ज्ञानको केन्द्र दिङ्ला
भोजपुर : जिल्लाको उत्तरी भेग सदरमुकामले चिनिने दिङ्ला बजार सबैले सुन्दै आएको नाम हो। बालाचतुर्दशी, रामनवमीजस्ता धार्मिक महात्सवमा ठूलो मानवसागरसहित यहाँ मेला लाग्ने गर्छ। बजारको रूपमा पनि यो जिल्लाभित्र र बाहिर परिचित छ।
साबिकका तुङ्गेछा, केउरेनीपानी, मूलपानी गाविस समेट्ने दिङ्ला अहिले षडानन्द नगरपालिकामा सम्मिलित हुन पुगेको छ। किंवदन्तीअनुसार राई भाषाको 'तिङ्ला' शब्दबाट अपभ्रंश भई दिङ्ला रहन गएको स्थानीयको बुझाइ छ। जसमा 'तिङ्' को अर्थ सिस्नु र 'ला' को अर्थ घारी/झ्याङ भएर 'सिस्नोघारी' भएको बताइन्छ।
शताब्दीऔं अघि भारतका नागाहरू बसोबास गर्ने गरेका र पछि यहाँका बासिन्दाले 'पुलिक' (नागाहरूका एक किसिमका गहना) जोत्ने, खोतल्ने क्रममा यहाँ ठूलो सिस्नुघारी पत्ता लगाएको पाइन्छ। त्यही तिङ्ला शब्द बोल्दै, सुन्दै, स्थानान्तरण हुँदै जाने क्रममा शब्द अपभ्रंशित भई दिङ्ला रहन गएको स्थानीयको मान्यता छ।
छिमेकी जिल्ला खाँदबारी, तुम्लिङटारको नजिक पर्ने दिङ्लाबजार व्यापारिक दृष्टिकोणले पनि जिल्लाको एक मात्र नाम चलेको विकसित ठाउँमध्ये एक हो। मूख्यगरी रुद्राक्षका लागि प्रसिद्ध दिङ्ला बजार उत्तरी भेगका मानिसको आउजाउ गर्ने प्रमुख थलो बनेको छ। नेपालकै पहिलो विसं १९३२ मा संस्कृत पाठशाला खोल्ने बालागुरु षडानन्दको जन्मभूमि, कर्मभूमि पनि हो, दिङ्ला।
सामान्यतया दिङ्ला भन्ने र सुन्ने बित्तिकै बालागुरु षडानन्दको स्मरण गरिन्छ। दिङ्ला पुग्नेबित्तिकै मानिसहरू उनको स्मारक, गुठी, विद्यालयको अवलोकन गर्ने गर्छन्। जहानियाँ राणाकालमा राणाहरूले सर्वसाधरणका लागि बन्देज गरेको परिपाटीलाई तोड्दै नेपालमा पहिलो संस्कृत विद्यालय खोल्ने बालागुरु षडानन्दको शिक्षाको थलोका रूपमा चिनिने यो ठाउँमा पछिल्लो समय संस्कृत शिक्षा ओझेलमा पर्दै गएको छ।
बालागुरु षडानन्दको विरासत बाेकेकाे दिङ्लाको संस्कृत भाषाा र शिक्षा जगेर्ना गर्नु प्रमुख चुनाैतीको रुपमा देखिएको छ।
बालागुरु षडानन्दको नामबाट परिचित तथा संस्कृत शिक्षाको इतिहास बोकेको यो ठाउँ १० बर्से सशस्त्र द्वन्द्वपश्चात् झनै जर्जर हुँदै गयो।बालागुरु षडानन्दको विरासत बोकेको यो ठाउँको संस्कृत भाषा र शिक्षा जगेर्ना गर्नु प्रमुख चुनौतीको रूपमा देखिएको छ। तर, सरोकारवाला पक्षले ध्यान नदिँदा यहाँको ऐतिहासिक संस्कृत शिक्षा ओझेलमा पर्दै गएको अवस्था छ।
