प्रचण्ड अस्वस्थ हुँदा एकीकरण बैठक स्थगित
![प्रचण्ड अस्वस्थ हुँदा एकीकरण बैठक स्थगित](https://annapurnapost.prixacdn.net/media/albums/prachanda-pushpa-dahal_759-5acea90ab9a1e9.99062852_DMF7Tfi3yi.jpg)
काठमाडौं : वाम एकता संयोजन समितिको बुधबारको बैठक स्थगित भएको छ । चैत २२ गते बसेको वाम एकता संयोजन समितिको बैठकमा दुई कार्यदलले तयार पारेको छुट्टाछुट्टै प्रतिवेदन बुझाइएको थियो । कार्यदलले तयार पारेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा सहमति नजुटेका विषय एकता संयोजन समितिमार्फत टुंग्याउन बुधबार ५ बजे बैठक बोलाइएको थियो ।
एकता संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अवस्थ्य भएकाले बैठक स्थगित भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिए । एकता संयोजन समितिका सदस्यसमेत रहेको श्रेष्ठले भने, ‘बैठक कहिले बस्ने टुंगो लागेको छैन । अध्यक्षको स्वास्थ्यमा सुधार आयो भने भोलि पनि बैठक बस्न सक्छ,’ उनले भने । दाहाल सामान्य बिरामी भएकाले आराम गरिरहेका छन् ।
कार्यदलले बुझाएको प्रतिवेदनमाथि संयोजन समितिले छलफल गरी टुंग्याउने कार्यदेश छ । ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने, निर्वाचन चिह्न तथा केन्द्रदेखि गाउँपालिकासम्म एकीकरणपछिको पार्टी कमिटीमा एमाले–मााओवादीबाट कतिकति राख्ने भन्ने विषय एकता संयोजन समितिमै छलफल गरी टुंग्याउने उल्लेख छ । यी विषयमाथि एकता संयोजन समितिले छलफल गरी टुंग्याएपछि पार्टी एकता घोषणा हुनेछ ।
कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १ सय ५१ को प्रदेश कमिटी र ७५ सदस्यीय जिल्ला कमिटी तथा ७५ सदस्यीय महानगर, ७१ सदस्यीय उपमहानगर तथा ५१ सदस्यीय नगर तथा गाउँपालिका स्तरको कमिटी र २५ सदस्यीय वडा तहको कमिटी रहने प्रस्तावित खाका तयार गरेको छ । कार्यदलले तयार गरेको संगठनको खाकामाथि पनि संयोजन समितिले आवश्यक छलफल गरी निर्णय लिनेछ । एकीकृत पार्टीको सिद्धान्त भने महाधिवेशनले मात्रै टुंग्याउनेछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)