिएर दाजुभाइका यी छोटा फिल्मले मानवजातिको मन र मस्तिष्कलाई आनन्द दिने एउटा नयाँ साधनको आविष्कार गरेका थिए।

झन्डै सवा सय वर्षपछि आज त्यही माध्यम प्रविधिको सुलभताले कलाको सबैभन्दा शक्तिशाली माध्यम भएको छ। पहिले यो आवाजविहीन थियो। पछि आवाज राख्न मिल्ने भयो। अनि त त्यसमा सुर र सरगम थपिइहाल्यो। आज मानिसहरू त्यसको गुलाम भएका छन्। कस्तो फेसन गर्ने, कसरी बोल्ने, युवकयुवतीलाई अब सिनेमाले सिकाउन थालेको छ। गीत, संगीत र नृत्यको तरिका यसले नै तय गर्न थालेको छ।

सिनेमाको जग

लुमिएर दाजुभाइपछि फ्रान्सेली सिनेमाको जग बसाल्ने महत्वपूर्ण व्यक्ति थिए जर्ज मिली। उता, सन् १८९९ मा मौलिकताका कारण अमेरिकी सिनेमाले तहल्का मच्चायो। यसरी पहिलो वर्णनात्मक फिल्म ‘आवर न्यु जेनरल सर्भेन्ट’ चार दृश्यमा देखाइयो। त्यस्तै पहिलो प्रचारात्मक फिल्म थियो ‘टियरिङ डाउन द स्पेनिस फ्लाग’। जर्ज मिलीले पहिलोपल्ट ट्रिक फोटोग्राफी प्रयोग गरेर ‘भिजिटिङ अफ द वारसिप म्यान’ बनाएका थिए। पहिलो साइफाई मुभी द जर्नी टु मुन (१९०२) बनाउने पनि उनै थिए। एडविन पोर्टरले द लाइफ अफ अ अमेरिकन वार म्यान बनाएर सम्पादन कलाको सुरुआत गरे। सन् १९०३ मा द ग्रेट ट्रेन रबरी बनाएर त उनले सारा विश्वलाई चकित पारिदिए। यो ११ मिनेट लामो फिचर फिल्म थियो जसमा पहिलोपल्ट उनले कल्पनाशक्ति प्रयोग गरेर देखाउने सफलता पाएका थिए। यसले सिनेमालाई अपराधको विषयवस्तुतिर डो¥यायो। पोर्टरले नै क्लाजअप, मिड सट, मल्टिपल सट, फ्लासब्याक जस्ता प्रविधि र तरिकाहरू थालनी गरेका थिए। पोर्टरको तरिका फ्रान्सेली फिल्म ‘लाइफ अफ क्राइस्ट’ नबन्जुले खुब चल्यो।

सन् १९१० मा इटालीमा बनेको ‘ला कदुत दित्रोई’ले पूरै युरोपलाई हल्लायो। यसले इटालियाली फिल्मलाई मौलिकता प्रदान ग¥यो। त्यसैताक डेनमार्केली सिनेमामा यौन पदार्पण भयो। यसलाई अमेरिकी फिल्मकारहरूले अगाडि बढाए। अमेरिकी फिल्मकार जर्ज लोनले ‘ट्राफिक इन सोल’ बनाएर व्यावसायिक सिनेमाको सुरुआत गरे।

‘बर्थ अफ सिनेमा’

त्यसपछि सिनेमामा सर्वाधिक महत्वपूर्ण व्यक्ति निस्किए, डीडब्ल्यू ग्रिफिथ। बर्थ अफ अ नेसन (१९१२), इन्टलेरेन्स (१९१५) बनाएर पहिलोपल्ट उनले विचार र भावनालाई सशक्त तरिकाले प्रस्तुत गरे। सिनेमाका आवश्यक तत्व एवं कथावस्तुको सशक्त प्रयोगका कारण यी फिल्म विश्व सिनेमाका माइलस्टोन ठहरिए। त्यसैले बर्थ अफ अ नेसन कालजयी सिनेमाका रूपमा प्रख्यात भयो जसलाई ‘बर्थ अफ सिनेमा’ पनि भनियो। ग्रिफिथले नै एडबेन्चर अफ डालीमा अभिनेता लिएर छायांकन सुरु गरे। एनेक आर्डनमा क्लोज अप, ‘रामोना’मा पानोरमा सटको सशक्त प्रयोग गरे।

