विराट सम्भावना
विराटनगर : राणाकालको विराटनगर जुटमिलको मजदुर आन्दोलनको सुरुवातदेखि २०७२ सालको संविधान कार्यान्वयनसम्म आइपुग्दा विराटनगरले राजनीतिक आरोहअवरोहका ठूल्ठूला खाल्डा पार गरिसकेको छ। संघीय गणतन्त्रको संस्थागत विकासको पहिलो खुड्किलो मानिने 'प्रदेश संसद् र सरकार' गठन भइरहँदा यो 'शताब्दी सहर'ले प्रदेश १ को राजधानी बन्ने सौभाग्य पनि प्राप्त गरेको छ। विगतको राजनीतिक आन्दोलनको विरासत र आगतको विराट सम्भावनलाई अंगीकार गर्दै विराटनगर फेरि नेतृत्वकै विकासपथमा लम्कने तरखरमा छ।
महाभारतकालीन विराट राजाको यो कर्मभूमि हो विराटनगर। यो इतिहासलाई साक्षी राख्दै अहिले बहुसांस्कृतिक तथा बहुजातीय प्रदेश संसद् र त्यसले चुनेको सरकारको अभ्यासमा अभ्यस्त बन्न बामे सर्दै गरेको छ विराटनगर। हिजो मुलुक हाँक्ने दिग्गज राजनीतिज्ञ जन्माएकै हो। राणा बहिष्कार आन्दोलनको सुरुवात भएको, पहिलो उद्योग स्थापना र औद्योगिक क्रान्तिको थालनी गर्ने सहरले सय वर्षभन्दा लामो आफ्नो इतिहासलाई पुनर्जीवित गर्न खोज्दै छ।
विकास र सम्भावनालाई अघि बढाउन तरखर गरिरहँदा समृद्धि, समुन्नति र व्यावसायिक विकासका कामले गति लिन सुरु गरेका छन्। बहुसांस्कृतिक, बहुजातीय र बहुपहिचानलाई आत्मसात गरेको विराटनगर यतिबेला नेपाल, भारत र चीनको त्रिदेशीय संगमस्थल बन्ने तयारीमा छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भन्छन्, 'तीन देश मात्र किन र ? हामी त भुटान र बंगालदेशतर्फ पनि हेरिरहेका छौं।' विराटनगर–किमाथांका सडक, विराटनगर विशेष आर्थिक क्षेत्र, पहाडी पर्यटन, जलविद्युत र जडीबुटीको व्यावसायिक प्रवद्र्धन गर्न सकेमात्र पनि दक्षिण एसियाकै संगमको रूपमा प्रदेश १ लाई विकास गर्न सकिने राई बताउँछन्।
पहाड, मधेश र हिमाललाई जोड्ने 'सेतु' को रूपमा स्थापित हुँदै गरेको 'नयाँ विराटनगर' नेपाल–चीन व्यापारको मुख्य 'ट्रान्जिट' बन्ने सम्भावना उत्तिकै बढ्दै छ। यसकै तयारीस्वरूप अहिले विराटनगर–धरान ६ लेन सडक निर्माण प्रक्रियामा रहेको छ। मास्तिर खाँदबारीदेखि किमाथांका पुग्ने सडक धमाधम निर्माण हुँदै छ। विराटनगरदेखि खाँदवारीसम्म दुई सय किमि सडक पूरा भइसकेको छ। खाँदबारी–किमाथांका ट्र्याक खोल्ने काम हुँदै छ।
मोरङ व्यापार संघका अध्यक्ष तथा पूर्वसांसद पवनकुमार शारडा भन्छन्, 'विराटकालीन विराटनगरको विराटता वर्तमानमा अझ विराट बन्दै छ।' उनी यो सहरले सम्भावनाको ढोकालाई सधैं कायम राखेको र भविष्यमा अझ बढ्दै जानेमा आशावादी छन्। सबै ऐतिहासिक उपलब्धिका पोकापन्तुरालाई सुरक्षित गर्दै संघीयता कार्यान्वयनका लागि चुनौतीका पहाड काँध थापेको छ। संसद, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयहरू निर्विकल्प स्थापना गर्ने ल्याकत अन्नतः 'बूढो विराटनगर' ले नै राख्यो।
