गोठगाउँ आकर्षण
इटहरी : प्रदेश १ को अस्थायी राजधानी कहाँ तोक्ने भन्ने विषयमा केही समयअघि व्यापक बहस भयो। धनकुटा, इटहरी, विराटनगर र धरानले दाबेदारी प्रस्तुत गरे।धनकुटा नगरपालिका यसअघि पनि पूर्वाञ्चलको सदरमुकाम सहर हो। इटहरी उपमहानगरपालिका राजमार्गका कारण पछिल्लो केही वर्षमा तीव्र विकास देखेको सहर हो भने धरान उपमहानगरपालिका सांस्कृतिक र आर्थिक रूपमा पहाडको फेदीमा पर्ने समृद्ध र सुन्दर नगर हो। अनि अर्कोतर्फ लामो र गर्विलो राजनीतिक इतिहासको विरासत बोकेको उद्योग नगरी विराटनगर सशक्त दाबेदार थियो। यसैबीच कतैबाट अर्को एउटा विकल्प देखापर्यो, गोठगाउँ।
गोठगाउँ राजनीतिक, आर्थिक, पर्यटकीय कुनै हिसाबले यसअघि चर्चित ठाउँ होइन। सुन्दरहरैंचा नगरपालिकामा पर्ने गोठगाउँ त्यहाँको पूर्वाञ्चल विश्व विद्यालय भवनको कारण राजधानीका लागि चर्चामा आयो।
विश्वविद्यालयको जग्गामा बनेका सुविधासम्पन्न भवनहरू प्रदेशका अस्थायी मन्त्रालयहरूको लागि उपयुक्त हुने दाबी गरियो। तर, अन्तिममा सरकारले प्रदेशको अस्थायी राजधानी विराटनगर तोक्यो। अस्थायी राजधानी त बनेन, तर स्थायी राजधानीको लागि पनि गोठगाउँले दाबेदारी छाडेको छैन।
त्यसअघि गोठगाउँलाई प्रदेश राजधानी बनाउन सुन्दरहरैंचा नगरपालिकाले अभियान थालेको थियो। जसअन्तर्गत सुन्दरहरैंचाका नगर प्रमुख शिवप्रसाद ढकालले वरपरका अधिकांश स्थानीय तहलाई यो विषयमा लिखित सहमतिसमेत गराएका थिए। तर, विराटनगरको मिडिया पहुँच र नेताहरूको पहुँचले अरू दाबेदार नगरहरूसँगै गोठगाउँलाईसमेत पेल्यो।
'अहिले पनि गोठगाउँ राजधानी हुनुपर्छ भनेर वरपरका स्थानीय सरकारहरू सहमत छन्', उनले भने, 'यो कुरा प्रदेश र केन्द्र सरकारसम्म हामीले पुर्याइसकेका छौं।' पूर्वाञ्चल विश्वविद्यालयसँग ८ सय ५ बिघा जग्गा छ। विश्वविद्यालयका भवनहरू अहिले १५ बिघा क्षेत्रफलमा अटेका छन्।'बाँकी जग्गा खाली छन्, त्यसमध्ये पनि मन्त्रालयहरूको लागि ३ सय ५० बिघा जग्गा भयो भने पुग्छ', मेयर ढकालले भने, 'विश्वविद्यालय पनि विस्थापित हुँदैन र प्रदेशका सबै मन्त्रालय स्थापितसमेत हुन्छन्।'
गोठगाउँ राजनीतिक, आर्थिक, पर्यटकीय कुनै हिसाबले यसअघि चर्चित ठाउँ होइन। सुन्दरहरैंचा नगरपालिकामा पर्ने गोठगाउँ त्यहाँको पूर्वाञ्चल विश्व विद्यालय भवनको कारण राजधानीका लागि चर्चामा आयो।