दोस्रो र तेस्रो दशकमा जर्मनीका फ्रिज लांग, अर्नेस्ट लुविस, रबर्ट बियने, पाब्स्ट अनि इटालीका गुओज्जनीले ‘क्ववादिस’ बनाएर युरोपेली सिनेमाको रूपरेखा कोरे। रबर्ट बिएनेको ‘क्याबिनेट अफ डा. क्यालिगिरी’ले युरोपेली सिनेमालाई संसारभरि प्रसिद्धि दिलायो। ग्रिफिथका फिल्महरूले सोभियत रुसमा पनि निकै प्रभाव जमायो। पछि रुसका सर्गेई आइजेन्स्टाइनले स्ट्राइक (१९२४), ब्याटलसिप पोटेम्किन (१९२५) जस्ता अभूतपूर्व सिर्जनात्मक फिल्म बनाएर विश्वलाई चकित पारिदिए। उनले ‘ब्याटलसिप...’मा प्रयोग गरेको इन्टलेक्च्वेल मोन्टाज सिस्टम र ‘इभान द टेरिबल’ (दुवै भाग)मा दिएको ट्रिक फोटोग्राफी आज पनि असाधारण मानिन्छ।

त्यसपछि जमाना आयो चार्ली च्याप्लिनको। हास्यव्यंग्य अभिनयमा आजसम्मै संसारमा उनकै प्रभाव छ। हाँस्दाहाँस्दै रुवाउने र जीवनको विसंगतिको मूलसम्म पु¥याउने उनको हास्यको खास तत्व थियो। सदैव हास्यद्वारा असहाय, पीडित व्यक्तिको व्यथा उजागर गर्ने अद्भुत शैली प्रयोग गर्ने उनका द ग्रेट डिक्टेटर, सिटी लाइट्स, मोडर्न टाइम्स, पानशप, गोल्डरस, सर्कस आदि विश्व सिनेमाका अमर कृति मानिन्छन्।

हिच्ककको रहस्य र रेनुआको सादगी

यता अमेरिकामा अल्फ्रेड हिच्ककले रहस्य एवं रोमाञ्चको एउटा अनुपम शैली थालनी गरे। आफ्ना फिल्ममा उनले सधैं अपराधीको मनोविज्ञानलाई जीवन्त पारेर देखाए। रेबेका, आई कन्फेस, सेबोटेज, द सिक्रेट एजेन्ट, ब्लाकमेल, स्पेलबाउन्ड, फ्रेन्जी, साइको आदि उनका अनुपम फिल्म मानिन्छन्।

यसअघि नै सन् १९२७ मा वार्नर ब्रदर्सले जाज सिंगर नामक संगीतात्मक फिल्म बनाए जसका १३ रिलमध्ये चार रिलमा ध्वनि राखिएको थियो। सन् १९२९ मा कार्ल थ्योडर ड्रेयरले प्यासन अफ जोन अफ आर्क बनाएर मिड सट एवं फिल्मी भावाभिव्यक्तिमा तहल्का मच्चाए। सन् १९३९ मा फ्रान्सका जँ रेनुआले रुल्स अफ द गेम बनाएर अर्को हलचल ल्याए जसमा मिहिन तरिकाले बुर्जुवा वर्गको धज्जी उडाइएको थियो। फिल्ममा रेनुआले युद्धपूर्व युरोपेली समाजको पूरा चित्र एउटा वनभोजमा सम्मिलित व्यक्तिमार्फत देखाउने अनुपम प्रयोग गरेका छन्। न कोही नायक छ, न कोही खलनायक, निर्देशक हरेक पात्रप्रति उत्तिकै सहानुभूतिशील छन्। पात्रहरूको यही सहज व्यवहारबाट उनले सामाजिक विसंगतिलाई सहजतासाथ उतारेका छन्। सन् १९४१ मा ओर्सन वेल्सले सिटिजन केन बनाएर अमेरिकी सिनेमाको रूपरेखा नै बदलिदिए। माथि वर्णित पछिल्ला तीन फिल्म आज पनि संसारका थोरै सर्व श्रेष्ठ सिनेमाको सूचीमा पर्छन्।