पूर्वी पहाडबाट बसाइँ सरेर आउने पहाडी र कोसीपारिका जिल्लाबाट विराटनगरतर्फ नै सर्ने मधेशी समुदायको बाहुल्यताले पनि यहाँको जनसंख्या सन्तुलित छ।
प्रदेश १ का प्रमुखसचिव यादवराज कोइराला भन्छन्, 'तुलनात्मक रूपमा अन्यत्रभन्दा धेरै भौतिक संरचना भएको सहर भएकैले प्रदेशको अस्थायी मुकाम विराटनगर नै बनेको हो तर उपलब्ध स्रोत पनि पर्याप्त भने छैनन्।' उनले गणतन्त्र कार्यान्वयनको पहिलो चरणमा विराटनगरको सहयोग सराहनीय भएको बताए।
मधेश आन्दोलनको दोस्रो शृंखला र भारतको नाकाबन्दी चल्दासमेत विराटनगरको लाइफलाइन अवरुद्ध बनेन। उद्योग, कलकारखाना, बजार र व्यवसाय चलिरहे। 'पहिचानका लागि' भएको आन्दोलनले समुदायबीच वितृष्णा र घृणालाई पश्रय दिएन। यही 'विराटनगरीया विशेषता' कै जोडबलमा सय वर्षपछि फेरि विराटनगरले उठ्ने कोसिस गरिरहेको हो।
जोगबनी–विराटनगर ब्रोडगेज रेल्वे, विशेष आर्थिक क्षेत्र, विराटनगर चक्रपथ, विराटनगर–धरान ६ लेन सडक, बैजनाथपुर क्षेत्रीय रंगशाला, क्षेत्रीय विमानस्थल, एसियाली विकास बैंकको सहयोगमा जारी विराटनगर विकास परियोजना र एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगर र प्रदेशवासीले प्रतीक्षा गरेका विकाससँग सम्बन्धित ठूलो र दीर्घकालीन महत्वका परियोजना हुन्।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, 'सय वर्षअघि नै विकासको उत्कर्षमा पुगेको विराटनगर फेरि पुनर्निर्माणको चरणमा छ। अहिले झट्ट हेर्दा जताजतै भत्किएको, बिग्रिएको र धुलो मात्र उड्नेजस्तो देखिने यो ठाउँ एक दुई वर्षभित्रै कायापलट हुँदै छ।' सडक चिल्ला बनिसक्ने, धुलो उड्न छाड्ने, ढल तथा वर्षाको पानीको उचित निकास हुने र डुबानको समस्या पूर्णतः हटेपछि नगरवासीको चाहनाअनुसारकै महानगर बन्ने पराजुली दाबी गर्छन्। अहिलेको अस्थायी समस्याबाट नअत्तालिन उनको आग्रह छ।
चलायमान जनसंख्या विराटनगरको विशेषता नै हो। पूर्वी पहाडबाट बसाइँ सरेर आउने पहाडी र कोसीपारिका जिल्लाबाट विराटनगरतर्फ नै सर्ने मधेशी समुदायको बाहुल्यताले पनि यहाँको जनसंख्या सन्तुलित छ। सहरभित्रैका राजवंशी, चौधरी र ताजपुरियाले जनसंख्याको विविधतालाई थप सुन्दर बनाएका छन्। जनसंख्याको गतिका कारण पनि यहाँको विकास निरन्तर सम्भव भएको हो।
बाहिरबाट बसाइँ सरेर आउनेले नयाँ संस्कारसाथै ल्याएका छन् भने विकासले पनि गति लिएको छ। राजमार्ग दक्षिण मधेशका धेरै सहर विकास र आर्थिक दृष्टिले 'सिङ्क' भइरहँदा यहाँ सञ्चालित उद्योग/व्यवसायले सिर्जना गरेको अवसर र रोजगारीले विराटनगरलाई ज्यूँका त्यूँ राख्न सफल भएको विश्लेषण गरिन्छ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत संघीय स्वरूपमा विराटनगरले पहाड र मधेशलाई मात्र