चट्याङ लागेर १० महिने बालकको ज्यान गयो
अछाम: शुक्रबार राति परेको चट्याङले अछामको चौरपाटी गाउँपालिका-३ गगुडामा १० महिने बालकको मुत्यु भएको छ । बेलुकी साढे ७ बजेतिर घरमै सुतिरहेको बेला एक्कासी चट्याङ पर्दा रमेश कामीका १० महिने छोरा आयुषको मुत्यु भएको छ । घटनामा रमेशका १६ वर्षीया बहिनी सीता कामी गम्भीर घाइते भएकी छन् ।
सीताको अनुहारदेखि छातिसम्म जलेकोले बयालपाटा अस्पतालमा उपचार भइरहेको स्थानीय कृष्णबहादुर साउदले बताए ।
मुत्यु भएका नाबालकलाई अस्पतालमा ल्याएपछि मृत घोषित गरिएको बयालपाटा अस्पातालका मेडिकल निर्देशक डाक्टर बिकास गौचनले बताए । गौचनका अनुसार सीता भने खतरामुक्त छिन् ।
चट्याङले रमेशको घरनजिकै गोठमा बाँधिएका ५ बाख्रा र एउटा गोरु पनि मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चट्याङका कारण २ तले घर जलेर नष्ट भएको अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानले बताए ।
उनका अनुसार जिल्लामा असिनाका कारण भएको हिउँदे नगदेबालीको क्षतिको विवरण पुरा संकलन जारी रहेको बताए । ढकारी गाउँपालिका, चौरपाटी गाउँपालिका र मगलसेन नगरपालिका क्षेत्रमा धेरै क्षति भएको छ ।