इटालीको नवयथार्थवाद

यसपछि इटालीका नवयथार्थवादी सिनेमाले विश्व सिनेमालाई हदैसम्म आकर्षित गरे। संसारमा आजसम्म सबैभन्दा बढी प्रभाव पार्ने कुनै सिनेमा छन् भने ती इटालीका नवयथार्थवादी सिनेमा नै हुन्। समानान्तर सिनेमाको जुन धारा आज संसारमा प्रभावशाली छ, त्यो यिनै सिनेमाका उत्तरदान हुन्। दोस्रो विश्वयुद्ध र मुसोलिनीको शासनपछि इटालीमा जर्जर भएको जनजीवन, आर्थिक दूरवस्था र तिनको दुःखदर्दमा केन्द्रित भएर बन्ने यस्ता फिल्मले नयाँ घटनाबाट सिर्जित नयाँ यथार्थलाई प्रकट गर्छन्। यी फिल्मका लागि निर्देशकहरू कृत्रिम सेट प्रयोग नगरी कथाको खास घटनास्थललाई नै रोज्थे, व्यावसायिक कलाकार प्रयोग नगरी कथालाई सुहाउँदा स्थानीय सर्वसाधारणलाई नै अभिनय गर्न लगाउँथे। कुनै पनि घटनालाई आकर्षक वा उत्तेजित पार्ने खालको कृत्रिम संगीत प्रयोग गर्दैनथे।

सन् १९४९ मा भित्तोरियो डेसिकाले बनाएको बाइसाइकल थिभ्सलाई नवयथार्थवादी सिनेमाको प्रतिनिधि कृति मानिन्छ। व्यक्तिलाई सिस्टमले कसरी निरीह बनाउँछ भन्ने कुरा साइकल चोरी भएको एक साधारण पुरुषको मनोदशामार्फत डेसिकाले देखाएका थिए। इटालीमा फासीवादको प्रभाव रहेका बेला आलेक्सान्द्र ब्लेसेट्टीले फोर स्टेप्स इन द क्लाउड बनाएर नवयथार्थवादको जग हालेका थिए। त्यसपछि सेन्टिस, लुसिनो बिस्कोन्टी, लेगी जम्पा, डेसिका, रोबर्टो रोजिलिनीले यस आन्दोलनको नेतृत्व गरे। सेन्टिसको बिटर राइस युद्धपछिको विभीषिका र आर्थिक विषमतामा केन्द्रित थियो। डेसिकाको सु साइन, मिराकल इन मिलान इटालीका ठोस यथार्थवादी फिल्म थिए।

बिस्कोन्टीको ला टेर्रा ट्रिमा माझीहरूको संघर्षपूर्ण दैनिकीको कथा थियो। लेगी जम्पाको टु लिभ इन पिस, डेसिकाको ट्रेजा भेनर्दी जस्ता फिल्मले नवयथार्थवादलाई दिशा निर्दिष्ट गरे। रोजिलिनीको ओपन सिटी (१९४५), पैसा (१९४६) अन्य महत्वपूर्ण फिल्म थिए भने डेसिकाकै बाइसाइकल थिभ्स (१९४९) ले संसारभरि तहल्का मच्चायो। डेसिकाकै उम्बर्टो डी, चिल्ड्रेन आर लुकिङ एट अस, गार्डेन अफ फिन्जी कन्टिनिस, गोल्डेन नेपल्स, लेरी ओग्गी डो मेनी, टु वमेन, बिस्कोन्टीको ओसेसन, रोको एन्ड हिज ब्रदर्स, लेओपार्ड, डेथ इन भेनिस यस धाराका अन्य महत्वपूर्ण फिल्म मानिन्छन्। जापानका अकिरा कुरुसावा, भारतका सत्यजित रे, हंगेरीका मिक्लोस याङ्सो, पोल्यान्डका आन्द्रे बाज्दा, जर्मनीका आलेक्सान्द्र क्लुग, कोनार्ड वल्फ रेट्रोले यसलाई विश्वव्यापी रूपमा अघि बढाए। कतिसम्म भने भारतका सत्यजित रेले त लन्डनमा ‘बाइसाइकल थिभ्स’ हेरेपछि त्यसकै प्रभावमा आफूले ‘पाथेर पाञ्चाली’ बनाएको उल्लेख गरेका छन्।

उता इटालीकै फेडेरिको फेलिनी, माइकलएन्जेलो एन्तिनियोनी, अरमानो ओलमी, लिना बर्टमुलर, आदि प्रबुद्ध शैलीका अगुवा फिल्मकार ठहरिए। फेलिनिको ला डोल्स भिटा, ऐट एन्ड हाफ, ला स्ट्राडा, सिटी अफ वमन, नाइट अफ क्याबेरिया, एन्तिनियोनीको ला भेन्चुरा, द एक्लिप्स आदि अमर कृति मानिन्छन्।

