बालविवाहमा सहभागी हुनेलाई बहिष्कार
मुसीकोट : जिल्लाका विभिन्न स्थानमा उमेर नपुगी विवाह गर्ने क्रम बढेपछि रुकुम पश्चिमको एक गैरसरकारी संस्थाले बालविवाह वा त्यसका लागि गरिने जुनसुकै कार्यमा संस्थाका कुनै पनि पदाधिकारी वा कर्मचारी सहभागी भए उनीहरूलाई बहिष्कार गर्ने बताएको छ ।
केही वर्षदेखि रुकुम पश्चिम र पूर्वका विभिन्न भागमा विभिन्न परियोजनामार्फत काम गरिरहेको गैरसरकारी संस्था रुकुमेली समाज विकास केन्द्रले यस्तो निर्णय गरेको हो । मंगलबार बसेको संस्थाको कार्यसमिति बैठकबाट गरिएको निर्णयलाई आधार बनाई बुधबार एक सार्वजनिक सूचना जारी गर्दै संस्थाले यस विषयमा जानकारी गराएको हो । ‘नगरौं बिहेका कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने मूल नारालाई आधार मान्दै पछिल्लो पटक बढिरहेको बालविवाहविरुद्ध जिल्ल्लाव्यापी अभियान सञ्चालन गर्न आफूहरूले सुरुवात गरेको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक भीमबहादुर केसीले बताए । ‘हामी बालविवाहविरुद्ध आवाज बुलन्द पार्न सहयोग पुगोस् भनेर अभियान थाल्दै छौँ’, उनले भने ।
जिल्लामा बालविवाहको अवस्था कस्तो छ भन्नेबारे कुनै यकिन तथ्यांक उपलब्ध नभए पनि बालविवाह गर्ने–गराउने क्रम हरेक वर्ष बढ्दो क्रममा रहेको सरोकारवालाको भनाइ छ । सानैमा बिहे गरेर सानैमा आमा बन्नुपर्ने बाध्यताका कारण बालबालिकाको भविष्य अन्योलमा त पर्छ नै, साथै आमा र बच्चाको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव परिरहेको छ ।
रुकुम पश्चिमको जिल्ला अदालत रुकुममा आउने मुद्दामध्ये सरदरमा सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा धेरै रहेको अदालतले बताएको छ । यसको मूल कारण पनि बालविवाह नै रहेको मानिएको छ । रुकुमेली समाज विकास केन्द्रको सहजीकरणमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा यसअघि थालिएको अभियानबाट एक महिनामै पाँचवटा बालविवाह रोकिएका थिए । यसलाई जिल्लाव्यापी बनाएर बालविवाहको दरमा न्यूनीकरण गर्न संस्थाले संस्थागत अभियान थालेको बताएको छ ।