उनका अनुसार विश्वविद्यालयको जग्गा विश्वविद्यालयको नाममा नभई नेपाल सरकारको नाममा छ। 'त्यसैले त्यो जग्गामा निर्णय गर्न सरकारलाई गाह्रो छैन', उनी भन्छन्, 'सरकारले भन्नेबित्तिकै विराटनगरका सरकारी कार्यालयहरू जसरी मन्त्रालय भवनको लागि खाली भए, त्यसरी नै विश्वविद्यालयले पनि सरकारको आदेश त मान्नुपर्छ।'
यता उद्योग वाणिज्य संघ विराटचोकका अध्यक्ष नवराज चापागाईंले समेत भौगोलिक हिसाबले गोठगाउँ पूर्वको केन्द्र बन्ने दाबी गर्दै स्थायी राजधानी बनाउन माग गरेका छन्। राजधानीका मन्त्रालयहरू बनाउने सवालमा विश्वविद्यालयले आफ्नो जग्गा दिन्नँ भन्न नपाउने उनको तर्क छ। विश्वविद्यालयले आफ्नो जग्गाबाहेक पनि एक सय बिघा जमिन ओगटेको बताउँदै भने, 'विश्वविद्यालयले ठूलो कुरा गर्यो भने हामी विश्वविद्यालयको नाममा नरहेको एक सय बिघा जग्गा त्यहीँभित्रबाट निकाल्न सक्छौं।'
चापागाईंका अनुसार सुन्दरहरैंचा पूर्वको इमर्जिङ सिटी हो। नयाँ बन्दै गरेको सहर भएकोले सुरुदेखि नै सुन्दर हरैंचालाई व्यवस्थित बनाउने सम्भावना देख्छन् उनी। उनका अनुसार सुन्दरहरैंचाको बजार विराटचोकमा थ्री स्टार होटलहरूसमेत बनिरहेका छन्। 'लगानीकर्ताहरू लगानी गर्न तयार छन्, प्रशस्त खाली जग्गाहरू पनि छन्', उनी भन्छन्, 'सरकारले मन्त्रालयहरू राख्ने निर्णय मात्र गरोस्, पूर्वाधार बन्न समय लाग्दैन।'
नर्सिङ र कृषि विषय पढाइ हुने सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय अहिले आफैं बिरामी छ। अस्पतालसमेतको पूर्वाधार तयार छ, तर फुल फेजमा चलाउन त्यहाँका पदाधिकारी तयार छैनन्। 'विश्वविद्यालयलाई यहाँका पदाधिकारीहरूले अपांग बनाएका छन्,' मेयर ढकाल भन्छन्, 'रजिस्ट्रार, भीसी, डिनहरू सबै विराटनगरमा भाडाको घर खोज्दै बसेका छन्, गोठगाउँ कसरी बनाउँछन् ?'
उनका अनुसार महेन्द्र राजमार्गबाट तीन किलोमिटरभित्र रहेको विश्वविद्यालयको जग्गा सबैको लागि पायक पर्छ। 'तीनतिरबाट कालोपत्रेको बाटो पुगेको छ, जाम र प्रदूषण हुँदैन', उनी भन्छन्, 'ताप्लेजुङ, सोलुबाट विराटनगर पुग्न सक्ने मानिसको लागि गोठगाउँ टाढा हुँदैन।'
बसोबासका लागि उपयुक्त
सबै जातजातिका मानिस बस्ने सुन्दर हरैंचा सहरीकरणले गाँजिनसकेको नगर हो। सुन्दर हरैंचाको विराटचोक बजार पुग्दै गर्दा देखिने फराकिलो चौडा बाटोले सुन्दर हरैंचाले चाहेको समृद्धिलाई इंगित गर्छ।
विराटनगरदेखि करिब १९ किलोमिटरको दूरीमा रहेको सुन्दरहरैँचा नगरपालिकाको पूर्वमा बेलबारी नगरपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा केराबारी गाउँपालिका तथा दक्षिणमा ग्रामथान गाउँपालिका पर्छ। २०७३ साल फाल्गुण २७ गते यो नगरपालिका बनेको हो।
