फेरिँदै फिदिम
फिदिम : मेची पहाडकै 'कान्छो सहर' हो फिदिम। विगतमा मेची राजमार्गले गुलजार यो सहर हिजोआज मध्यपहाडी लोकमार्गका कारण चर्चामा छ। चर्चामात्रै होइन विकास र समृद्धिको ढोका खोल्न तम्तयार भएर बसेको छ।
पाँचथर जिल्लाको सदरमुकामसमेत रहेको फिदिमलाई लिम्बू जातिले 'फेदन' भन्ने गर्छन्। फेदन लिम्बू भाषाबाट राखिएको नाम हो। लिम्बू भाषाविज्ञ हरिचन्द्र लावतीका अनुसार 'फे' भनेको फिँजिएको अर्थात् समथर हो र 'तेन' को अर्थ ठाउँ हो। 'फे' 'र' तेन मिलेर 'फेदन' भएको हो। यसको अर्थ समथर अर्थात् समतल ठाउँ भन्ने हुन्छ। उनले भने, 'पहाडको बीचमा समथर जमिन भएकाले यो ठाउँलाई फेदन नामाकरण गरिएको हो।'
करिब ३० वर्ष पहिलेका कागजपत्रमा पनि फिदिमलाई फेदन भनेर लेख्ने गरिएको थियो। तर, नेपाली भाषामा फेदेनको अर्थ नभएकाले सरकारी कामकाजका क्रममा यही शब्द अपभ्रंस भई 'फिदिम' भएको लावतीले तर्क गरे। वरिपरि अग्ला हरिया पहाडबीच समथर जमिन र फरालिको फाँट। झट्ट हेर्दा उपत्यकाझैं देखिन्छ। भौगोलिक रूपमा निकै सुन्दर पहाडी फाँटमा विस्तार भएको छ फिदिम बजार। प्राकृतिक बनावटका हिसाबले निकै आकर्षक छ। पछिल्ला केही दशकमा फिदिमले समृद्धि र नयाँ पहाडी सहरको परिचय बनाउँदै छ। यहाँ एक लाख मानिसलाई अति आवश्यक सुविधासहित पूर्वाधारको काममा तीव्रता दिइएको छ।
आउँदो १५ वर्ष अर्थात् विसं २०९० भित्र एक लाख मानिस बसोबास गर्न सकिने सुविधा दिने तयारी हुँदै छ। सुरुवाती चरणमा पूर्वाधार निर्माणको काम केही सुस्त थियो। तर, अहिले यसले गति लिइसकेको छ। चालु आर्थिक वर्षमा ११ करोड ६० लाख रुपैयाँ बजेटबाट २० वटा पूर्वाधार निर्माणका कार्यक्रम सञ्चालनमा छन्। जसमध्ये १७ वटा कार्यक्रम बहुबर्से हुन्।
चिम्टाइलो परेको रुखो (उब्जनी हुन नसक्ने) रातोमाटो। किसानका लागि पनि उपयुक्त जमिन भएन। सेवा सुविधा र अवसर पनि कम। प्रचुर सम्भावना भएर पनि फिदिममा बजार विस्तार हुन निकै समय लाग्यो। मानिसहरू सेवा सुविधा र अवसरको खोजीमा थिए। सदरमुकाम बजारमा समेत अवसर र सुविधा नपाउँदा अवसरको खोजीमा मानिस अवसरको खोजीमा तराई झर्न थाले। जिल्लाबाट बसाइँसराइको दर तीव्र भयो।
सडक आइपुगेपछि फिदिममा बजार विस्तार हुन थाल्यो, अन्तका मानिसको नजारमा पनि यो उदाउँदो सहर पर्यो। गाउँबाट सदरमुकाम आउनेको एक हिसाबले लर्को नै लाग्यो।
यसरी पहाडका मानिसको रोज्जा ठाउँ बन्यो तराईको झापाको बिर्तामोड सहर। मानिस धमाधम त्यतै झर्न थाले। फिदिमको विकास ठप्पप्रायः बन्यो।'चुनौती थियो बसाइँ जाने मानिसलाई रोक्ने काम', फिदिमका मेयर ओनाहाङ नेम्बाङले भने, 'उनीहरूलाई पहाडमै टिकाइराख्ने ठूलै चिन्ता थियो तर सडक सुविधा आएपछि मानिसहरू रोकिन थाले।' उनका अनुसार सेवासुविधा र पूर्वाधारको विकास नगरी बसाइँसराइको दर रोक्न सम्भव थिएन।
यसका लागि पहाडका घुम्ती र कन्दरासम्म सडक र यातायात पुग्नु अनिवार्य थियो।
बिनासडक फिदिममा पूर्वाधारको कल्पनासम्म गर्न सकिएको थिएन। यहीबीच फिदिमसम्म मेची राजमार्गको रेखा कोरियो। यसैले यो ठाउँमा क्रमशः समृद्धिको ढोका खोल्दै गयो। फिदिमलाई आधुनिक सहर बनाउने कामले मूर्तरूप लिने बताउँदै मेयर ओनाहाङले केही वर्षभित्रै पहाडको यो सहर अझ धेरै चम्किने दाबी गरे।
