घरको छतबाट खसेर वृद्धाको मृत्यु
नुवाकोट : ककनीमा घरको छतबाट खसेर मंगलबार एक वृद्धाको ज्यान गएको छ । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका–४ रानीपौवामा ८७ वर्षीया भद्रकुमारी लामिछानेको घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
तीन तला अग्लो घरको छतबाट झर्ने क्रममा खसेर वृद्धाको ज्यान गएपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।
त्यस्तै, त्रिशूली जलविद्युत गृहको गेट नजिकै सोमबार साँझ फेला परेका एक युवकको शवको सनाखत हुन सकेको छैन । विदुर नगरपालिका–७ तुप्चेमा जलविद्युत गृहको हेडगेट नजिकै भेटिएको अन्दाजी ४० वर्षीय र मंगोलियन अनुहारका पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको थियो ।