यस नगरपालिकामा १२ वटा वडा छन्। अर्धसहरी क्षेत्रको रूपमा रहेको सुन्दरहरैँचामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन्। औसत पारिवारिक आम्दानीमा वैदेशिक रोजगारीको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीयको आम्दानीको अर्को मुख्य स्रोतको रूपमा व्यापार, कृषि तथा पशुपालन रहेको छ।
सुन्दरहरैंचा भएर बग्ने गछिया खोला यहाँको राम्रो आर्थिक स्रोत हो। गछियाको बालुवा तथा गिट्टी पूर्वाधार निर्माणको लागि पूर्वमै राम्रो मानिन्छ।घना सहरीकरण हुन बाँकी रहेको कारण सुन्दर हरैंचालाई देशकै व्यवस्थित प्रदेश राजधानीको रूपमा विकास गर्न सकिने यहाँका सरोकारवालाहरूको भनाइ छ।
निजी लगानीमा रिसोर्ट, वनमा सिमसार
सुन्दर हरैंचा पर्यटकीय दृष्टिकोणले पनि पछिल्लो समय चर्चामा छ। गोकुलम, गोकर्ण रिसोर्टहरू सुन्दर हरैंचामा छन्। यी दुई रिसोर्ट पूर्वकै सुन्दर र व्यवस्थित रिसोर्ट हुन्। निजी लगानीमा खोलिएका यी रिसोर्टमा हजारौं पर्यटक ओइरिन्छन्। विराटनगर, धरानदेखि पूर्वी सहरहरूबाट समेत मानिसहरू यी दुई रिसोर्ट घुम्न र फोटो खिच्नकै लागि आइपुग्छन्।
हरैंचा बजार बन्नुको एउटै कारण थियो, हुलाकी मार्ग। हुलाकी मार्गले छोएका गाउँहरू पछि बजार बनेका थिए।तर जब महेन्द्र राजमार्ग बन्यो, हुलाकी मार्गहरू चल्न छाडे।गतिविधि राजमार्ग वरपर केन्द्रित भयो।
गोकुलममा कंक्रिटको प्रयोग गरेर बनाइएको विशाल पानीजहाज आकारको घर, फन पार्क, पिकनिक स्पट, बोटिङ पोखरी विशेष आकर्षण छन्। त्यसबाहेक फोटो खिच्नकै लागि विभिन्न संरचना लोकप्रिय छन्।
शनिबार, बिदा तथा चाडपर्वको दिन विशेष भीड हुने यो रिसोर्टमा होटल र आफ्नै गेस्ट हाउससमेत छ। कार्यक्रमहरू गर्न हल पनि निर्माण हुने क्रममा छन्। महेन्द्र राजमार्गभन्दा दुई किलोमिटरभित्र पर्ने यो ठाउँ पाँच वर्षअघिसम्म पनि विरानो थियो। तर, अहिले सुन्दर हरैंचा नै मानिसहरूको बढी चहलपहल हुने ठाउँमा पर्छ।
'निजी क्षेत्रले गरेको एउटा कार्यले सहरलाई कसरी गति दिन्छ भनेर हेर्न गोकुलम काफी छ', गोकुलमका सञ्चालक राधेश्याम पौडेल भन्छन्, 'गोकुलमको कारण वरपर घर, होटललगायत निर्माणको क्रम बढेको छ, पसल चलेका छन्, यातायातका साधनहरू चलेका छन्, आर्थिक गतिविधि बढेको छ।'
यस्तै उता गोकर्ण रिसोर्टमा कार्यक्रम हल, होटल, स्विमिङ पुल, बच्चाको लागि फन पार्कलगायत संरचना छन्। यस्तै विभिन्न आकर्षक मूर्ति छन्, जहाँ आगन्तुकहरू फोटो खिच्छन्।