'सडक आइपुगेपछि फिदिममा बजार विस्तार हुन थाल्यो, अन्तका मानिसको नजारमा पनि यो उदाउँदो सहर पर्यो। गाउँबाट सदरमुकाम आउनेको एक हिसाबले लर्को नै लाग्यो', पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्ले विगत सम्झँदै भन्छन्, 'विकासको मेरुदण्ड नै सडक रहेछ भन्ने मेची राजमार्गले मेची पहाडलाई तराईसम्म जोडेपछि प्रमाणित नै हुन पुग्यो।' उनले यो ठाउँबाटै गएको मध्यपहाडी लोकमार्गले फिदिमको समृद्धिमा अर्को इँटा थप्ने काम गरेको बताए। लोकमार्गमा पर्ने प्रमुख पहाडी सहरमध्ये फिदिम पनि एक हो।
२०३७ सालमा मेची राजमार्ग फिदिमसम्म विस्तार भयो। विस्तारै व्यापारिक गतिविधि बढ्न थाले। मानिसहरूको जमघट हुन थाल्यो। बजारमा पूर्वाधारहरू थपिन थाले। मानिसले सेवा, सुविधा र अवसर पाउन थाले। घर निर्माण ह्वात्तै बढ्यो।
जुन अहिले मध्यपहाडी लोकमार्गका कारण गतिशील हुन थालेको छ। विगतजस्तै अहिले पनि घडेरीको कारोबार बढेको छ। त्यसबेला अवसरको खोजीमा तराई झर्ने मानिसहरू फिदिममै रोकिए। पातलो बस्ती घना बजारमा परिणत भयो।
सडकले एक हिसाबले कायापलट नै गरिदयो। ग्रामीण क्षेत्रका मानिसहरूको रोजाइको गन्तव्य बन्यो फिदिम। ससाना उद्योग र कलकारखानाहरू खुल्न थाले। अस्पताल र क्याम्पसहरू खुल्ने क्रम पनि बढ्यो। 'अहिले त फिदिम नयाँ स्थापित भएका सहरहरूको सूचीमा निकै अंग्रपंक्तिमा आउँछ', पाँचथर बुहुमुखी क्याम्पस प्रमुख खेमनाथ खतिवडाले भने, 'मेची पहाडको करिब मध्यभागमा अवस्थित फिदिम साँच्चै फेदेन बन्न पुगेको छ।'
विकासको गति अघि बढिरहेका बेला देशमा माओवादी द्वन्द्व सुरु भयो। यसबाट पूर्वीपहाड पनि अछुतो रहन सकेन। बजारको विकासक्रम रोकियो। बजार र गाँउको सम्बन्ध पूरै टुट्यो। '२०५२ सालदेखि फिदिम बजार र गाँउको सम्बन्धमा फाटो आयो', फिदिमका अगुवा गंगाराम भट्टराई भन्छन्, 'व्यापार ठप्प भयो, धेरै व्यापारी विस्तापित भए, फिदिम सुनसान बन्दै गयो।' गाउँबाट बजार आउन माओवादीले बन्देज लगाए।
बजारबाट गाउँ जान प्रशासनको कडाइ हुन थाल्यो। मानिसहरू दुई बन्दुकको चेपुवामा परे। फिदिममा गतिविधि शून्य बन्यो। मान्छेहरूले फिदिमको भविष्य अन्धकार देख्न थाले। निर्माणका कामहरू ठप्प बने। निर्माण गरिएका भौतिक संरचना ध्वस्त हुँदै गए। नयाँ संरचना निर्माण गर्न सम्भव भएन। व्यापारी गाँउतिर जानै सकेनन्। सामान बिक्री गर्न पाएनन्। करिब एक दशक फिदिम र ग्रामीण भेगको सम्बन्ध निर्जन बन्न पुग्यो।
नयाँ सहरको अवधारणअनुरूप फिदिममा सडक, खानेपानी खेलकुद मैदान, बसपार्क, आधुनिक बस्ती, पार्क, अस्पताल, तरकारी बजार र औद्योगिक क्षेत्रलगायत पूर्वाधार विकास गर्ने काम अघि बढेको छ।
अभिभावकले छोराछोरीलाई उच्च शिक्षाका लागि फिदिम पठाउन छाडे। दुवै पक्षको पेलाइमा परेपछि अधिकांश युवा विदेश हानिए। घर घडेरीको कारोबार हुनै छाड्यो। फिदिम सुनसान बन्यो। धेरै व्यापारीले वैकल्पिक ठाँउ खोजे। वित्तीय संथाहरू विस्तापित भए। बैंकहरू आएनन्। नेपाल बैंकबाहेक अरू सबै बन्द हुन पुगे।
२०६२ सालदेखि फेरि फिदिमले विकासको गति लियो। द्वन्द्वपछि फिदिम विकासको गतिमा तंग्रँदै छ। मान्छेहरूको जमघट हुन थाल्यो। विस्थापित बैंकहरू पुनःस्थापना भएर आए। निजी पनि थपिए। बजारको विकास तीव्र रूपमा अघि बढ्यो। दर्जनौं शैक्षिक संस्था खुले। सञ्चारको विकास भयो। मेची राजमार्ग कालोपत्रे भएपछि अन्य जिल्लासँग यातायातको पहुँच सहज बन्यो।
