१७ वर्षपछि खाली गरियो अतिक्रमित जमिन
धनगढी : धनगढी उपमहानगरपालिका–१ मा अतिक्रमित जमिन खाली गरिएको छ। १७ वर्षपछि अतिक्रमित जमिन खाली गरिएको हो। २०५७ सालदेखि उक्त जमिन अतिक्रमण गरी मुक्त कमैया बस्दै आएका थिए।
धनगढी नगर विकास समितिको स्वामित्वमा रहेको पुरानो विमानस्थलको अतिक्रमित क्षेत्र १७ वर्षपछि खाली गरिएको हो। मानव बस्तीबीच विमानस्थल उपयुक्त नभएपछि विमानस्थल धनगढीबाट झन्डै आठ किलोमिटर टाढा गेटामा सारिएको थियो।
नगर विकास समितिका अध्यक्ष छत्रबहादुर शाहीको पहलमा अतिक्रमित जग्गा खाली गरिएको हो। मुक्त कमैयाहरूलाई अन्तै जग्गा दिने सहमति गरेर खाली गरिएको नवनियुक्त अध्यक्ष शाहीले बताए। उनीहरूलाई सोही ठाउँको छेउमा रहेको नगर विकास समितिको जमिनमा पाँच धुरका दरले लालपुर्जा दिने सहमतिमा जमिन खाली गरेको उनले जानकारी दिए। ‘छेउमा रहेको ११ कट्ठा जमिनमा उनीहरूलाई व्यवस्थापन गरी जमिन खाली गराउन सफल भएका छौं’, अध्यक्ष शाहीले भने, ‘प्रतिपरिवार पाँच धुरका दरले लालपुर्जा दिने सहमति भएको छ।’
उक्त ठाउँमा ५३ परिवार मुक्त कमैया बसोवास गर्दै आएका थिए। केही व्यक्तिले हट्न अटेर गरे पनि सम्झाइबुझाइ खाली गर्ने काम सुरु गरेको शाहीले बताए। झन्डै पौने दुई बिघा रहेको उक्त क्षेत्रमा खुलामञ्च बनाइनेछ।
खाली गरिएको जमिनमा खुलामञ्च मात्र नभई त्यसलाई प्रदर्शनीस्थल र हाटबजारका रूपमा विकास गरिनेछ।
यसअघिका धेरै नगर विकास समितिले गर्न नसकेको काम शाहीले गरेका हुन्। पहिलेको खुलामञ्च अथवा कभर्ड हलमा फुटबल रंगशाला बनाइएपछि धनगढीमा मेला, महोत्सव र आमसभा गर्न खुलामञ्च अभाव हुँदै आएको थियो।
‘धनगढी उपमहानगर क्षेत्रमा खुला ठाउँको ठूलो समस्या छ। अब सो जमिन खाली भएपछि त्यसलाई खुलामञ्च बनाइनेछ’, शाहीले भने। नगर विकास समितिमा नियुक्त भएलगत्तै शाहीले पहिला यो कार्यलाई सुरु गरेपछि उनको नगर क्षेत्रमा पनि प्रशंसा हुन थालेको छ।
खाली गरिएको जमिनमा खुलामञ्च मात्र नभई त्यसलाई प्रदर्शनीस्थल र हाटबजारका रूपमा विकास गरिने नगर विकास समितिले जानकारी दिएको छ। धनगढीमा खुला ठाउँको आवश्यकता महसुस भएपछि सबैको सहकार्यमा जमिन खाली गर्न सकिएको शाहीले बताए।
यस विषयमा धनगढी उपमहानगरापलिकाका मेयर नृपबहादुर वडको पनि सकारात्मक भूमिका रहेको उनको भनाइ छ। यसअघि सार्वजनिक कार्यक्रम र राजनीतिक दलका आमसभा खुला सडकमा हुने गरेका थिए। ‘यो जग्गा खाली भएसँगै अब त्यो समस्या समाधान हुनेछ’, शाहीले भने।
भूकम्प वा अरू कुनै दैवी विपत्ति आएमा पनि धनगढी बजारमा खुला चौर छैन। पछिल्लो समय धनगढीमा मानव बस्ती ह्वात्तै बढेको छ। यसले गर्दा खाली जमिन नहुँदा यहाँ आयोजना गरिने महोत्सव, सभासम्मेलन गर्न स्थानीयले सास्ती भोग्ने गरेका छन्।
‘यसले दैवी विपत्तिमा पनि काम गर्नेछ’, शाहीले भने। प्रदेश ७ को अस्थायी राजधानी भएपछि धनगढीमा बसाइँ सराइ पनि बढ्न थालेको छ। १९ वटा रहेको उपमहानगरमा प्रदर्शनी स्थल र तरकारी हाट बजार बजार व्यवस्थित छैनन्।
हाल सञ्चालनमा रहेका तरकारी बजार पनि नजिक प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्रालय बनाएपछि त्यसलाई सो ठाउँमा सुरक्षाका दृष्टिकोणले अन्तै सार्नुपर्ने सुरक्षा निकायले बताएपछि झन् समस्या देखिएको थियो। तर नगर विकास समितिको यस कार्यले भने समस्या समाधान हुने देखिएको नगरवासीको आशा छ।