फ्रान्सको न्यु वेभ

उता फ्रान्समा पनि एक से एक दिग्गज फिल्मकारहरू निस्किए। जँ रेनुआ, एलेन रने, जँ ल्युक गोदार्ड, फ्रान्सुवा त्रुफो, रोबर्ट बे्रस्सोँ, शबरोल आदिका न्यु वेभ सिनेमाले विश्व सिनेमालाई निकै प्रभावित पारे। तिनले विश्व सिनेमालाई धारलाई नै बदलिदिए। यिनमा खास कुनै कथासूत्र हुन्नथ्यो। फिल्म निर्माणको चल्तीका मान्यतालाई क्रूरतापूर्वक भत्काइदिने यी निर्देशक एउटा सानो कथाबिन्दु समातेर क्यामरा घुमाउन थाल्थे र यही सेरोफेरोमा फिल्मको अनौठो संरचना तयार पार्थे।

चलचित्रकलाका लेखक लक्ष्मीनाथ शर्माका अनुसार दृश्य र ध्वनिलाई अमूर्त रूप दिई त्यसबाट यथार्थ प्रतिपादन गर्नमा ब्रेस्सोँ उच्च कोटीका स्रष्टा मानिन्छन्। ट्रायल अफ जोन अफ आर्क, पब्लिक अफेयर्स, पिकपकेट, ह्वाइट नाइट्स, ओ ह्याजार्ड बाल्थजार, डायरी अफ अ कन्ट्री प्रिस्ट आदि उनका विश्वप्रसिद्ध फिल्म हुन्। गोदार्ड पुराना मान्यता र घेरालाई भत्काएर क्यामरा खेलाउनेदेखि कथा वाचनको शैलीमा पनि नयाँपन दिन्छन्। उनका ब्रेथलेस, लिटल सोल्जर, एभ्री म्यान फर हिमसेल्फ, इट्स माई लाइफ, विकेन्ड, हेलमेरी आदि महत्वपूर्ण फिल्म मानिन्छन्। एलेन रनेको हिरोसिमा माई लभ, त्रुफोको फोर हन्ड्रेड ब्लोज, शबरोलको ‘प्लेस कजिन्स’ आदि फ्रान्सका अन्य महत्वपूर्ण फिल्म हुन्।

युरोपको शान

युरोपेली देशमा रुस, चेकोस्लोभाकिया, पोल्यान्ड, हंगेरी, रोमानिया, बुल्गेरिया, पोर्चुगल, स्पेन, स्विडेन आदि देशमा आज राम्रा सिनेमा बनिरहेका छन्। यिनका फिल्ममा मानवीय सम्बन्धको गहिराइ र अन्तर्मनको झकझकाउँदो कटु सत्यलाई प्रभावशाली तरिकाले देखाइएका छन्। भारतीय लेखक राजपाल राजेको किताब ‘समकालीन सिनेमा’का अनुसार आज हंगेरी वा चेक रिपब्लिकमा बनेका फिल्म फ्रान्स, जर्मनी, इटाली वा इङ्ल्यान्डमा बनेका फिल्मभन्दा कुनै पनि दृष्टिले कमजोर छैनन्।

स्विडेनका इंगमार बर्गम्यान विश्व सिनेमाका एक आइकन मानिन्छन्। वाइल्ड स्ट्रबेरिज, द साइलेन्स, भर्जिन स्प्रिङ, म्याजिसियन, द सेम जस्ता अछूतो विषयमा फिल्म बनाएर उनले संसारलाई चकित पारिदिए। तत्कालीन साम्यवादी देशमा सिनेमाको विकास अलि ढिलो पुग्यो। जब पुग्यो, तिनले चाँडै नै संसार हल्लाए। पोल्यान्डमा त पहिलेदेखि नै सिनेमाको धाक जमिसकेको थियो। त्यहाँ आन्द्रे बाज्दा, जानुसी, जैरी, रोमन पोलान्स्कीले निकै राम्रा फिल्म बनाए। वाज्दाका खासगरी नाजीविरोधी देशभक्त पोलिस जनताको वीरता, संघर्ष र दुःखान्त समेटिएका फिल्महरू ‘कनाल’, जेनेरेसन, ल्यान्डस्केप आफ्टर द ब्याटल, यासेस एन्ड डाइमन्ड्स जस्ता सिनेमा विश्वप्रसिद्ध छन्। पोल्यान्डकै पोलान्स्कीका नाइफ इन द वाटर, पियानिस्ट जस्ता फिल्मले संसारको ध्यान आकर्षित गरे। हंगेरीमा मिक्लोस याङ्सो, मार्ता मास्जारोभ, इस्तवानगाल, पिटर ब्रास्को, बेला टार आदिले उन्नत फिल्म बनाए। याङ्सोका फिल्म मूलतः राजनीतिक चित्रणमा बेजोड मानिन्छन्। उनका राउन्ड अप, द ह्वाइट एन्ड रेड, द बेल्स ह्याभ गन टु रोम, कन्फ्रन्टेसन जस्ता विश्वप्रसिद्ध फिल्ममा भूमिगत विद्रोही, क्रान्तिकारीहरूको संघर्ष, तिनका त्रासदी र तिनीहरूप्रति गहिरो सहानुभूति पाइन्छ।

