ललितपुरमा १२ सय बन्दुक

ललितपुरमा १२ सय बन्दुक

ललितपुर : गोदावरी नगरपालिका–६ इकुडोलस्थित शारदा शिक्षा सदनकी शिक्षिका सुजाता तामाङको गत शुक्रबार भरुवा बन्दुकको गोली लागेर ज्यान गुम्यो। ३१ वर्षीया तामाङको घरमा पाहुना आएका देवरले जिस्कँदै बन्दुक चलाउँदा दुर्भाग्यबस उनलाई लागेको थियो। उक्त बन्दुक गैरकानुनी भएकाले जफत गरी छानबिन भइरहेको चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीले बताए। उनले भने, ‘अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गरिरहेका छौं।’

इकुडोल घटनाले कस्ले, कस्ता गैरकानुनी बन्दुक लुकाएका छन् छानबिन गर्न सुरक्षा चुनौती देखिएको छ। ‘यस्ता घटनापछि बन्दुकवालाले निश्चित समयमा लाइसेन्स पेस गर्नुपर्छ अन्यथा हातबन्दुक तथा खरखजाना मुद्दा लाग्ने कानुनी प्रावधान छ’, ललितपुर प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने। उनले पछिल्लो समय बन्दुक नियन्त्रण गर्न बन्दुक दर्तामा कडाइ गरेको पनि बताए। कस्ता बन्दुक कस्ले प्रयोग गरेका छन् र कहाँ छन् आफूले दृष्टि पु¥याउँदै आएको उनले जानकारी दिए। उनले भने, ‘बन्दुक त नियन्त्रण हुनैपर्छ।’

कानुनले कुनै पनि जिल्लामा दर्ता भएको बन्दुकको नवीकरण देशभर जहाँसुकैबाट पनि नवीकरण गर्न पाउने व्यवस्था भएकाले ललितपुरमा कति बन्दुक नवीकरण भए एकिन तथ्यांक राख्न नसकिने उनले बताए। हातबन्दुक तथा खरखजाना ऐन, २०१९ अनुसार लाइसेन्स नभएको बन्दुक राख्नेलाई बिना ‘वारेन्ट’ गिरफ्तार गर्न वा बन्दुक जफत गर्न सकिने व्यवस्था छ। यसअनुसार सरकारले चाहेको खण्डमा कुनै पनि समयमा लाइसेन्स रोक्का गर्न सक्छ।

दर्ताका लागि गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका कम्प्युटर अधिकृत शान्तप्रसाद भुजुका अनुसार ललितपुर जिल्लामा ११ सय ९८ वटा बन्दुक दर्ता भएका छन्। यी बन्दुक ९ सय १६ स्थानीयले दर्ता गरेका हुन्। एकै जनाले एकभन्दा धेरैको अनुमति लिन पाउने भएकाले कतिपयले दुई वटा बन्दुक पनि दर्ता गरेको भुजुले जानकारी दिए। उनले भने, ‘विषेशगरी २२ र १२ बोरका बन्दुक धेरै दर्ता भएका छन्।’ ३० देखि ४० वटा एयरगन (सिकारी बन्दुक) दर्ता छन् भने भरुवा बन्दुक थोरै छन्।

बन्दुक राख्ने अनुमति लिन दर्ता शुल्क अत्यन्त न्यून छ। १ हजार रुपैयाँमा कुनै पनि प्रकारका बन्दुक दर्ता गर्न पाइने कानुनी प्रावधान छ। ६ सय रुपैयाँमा दुई वर्ष नवीकरण हुने व्यवस्था रहेको कम्प्युटर अधिकृत भुजुको भनाइ छ। ‘बन्दुक राख्न चाहनेको आचरण, चालचलनबारे प्रहरी रिपोर्ट आएपछि र मानसिक सन्तुलन ठीक छ छैन डाक्टरले सुनिश्चित गरिसकेपछि बन्दुक दर्ताको अनुमति पाउँछन्’, उनले भने। कानुनतः सुरक्षामा खतरा महसुस भए जोसुकैले पनि आफ्नो सुरक्षाका लागि बन्दुक राख्न पाउने अधिकार छ। बन्दुकको दर्ता सीडीओ कार्यालयमा गर्नुपर्छ।

बन्दुक दर्ता गर्न पुरुषको दाँजोमा महिला भने फाट्टफुट्ट मात्र आएका छन्। सबैभन्दा धेरै सहरी बासिन्दाले बन्दुकमा चासो राख्दै आएको सीडीओ कार्यालयले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.