उपलब्धिको सार्थकता कार्यान्वयन
प्रधानमन्त्री केपी ओली तीनदिने भारत भ्रमण सकेर फर्किएलगत्तै यसका उपलब्धिमाथि विमर्श सुरु भएको छ। समग्रतामा यो भ्रमण सकारात्मक र सफल देखिएको छ, सद्भाव र आपसी विश्वास बढाउने दृष्टिकोणले। जुन पृष्ठभूमिमा भ्रमण भएको छ र त्यसलाई भारतले जसरी उच्च प्राथमिकतामा राखेको देखियो, त्यसले भ्रमणको महत्व बढाएको छ र आगामी दिनमा दक्षिण छिमेकसँगको चिसिएको सम्बन्ध सकारात्मक हुँदै जाने प्रस्ट संकेत मिलेको छ।
नेपालमा संघीय गणतान्त्रिक संविधान जारी हु“दा त्यसलाई ‘नोट’ मात्रै गरेको भारतले घुमाउरो शैलीमा खुसी व्यक्त गरेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मादीले संयुक्त पत्रकार सम्मेलनमा ‘संविधान कार्यान्वयनको चरणमा भएका तीनै तहका निर्वाचनको सफलताले नेपालमा स्वर्णिम अध्याय सुरु भएको’ भनेर खुसी व्यक्त गरे। मोदी सरकारले गरेको यो ‘रियलाइजेसन’ सकारात्मक छ र यसबाट नेपाल-भारत सम्बन्ध विकासमा नयाँ आयाम थपिने अपेक्षा गर्न सकिन्छ।
राजनीतिक तहमा सिर्जित असमझदारी र चिसोपना मेटिएसँगै यो भ्रमणका केही महत्वपूर्ण उपलब्धि छन्। जस्तो- बेग्लाबेग्लै संयुक्त वक्तव्य जारी गरी भारतले नेपालसँग कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सौल-काठमाडौं जोड्ने रेलमार्ग बनाउने, भारत र नेपालबीच नयाँ जलमार्ग विस्तार गर्ने घोषणासमेत गरेको छ।
त्यसैगरी ‘सबका साथ सबका विकास’ को नारा बढाएका मोदीले नेपालको समृद्धिमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु, संघीयताको संस्थागत विकासमा सहयोग पुर्याउने वचन दिनु, बीरगन्जस्थित एकीकृत चेकपोस्ट्को उद्घाटन संयुक्त रूपमा गरिनु, मोतीहारी (भारत)- अमलेखगन्ज (नेपाल) पेट्रोलियम पाइपलाइन परियोजना शिलान्यास कार्यक्रमको दृश्यावलोकन गरिनु आदि भ्रमणका मुख्य उपलब्धि हुन्। यी प्रतिबद्धताको कार्यान्वयनसँगै यी उपलब्धिहरूको सार्थकता प्रमाणित हुनेछ। यद्यपि भ्रमणमा भारतले नेपाललाई जसरी उच्च प्राथमिकतामा राख्दै सद्भाव र आतिथ्य देखायो, सम्बन्धमा न्यानोपना खोज्दै जसरी नवीकरण गर्न खोज्यो, त्यो सकारात्मक छ।
‘चीनपरस्त’ भनेर आरोपित ओलीले पनि जसरी भ्रमणमा आफूलाई प्रस्तुत गरे, त्यसबाट उनको कूटनीतिक परिपक्वता पनि झल्किएको छ। भारतसँगको नेपाल सम्बन्ध विशिष्ट भएको यथार्थ सबैले बुझेकै विषय हो। प्रधानमन्त्री ओलीले भारतसँग नमुना सम्बन्ध बनाउने चाहना मात्रै व्यक्त गरेनन्, सँगै सम्बन्धको विकास समानता, न्याय, पारस्परिक सम्मान र हितमा आधारित हुनुपर्ने प्रस्ट पारे।
ओलीले राजनीतिक तहमै भेटवार्ता र संवाद जारी रहनुपर्ने बताएका छन्। अर्थात् नेपालसँगको सम्बन्धमा ‘ब्युरोक्रेसी’ हावी हुने खोज्ने प्रवृत्तिप्रतिको आफ्नो असहमति उनले प्रस्ट प्रकट गरेका छन्। यो भ्रमणमा वान टु वान वार्तामा के भए वा यसको रणनीतिक लाभ कसले के लिए, त्यसको विश्लेषण थप हुँदै जाला, यतिबेला सारमा भन्न सकिन्छ- भ्रमणले दुई देशबीचको आपसी सद्भाव बढाएको छ।
भ्रमणमा अपेक्षाकृत प्राथमिकतामा नपरेका पक्षहरू पनि छन्। जस्तो- पञ्चेश्वर÷महाकाली, पावर ट्रेड सम्झैता, भारतले एकतर्फी बनाएका बाँध जसका कारण बर्सेनि डुबानको पीडा नेपालीले खेप्नुपर्छ, भारतीय नोटको सटही, हुलाकी राजमार्ग आदि वर्षौंदेखि बढ्न नसकेका परियोजना छन्, जसबारे भ्रमणमा उतिसारो चर्चा भएन। त्यसकारण भारतसँगको सम्बन्धका विगतको अभ्यास हेर्दा अहिले देखिएका उपलब्धिहरूमा हौसिहाल्नुपर्ने अवस्था छैन।
यी प्रतिबद्धता र सहमति कुन रूपमा भोलिका दिनमा कार्यान्वयन हुँदै जानेछन्, त्यसकै आधारमा ओली भ्रमणका उपलब्धिहरूको सार्थकता प्रमाणित हुनेछ। अहिलेलाई भने भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्नुलाई सकारात्मक रूपमै लिनुपर्छ।
जुन भूरानीतिक अवस्थितिमा हामी छौं, भारतसँगको सम्बन्धमा आपसी सम्मान र सद्भावका आधारमा न्यानोपना खोज्नु नै हितकारी हुनेछ। सारमा मोदीले देखाएको शिष्टाचार र आतिथ्य, समुद्रसँगको पहु“चको सुनिश्चितता, रेलमार्ग आदि नयाँ घोषणाले नेपाल-भारत सम्बन्धमा नयाँ अपेक्षा जन्माएको छ।