गाउँघरमा ‘न्याउल्या’को चर्चा

गाउँघरमा ‘न्याउल्या’को चर्चा

बैतडी : सबैकी उज्यालो दिहाल, उदाएका बेल न्याउल्या।

आइगयो बैतड्या ठिटो, डोटेलीका खेल न्याउल्या।’

हिजोआज ‘न्याउला’का यी हरफ बालकदेखि वृद्धसम्मका मुखबाट सुन्न पाइन्छ। केही समयपहिला सुदूर तथा मध्यपश्चिमका एक सय ३२ कलाकारको संयुक्त स्वरमा न्याउल्या गीत बजारमा आएपछि अहिले न्याउल्याको चर्चा गाउँदेखि सहरसम्म पुगेको छ। बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा गाइने न्याउल्या भाका पछिल्लो समयमा लोप हुन थालेपछि यसको संरक्षणका लागि कलाकारहरू लागिपरेका हुन्। पहिलापहिला गौराको समय होस् अथवा अन्य समयमा न्याउल्या खेलको निकै चलन थियो।

तर, पछिल्लो समयमा यो बिस्तारै लोप हुन लागेपछि कलाकारले गीतमार्फत यसलाई उजागर गर्ने प्रयास गरेका छन्। एक सय ३२ कलाकार एकै ठाउँमा जमघट गराएर न्याउल्या गीत रेकर्ड गराएका गायक भुवनप्रकाश बडू (विरही) भन्छन्, ‘न्याउल्या हाम्रो पुरानो भाका हो। देउडा गीतमा गाइने विभिन्न भाकामध्येको लोकप्रिय भाका पनि हो। पछिल्लो समयमा यो भाका लोप हुन थालेपछि यसको संरक्षणका लागि हामीले सामूहिक प्रयास थालेका हौं।’

न्याउल्या पुरानो भाका भएकाले यसको संरक्षणमा कलाकारहरू जुटेका लोकड्यौडा गायक महेशकुमार औजीले बताए। उनले भने, ‘डोटेली संस्कृतिभित्र थुप्रै कुरा अटाएको छ। पुराना भाका पनि छन्। पछिल्लो समयमा यी भाका लोप हुन थालेकाले हामी युवा पुस्ताका कलाकारले यसको संरक्षण गर्नुपर्छ भन्ने लागेर यो सामूहिक गीत बजारमा ल्याएका हौं।’

अहिले पहाडबाट तराईतिर जाने हुन् अथवा तराईबाट पहाड आउने गाडी हुन् सबैमा न्याउल्या गीत बजेको पाइन्छ। ‘न्याउल्या भाका यो क्षेत्रको प्रसिद्ध भाका हो। पछिल्लो समयमा सुदूर तथा मध्यपश्चिमका कलाकारको सामूहिक स्वरमा यो गीत बजारमा आएपछि यसको संरक्षणमा टेवा पुग्ने विश्वास गरेको छु’, जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले भने, ‘हाम्रा पुराना भाका लोप भइरहेका बेला यस्ता सिर्जना बजारमा आउनु निकै खुसीको कुरा हो।’

टेक ऐरीको शब्द, एमके ठकुराठीको लयमा रहेको न्याउल्या गीत बिगपरिवेश डिजिटल रेकर्डिङ स्टुडियो काठमाडौंले बजारमा ल्याएको हो। ‘यसको एरेन्जदेखि लिएर व्यवस्थापनसम्मको काम मैले गरेको हुँ। हामी सबै कलाकारको एउटै मत रह्यो, हामीले हाम्रो न्याउल्या भाकालाई संरक्षण गर्नु जरुरी छ। त्यसैले हामीले यस्तो प्रयास गरेका हौं’, गायक भुवनप्रकाश भन्छन्, ‘संस्कृति र सभ्यता नरहे हामी पनि रहन सक्तैनौं। त्यसैले संस्कृति संरक्षणको अभियानमा सबै लाग्नुपर्ने बेला आएको छ। हाम्रो संस्कृतिमाथि प्रहार भइरहेको अवस्थामा यसको संरक्षण गर्न हामी नजुटे को जुट्ने ?

‘न्याउल्या भाका, ठाडी भाकालगायत हाम्रो संस्कृतिसँग जोडिएका गीत हाम्रा जीवन हुन्। यी गीतमा पश्चिम नेपालको जीवन दर्शन झल्किन्छ। त्यसैले यस्ता भाका संरक्षणमा लाग्नु सबैको कर्तव्य हो’, महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले भने, ‘संस्कृति नरहे हामी पनि रहदैनौं। त्यसैले कलाकारले गीतमार्फत संस्कृति जोगाउने अभियान थाल्नुभएको छ। यो निकै सकारात्मक कार्य हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.