केही फुटेज जिन्दगीका

केही फुटेज जिन्दगीका

नेपाली कथानक चलचित्र ‘बदला’ बन्ने भयो। निर्देशक तथा कथाकार श्याममदनले मलाई गीत लेख्ने भूमिका दियो। उसले फिल्मको ‘ओपेनिङ सिन’ बयान गर्‍यो, ‘हिरो भिलेनको काटिएको टाउको बोकेर टक टक हिँडेर आउँछ। टाउकोबाट तीन थोपा रगत तप् तप् चुहिन्छ। पहिलो थोपा ‘ब’ बन्छ, दोस्रो ‘द’ र तेस्रो ‘ला’। अनि गीत बज्छ, ‘यो हो बदला।’

निर्देशकले दिएको बोलअनुसार मैले गीत लेख्नुपर्ने भयो। ऊ मैले स्कुलतिर ‘हामी हौं देशका तारा, तिर्छौँ आमाको दूधको भारा, हामीलाई बुद्धको सहारा’ टाइपका कविता लेखेर/सुनाएर हासिल गरेको सानोतिनो ‘स्टारडम’लाई ‘क्यास’ गर्न चाहन्थ्यो। मैले गीत लेख्न सकिनँ। भ्याइनँ भनूँ। सानोतिनो नै सही, स्टार थिएँ। स्टारहरूले भ्याउँदैनन्। गीतको बोल दिँदा पनि नलेखिदिएपछि निर्देशक मसँग रिसायो र एक दिन घोषणा गर्‍यो, ‘तँ फिल्मबाट आउट !’

पछि ऊ आफैंले स्क्रिप्ट हरायो। तर, शिरमा फिल्म बनाउने भूत सवार भएको ऊ जस्तो मान्छेको दिमागमा अनगिन्ती फिल्म आउँथे/जान्थे। उसका फिल्मका कथा कहिले चाख मानेर, कहिले दिक्क मानेर सुन्थ्यौं हामी। थोरै फिल्म बन्ने २०४९/५० सालको नेपालमा श्याममदन चाल्नाखेल भन्ने काँठको गाउँको पहिलो निर्देशक बन्ने सपना देखिरहेको थियो। धेरैपछि मात्र उसले आफ्नो सपनाको जटिलता बोध गर्‍यो र भन्न थाल्यो, ‘बुझ्यौ केटा हो, जिन्दगी तीन घन्टाको फिल्म होइन।’ कुन फिल्मबाट हो, उसले यो संवाद टिपेको थियो र बारम्बार भन्थ्यो, ‘जिन्दगी तीन घन्टाको फिल्म होइन।’ सायद फिल्म पनि तीन घन्टाको जिन्दगी होइन।

यसरी नेपाली कथानक चलचित्र ‘बदला’ सदाका लागि नबन्ने भयो।

राम्रो भयो— एउटा झुर निर्देशक र एउटा झुर फिल्मी गीतकारको सम्भावित बोझबाट देश मुक्त भयो।

०००

मेरो बालसखा रघुवरकी आमा हामीले चिनेका एक मात्र अभिनेता भुवन केसीको ‘क्लासमेट’ हुनुहुन्थ्यो। रघुले आमामार्फत मलाई एउटा महŒवपूर्ण ‘विकिलिक’ गराइदियो।

भुवन केसीलाई स्कुलमा साथीहरूले भाका हालेर जिस्क्याउँदा रहेछन्, ‘भुवन केसी जुत्ता सी, एउटा नसी, दुइटा सी।’ यति अमूल्य सूचनाले सम्पन्न भएपछि मैले स्कुलका साथीहरूलाई आफ्नो ज्ञानको विशालता देखाउँदै भुवन केसीको लयात्मक किस्सा सुनाएँ। केही दिन त उनीहरूले खुब गाए, रमाइलो माने। तर, अकस्मात् स्कुलमा अर्काे नयाँ भाका सिर्जना हुन पुग्यो, ‘विनोद केसी, जुत्ता सी, एउटा नसी, दुइटा सी।’ क्या ‘बुमराङ’ भयो !