विसं ०५७ मा माओवादीले षडानन्द माध्यमिक विद्यालयपरिसर नजिकै बम आतंक मच्चाएसँगै विद्यालयमा संस्कृत पढाइमा धब्बा लाग्यो। यहाँ संस्कृत विषयको पढाइ छुट्टै चलाइन्थ्यो। पछि ०५८ सालमा विद्यालयको वार्षिक परीक्षाका बेला विद्यालयमा संस्कृत विषयको प्रश्नपत्र जलाइयो, पाठ्यपुस्तक च्यातियो। घटनापश्चात् विद्यालयमा संस्कृत शिक्षाको दहन गराइएको थियो।
ऐतिहासिक संस्कृत विद्यालयमै संस्कृत पठनपाठनको ढोका बन्द हुँदा बालागुरुको विरासत एकाएक ओझेलमा पर्न गयो। विद्यालयमा संस्कृत विषय सुचारु हुन सकेन। पाठ्यक्रमअनुसार अन्य विषयका पढाइ आत्मसात गरेको विद्यालयमा अन्ततः गुरु महाराज षडानन्दको अमूल्य योगदानको स्मरण गर्दै स्थानीय र विद्यालयले ०७४ सालको को नयाँ शैक्षिक सत्रबाट विद्यालयमा कक्षा ६ देखि ८ सम्म कम्प्युटरलगायत ऐच्छिक विषयको रूपमा संस्कृतलाई पठनपाठनमा ल्यायो।
काठामाडौँस्थित आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानका अध्यक्ष भूपू प्रजिअ विश्वराज कुसुम, लालनाथ सुवेदीलगायत समितिको पहल र समन्वयमा विद्यालयमा संस्कृत पढ्ने विद्यार्थीलाई छात्रवृत्ति बर्सेनि व्यवस्था गर्ने प्रबन्ध मिलाइएको छ। संस्कृत पढ्न इच्छुक विद्यार्थीले संस्कृत पढ्न पाउनुपर्छ र ऐतिहासिक संस्कृत गुरु षडानन्दको जन्म, कर्म, योगभूमि भएकोले पनि उनको सदीक्षा पूरा गर्न समितिले यो काममा हात बढाएको शिक्षक श्रीकृष्ण बोगटी बताउँछन्। भन्छन्, 'यसको ऐतिहासिकता बयान गरी साध्य छैन।'
हरेक साल मंसिर शुक्लपक्ष पञ्चमीमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका विद्यार्थीमध्येबाट उत्कृष्ट एक छात्रा र छात्रलाई समितिले ०५७/५८ सालअघि संस्कृत पढाइ, कैलाशडाँडामा वेदविद्या आश्रम बालागुरु षडानन्दको जन्मजयन्तीमा जनही ५ हजार र कक्षा ६ देखि ८ सम्म संस्कृत विषयमा अध्ययनरत विद्यार्थीलाई जनही २ हजारका दरले छात्रवृत्ति प्रदान गर्ने गर्छ। अहिले विद्यालयमा संस्कृत ऐच्छिक विषय पढ्ने विद्यार्थीहरू ५ जना छन्।
मूख्यगरी रुद्राक्षका लागि प्रसिद्ध दिङ्ला बजार उत्तरी भेगका मानिसको आउजाउ गर्ने प्रमुख थलो बनेको छ। नेपालकै पहिलो विसं १९३२ मा संस्कृत पाठशाला खोल्ने बालागुरु षडानन्दको जन्मभूमि, कर्मभूमि पनि हो, दिङ्ला।
बालागुरु षडानन्दले संस्कृत पाठशालाबाट ज्योति बालेको सोही कर्मथलोमा स्थानीय दिङ्लाबासीले नै पछिल्लो समय संस्कृत भाषा र शिक्षाको महत्वलाई कम प्राथमिकता दिन थालेका छन्। गुरु महाराजको विरासत जोगाइराख्नुपर्छ भन्ने भावनाका अगुवाहरूको कमी छ। भएका आस्थावान् व्यक्तित्वहरू पनि बोलीमै मात्र सीमित भएका शिक्षक गोपाल तिम्सिना सुनाउँछन्। भन्छन्, 'भोजपुरको मात्र नभएर यो त राष्ट्रकै पहिचान हो। यसलाई कसरी फेरि स्थापित गर्ने भन्ने हामीलाई ठूलो पिर छ।' गुरु महाराजले स्थापना गरेको संस्कृत विद्यालय एक सय ४२ वर्षपछि आएर त्यही संस्कृत शिक्षा ओझेलमा पर्नु नै दिङ्लाको लागि दुर्भाग्य भएको उनले बताए।
