बिजुली खोज्दै मुसहर

बिजुली खोज्दै मुसहर

 

लहान : लहान नगरपालिका वडा नम्बर ११ स्थित मुसहर बस्तीका बासिन्दा बिजुली बत्तीको सुविधाबाट वञ्चित छन्। यहाँ २५ घरपरिवार मुसहरको बसोबास छ। बोलिदिने कोही नहुँदा बस्तीमा बिजुली आउन नसकेको स्थानीय सियादेवी मुसहरले बताइन्। ‘यहाँ कोही पढे-लेखेका छैनन्’, उनले भनिन्, ‘नेता र हाकिमसँग पहुँच भएका कोही नभएरै हाम्रो टोलमा बिजुली अहिलेसम्म आएन।’

आफूहरू दलित भएकै कारण हेपिएर बस्नुपरेको उनको गुनासो छ। उनका अनुसार चुनावका बेला आएका सबै नेताले बिजुली दिने आश्वासन दिएका थिए। तर, त्यसपछि फर्केर नआएको गुनासो उनले गरिन्।

घरको माथिबाट बिजुलीको तार गए पनि बस्तीमा भने बाल्न नदिएको स्थानीय विजय सदाले गुनासो गरे। उनले बिजुली अभावमा टुकीको धिपधिपमा चित्त बुझाउनुपरेको पीडा सुनाए। ‘मट्टीतेल किनेर टुकीको सहारामा बस्नुपर्छ’, उनले भने, ‘कहिलेकाहीं पैसा अभावमा हामीले टुकी पनि बाल्न पाउँदैनौं।’ बिजुलीका लागि विद्युत् प्राधिकरण र नगरपालिका धाए पनि कसैले वास्ता नगरेको गुनासो उनले गरे।

लहान नगरपालिका-४ स्थित इस्लामपुरका ६० घरधुरीमा पनि बिजुली पुगेको छैन। स्थानीय मो. ममताज अलीले मोबाइल चार्ज गर्न पनि समस्या हुने गरेको सुनाए। भने, ‘हामीले राज्यको कुनै सुविधा पाउन सकेका छैनौं। मोबाइल चार्ज गर्न पनि डेढ किलोमिटर लहान बजार पुग्नुपर्ने बाध्यता छ।’

नगरपालिकाका कर्मचारी आएर यहाँका समस्या लेखेर लगे पनि समाधान नभएको उनले सुनाए। यहाँका सयौं बालबालिकाले विद्यालयको मुखसमेत हेर्न नपाएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.