बलात्कार गर्न खोजेको अभियोगमा मोसो र जुत्ताको माला
धनगढी : अर्काकी श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोपमा यहाँका एक युवालाई स्थानीयबासीले मोसो दलेर जुत्ता चप्पलको माला लगाइदिएका छन् ।
कैलारी गाउँपालिका-१ निवासी टुक्की नामले परिचित किसान प्रसाद चौधरीलाई अर्काकी श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोप लगाउँदै गाउँलेले आइतबार मोसो दल्दै जुत्ताको माला लगाइएका हुन् ।
श्रीमान् वैदेशिक रोजगारीमा रहेकी महिलाको घरमा परिवारका अन्य सदस्य नभएको मौका छोपेर चौधरीले बलात्कार गर्न खोजेको आरोप गाउँलेले लगाएका छन् ।
शनिवार मध्यरातमा ती महिलाको घरैमा पसेर उनले बलात्तकार गर्न खोजेको आरोप भेला भएका गाउँलेले लगाएका छन् ।
ती युवाले शारीरिक सम्बन्ध राख्न खोज्दा महिलाले प्रतिकार गरेकी थिइन् । त्यसपछि उनले ती महिलालाई कुटपिट गरेका थिए । कुटपिटपछि महिला चिच्याउँदा सुनेर गाउँले उनको घरमा आएका थिए ।
घटनापछि आइतबार स्थानीयबासी ती युवालाई नियन्त्रणमा लिएर मोसो दल्दै जुत्ताको माला लगाइएका हुन् । चौधरीले गल्ती स्वीकार्दै माफी मागेका थिए । स्थानीयबासीको पञ्चभेलाले २ लाख रुपैयाँ जरिवाना पनि तिराएको छ । चौधरीले त्यो रकम पीडितलाई १० दिनभित्र दिनुपर्ने शर्त राखिएको छ ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान थाल्न स्थानीय युनिटलाई निर्देशन दिएको छ । जिल्लाको निर्देशनपछि इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरिक्षक शंकर दत्त जोशी नेतृत्को टोली घटनाबारे बुझ्न गएको थियो ।