अहिलेको डकुमेन्ट्री मेकर रघु मैले स्कुलमा दिने फिल्मी गफहरूको बलियो स्रोत थियो। ऊ मामाघर जान्थ्यो। डेकमा फिल्म हेर्थ्यो। झल्लरी छाताजस्तो डिस्क एन्टिनाले दिने फिल्म हेथ्र्याे। ब्रुस ली, भ्यान्डम, र्‍याम्बो, आर्नोल्डका फिल्मका दृश्यहरू मलाई सुनाउँथ्यो। र, म भविष्यको आख्यानकारको लक्षण तथा क्षमता प्रदर्शन गर्दै तिनमा थपथाप पार्थें र स्कुलका साथीहरूलाई सुनाउँथेँ। यसरी अंग्रेजी फिल्मको विशद ज्ञाता भएको भ्रम छर्थें।

एकजना साथी थियो, उग्र फिल्मप्रेमी। मखनको गल्ली धाइरहने। अंग्रेजी शिक्षक श्यामबाबु सरले उसको नामै राखिदिएका थिए— मखनको गल्ली।

‘हे यु, मखनको गल्ली, स्ट्यान्ड अप एन्ड टेल मी हाऊ भैरव सेभ्ड रामसिङ्स लाइफ ? ’ श्यामबाबु सर उसलाई बिरलै उसको नामबाट बोलाउँथे।

एक दिन मेरो अंग्रेजी फिल्मको बुट्टेदार गफबाट वाक्क भएर मखनको गल्लीले भन्यो, ‘तैंले असली इङ्लिस फिल्म हेरेकै छैनस्, केटा !’

र, उसले मलाई एक दिन मखनको गल्ली पुर्‍यायो।

बीस–बीस रुपैयाँ तिरेर हामी एउटा घरको अलिक फराकिलो कोठामा छिर्‍यौं। त्यहाँ ३०/३५ जनाजति दर्शक थिए। टेबलमा सायद २१ इन्चको टीभी थियो। एकछिनपछि बत्ती निभ्यो र फिल्म चालू भयो। असली इङ्लिस फिल्म !

म लाजले, भयले अवाक् भएँ। बाह्रतेह्र वर्षे किशोरले जिन्दगीमा पहिलोपल्ट एउटा वयस्क नांगो नारी शरीर देखेको थियो। एकजना अधबैंसे काकाको मुखबाट सुनेको थिएँ, ‘बुलु फिलिम।’ आज साथी मखनको गल्लीले मलाई मखनको गल्लीमा देखाइदियो, देह तमासा, नांगो देह तमासा।

तर, यो तमासा १० सेकेन्डजति पनि चल्न पाएन।

‘ए रोक्, रोक्, रोक् !’ एउटा कर्कश आवाज आयो। बत्ती बल्यो। टीभी निभ्यो। कर्कश आवाजको धनी डरलाग्दो ज्यानको थियो, भीमकाय। उसले अश्लील फिल्म चालू गर्ने आफ्नो साथीलाई अश्लील शब्दहरूको फोहोरा छोडेर बेस्कन हप्कायो, ‘पुलिस आयो भने के हुन्छ ? बच्चाबच्चीलाई किन हुल्या ? ’

भीमकायले म र अरू दुईतीन जनालाई कठालोमा समातेर बाहिर निकाल्यो। मखनको गल्ली भने अलिक छिप्पट थियो र बहिर्गमनबाट जोगियो। त्यो बलिष्ठ देहधारीले मलाई टाउकोमा यस्तरी खउँ हान्यो कि मैले तोरीको होइन, सूर्यमुखीको फूल देखेँ। उसले गरेको गालीको संस्कृतनिष्ठ अनुवाद यस्तो हुन्थ्यो, ‘ओष्ठ निचोर्ने हो भने दुग्ध पदार्थ निःसृत हुन्छ होला, कामकला हेर्न आउने ? आज रात्रिकालमा माता–पिताको शयनकक्षमा प्रवेश गरेर हेर्नू, चौरासी आसन। अबउप्रान्त यतातिर दृष्टिगोचर भइस् भने तेरो जननेन्द्रिय छेदन गरेर पठाइदिन्छु। ख्याल गरेस् शिशु !’

यस्ता फिल्म देखाउने अखडामा बेलाबेलामा पुलिसले छापा हान्दो रहेछ। जति सेटिङ मिलाए पनि दर्शक बच्चा भयो भने फिल्म देखाउनेलाई पुलिसले कडा कारबाही गर्दाे रहेछ।

अब म छु मखनको गल्लीमा। सहरसँग पूरै अपरिचित। त्यहाँबाट अलिक टाढा गएर मखनको गल्लीलाई पर्खिबसेँ। आधा घन्टापछि ऊ आयो, एकदम तृप्त भएर, मुस्कुराउँदै।

‘यस्तो फिल्म पनि देखाउन ल्याउनी ? ’, म ऊसँग आगो भएँ।

‘के भो त ? तेरो एक पैसा परेको छैन। एकछिन भए पनि इंग्लिस फिल्मको स्वाद त लिइस् कि !’ उसले मलाई असीम कृपा गरेको भावमा भन्यो।

