मिनिट्रकले किच्दा महिलाको मृत्यु, चालक फरार
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको ओखरपौवामा मिनिट्रकले किच्दा स्थानीय महिलाको मृत्यु भएको छ । चालक फरार रहेका छन् । सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका वडा नं. १ ओखरपौवा कागती गाउँमा मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले आइतबार बिहानैदेखि जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्याएका छन् । सिसडोलमा काठमाडौदेखि फोहोर बिसर्जनका लागि आएका सयौं ट्रिपर बिचमै रोकिएका छन् ।
बालुवा बोकेको बा५ख २५२३ नं को मिनीट्रकले शनिबार राति ककनी गापा–१ महालक्ष्मी भन्ने स्थानमा स्थानीय २३ वर्षीया सरिता बलामी श्रेष्ठलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले बताए । सो मिनिट्रक स्थानीय बिमल बलामीको रहेको स्थानीयवासीले बताएका छन् ।
पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर बिसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ । सोही घटनाको विरोधमा त्यस क्षेत्रका बासिन्दाले आइतबार बिहानैदेखि प्रदर्शन गर्दै गाडी सञ्चालन बन्द गराएपछि फोहर बोकेर काठमाडौँबाट आएका गाडी जितपुरमा नै रोकिएका छन् ।
सडक अवरुद्ध हुँदा फोहर बोकेका एकसय थान गाडी बीचमै रोकिएका छन् । चालकले लापरबाहीरुपमा गाडी चलाएर दुर्घटना गराएको र त्यसलगत्तै फरार भएको जनाउँदै स्थानीयले उक्त मिनीट्रकमा तोडफोड गरी क्षति पुर्याइदिएका छन् ।
शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तनावपूर्ण रहेको उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक नरहरि रेग्मी र काठमाडौँबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन भएका छन् ।