सुदूरपश्चिममा ट्यांकर सिन्डिकेट
धनगढी : मुलुकभर सिन्डिकेट अन्त्य भइरहँदा प्रदेश ७ मा ट्यांकरको सिन्डिकेट यथावत् छ। ट्यांकरमा लगाइएको सिन्डिकेटका कारण बेलाबेलामा पेट्रोलियम पदार्थको चरम अभाव हुने गरेको छ। पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले ट्यांकर थप्न नमान्दा एकदुई ट्यांकर बिग्रिँदा वा पेट्रोलियम पदार्थको माग बढेका बेला अभाव हुने गरेको हो।
प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा नेपाल आयल निगमको ४० वर्ष पुरानो डिपो छ। उक्त डिपोमा डिजेलको भण्डारण क्षमता १५ सय २० किलोलिटर अथवा १५ लाख २० हजार लिटर र पेट्रोलको ६० हजार लिटर मात्रै छ। डिपोभित्रै रहेको मट्टीतेलको ७६ हजार लिटर क्षमताको ट्यांकी खाली छ। मट्टीतलेको माग न्यून भए पनि उक्त ट्यांकी खाली भएको हो। प्रदेश ७ मा डिजेलको प्रतिदिनको खपत चार लाख लिटर र पेट्रोल झन्डै दैनिक एक लाख लिटर रहेको आयल निगमको तथ्यांक छ।
आयल निगमकै तथ्यांकलाई आधार मान्ने हो भने डिजेलको १५ लाख लिटरको ट्यांकीमा भरिएको इन्धन खपतका हिसाबले चार दिनका लागि मात्रै मौज्दात हो। ‘भारतबाट दुई दिन मात्र इन्धन दिइएन, ट्यांकर सञ्चालकले हडताल गरे वा तीन-चारवटा ट्यांकर एकै पटक बिग्रिए भने हप्तौं इन्धनको अभाव हुन्छ’, पेट्रोलियम डिलर्स एसोसिएसन कैलालीका निवर्तमान अध्यक्ष देवबहादुर खत्रीले भने। ‘सरकारले सबै प्रकारको सिन्डिकेटको अन्त्य भनेको छ। तर प्रदेश ७ मा ट्यांकरमा लगाइएको सिन्डिकेट देखेको छैन’, उनले भने।
नेपाल ट्यांकर व्यवसायी संघले प्रदेश ७ मा ट्यांकरमा जबर्जस्त रूपमा सिन्डिकेट लादेको छ। यसअघि पेट्रोलियम डिलर्स एसोसिएसनले इन्धन अभाव भयो, ट्यांकर थप्नुपर्यो भनेर तत्कालीन आपूर्तिमन्त्री दीपक बोहरालाई पटकपटक अनुरोध गरेको थियो। तर उनले व्यवसायीबाट पैसा खाएर धनगढी डिपोका लागि ट्यांकर नथपेको व्यवसायीको आरोप छ।
सरकारले सबै प्रकारको सिन्डिकेटको अन्त्य भनेको छ। तर प्रदेश ७ मा ट्यांकरमा लगाइएको सिन्डिकेट देखेको छैन।
ट्यांकर व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ खोलेर सिन्डिकेट लादेका हुन्। संघमा अहिले प्रदेश ७ को धनगढीस्थित आयल निगमको डिपोका लागि इन्धन ढुवानी गर्न ६७ वटा ट्यांकर दर्ता छन्। तीमध्ये ६२ वटा ट्यांकर मात्रै चालू अवस्थामा छन्।
त्यसमा पनि ५५ ट्यांकर २० हजार लिटर क्षमताका छन् भने १२ हजार लिटर क्षमताका सात ट्यांकर छन्। पाँचवटा बिग्रिएर थन्किएका छन्। धनगढी डिपोका लागि भारतीय आयल कर्पोरेसनको बन्थरा डिपोबाट इन्धन आयात हुन्छ। बन्थरा पुगेर फिर्ता धनगढी पुग्न एउटा ट्यांकरलाई चार दिन लाग्छ। एक दिनको समय पेट्रोल पम्पसम्म खन्याउन जोड्ने हो भने एउटा ट्यांकरले एक पटक तेल ल्याउन पाँच दिन लाग्छ।
यसरी दैनिक झन्डै १२ वटा ट्यांकर इन्धन ढुवानीका लागि प्रयोग भए भने उनीहरूको क्षमता अनुसार दैनिक बढीमा तीन लाख लिटर पनि इन्धन ढुवानी हुँदैन। डिजेलको दैनिक चार लाख र पेटोलको दैनिक एक लाख गरी पाँच लाख लिटरको दैनिक खपतमा दैनिक तीनदेखि साढे तीन लाख लिटर मात्रै ढुवानी भइरहेकाले अभाव हुने गरेको व्यवसायी बताउँछन्।
अझ किसानले गहुँ छर्किने समय र रोपाइँको समयमा त अभावको पराकाष्ठा नाघ्ने गरेको छ। उनीहरू रोपाइँ छाडी दिनभर लाइन बसेर इन्धनको व्यवस्था गर्नमै व्यस्त हुन्छन्। अहिले किसानले गहुँ भित्याउने बेला भएको छ। गहुँ थ्रेसिङ गर्न र मेसिनबाट काट्न पनि इन्धन अभाव भएको छ। ‘किसानले गहुँ चुट्न र काट्न मात्र होइन, रोपाइँका बेला इन्धन पाइँदैन भनेर अहिलेदेखि नै भण्डारण गर्न थालेका छन्, बजारमा अभाव सिर्जना हुन थालेको छ’, शिवशंकर आयल स्टोरका सञ्चालक हरिशंकर ठाकुरले भने।