सुल्टो हेरे पचास पैसा, उल्टो हेरे पच्चीस
मेरो घर पाटन भए पनि पढाइचाहिँ दरबार हाइस्कुलबाट पूरा गरेँ। मावलीघर पनि काठमाडौंमै हो। पिताजी मोहनशमशेरको दरबारमा कारिन्दा भएर काम गर्नुहुन्थ्यो। महाराजगन्जसम्म जान गाह्रो हुने भएकाले त्यहीँ डेरा लिनुभयो। त्यसैले उहाँले पाटन छाडेर दरबार स्कुलमा भर्ना गरिदिनुभयो।
सुरुमा सिनेमा भनेको त थाहै थिएन। दरबार हाइस्कुलसँगै मजलिस घर
(टाउन हल) थियो। मजलिस उर्दु शब्द हो। यसको अर्थ सभा गर्ने ठाउँ हो। पछि यसलाई पनि दरबार हाइस्कुलले लिएर आफ्नै बनायो। हामी स्कुलमा पढ्दा त्यही घरमा धार्मिक मान्छेहरू, लेक्चर दिने मान्छेहरू, नाचगान गर्ने मान्छेहरू आएर सभा गर्थे। त्यति ठूलो घरमा दलिन पनि थिएन। कसरी अड्याएको होला भनेर म छक्क पर्थें। एकैपटक दुई तीन हजार मानिस अटाउँथे मजलिस घरमा।
१९९४ सालतिरको कुरा हो, जीवनमा मैले पहिलोपटक सिनेमा हेरेको त्यही मजलिस घरमा। ठहिटीका सूर्यभक्त जोशीले ‘उद्योग’ पत्रिका निकाल्थे। त्यति बेला विभिन्न कार्यक्रम सञ्चालन गर्ने बुज्रुक व्यक्तिमा पर्थे जोशी। उनले नै नबोल्ने सिनेमा ल्याएर त्यहाँ देखाएका थिए। सिनेमा देखाउँदा बीचमा डोरी राखेर एउटा पर्दा राखेका थिए। अघिल्तिरबाट हेर्नेलाई एउटा टिकटको पचास पैसा र पछिल्तिरबाट उल्टो हेर्नेलाई टिकटको २५ पैसा तोकिएको थियो। त्यहाँ महाभारतको कुनै अंश देखाइने गरिन्थ्यो।
म २००० सालमा जागिरे भएँ। प्रधानमन्त्री जुद्धशमशेरको पालामा यिनीहरूले नबोल्ने रामायण र महाभारतको कथा, सिंहदरबारको नाचघरमा देखाउँथे। दरबारका मानिस सबै माथिबाट हेर्थे। पब्लिकका लागि सानो एउटा ढोका राखिएको थियो, त्यहीँबाट छिर्थे सबैजना। हल ठूलो थियो। एकैपटक करिब सय डेढ सयजना अटाउँथ्यो।
पहिले राणाहरूले हेरिसकेपछि त्यही नाचघरमा निजामतीमा खरदारसम्म र सेनामा सुबेदार र लप्टनसम्मका मानिसलाई रामायण र महाभारतको खेल पर्दामा हेर्न उर्दी जारी गरिन्थ्यो। म त्यति बेला औद्योगिक व्यापारिक समाचार संग्रह अड्डामा जागिरे थिएँ। पहिले सबै अड्डा चारखालमा हुन्थ्यो। तर, हाम्रो भने अहिलेको काठमाडौंको कुमारीघरसँगै थियो। पछि त्यसको नाम जनसंख्या अड्डा, संख्या विभाग हुँदै अहिले आएर केन्द्रीय तथ्यांक विभागमा परिवर्तन भएको छ।
आज २ बजे सिंहदरबार नाचघरमा निजामतीका खरदार डिठ्ठासम्म आउने भनेर उर्दी आउनासाथ हामी हस्याङफस्याङ गर्दै चलचित्र हेर्न जान्थ्यौं। त्यहाँ गएर बल्ल सुल्टोबाट हेर्न पाइयो। त्यति बेला नेपालभरि कतै थिएन चलचित्र। निजामतीमा होस् या सेनामा, टोपीमा सुनको ब्याच जडेको हुन्थ्यो। त्यति बेलाको गेटपास त्यही तक्माजडित टोपी नै हो।
त्यो ब्याच लगाउनेलाई मात्रै जान दिन्थे, अरूलाई अनुमति थिएन। त्यति बेलाका साह्रै धनी मान्छे अर्थात् बत्तीस कोटी महर्जनलाई पनि चलचित्र हेर्न बोलाइएको रहेछ। उनको तक्माजडित टोपी थिएन। त्यसैगरी उनी एउटा खुट्टा खोच्याउँदै त्यहाँ आए पनि त्यहाँका पालेले उनलाई ढोकैबाट घोक्र्याएर पठाइदिए। मैले उनलाई चिनेँ र पाटनका ठूला साहुजी हुन् भनेपछि बल्ल भित्र छिर्न दिइयो। त्यति बेला ठूला साहूहरू पनि नाचघरमा देखाइने चलचित्र हेर्न लालायित हुन्थे।