जर्मनीमा रबर्ट भिएने, जीडब्लु पाब्स्ट, वेर्नर हर्जोग, रेनार्ड हाफ, आलेक्सान्द्र क्लुगे, भोल्कर स्क्लोन्डोर्फ, मार्गरेट भोन ट्रोटा, रेनर वेर्नर फ्यासविन्डर, विम वेन्डर, कोनार्ड वल्फ रेट्रो आदिका फिल्मले संसारभरि ख्याति कमाएका छन्। स्क्लोन्डोर्फले टिन ड्रम, द लेजेन्ड अफ रिटा, हर्जोगले अग्विरे ः द ¥याथ अफ गड, कोन्ट्र भर्डे, फ्यासबिन्डरले फक्स एन्ड हिज फ्रेन्ड, लभ इज कोल्डर देन डेथ, डिस्पेअर, विम वेन्डरले विङ्स अफ डिजायर, भोन ट्रोटाले लस्ट अनर अफ कादरिना ब्लुम, सिस्टर्स अर द ब्यालेन्स अफ ह्यापिनेस जस्ता फिल्म बनाएर संसारको ध्यान आकर्षित गरेका छन्।

रुसमा आइजेन्सटाइनका सिर्जनशील फिल्मका अतिरिक्ति तारकोब्स्की, अलेक्जेन्डर जाखिल, मिखाइल कालाताजोभ, तोबाकोभका फिल्म संसारभरि प्रिय छन्। नाजी सेनाविरुद्ध रुसी जनताको देशभक्तिपूर्ण लडाइँमा केन्द्रित कालाताजोभको फिल्म क्रेन्स आर फ्लाइङमा रुसी जनताले भोग्नु परेको पारिवारिक र सामाजिक विघटनको उच्च संवेदनाको मार्मिक अभिव्यक्ति छ। रुसमा सोलारिस, आन्द्रेई रुब्लेभ, वार एन्ड पिस, डाइमन्ड आर्म, द मिरर, मस्को डज नट बिलिभ इन टियर्स, हन्टिङ एक्सिडेन्ट, स्तैपी, अनफिनिस्ड, सेक्रेट अफ अ बर्थ काइन्ड, आयसा, पुगाचोभ, क्राइम एन्ड पनिसमेन्ट, वार एन्ड पिस, अन्ना कारेनिना, इडियट आदि प्रख्यात फिल्म मानिन्छन्।

टर्कीमा पछिल्लो समय नुरी बिल्जी सिलनका डार्क फिल्मले अन्तर्राष्ट्रिय ख्याति कमाएका छन्। क्यान्स फिल्म फेस्टिबलमा सर्व श्रेष्ठ पुरस्कार पाएको फिल्म विन्टर स्लिप (२०१४), क्लाइमेटलगायत उनका फिल्म प्रसिद्ध छन्।