यसको संरक्षण सम्बद्र्धनमा न कसैको चासो छ न त कसैको सकारात्मक बुझाइ रहेको र कुरो बुझ्ने अगुवा पनि पलायन हुनु र हुनेहरू पनि मौन रूपमा रहनुले संकट बढेको छ। विद्यालयलाई नेपाल सरकारले नमुना विद्यालयको रूपमा स्वीकृत गरिसकेको छ।
पाठ्यक्रमले कक्षा ८ देखि माथि संस्कृतलाई ऐच्छिक विषयको रूपमा स्वीकृत नदिए पनि संस्कृत विषयको पाठ्यक्रमलाई अगाडि ल्याउन त्यसको व्यवस्थापन, मान्यता दिन सक्ने नयाँ शिक्षा ऐनमा गाभ्न सकिन्थ्यो। तर, यो विषयको कुनै उठान छैन।
संस्कृत शिक्षाका प्राज्ञहरू सबै अमेरिका, युरोपलगायत पश्चिमा देशमा पलायन भइसके। नेपालमै पनि संस्कृत शिक्षाको महत्व र मान्यतामा ह्रास आउँदै गएको छ। भोजपुर जिल्लाको परिवेशमा दिङ्ला मात्र एक त्यस्तो ठाउँ हो, जहाँ बालागुरुले संस्कृत पाठशालाबाट सम्पूर्ण नेपालमै पहिलोपटक शिक्षाको ज्योति छरेका थिए। तर, यहाँ पनि संस्कृत शिक्षामा आएको उदासीनतालले नराम्रो प्रभाव पार्यो।
यहाँकै जनमानसमा पनि संस्कृत पढेर के हुन्छ भन्ने प्रश्नसँगै प्रतिक्रियाले साँच्चै गुरु महाराज बालागुरु षडानन्दको प्रतीक संस्कृत शिक्षामा कलंक आएको स्थानीय गुनासो गर्छन्। विशेषगरी राई र तामाङ जातिको बाहुल्यता रहेको दिङ्लामा उनीहरूले चाहे ऐतिहासिक विद्यालयमा नयाँ पाठ्यक्रम र भाषिक शिक्षा व्यावस्थाको सम्भावना रहने शिक्षक तिम्सिना बताउँछन्। 'भविष्यमा सम्भव भएको खण्डमा बहुभाषिक विद्यालय बनाएर संस्कृत भाषालाई अवसर दिने खालको जातीय बाहुल्यता समेटेर भाषा सँगसँगै संस्कृत विषयलाई पनि माध्यमिक तहमै लैजाने विद्यालयको सोच छ। तर राई, तामाङ बाहुल्यतासँगै उनीहरूलगायत अन्य सरोकारवाला निकाय, व्यक्तिको इच्छा र चाहना हुनु पहिलो मुख्य अस्त्र बन्नुपर्यो', उनले जिकिर गरे।
०५७/०५८ सालअघि गडीगाउँकै कैलाश डाँडामा वेदविद्याआश्रम थियो। जहाँ ज्योतिष कर्मकाण्ड गरेर संस्कृत पढाइ हुने गथ्र्यो। पछि द्वन्द्वकै कारण त्यो आश्रम बन्द भयो। त्यस्तै षडानन्द माध्यमिक विद्यालयकै छेउमा रहेको राममन्दिरसँगै विसं ०७२ देखि आवासीय पढाइ सुरु गरिएको छ। सुरुवातमा स्थानीयस्तरकै सहयोगमा सञ्चालित पढाइमा ९/१० जनालाई शिक्षा दिइँदै आएको थियो। डेढ वर्षपछि काठमाडौंस्थित अन्तर्राष्ट्रिय संस्था मर्सी वैदिक फाउन्डेसनले मासिक पढाइका लागि ५५ हजार सहयोग गर्ने गरेको छ।