पछि ध्वनि भएको सिनेमा आयो। त्यसपछि हामी अशोक हल पाटनमा जान थाल्यौं। त्यो हल पनि पहिले त राम्रै चलेको थियो तर पछि चलेन। उनीहरूले टिकट बचाउने आइडिया लगाएर टिकट काउन्टर पीपलबोट न्युरोडमा राखे। अनि एउटा बसको सुविधा पनि दिए। त्यहाँ टिकट किनेर त्यही बसमा चढेर पाटनमा चलचित्र हेर्न आउँथे मानिस। यो आइडिया पनि नचलेपछि हल नै बन्द गरी पार्टी प्यालेस बनाइयो। कहिलेकाहीँ त्यही पार्टी प्यालेसमा प्रोजेक्टर ल्याएर च्यारिटी सो पनि गरिन्थ्यो।
अहिले सिनेमा देखाउन सबैभन्दा राम्रो हल रसियन कल्चर सेन्टर, पर्यटन बोर्ड र सबैभन्दा राम्रो पाटनमा रहेको कमलमणि अडिटरियम हो। त्यहाँ साउन्ड प्रुफ हल छ। व्यावसायिक रूपमा त्यहाँ चलचित्र नदेखाइए पनि मैले पछिल्लोपटक सोही हलमा हेरेको चलचित्र ‘झमककुमारी’ मलाई साह्रै राम्रो लाग्यो।
व्यावसायिक चलचित्रमा मलाई रुचि छैन। चाइनामा करिब चार वर्ष बस्दा मैले धेरै चलचित्र हेरेँ। उनीहरूको चलचित्र सामाजिक र यथार्थपरक हुन्छ। कथावस्तु राम्रो हुन्छ र अनावश्यक दृश्य पनि हुँदैनन्। यहाँका चलचित्रमध्ये एकदुईवटा बौद्धिक चलचित्रबाहेक अरू हेरेको छैन। हाम्रा चलचित्रमा हुबहु हिन्दीको नक्कल गरिने हुनाले ज्यादै अस्वाभाविक रूपमा द्वन्द्व देखाइन्छ। मर्दा पनि गीत नै हुन्छ, खुसियालीमा पनि गीत बज्छ।
म एकेडेमीमा आएपछि लैनसिंह बाङ्देलको निगरानीमा ठिमीको बिस्केट जात्राको विषयमा एउटा चलचित्र बनाइएको थियो। तर, त्यो चलचित्र पब्लिकलाई देखाइएन, संस्कृति संरक्षणका लागि मात्रै राखियो। हामी एकेडेमीमै हुँदा अमेरिकाको वासिङ्टनस्थित स्मित सोनियन इन्स्टिच्युटबाट विश्वकै सबै सांस्कृतिक गतिविधि रेकर्ड गर्न एक महिलालाई नेपाल पठाइयो। उनले त्यति बेला बोकेर ल्याएको क्यामेरामा दृश्यका साथै श्रव्य पनि रेकर्ड हुन्थ्यो।
ती महिलालाई तीन महिना नेवारी भाषा सिकाएर सुनाकोठीमा लगेर राखियो। उनले वर्ष दिनभरि दिनदिनैका गतिविधिहरू आफ्नो क्यामेरामा खिच्नुपर्ने थियो। उनी त्यहीँका नेवारले जस्तो खान्थिन् र उनीहरूले जे गरे त्यसै गर्थिन्। त्यहाँका महिलाहरू खुला क्षेत्रमा दिसा गर्न जाँदाका दृश्यसमेत उनले आफ्नो क्यामेरामा कैद गर्न भ्याइसकिछन्।
पास्नीको सबै प्रक्रिया, व्रतबन्ध, मानिसको मृत्यु संस्कार, सत्यनारायणको पूजालगायत सबै खिचेर भ्याइन् उनले। एक दिन लैनसिंह बाङ्देल र म उनको निगरानीका लागि सुनाकोठी गएका थियौं। त्यहाँ गएर हेर्दा त उनी पनि अरूजस्तै भुइँमा सुकुल ओछ्याएर सुते पनि झुलचाहिँ हालेकी रहिछन्। अरू सबै त्यही समुदायका मानिसले जे ग¥यो त्यही गर्दी रहिछन् उनी। यसरी वर्ष दिन बसेर उनले हाम्रो संस्कृतिलाई सिनेमाको रूप दिएर अमेरिकासम्म पु¥याइन्।
चलचित्र दुई थरीका हुन्छन् जस्तो लाग्छ मलाई। एउटा ठूल्ठूला नेता, विद्वान् आदिलाई देखाउने। देशको विकास कसरी गर्ने, मुलुकका लागि कसरी एकताबद्ध हुने लगायतका भित्रैदेखि ऊर्जा दिने खालको चलचित्र एक थरीका चलचित्रमा पर्छन्। यस्ता चलचित्र हेर्दा हेर्ने व्यक्तिलाई ‘मेरो देश मेरो लक्ष्य’ भन्ने भावना भित्रैदेखि पलाउन सक्छ।
अर्का थरी चलचित्रमा अनावश्यक द्वन्द्व र मायापिरती देखाउँदा विसंगति र विकृतिको कुरा मात्रै बढी आउँछ। यस्ता चलचित्रमा आफ्नो संस्कृतिका कुरा केही छैनन्, नचाहिने कृत्रिम कुरा मात्रै बढी छन्। यस्ता चलचित्रले पैसा कमाए होलान्। यो अर्कै कुरा हो, तर स्तर भने छैन।
(संस्कृतिविद् जोशीसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित)