हमालको हिरोइज्म
‘तिम्रो रूप कमाल, तिम्रो केश कमाल
तिम्रो नजर कमाल, कमाल
म तिम्रै राजेश हमाल’
साठीको दशकको सुरुतिर यो गीत चर्चित हुँदै गर्दा नेपाली जनमानसमा राजेश हमाल एउटा विम्ब बनिसकेका थिए। लामो कपाल, छड्के छड्के आँखा, अग्लो ज्यान, मोटो बोली। उनका डायलग पनि ठिटाहरूको ओठमा झुन्डिसकेको थियो, जसमा कहिल्यै छुट्दैनथ्यो— हेऽऽऽ।
कलेज लाइफका सुरुआती दिन थिए ती। स्वर पनि बिस्तारै राजेशको जस्तै धोद्रो हुँदै गइरहेथ्यो। उनको डायलग निकै दोहोर्याइन्थ्यो, ‘मान्छे हुँ म मान्छे तर तँजस्तो नपिशाचको लागि शंकर हुँ म— शंकर।’ उनको जस्तै कपाल र छाती बनाउन मरिमेट्ने केटाहरू पनि थिए। समाजको एउटा बहुमत हिस्साले उनलाई ‘महानायक’ भनिसकेकै थियो। आलोचनात्मक चेतना निर्माण नभइसकेको त्यस बेला हाम्रा लागि पनि उनी ‘महानायक’ थिए। त्यो कालखण्डको पनि एक दशक पूरा भइसकेको छ। राजेश हमाल बिस्तारै सिल्भर स्क्रिनबाट फेडआउट हुँदैछन्।
सानोमा आमासँगै गएर ‘चलचित्र मन्दिर’मा ‘प्रतीक्षा’ भन्ने फिल्म हेर्दा निकै अग्लो लागेको उनको कद मेरा लागि अब मध्यम भएको छ। नेपाली रंग–दुनियाँमा अझै उस्तै चर्चामा रहेका हमालको हिरोइज्ममाथि ममा भने अचेल प्रश्नहरू थुप्रिन थालेका छन्। जान्नेहरू भन्छन्— हरेक प्रश्नको जवाफ त्यसको समय–सन्दर्भसँग गाँसिएको हुन्छ। हमालको हिरोइज्मलाई पनि उनकै समय–सन्दर्भसँग जाँची हेर्नु सायद उचित हुनेछ।
योङ एंग्री म्यान
‘सज्जनको लागि नायक। दुर्जनको लागि खलनायक। दुश्मनको लागि राम नाम सत्य छ। अन्यायमा न्याय दिन राजेश दाइ आउँदैछ।’
‘खलनायक’ फिल्मको डायलगको पुनर्निर्मित यो भर्सनमा सम्भवतः राजेश हमाल कसरी स्थापित भए भन्ने प्रश्नको जवाफ लुकेको छ। सन् १९८८ मा ‘युगदेखि युगसम्म’बाट हमाल नेपाली सिने जगत्मा पदार्पण गर्दा नेपाली समाज राजनीतिक संक्रमणको उत्कर्षमा थियो। पञ्चायतका तीस वर्षसम्म बन्द रहेका ओठले आवाज पाउन थालेका थिए। आमजनमानसमा अन्यायविरुद्ध चेत बढ्दै थियो। समाजले रिस पाल्न सिक्दै थियो। फिल्म समीक्षक अनुप सुवेदी ठ्याक्कै यहीँनेर हमाल–हिरोइज्मको बीज भेट्टाउँछन्।
‘मानिसमा चेतना विस्तार हुँदै थियो जसले समाजमा भएका कुरीतिविरुद्ध आक्रोश पलाउँदै थियो’, सुवेदीको टिप्पणी छ, ‘त्यो आक्रोश हमालले फिल्मको पर्दामा पोख्दै थिए।’ हमालले फिल्ममा खेलेको भूमिका र बोलेको डायलगमा आफ्नो अभिव्यक्ति पाएकाले उनलाई धेरैले मन पराएको सुवेदीको तर्क छ। कथाकार अविनाश श्रेष्ठको पनि यस्तै ठहर छ। हमालले खेलेको योङ एंग्री म्यानको भूमिकाले उनलाई स्थापित गराएको श्रेष्ठको टिप्पणी छ।
हुन पनि हमालले प्रायः अन्याय, अत्याचार र असमानताविरुद्ध लड्ने जुझारु युवकको भूमिकामा अभिनय गरेका छन्। उनका समकालीन अभिनेताभन्दा यसै कारण उनी फरक भएका हुन्। उनीसँग तुलना गर्न सकिने अर्का नायक हुन्— भुवन केसी। मिस्टर केसीका सबैजसो फिल्म हिट नै थिए तर पनि हमाल ‘राजेश दाइ’ बनेजस्तो उनी ‘दाइ’ वा ‘भाइ’ भने हुन सकेनन्। यसको मुख्य कारण हो, केसीले एक युवाप्रेमीको भूमिकामा आपूmलाई अभ्यस्त बनाए भने राजेश हमाल गाउँ–समाजमा न्यायको पक्षमा बोल्ने युवकको रूपमा उभिए।
जिल्लाका सदरमुकाम वा सहरमा ‘चलचित्र मन्दिर’ बन्दै गरेको र नेपाल टेलिभिजन भर्खरै स्थापना भएर ‘सिनेलहर’जस्तो फिल्मी कार्यक्रम प्रसारित हुँदै गरेको त्यस समय कुनै प्रियसीको पछि भँवराजस्तै भुन्भुनाउने केसीभन्दा बढी शोषकलाई ठीक पार्ने हमाल लोकप्रिय हुनु अस्वाभाविक थिएन। त्यसमाथि हमालको एक्सन नै ‘खत्रा’ थियो। उनले जस्तै उडीउडी बटरफ्लाई किक हानेर प्रतिपक्षीलाई तीन बल्ड्याङ खुवाउने अभ्यास गरेका ठिटाहरू गाउँसमाजमा अहिले पनि राजेश दाइलाई मिस गर्दै होलान्।
शरीर र बजारको देन
६ फिट दुई इन्च उचाइ। ४२ इन्च छाती। १४ इन्च बाइसेप। हमालको यो शरीर–संरचना सम्भवतः नेपाली सिनेजगत्मै एउटा स्ट्यान्डर्ड हो। यत्तिको शरीर भएको अर्को अभिनेता हमालका समकालीनमा अरू थिएनन्। उनको यो युनिक शरीर बनोटले पनि उनलाई स्थापित हुन धेरै भूमिका खेलेको विश्लेषण छ कथाकार श्रेष्ठको। ‘राजेश हमाललाई स्थापित गराउन उनको शरीरले धेरै भूमिका खेलेको छ’, श्रेष्ठ भन्छन्।
उनका समकालीन वा उनीभन्दा केही अघिदेखि चलचित्रमा रहेका शिव श्रेष्ठ पनि उनको आगमनसम्म उत्तिकै लोकप्रिय थिए। तर, हमालले उनलाई पनि माथ खुवाए। सायद उनको आवाज र कपालले पनि उनलाई साथ दिएको हुनुपर्छ। हमालको कपाल निकै पछिसम्म पहिचान बन्यो। प्रहरी इन्सपेक्टरको भूमिकामा पनि उनी लामो कपालमै पर्दामा देखिए। सम्भवतः नेपाल प्रहरीको पोसाकमा त्यत्ति लामो कपालसहित फोटो खिचाउने उनी एकमात्र हुन्। एक अभिनेताको कपाल–पहिचानको निम्ति प्रहरीको मानक सम्मलाई बेवास्ता गर्र्ने हिम्मत त्यति बेलाका निर्देशकले गर्थे भन्ने उदाहरण पनि हुन्— राजेश हमाल।
हमालको नायकत्व स्थापित गर्न तत्कालीन सिनेमा बजारको पनि भूमिका रहेको ठहर छ— समीक्षक सुवेदीको। सुवेदीका अनुसार त्यति बेला फिल्म जगत्मा वितरकको बढी नै हालीमुहाली चल्थ्यो। प्रशस्त फिल्म बन्न थालेका थिए। फिल्म निर्माणमा नयाँनयाँ निर्माताको प्रवेश हुन थालेको थियो। तर, निर्मातासँग पुग्दो लगानी स्रोत थिएन। त्यसका लागि फिल्म वितरकको सहयोग चाहिन्थ्यो। सुवेदी सुनाउँछन्, ‘वितरकहरू चल्ने हिरोलाई खेलाउने सर्तमा मात्र लगानीमा साझेदार बन्न तयार हुन्थे।’ चल्ने हिरो त राजेश हमाल नै थिए।
आफ्नो समयका महानायक
यी विविध कारणले स्थापित अभिनेता हमालमाथि फेरि पनि उठ्ने प्रश्न हो— के उनी महानायक नै हुन् ? आपैmंले लेखेको फिल्म ‘भाउजू’मा अभिनय गरेर चर्चा कमाएका हमाललाई कथाकार अविनाश श्रेष्ठ ‘महानायक’ मान्न तयार छैनन्। ‘महानायक हुन धेरै विविधतायुक्त भूमिकामा स्थापित भएको हुनुपर्छ। उनी एकै खाले भूमिकामा मात्र स्थापित भएका हुन्’, श्रेष्ठको तर्क छ।
श्रेष्ठको तर्कमा सहमत हुने ठाउँ प्रशस्त छन्। हुन पनि डेढ सय जति फिल्ममा अभिनय गरेका हमालले निर्वाह गरेका चरित्र एक दर्जन पनि मुस्किलले पुग्लान्। यति हुँदाहुँदै पनि उनी आफ्नो समयका सबैभन्दा स्थापित नायक हुन्। उनको अभिनय उत्कर्षमा हुँदा नेपाली सिनेजगत्ले अंगीकार गरेको हिरो–मानकको सबैभन्दा फिट पात्र राजेश नै थिए। अहिले सामाजिक–राजनीतिक आन्दोलनसँगै हिरोको मानकमा पनि परिवर्तन आयो। राजेश हमालको हिरोइज्मको युग पनि सकिँदै गयो। तर, अहिले पनि उनका फ्यानले पुरानै डायलग दोहोर्याउन छोडेका छैनन्, ‘साथीको लागि यो हात सलाम छ, दुश्मनको लागि यो हात फलाम छ। हेऽऽऽ’