अमेरिकी प्रभाव

भन्नै पर्दैन, देशजस्तै आज अमेरिकी फिल्म पनि सर्वाधिक प्रभावशाली एवं चर्चित छन्। विगत केही दशकयता त्यहाँका सिनेमा हिंसा र यौनका बैसाखीका भरमा चलिरहेका छन् र तिनको प्रभाव संसारभरि नै छ। थोरै मात्र त्यहाँ राम्रा फिल्म बनिरहेका छन्। ओर्सन वेल्सपछि त्यहाँ डेभिड लिन्च, जिम जारमुस, उडी एलन, मार्टिन स्कोर्सिस, फ्रान्सिस फोर्ड कपोला, स्टेभन स्पाइलबर्ग, जोन फोर्ड, स्ट्यान्ली कुब्रिक, क्विन्टिन टारान्टिनो, रोबर्ट अल्टम्यान, माइकल कुर्टिज, निकोलस रे लगायतका फिल्मले संसारको ध्यान तानेका छन्। यहाँका प्रतिनिधि फिल्महरूमा लब स्टोरी, गडफादर, इरमा ला टु, स्कुल फर स्क्राउन्डेल्स, वन फ्लु ओभर द कुकोज नेस्ट, इट ह्यापेन्ड अन द फिभ्थ एभेन्युज, मैकनाज गोल्ड, साउन्ड अफ म्युजिक, एक्जोर्सिस्ट, अमेरिकन ब्युटी, टाइटानिक, फ्रिदा, अवतार, सिन्डलर्स लिस्ट, टावरिङ इन्फर्नो, म्याग्निफिसेन्ट सेभेन आदिको नाम समीक्षकहरूले लिने गरेका छन्।

एजेन्सीहरूका अनुसार ल्याटिन अमेरिकी देशमा भने राजनीतिक उथलपुथलका कारण सिनेमाको पहुँच अलि ढिलै पुग्यो। त्यहाँ ब्राजिली निर्देशक सान्तोषको मेमोरिज अफ प्रिजन, गुआरनेरीको दे डोन्ट वियर ब्लायक टाई आदि दर्शकका दिमाग हल्लाउने खालका छन्। अर्जेन्टिनामा सन् १९७० मा बनेको ‘विन्टर ब्यारेक्स’मा सैनिक अत्याचारको वर्णन छ जसले ल्याटिन अमेरिकी फिल्मको पहिचान दिलायो। डोना फ्लोर ला पार्टी डैल लियोन, ओलिबिरा लानोना त्यहाँका अन्य राम्रा फिल्म हुन्। बोलिभियामा करेज अफ पिपल, इनेमी, ब्लड अफ कन्डोर जस्ता फिल्म उल्लेख्य मानिन्छन्।

जापानको ख्याति

विश्व सिनेमाले मूलतः दुई फिल्मकारलाई एसियाका बाघ भनेर चिन्छ। जापानका अकिरा कुरुसावा र भारतका सत्यजित रे। कुरुसावाले जीवनको कोमल अनुभूति र संवेदनालाई क्यामराबाट सटिक तरिकाले पर्दामा उतारे। भेनिस फिल्म फेस्टिबलमा ग्रान्ड प्रिक्स पुरस्कार पाएको ‘रसोमन’ले एसियाली फिल्मलाई पहिलोपल्ट सन् १९५० मा विश्वसामु पहिचान दिलायो। यो बहुरूपी सत्यको वकालत भएको मन्त्रमुग्धकारी फिल्म हो जसमा एउटा युवकको मृत्युबारे मानिसहरू फरकफरक बयान दिन्छन्। मारिएको युवककी पत्नी र डाँकु ताजोमरु दुवैजना आफूले युवकलाई मारेको बयान दिन्छन्। आत्माको माध्यमबाट युवक स्वयं आफूले आत्महत्या गरेको बयान दिन्छ। अचम्म के छ भने सबैको बयान उत्तिकै विश्वसनीय लाग्छ। सत्य पत्ता लगाउने जिम्मा दर्शकलाई नै छाडेर फिल्म सकिन्छ। कुरुसावाका द इडियट, इकिरु, सेभेन समुराई, स्क्यान्डल, लोअर डेप्थ, थ्रोन अफ ब्लड, ¥यान अन्य विश्वप्रसिद्ध फिल्म हुन्।

कुरुसावाका अतिरिक्त नागिसा ओसिमाको द सेरमोनी, नाइट एन्ड फग इन जापान, टाउन अफ लब एन्ड होप तथा इमामुराका इन्सेक्ट वमन, माई सेकेन्ड ब्रदर, पोर्नोग्राफर्स, लाइट्स अफ द नाइट आदि फिल्मले जापानी फिल्मको प्रचलित धारलाई भत्काएका छन्। यासुजिरो ओजु, केन्जी मिजोगुची, हिरोसी तेसिगाहारा, मासाहिरो सिनोदा, मासाकी कोबायासीका फिल्महरूले संसारको ध्यान खिच्न सफल छन्।

रेको पर्दाविहीन सत्य

सत्यजित रेको पाथेर पाञ्चाली (१९९५) खासमा बंगाली समाजको नांगो सत्य, नांगो गरिबी र नांगो ग्रामीणताको चोखो कथा हो जसलाई पहिले कतिपय भारतीय अधिकारीले नै भारतको गरिबी बेचेको भनेर निन्दा गरेका थिए। रेले यसमा भारतमा औद्योगिक क्रान्तिपछि सामाजिक अन्तरसम्बन्धमा आएको परिवर्तनलाई मार्मिक तरिकाले प्रस्तुत गरेका छन्। कान्स फिल्म फेस्टिवलमा ‘उत्कृष्ट मानवीय दस्तावेज’को सम्मान दिइएपछि यसले रेलाई एकाएक विश्वप्रसिद्ध बनायो। खासमा उनले यो फिल्म डेसिकाको बाइसाइकल थिभ्सबाट प्रभावित भएर बनाएका थिए। आज संसारका कालजयी सिनेमाको सूचीमा यसलाई अग्रपंक्तिमा राखिन्छ। उनको ‘अरण्यर दिनरात्रि’मा बुर्जुवा वर्गको धज्जी उडाइएको छ भने मेडियटरमा आफ्नै साथीकी बहिनीको अस्मिता बेच्न तयार हुने दलालको कथा छ। रेको सबैभन्दा प्रसिद्ध फिल्म पाथेर पाञ्चाली भए पनि कापुरुष, प्रतिद्वन्द्वी, महानगर, नायक, अपुर संसार, अपराजितो, चारुलता, कञ्चनजंघालगायत हरेकजसो फिल्म उत्तिकै उत्कृष्ट छन्।

केन्द्रीय धारका फिल्मका लागि भारत आज हलिउडकै फोटोकपीझैं लाग्छ। सिनेमा निर्माणका दृष्टिले त यसले हलिउडलाई पनि जितेको छ। कुनै दिन त्यहाँ एउटा फिल्म एउटै हलमा लगातार १४ वर्ष चलेको थियो। पछि अर्को फिल्म लगातार बीस वर्ष चलेर त्यो कीर्तिमान तोडिदियो। तर, व्यावसायिक रूपले अत्यन्त सफल यस्ता फिल्मले कलाको उत्थानमा खासै योगदान गर्दैैनन्। बरु प्रान्तीय वा प्रान्तका निर्देशकले हिन्दीमा बनाएका फिल्महरू यहाँ उन्नत मानिन्छन्। मृणाल सेन, ऋत्विक घटक, अडुर गोपाल कृष्णन, श्याम बेनेगल, मीरा नायर, गिरीश कर्नाड, गौतम घोष, मणि कौल, केए अब्बास, केतन मेहता, जआनु बरुआ, ऋतुपर्णो घोष, प्रकाश झा, कुमार साहनी, कल्पना लाजमी, सई पराञ्जपे, राज कपूर, मधुर भण्डारकर आदिले त्यहाँ जीवनमुखी, सार्थक एवं इमानदार फिल्म बनाएका छन्। केही हदसम्म यिनका फिल्मले अन्तर्राष्ट्रिय ख्यातिसमेत कमाएका छन्।

चीन, इरान र कोरिया

विश्व सिनेमाको कुरा गर्दा आज चीन र इरान निकै जाजल्यमान लाग्छन्। यहाँ निकै समृद्ध फिल्म बनिरहेका छन् र तिनले बर्सेनिजसो ओस्कारमा उत्कृष्ट विदेशी फिल्मको मनोनयन पाइरहेका छन्। चीनमा झाङ यिमु, चेन केज, तियान जुवाङ जुवाङ, झाङ जझाओ, फु रोङझिन, वङ कार वाई, वाङ सियाओसुआई जस्ता राम्रा निर्देशक छन्। त्यहाँ राम्रा सिनेमाको सूचीमा रेज द रेड ल्यान्टर्न, रेड सोर्घम, टु लिभ, फ्लावर्स अफ द वार, ह्वेन द ह्विल्स टर्न रोड, द कपल, ह्विब्सिकस टाउन, बिग परेड, फारवेल टु माई कन्क्युबाइन, अ गुड वमन, अ गर्ल फ्रम हुनान, गोल्डेन टार्ट हिरो, द लाइफ टु विन, द वन एन्ड एट, बिहाइन्ड द एक्सक्युज्ड, अन्डर द ब्रिज, द फस्र्ट वमन इन द फरेस्ट, इन द मुड फर लभ, इलेभेन फलोवर्स आदि पर्छन्।