त्यसपछि उसलाई मैले अंग्रेजी फिल्मको गफ दिन छाडेँ।

०००

उबेला हल भनेकै विश्वज्योति थियो, विश्वज्योति भनेकै हल थियो। जस्तो अहिले चिसो भनेकै कोकाकोला छ। मैले हेरेको पहिलो फिल्म थियो, ‘मायालु’। सानो झ्यालबाट काटिएको टिकट, आँखामा परेको टर्चलाइटको प्रकाश, हलभित्रको सिट्ठी र सुसेली, यस्तैयस्तै धमिला सम्झना छन्।

एवं रीतले फिल्महरू हेरिए। नायिकालाई हातपात गरिरहेका गुन्डाहरूलाई नायकले ढिसुम–ढिसुमको प्रलयकारी आवाजका साथ धुलो चटाउँदा ताली बजाइयो, नाचगानमा झुमियो र हरेक रोमान्टिक दृश्यमा हिरोको ठाउँमा आफूलाई घुसाइयो...।

फिल्म नेपाली थिए, किनभने भाषा नेपाली थियो, कलाकार नेपाली थिए। तर, फिल्ममा नेपाली समाज थिएन, नेपाली कथा थिएन। नेपाली समाजको ध्वनि थिएन, धुकधुकी थिएन। विशुद्ध मनोरञ्जन थियो, रसरंग थियो, रमाइलो थियो। केही नामको दबदबा थियो। भुवन केसी, शिव श्रेष्ठ, करिश्मा केसी, कृष्टि मैनाली, मौसमी मल्ल। नामहरू फेरिए। दबदबा पनि फेरिए। राजेश हमाल आए, साढे दुई दशक नेपाली फिल्मको जगरसेठ भएर बसे।

भन्नेले भनिरहे, ‘नेपाली फिल्म गतिलो भएन हाउ !’

दबदबा कायम गर्नेले बचाउ गरिरहे, ‘हाम्रा फिल्म भरिया, ठेलागाडा चालक, रिक्साचालकजस्ता श्रमिकहरूले हेरेर चलेको हो। हामी उनीहरूलाई मनोरञ्जन दिएर महान् काम गरिरहेका छौं।’ तर, ती फिल्मले उनीहरूको चेतनाको उन्नतिमा तिलको दानोबराबर योगदान गरेन।

नेपाली फिल्मको शुष्क जिन्दगीमा त्यसपछि आयो, ‘नुमाफुङ’। यो फिल्म हेरेको दिन मलाई लाग्यो, बल्ल एउटा नेपाली फिल्म हेरियो। कथाकार/कवि अभय श्रेष्ठले ‘नुमाफुङ’ हेरेपछि गरेको टिप्पणी अहिले पनि सम्झन्छु, ‘तराजुको एकापट्टि सारा नेपाली फिल्म र अर्कोपट्टि ‘नुमाफुङ’ राखौं। पल्ला ‘नुमाफुङ’कै भारी हुन्छ।’

अहिले धेरै प्रतिभाशाली नयाँ नामहरू आएका छन्। पहिले नेपाली फिल्मले दिने एक प्रकारको खिन्नतालाई नयाँ पुस्ताका फिल्म ‘बुझेका’ कलाकारले नामेट पार्न खोज्दैछन्।

०००

२०६०/६१ सालतिर विकास बस्नेतसँग चिनजान भयो। त्यतिखेर ऊ चरम गरिबीमा थियो। जागिर थिएन। ‘नवयुवा’मा फिल्म समीक्षा लेख्थ्यो र त्यसको ज्यालाले दुई छाक जुटाउन खोज्थ्यो। यति अभावग्रस्त भएर पनि उसले आफ्नो डेरामा किताब र फिल्मका सीडीको ससानो पहाड ठड्याएको थियो।

उसले मलाई राम्रा र स्तरीय फिल्म हेर्ने बानी लाइदिन खोज्यो। अब्बल फिल्मका मामिलामा मेरो निरक्षरता देखेर ऊ घोर चिन्तित हुन्थ्यो र भन्थ्यो, ‘हेर् केटा, यो फिल्म (मानौं ‘बाइसिकल थिभ्ज’) हेरिनस् भने तेरो एकबारको जुनी खेर गयो। अनि, यो फिल्म हेरिनस् भनेचाहिँ तँ आधी–अधुरै, अतः अपूरै मरिस् !’

विकासले दुःखले जोडेका कैयन् फिल्म मैले दमपच पारिदिएको छु। साथीको अधुरो जीवनको चिन्ता गर्नेले यति बलिदानी त दिनैपर्छ !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.