शौचालय गएका वृद्धको भीरबाट लडेर मृत्यु
फुङलिङ : शौचालय गएका ताप्लेजुङ सिदिङ्वा–४ साब्लाखु निवासी ८५ वर्षीय तेशबहादुर पन्दाक लिम्बु शौचालय नजिकै भीरको फेदमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार शौचालय गएका तेशबहादुर लामो समय सम्म पनि फर्केर नआएपछि खोजी गर्दा भीरबाट करिब सय मिटर तल मृत अवस्थामा भेटिएका थिए ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फुङलिङ ल्याइएको छ । दुईसाता अघि पनि सोहि भीरबाट लडेर एक वृद्धको ज्यान गएको प्रहरीको भनाइ छ ।