संसद् भवन पुतली बगैंचामा

संसद् भवन पुतली बगैंचामा

काठमाडौं : संघीय संसद्को भवन सिंहदरबारस्थित पुतली बगैंचामा नै बनाउन पहल सुरु भएको छ। यसअघि सेनाले पुतली बगैंचा वरिपरिका सुरक्षा निकाय व्यवस्थापन नगरी त्यस क्षेत्रमा संसद् भवन बनाउन नहुने अडान लिएको थियो। तर पछिल्लोपटक प्रधानमन्त्री केपी ओली र संघीय संसद्का पदाधिकारीले नै जोड गरेपछि संसद् भवनका लागि पुतली बगैंचा खाली गरिदिन सेना सकारात्मक बनेको हो।

‘दुई वर्षभित्र संघीय संसद्को आफ्नै भवन हुने गरी निर्माण प्रक्रिया अघि बढाउँदैछौं’, सभामुख कृष्णबहादुर महराले बुधबार सञ्चारकर्मीसँग भने। उनले पुतली बगैंचामा संसद् भवन बनाउने र त्यहाँस्थित सेनाका संरचना निर्माणका लागि गृह मन्त्रालय पछाडिको जमिन उपलब्ध गराइने बताए। पुतली बगैंचामा प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, संसद् सचिवालय, संसदीय दलका कार्यालयसमेत सबै संरचना निर्माण हुने छन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले संसद्को अब बन्ने भवन अत्याधुनिक हुने बताए। पुतली बगैंचामा संसद् भवन बनाउन सेना पनि सकारात्मक बनेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो कार्यकालमा संसद्को अत्याधुनिक भवन बन्छ। पहल सुरु भइसकेको छ।’

निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले संसद् भवन बनाउने घोषणा गरेका थिए। उनको घोषणाअनुसार संसद् भवनको स्थान छनोट गर्न मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिव सम्मिलित उच्चस्तरीय समिति गठन गएिको थियो।

समितिले पुतली बगैंचामा नै संसद् भवन बनाउने गृहकार्य गरेको छ। सिंहदरबार गुरुयोजनाले पुतली बगैंचाबाट सेनाका संरचना हटाएर गृह मन्त्रालय पछाडि बनाउन २५ रोपनी जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो। तर सेनाले गण र सैनिक ब्यान्ड डिप्लोई गर्न करिब १ सय ३२ रोपनी जमिन आवश्यक पर्ने भन्दै गृह मन्त्रालयको पश्चिम तथा मूलगेटको उत्तर र दक्षिणमा रहेको क्वार्टरगार्ड, मन्दिरबाहेकका संरचना खाली गरी उद्यानले प्रयोग गरिरहेको जग्गा मागेको छ।

आफ्नो भवन नभएपछि सचिवालयले पहिलो संविधानसभादेखि नै नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर बैठक सञ्चालन गर्दै आएको छ। सुुरुमा पुरानो प्रतिनिधिसभाको बैठक कक्ष संविधानसभाका ६ सय १ सदस्यका लागि सानो भएको भन्दै सम्मेलन केन्द्र भाडामा लिइएको थियो। ०७२ को महाभूकम्पमा प्रतिनिधिसभाको पुरानो भवन ध्वस्त भएको थियो।

‘भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद् बैठकका लागि उपयुक्त छैन’, राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाले भने, ‘नाचगान र प्रदर्शनीका लागि निर्मित हलमा संसद् बैठक बस्नु हाम्रो बाध्यता हो तर सधैं हात बाँधेर बस्न मिल्दैन। हाम्रो संसद् हेर्न र नेता भेटन विदेशीहरू संसद् भवन र दलका कार्यालय पुग्छन्’, उनले भने, ‘यस्तो हालत हेर्दा उनीहरू के भन्दा हुन् ? हाम्रो इज्जत र सम्मान हाम्रै हातमा छ। अब ढिलो नगरी संसद् भवन भव्य, अत्याधुनिक र उदाहरणीय बनाउन पहल गर्छौं।’

अब बन्ने भवनमा सचिवालय, पुस्तकालय, दलका कार्यालय, सांसदका लागि छुट्टै हल, मिडिया सेन्टरलगायत सबै संरचना व्यवस्थित गरिने अध्यक्ष तिमिल्सेनाले बताए। मन्त्रिपरिषद्को २०५५ साउन ८ को बैठकले पुतली बगैंचामा संसद् भवन बनाउने निर्णय गरे पनि सेनाले पुतली बगैंचा खाली गर्न नमानेपछि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुन सकेको थिएन।

पार्टीका जिम्मेवारी त्यागिसकें : महरा

सभामुख कृष्णबहादुर महराले सपथग्रहण लगत्तै आफूले पार्टीका सबै जिम्मेवारी त्यागिसकेको बताएका छन्। वाम गठबन्धनका साझा उम्मेदवार महरा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। ‘म विगतमा पार्टीमा रहँदा पनि सन्तुलित भूमिका निर्वाह गरेकाले वार्ता र सम्वादमा मलाइ नै पठाइन्थ्यो’, संसदीय मामिला पत्रकार समाजसँगको अन्तरक्रियामा उनले भने, ‘म माओवादी छैन। यो पदमा रहेसम्म सन्तुलित भूमिका निर्वाह गर्नेछु।’ राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि यसअघि नै पार्टीबाट अलग भएको घोषणा गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.