सुगर मिलको ट्यांकी पड्किँदा १२ घाइते
सिमरा : बाराको मनहर्वास्थित रिलायन्स सुगर मिलमा ऊखुको रस भण्डारण गर्ने ट्यांकी पड्किँदा १२ जना गम्भीर घाइते भएका छन्।
कलैया उपमहानगरपालिका २४ स्थित मनहर्वामा रहेको सुगर मिलको ट्यांकी पड्किँदा त्यहाँ कार्यरत कर्मचारी र मजदुर घाइते भएका हुन्।
घाइतेमध्य एक भारतीय मजदुरको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। उपचारका लागि कलैया अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेको बुझिए पनि प्रहरीले भने मजदूरको मृत्यु भएको विषयमा आधिकारिक जानकारी दिएको छैन। घटनाको विवरण नआएको प्रहरीले जनाएको छ।
‘घटनामा कति जनाको मृत्यु भयो भन्न सक्दैनौँ, घाइतेलाई अस्पताल लगिएको छ आधिकारिक विवरण आएको छैन’, एक प्रहरी अधिकृतले भने।
उद्योगभित्र काम गरिरहेको अवस्थामा ट्यांकी पड्किएको त्यहाँ कार्यरत मजदूरले बताएका छन्।
घटनालगत्तै मिलको गाडी र एम्बुलेन्समा घाइतेलाई अस्पताल पुर्याइएको हो। घाइतेको कलैया अस्पताल, नेशनल मेडिकल कलेज, नारायणी अस्पतालमा उपचार भइरहेको छ।