ढुंगामाटोका घरमा प्रबलीकरण

ढुंगामाटोका घरमा  प्रबलीकरण

चौतारा : इन्द्रावती किनारको एक्ले फाँटका दिलबहादुर माझी परम्परागत घरलाई जीवन्त बनाउँदै आफ्नो संस्कृति संरक्षण गर्ने धुनमा छन्। गाउँका अधिकांशले आरसीसी ढलान घर बनाइरहँदा उनी भने २०७२ वैशाख १२ गतेको भूकम्पले चर्काएको पुरानो घर मर्मत गर्नमै तल्लीन छन्।

भूकम्पले घर चर्काए पनि पूरै नभत्किएको घरका सामान हटाउनै लाखौं रुपैयाँ खर्च हुने अनुमान गरेका दिलबहादुरलाई प्राविधिकले प्रबलीकरण (रेट्रोफिटिङ)बाट जीर्णोद्धार गर्न सकिने सुझाएपछि यतातर्फ लागेका हुन्। प्राविधिकले ढुंगामाटोले बनेको घरलाई भूकम्पप्रतिरोधी बनाउन सकिने सल्लाह दिएपछि उनी यही प्रविधिको खोजीमा लागे। गाउँमा पुनर्निर्माणको काम गरिरहेको वल्र्ड भिजन इन्टरनेसनलले उनलाई प्रबलीकरण प्रविधिबारे तालिम दिएपछि उनले आफ्नै घरबाट यो प्रविधिको सुरुवात गरेका छन्।

पुरानो पर्खाललाई बीचबीचबाट सपोर्ट दिएर सिमेन्टको मि श्रणको डीपीसीका माध्यमले पर्खाललाई बाँध्ने र चारै सुरमा छड छिराएर पिलर बनाउने काम कम खर्चमै हुने भएपछि घरलाई प्रवलीकरण गर्ने निर्णय गरेको दिलबहादुर बताउँछन्। ‘इन्जिनियरले आएर प्रवलीकरण प्रविधि र यसबाट हुने आर्थिक फाइदाका विषयमा बताएपछि मैले घरको पुनर्निर्माण होइन, मर्मत गराउने निधो गरें’, उनले भने, ‘समय र पैसा दुवै बचत हुने र भूकम्पप्रतिरोधी घर पनि बन्ने भएपछि मलाई प्रवलीकरण नै गर्ने रहर जाग्यो।’

भूकम्पबाट आंशिक क्षति पुगेका घर भत्काउनै ठूलो खर्च लाग्ने भएपछि धेरैजसोले रोट्रोफिटिङ रोज्न थालेका हुन्।

दिलबहादुरजस्तै एक्लेफाँटकै मञ्जु माझीले पनि घरको प्रवलीकरण गराइन्। उनी पनि दिलबहादुरलाई जस्तै आफ्नो घरको भग्नावशेष हटाउने चिन्ताले सताएको थियो। सोही बेला प्रवलीकरणबाट मर्मत हुने घरको मजबुती र आर्थिक किफायतीको विषयमा सुनेपछि उनले प्राविधिकसँग यसबारे राम्ररी जानकारी लिइन् र घरमा प्रवलीकरण नै गराउने निर्णय गरिन्। ‘इन्जिनियरको कुरा सुनेपछि विश्वास लाग्यो र यही प्रविधिले घर मर्मत गराएँ’, मञ्जुले भनिन्, ‘घरमा गरेको काम देख्दा साँच्चै यो प्रविधि उपयुक्त हुने अनुमान गरेको छु।’

sindhupalchok-home

प्रबलीकरण गरिँदै एक्लेफाँटको माझी बस्तीका परम्परागत घर। युवराज पुरी

घर भत्काउनै दुईतीन लाख रुपैयाँ खर्च हुने समुदायका लागि त्यति नै खर्चमा घर मर्मत हुने देखेपछि यो प्रविधिप्रति जोड दिइएको वल्र्ड भिजनका इन्जिनियर निकेश महर्जनले बताए। ढुंगामाटोको घरको प्रवलीकरण गरे पनि नयाँ घरजत्तिकै भूकम्पप्रतिरोधी हुने भएकाले यो प्रविधिमा जोड दिइएको उनको भनाइ छ।

स्थानीय रूपमा आर्थिक र प्राविधिक सहयोग गरिरहेको वल्र्ड भिजनले एक्लेफाँटको माझी बस्तीमा १५ तथा साँगाचोकको गैह्राथोक र पौवाथोकमा २० गरी मर्मतयोग्य ३५ घरको प्रवलीकरण गरेको भिजनकी समुदाय पहुँच अभिवृद्धि संयोजक सावित्री पुरीले बताइन्। स्थानीय कामदारबाटै प्रवलीकरण गराउन प्राविधिक सहयोग र दक्ष कामदारका लागि आवश्यक तालिम दिएको वल्र्डभिजनका परियोजना संयोजक द्वारिका घिमिरेले जानकारी दिए। घरमा प्रयोग हुने स्थानीय सामग्रीबाहेक बजारबाट खरिद गर्नुपर्ने निर्माण सामग्री पनि संस्थाले नै सहयोग गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.