संस्कृत शिक्षा लिनेदिने यहाँ ११ वटा रुद्री पढाइ हुने गरेको छ। रुद्री सिक्ने विद्यार्थी र शिक्षकलाई फाउन्डेसनले आर्थिक सहयोग गरिरहेको शिक्षक खिलाराज कोइराला बताउँछन्। उनका अनुसार रुद्री सिक्ने विद्यार्थीलाई अन्य स्थानमा जानुनपर्ने र स्वैच्छिक वातावरणमा सहजै ज्ञान लिन सकेका छन्। भविष्यमा विद्यार्थी संख्या बढ्दै गए आर्थिक सहयोग दोब्बरले बढाउँदै जाने फाउन्डेसनको नियममा उल्लेखित नै छ।
संस्कृत शिक्षाको पृष्ठभूमि
बालागुरु षडानन्दले पाठशाला स्थापना गरेर विद्यार्थीहरू भेला गरी पढाउन थालेपछि पूर्वी नेपालमा शिक्षा, संस्कृति र सदाचारको ज्योति उदाएको स्थानीय बताउँछन्। बाल्यकालदेखि ब्रह्मचार्य रहेका बालागुरु षडानन्द अधिकारीले राणाकालीन अन्धकार युगमा शिक्षा, संस्कृति र सदाचारको ज्योति जगाई नेपालमा पहिलोपटक शिक्षा छरे।
दिङ्ला बजारको गडीगाउँमा जन्मेका उनले भारतको वाराणसीमा संस्कृतको उच्च अध्ययन गरेपश्चात् जन्मभूमिका लागि केही गर्नुपर्छ भनी विसं १९३१ मा जन्मथलो दिङ्ला फर्किएर विसं १९३२ मा दिङ्ला बजारको रमणीय उच्चस्थल कैलाशमा स्थानीयको सक्रियतामा नर्मदेश्वर शिवमन्दिर निर्माण गरी नेपालको पहिलो संस्कृत पाठशाला स्थापना गरे। तत्कालीन समयमा पश्चिम नेपालका गुल्मी, सल्यान, प्युठानसम्म र छिमेकी मुलुक भारतको सिक्किम तथा आसामबाट पनि विद्यार्थीहरू गुरुकुल शिक्षाका लागि बालागुरु षडानन्दकहाँ आउँथे।
विसं १९५५ सालमा भञ्ज्याङमा सारिएको पाठशालामा विद्यार्थी संख्या वृद्धि हुँदै गएपछि मन्दिर परिसरमा नै पठनपाठन कठिनाइ भयो।पछि पुनः ०२१ र ०२२ सालमा मन्दिर परिसरदेखि पूर्वतर्फ डाँडामा नयाँ भवन बनाएर पाठशाला सारियो। विसं १९३२ मा स्थापित पाठशालाको नाम विसं ०१५ सम्म पाठशाला नै थियो। ०१६ सालमा 'षडानन्द संस्कृत प्रधान पाठशाला' नामकरण गरियो। प्रस्तावमा मात्र सीमित षडानन्द संस्कृत महाविद्यालय ०३० सालमा नयाँ शिक्षा योजना लागू भएपछि षडानन्द माध्यमिक विद्यालयका रूपमा सञ्चालन भइरहेको छ।
पछि त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि केही वर्ष त्रिविकै पाठ्यक्रमबमोजिम उक्त विद्यालयमा पढाइ भयो। नयाँ शिक्षा योजना २०३० लागू भएपश्चात् नेपाल सरकारको स्वीकृत पाठ्यक्रमबमोजिम नै विद्यालयमा पठनपाठनको व्यवस्था गरिएको थियो। उक्त विद्यालयमा हाल बालकक्षादेखि कक्षा १२ सम्म विद्यार्थी पढ्ने गर्छन्।