इरानमा भने असगर फरहादीका दुई सिनेमा द सेपेरेसन (२०१७) र द सेल्सम्यान (२०१६) ले उत्कृष्ट विदेशी फिल्मको ओस्कार पुरस्कार पाइसकेका छन्। त्यहाँ अब्बास किरोस्तामीका ‘द विन्ड विल क्यारी अस’ लगायत कवितात्मक फिल्महरूलाई पश्चिमा जगत्ले खुबै रुचाएको छ। मोहसिन मखमलबाफको सेक्स एन्ड सिटी, द साइलेन्स, कान्दाहर, बोमन घोबाडीको टर्टल्स क्यान अल्सो फ्लाई, दारिउस मेहरजुईको हमाउन, बासु, द काउ, समीरा मखमलबाफको ब्लाकबोर्ड्स, फाइभ इन द आफ्टरनुन, जफार पनाहीको अफसाइड, ट्याक्सी तेहरान, ह्वाइट बलुन, द सर्कल, मजिद मजिदीको फादर, द कलर अफ प्याराडाइज, बरान आदिले अन्तर्राष्ट्रिय ख्याति कमाएका छन्।

दक्षिण कोरियामा भने अन्तर्राष्ट्रिय स्तरमा चर्चा गर्न सकिने एकै जना फिल्मकार छन् जसको डार्क फिल्मलाई युरोप र अमेरिकाका एकथरी दर्शकले औधि रुचाउँछन्। ती हुन् किम कि दुक। परपीडक र आत्मपीडक पात्रहरूले भरिएका उनका ‘स्प्रिङ, समर, फल, विन्टर...एन्ड स्पिङ’, बर्डकेज इन, समारिटन गर्ल, क्रकोडाइल, आइल, ब्याड गाई, थ्री आइरन, टाइम जस्ता फिल्म पश्चिममा खुबै रुचाइएका छन्।

नेपाललगायत एसियाका अन्य देशका फिल्मले पनि बिस्तारै अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलहरूको ध्यान तान्न थालेका छन्। वासुदेव, परालको आगो, बाँच्न चाहनेहरू जस्ता नेपाली फिल्म प्राविधिक दृष्टिले सम्पन्न नभए पनि ती नेपाली समाज र संवेदनाका असली प्रतिकृति थिए। नुमाफुङ, मखुण्डो, सेतो सूर्य, कालो पोथीलगायत फिल्म अन्तर्राष्ट्रिय फिल्म उत्सवहरूमा पुरस्कृत नै भएका छन्। तथापि हामीले विश्व सिनेमाको मानचित्रमा ठाउँ बनाउन बाँकी नै छ।

अन्त्यमा

बौद्धिक जटिलतामा अल्झिएका र वैयक्तिक उडानमा बनेका फिल्महरू सिर्जनाका अनुपम नमुना बन्न सक्छन् तर, तिनले दर्शकसँग संवाद गर्न सक्दैनन्। कतिसम्म भने सन् १९७१ मा भारतमा बनेका दुविधा, सतह से उठ्ता आद्मी, २७ डाउनफल जस्ता लिकबाट हटेका फिल्मलाई भारतीय दर्शकले पूरै नकारिदिए। त्यसलाई बदलेर श्याम बेनेगलले ‘अंकुर’, मृणाल सेनले ‘मृगया’, गौतम घोषले ‘पार’ जस्ता समानान्तर फिल्म बनाएपछि बल्ल सार्थक सिनेमाको जादु फैलियो।

आज फेरि वैयक्तिक उडानका अस्तित्ववादी सिनेमामा मानिसहरू नियतिका दासका रूपमा चित्रित छन्। यथार्थवादी फिल्ममा पनि व्यवस्थाविरुद्ध तिनको संघर्ष पहाडमा कुहिना ठोकाउन गएझैं कमजोर देखाइन्छ। मान्छेको भाग्यरेखा कोर्ने र व्यवस्था बदल्ने जनसंघर्षले नै हो भने तिनका संघर्षलाई व्यवस्थासामु निरीह देखाउनु समानान्तर सिनेमाको पनि समस्या हो। मलाई लाग्छ, विश्व सिनेमा यहीँनिर परिवर्तनको पर्खाइमा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.