आगलागीबाट १ को मृत्यु, १२ घर नष्ट
गाईघाट : उदयपुरको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका-६ स्थित नेपालटार बजारमा शनिबार राति आगलागि हुँदा एक वृद्धाको मृत्यु भएको छ भने ठूलो जनधनको क्षतिभएको छ।
स्थानीय भूतपूर्व प्रहरी हवल्दार नारायण तामाङको घरमा अचानक लागेको आगो बजारका अन्य घरमा सल्किदा १० जनाका १२ वटा घर जलेर नष्ट भएका छन्।आगलागीबाट करिब ६ करोड बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
आगलागीमा परेर ७० वर्षीया बाटीमाया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। आगलागीबाट स्थानीय नारायण तामाङका दुईवटा र टंक श्रेष्ठ, भरत कार्की, विरबहादु तामाङ, तिलकुमारी दाहाल, निर्मला विक, लवराज कार्की, तिकमान तामाङ, रमेश खतिवडाको घर जलेर पूर्ण क्षतिभएको छ।
एसपी भट्टकाअनुसार एक घर परिवारको नाम खुलेको छैन्। 'क्षतिको विवरण आउन बाँकी छ,' उनले भने, ‘सबै नेपालटार बजारमा रहेका पसल परेका छन।' आगलागीको कारण नखुलेपनि प्रहरीले नारायण तामाङको घरमा धामी राख्दा आगो लागेको हुन सक्ने शंका गरेको छ। आगो करिब ४ घण्टापछि बारुणयन्त्र, नेपालप्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको स्थानीय बोधकुमार घिमिरेले बताए।