गुरुङले मनाए ट्होटें पर्व
पोखरा : गुरुङ समुदायले मंगलबार ट्होटें पर्व मनाएका छन् । पोखराको विरौटाबाट मंगलबार परम्परागत भेषभूषामा नाचगान गर्दै नयाँ बजारस्थित तमु धिंको कार्यालयमा सभा गरिएको थियो ।
पर्वमा सहभागीले परम्परागत रंगीबिरंगी भेषभूषामा बाजागाजाका साथ सहर परिक्रमा गरेका थिए । ‘ऊबेला सीमा क्षेत्रसम्म पुगेर आफ्नो तमुराज्यको रक्षाका निम्ति ट्होटें मनाइन्थ्यो’, तमु धिंको सांस्कृतिक विभाग प्रमुख मेनकाजी गुरुङले इतिहास खोतले, ‘पछि रोगव्याधि नलागोस् भनेर भूतप्रेत पिचाशहरूलाई तर्साउन ट्होटें मनाउन थालियो ।’ गुरुङको मुख्य पर्व ल्होसार हो । ट्होटें पर्व पनि उत्तिकै पुरानो सांस्कृतिक पर्व हो ।
गुरुङको साझा संस्था तमु धिं नेपालको अगुवाइमा २०५२ सालदेखि पोखरामा ट्होटें मनाइँदै आइएको छ । ऊबेला सीमा क्षेत्रसम्म पुगेर आफ्नो तमुराज्यको रक्षाका निम्ति ट्होटें मनाइन्थ्यो । समयानुसार पछि रोगव्याधि नलागोस् भनेर भूतप्रेत पिशाचहरूलाई तर्साउन ट्होटें मनाउन थालिएको
गुरुङले बताए ।
५० को दशकको सुरुवाती चरणमा पोखरामा यो पर्व मनाउँदा आफ्नो सांस्कृतिक पर्व जोगाउने लक्ष्य राखिएको थियो । ट्होटेंलाई भ्रष्टाचार र सामाजिक विकृति विरुद्धको प्रदर्शनका रूपमा समेत विकसित गरिएको छ । गुरुङहरूको जातीय संस्था तमु धिंले धर्म संस्कारको रक्षा र जगेर्नालाई महत्व दिँदै आएको छ । ट्होटें सहभागी हुँदा रंगीबिरंगी भेषभूषाबाहेक सहभागी अधिकांशले तमु भेषभूषा लगाएका थिए । पुरुष भोटो कछाड र भांग्रामा थिए । महिलाहरू घलेक र छिट्को गुन्यु अनि मखमली चोलीमा ।
गुरुङ भाषा र भेषभूषालाई संरक्षण र प्रवद्र्धनमा सक्रिय संस्थाको अगुवाइमा वर्षको दुई पटक साउन र चैतको अन्तिम मंगलबार ट्होटें मनाइन्छ । पोखरामा हुने पर्वमा कास्की, पर्वत, लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायत जिल्लामा ट्होटें मनाउने चलन छ ।