नभएर भारत तथा चीनलाई पनि जोड्ने भएकोले यसले सडकमार्फत अब चीनसँगको नयाँ ट्रान्जिट खोल्नेमा ढुक्क छन्। काठमाडौंपछिकोे ठूलो नगरले उद्योगसँगै शैक्षिक र स्वास्थ्यको हबको रूपमा समेत आफूलाई परिचित बनाएकोले लगानीका ढोकासमेत खुल्ने बताए। भने, 'हेल्थ टुरिजम र शैक्षिक केन्द्रको रूपमा समेत विराटनगर अब एग्रेसिभ रूपमा अघि बढ्दै छ।' प्रदेश १ को समृद्धि अब राज्य सरकारले निर्धारण गर्ने नीति तथा योजनाले तय गर्ने बताउँछन्।
पहाड, मधेश र हिमाललाई जोड्ने 'सेतु' को रूपमा स्थापित हुँदै गरेको 'नयाँ विराटनगर' नेपाल–चीन व्यापारको मुख्य 'ट्रान्जिट' बन्ने सम्भावना उत्तिकै बढ्दै छ।
विराटनगरका उद्योगीले राज्य सरकारलाई लगानी सम्मेलनका लागि गरेको आग्रह र देखाएको चासोसँगै मुख्यमन्त्री शेरधन राईले संसद्को पहिलो सम्बोधनमा भनेजस्तै 'प्रदेश १ देशकै एक नम्बर प्रदेश' लामै योजना, तदारुकता र नीतिको कार्यान्वयनले मात्र सफल हुने उनले बताए।
रंगेलीबाट मोरङको सदरमुकाम सरेपछि विराटनगर आधुनिक पथमा लम्किएको सय वर्ष पूरा भएको छ। त्यसबेलाको राजनीतिक आन्दोलनको अगुवाइ गर्ने पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई फाटेको घेरो नभएको टोपी पठाएर गरेको सांकेतिक विरोध देखेका र तिनै पिताजीले दिएको सुसंस्कारमा हुर्किएका बीपी, तारिणी, गिरिजाप्रसाद कोइरालाले राजनीतिक परिवर्तनको नेतृत्व गरेका थिए।
पछि पिताजीका तीनभाइ छोरा मुलुकको प्रधानमन्त्री पनि बने। संगतका मनमोहन अधिकारी पनि नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्न सफल भए। अहिले पनि राजनीतिक बागडोर सम्हाल्नेमा पूर्वकै राजनीतिक अगुवा छन्। मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बू भन्छन्, 'विराटनगर मात्र होइन समग्र प्रदेश १ नै विकासका दृष्टिले अब्बल हुन सक्छ। विराटनगर सधैं सम्भावना बोक्ने सहर हो।'
तराईका कतिपय भूभागमा साम्रदायिकताका 'हुँकार' गुञ्जिरहँदा विराटनगर सदैव तुलानात्मक शान्त रहने गर्छ। के पहाडी, मधेशी अनि मुस्लिम, खोलानदी र पोखरी किनारमा जम्मा भई छठी मैयाँको पुकार गर्छन्। दशैंमा पहाडीले मधेशी साथीलाई भोज गराउने र दीपावलीमा मधेशीले पहाडी मीतलाई 'मेजमानी' गराउने चलनमा अझै 'बे्रक' लागेको छैन।
इद र रमझानमा हिन्दु र मुस्लिम मित्रले छाती जोडेर इदगाहमा अंकमाल गर्दै अझै शुभकामना आदान प्रदान गर्न भुलेका छैनन्। महावीर जयन्ती, कृष्ण जन्माअष्टमी, होली र सिरुवाको धुममा विराटनगर सधैं झुमेकै छ। विराटनगरका गायक सुमित खड्का भन्छन्, 'यही सांस्कृतिक विविधताको जुइनो त हो जसले विराटनगरलाई दरिलो गरी कसेको छ।' उनको बुझाइमा महाभूकम्पले समेत विराटनगरको विरासत मानिने बहुपहिचान र संस्कृतिका 'जब्बर पिलर' हल्लाउन सकेन।