यस्तै सुन्दरहरैंचामा हसिना सिमसार अवस्थित छ। यो सिमसारमा दुर्लभ प्रजातिका जडीबुटीहरूसमेत पाइन्छन्। तराइको सिमसार भए पनि यो क्षेत्रभित्रको भूगोल कुनै पहाडको फेदीभन्दा कम छैन। उवडखावड जमिन र उकाली ओराली, अनि पानीको भुलभुलेहरूका कारण यो ठाउँ पिकनिकका लागि समेत लोकप्रिय बनेको छ। बाक्लो वन क्षेत्रभित्रको यो सिमसार घुम्न आउनेहरूको संख्या बढ्दो छ।
यस्तै सुन्दरहरैंचा नजिकैको बेलबारीमा बेतना सिमसार पर्छ भने इटहरीमा तालतलैया पर्छ। बेतना सिमसार पूर्वपश्चिम राजमार्गमै जोडिएको सिमसार हो भने तालतलैयामा विश्वभरका कलाकारहरूले बनाएका ढुंगाका आकर्षक संरचनाहरू र तालहरू देख्न पाइन्छ।
सुन्दरहरैंचामै नयाँ वृन्दावन गौशाला पर्छ। झण्डै आठ वर्षअघि युवा साधु दीनबन्धु शास्त्रीजी महाराजले यो ठाउँ बनाएका थिए। बुढीखोला किनारमा पर्ने गौशालामा अहिले पूर्वकै सबैभन्दा ठूलो मन्दिर निर्माणाधीन छ। दुईतलाको विशाल राधाकृष्ण मन्दिरसँगै पार्क, मन्दिरहरू बनाइएका छन्। पिकनिक र घुम्नेहरूको भीड यहाँ पनि लाग्ने गरेको छ। यी सबै धार्मिक, पर्यटकीय स्थलहरूले सुन्दर हरैंचालाई चलायमान बनाएको छ। 'राजधानी मात्र भनेर हुन्छ ? विराटनगरमा घुम्नको लागि एउटा राम्रो पार्कसम्म छैन', विराटनगरकै रमेश कार्कीको गुनासो छ, 'महानगरले वरिपरिका नगरहरूबाट यस्तो कुरा सिक्नुपर्छ।'
हरैंचा पुरानै बजार
सुन्दर हरैंचामा पर्ने हरैंचा पूर्वको सबैभन्दा पुरानो बजारमध्ये एक हो। यो मोरङ जिल्लाकै सदरमुकाम थियो। सय वर्षअघि अहिलेको उपमहानगरपालिका इटहरीमा मानिस बस्न थाल्दै गर्दा पनि सुन्दरहरैंचा पूर्वको मुख्य बसोबासको ठाउँ थियो। पछि सुनसरी र मोरङका चलेका पाँच बजारमध्ये एक बन्यो, हरैंचा। त्यतिखेर हरैंचासँगै मोरङको रंगेली, सुनसरीको चतरा, पकली र धरान बजारको रूपमा चर्चामा थियो।
हरैंचा बजार बन्नुको एउटै कारण थियो, हुलाकी मार्ग। हुलाकी मार्गले छोएका गाउँहरू पछि बजार बनेका थिए।तर जब महेन्द्र राजमार्ग बन्यो, हुलाकी मार्गहरू चल्न छाडे।गतिविधि राजमार्ग वरपर केन्द्रित भयो।ती पुराना बजार अहिले सुके। हुलाकी मार्गमा पर्ने हरैंचाभन्दा अहिले पूर्वपश्चिम राजमार्गमा पर्ने विराटचोकमा बाक्लो बस्ती बसिसकेको छ।
हरैंचामा राणाहरूको हात्तीसारसमेत थियो।राणाहरू पूर्वको सवारी आउँदा हात्ती चढेर घुम्थे। किनकि पूर्वमा जंगलै जंगल थियो। गाडीहरूको सुविधा थिएन। त्यसैले हात्ती र घोडा नै धनीहरूको सवारीका साधन हुन्थे।आज हात्ती पालेका ठाउँका सीमित अवशेषहरू मात्र त्यहाँ देख्न पाइन्छ।