स्वास्थ्य संस्थाहरूको संख्या वृद्धि भयो। यो बीचमा फिदिम बजारमै १५ सयभन्दा बढी साना उद्योगहरू सञ्चालनमा आए। पर्यटनलाई लक्षित गरी दर्जनभन्दा बढी सुविधासम्पन्न होटल पनि खुले।यसबीचमै पुष्पलाल (मध्यपहाडी) लोकमार्गको काम सुरु भयो। लोकमार्गले छोएका उपयुक्त ठाउँमा सहरी सेवा सुविधा बढाउन सकेमा पहाडका बजारहरूमा मानिसहरूको आकर्षण बढाउन सकिन्छ भन्ने सरकारको योजना थियो।
पहाडको बसाइँसराइलाई कम गर्ने उद्देश्यले सामाजिक भौतिक तथा आर्थिक पूर्वाधारको निर्माण तथा विकास गरी आधुनिक नयाँ सहर बनाउने उद्देश्यका साथ सरकारले नयाँ सहरको अवधारणा अघि ल्याएर काम सुरु गरेको हो। सोहीअनुरूप सरकारले आर्थिक वर्ष ०६७/६८ को नीति तथा कार्याक्रममा आधुनिक १० वटा नयाँ सहर विकास गर्ने घोषणा गर्यो।
लोकमार्गको उद्गमस्थल पाँचथरको सदरमुकाम फिदिम नयाँ सहर विकासका लागि उपयुक्त ठहर भयो। पहाडको बसाइँसराइ रोक्न सरकाले ल्याएको नयाँ सहरको अवधारणाले फिदिमको विकासमा थप टेवा पुगेको हो।
नयाँ सहर आयोजना फिदिमका अनुसार अहिले सडक निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाइको छ। जोरसालदेखि बसपार्कसम्मको डेढ किलोमिटर सडकखण्डमा कालोपत्रेको काम अघि बढाइएको छ। यसबाहेक पाँच पुराना र चार अन्य सडकको स्तरवृद्धिको काम अघि बढाइएको हो। नयाँ सहरको अवधारणाअनुरूप पार्क निर्माणको काम पनि अघि बढेको छ।
आयोजनाले विस्तार भएको बजारलाई भन्दा अब विस्तार गर्न सकिने क्षेत्रमा आधुनिक सहर विस्तार गर्ने तयारी गरेको छ। अहिले एकीकृत विकास योजना तयार भइसकेको छ।
फिदिम नगरपालिका–४ जोरसालमा गणेशमान सिंह स्मृति पार्कको काम धमाधम भइरहेको छ। ५५ रोपनीमा गणेशमान सिंह स्मृति पार्क र रमितेमा भ्युटावर निर्माण प्रक्रिया पनि अघि बढाइएको छ। टावरका लागि बोलपत्र आह्वान भएको छ। यसको लागत करिब पाँच करोड रुपैयाँ हुनेछ। 'आधुनिक सहर निर्माणका लागि चौतर्फी विकासको काम भइरहेको छ', आयोजनाका सूचना अधिकारी रामप्रसाद सापकोटाले भने, 'पर्यटकीय तथा धार्मिकस्थलको विकास र ल्यान्डफिल्ड साइडको काम पनि अघि बढेको छ।' यसै वर्ष जग्गा एकीकृत विकास योजना कार्यक्रम पनि अघि बढाइको हो।
यसका लागि फिदिम दुई पल्लोटारमा जग्गा अभाव भएपछि नेपालटारमा उक्त योजना अघि बढाइएको हो। आधुनिक सहर निर्माणका लागि पूर्वाधार विकासको काम धमाधम भए पनि सहरको समग्र विकासका लागि प्लानिङ नहुँदा समस्या भएको पाइएको छ।
पूर्वाधार विकासमा जग्गा प्राप्तिका लागि सबैभन्दा ठूलो समस्या बन्यो। अव्यवस्थित रूपमा विस्तार भएको फिदिमलाई व्यवस्थित सहर बनाउनु निकै ठूलो समस्या देखियो। आयोजनाले विस्तार भएको बजारलाई भन्दा अब विस्तार गर्न सकिने क्षेत्रमा आधुनिक सहर विस्तार गर्ने तयारी गरेको छ। अहिले एकीकृत विकास योजना तयार भइसकेको छ।
फिदिम बजारको एकिकृत विकास योजना पास भएर आएपछि पूर्वाधार विकास गर्न सहज भएको हो। सुरुवाती चरणमा पूर्वाधार निर्माणको काम सुस्त भए पनि अहिले कामले गति लिएको छ। नयाँ सहरको अवधारणअनुरूप फिदिममा सडक, खानेपानी खेलकुद मैदान, बसपार्क, आधुनिक बस्ती, पार्क, अस्पताल, तरकारी बजार र औद्योगिक क्षेत्रलगायत पूर्वाधार विकास गर्ने काम अघि बढेको छ।