जीवनभर दूषित पानीको भर
बैतडी : खाउँ भन्या साथीको माया नखायाले रिस
मुखइनी महाकाली बग्दी मइ पानी तीस
जिल्लाको दशरथचन्द नगरपालिका–१० तीरखडेनीकी जयन्ती बुडालले आफूहरूले बर्साैंदेखि भोग्दै आएको खानेपानीको समस्या गीतमार्फत व्यक्त गरिन्। यहाँका ५० भन्दा घरपरिवारले बर्सौंदेखि महाकालीको दूषित पानी पिउँदै आएका छन्।
गाउँमा खानेपानीको व्यवस्था नहुँदा महाकालीको पानी बोकेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको तीरखडेनीकी धाना बुडालले बताइन्। ‘गाउँमा खानेपानीको सुविधा छैन। खाना तथा सरसफाइ र अन्य प्रयोजनका लागि महाकालीबाटै पानी ल्याउनुपर्छ। त्यो पानीमा धेरै बालुवा हुन्छ’, उनले भनिन्, ‘बालुवा थिग्रिएपछि मात्रै प्रयोग गर्छौं।’
बाहै्र मास नदीको दूषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको ७४ वर्षीय रामसिंह बुडालले बताए। ‘म पनि जीवनको उत्तराद्र्धतिर पुगिसकेँ। सानैदेखि नदीकै पानी प्रयोग गथ्र्यौं। अहिले पनि अवस्था फेरिएको छैन’, उनले भने, ‘यसबीचमा धेरै सरकार फेरिए, व्यवस्था फेरिए। तर हाम्रा लागि खानेपानीको व्यवस्था गर्ने सरकार कोही आएन।’
जिल्ला सदरमुकाम नजिकैको गाउँका स्थानीय बर्सौंदेखि महाकालीको दूषित पानी प्रयोग गर्दै आए पनि कसैले समस्या समाधान नगरेको स्थानीय जनकसिंह बुडालले बताए। ‘संविधानमै स्वस्थ भएर बाँच्न पाउने हरेक नागरिकको मौलिक हक हुनेछ भनेर लेखेको छ। खोइ हाम्रो मौलिक हक ? ’, उनले भने।
जीवनको उत्तराद्र्धतिर पुगिसकेँ। सानैदेखि नदीकै पानी प्रयोग गथ्र्यौं। अहिले पनि अवस्था फेरिएको छैन।
रामसिंह बुडाल, स्थानीय
बर्खाको समयमा महाकालीबाट पानी भरेर ल्याउनु निकै जोखिमपूर्ण हुने गरेको स्थानीय जयन्ती बुडालले बताइन्। ‘हामीलाई गाउँमा समस्या भनेको खानेपानीकै छ। खानेपानी नभएकै कारण हामीले विभिन्न समस्या झेलिरहेका छौं’, उनले भनिन्, ‘बर्खाको बेलाको महाकालीको भेलमा पानीको जोहो गर्नु कम्ती सकस हुँदैन। महाकालीमा हाम्रा कति गाग्री बगिसकेका छन्। त्यसको कुनै हिसाब छैन।’
चुनावको बेला मात्रै गाउँमा नेता पुग्ने गरेको र खानीपानी समस्या समाधान गर्ने आश्वासन मात्र दिने गरेको उनको भनाइ छ। बर्खाको समयमा पानी भर्ने भाँडोमा आधा पानी र आधा बालुवा आउने गरेको नारु बोहराले बताइन्। ‘खानेपानी दूषित भएकै कारण विभिन्न रोग लाग्ने गरेका छन्’, उनले भनिन्, ‘नजिक अस्पताल छैन। बिरामी भए पनि भारतकै भर पर्नुपर्छ। भारत जान ट्युबमार्फत नदीमा जोखिमपूर्ण यात्रा गर्नुपर्छ।’
स्वस्थ भएर बाँच्न पाउनुपर्ने हरेक नागरिकको नैसर्गिक अधिकार भए पनि महाकाली किनारका बासिन्दाले दूषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको रुडेसका कार्यक्रम संयोजक तेजराम लुहारले बताए। ‘हामीले पनि तटीय क्षेत्रका बासिन्दाका समस्या बुझ्ने प्रयास गरेका छौं’, उनले भने, ‘खासगरी तीरखडेनीमा खानेपानीकै समस्या छ।’