ईजीपी बैठक आजदेखि दिल्लीमा

ईजीपी बैठक आजदेखि दिल्लीमा

नयाँदिल्ली : प्रतिवेदनलाई निर्णायक बनाउने प्रक्रियामा रहेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को संयुक्त बैठक बिहीबार र शुक्रबार दिल्लीमा बस्दै छ।

नेपाल–भारतबीच भएका सबै खाले सन्धि–सम्झौताको पुनरवलोकनको विषयमा दुवै सरकारलाई सुझाव दिन गठित समूहको आठौं बैठक अलिक विशेष भएको छ।

भर्खरै सम्पन्न नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण क्रममा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समूहको सुझाव प्रतिवेदनमा सकारात्मक हुने बताएसँगै समूहको भूमिका पनि ओजिलो हुँदै आएको छ।

दुवै सरकार प्रमुखले ईपीजीको कार्यप्रगति सन्तोषजनक रहेको अभिव्यक्ति दिएसँगै समूहका दुवै पक्ष उत्साही भएका छन्।

काठमाडौंमा बसेको सातौं बैठकमा दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि आवश्यक बुँदासहितको प्रतिवेदनको मस्यौदा आदानप्रदान भइसकेको छ। यो बैठकमा भारतीय पक्षले नेपाली पक्षको प्रतिवेदनमा सुझाव दिने बुझिएको छ।

नयाँदिल्लीमा हुने दुईदिने बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने र आगामी बैठकमा यसलाई टुंग्याउने गरी काम भइरहेको भारतीय पक्षका एक सदस्यले बताए। उनले भने, ‘मस्यौदा प्रतिवेदनलाई निर्णायक बनाउने गरी आठौं बैठक बस्दै छ।’

उनले भने, ‘१९५० को सन्धिमा भएका केही विषयमा सहमति हुन बाँकी छ। यो बैठकमा टुंग्याउने गरी काम भइरहेको छ। प्रतिवेदनलाई निर्णायक बनाउने गरी नै आठौं बैठक बस्दै छ।’

बैठककै सुझावलाई पर्खने भन्दै प्रधानमन्त्री ओलीको भ्रमण क्रममा १९५० को शान्ति तथा मैत्री सन्धिको विषयले प्रवेश नै पाएन। सीमालगायत मुद्दा छलफल नै भएनन्।

नेपाली पक्षले सन्धि परिमार्जनको सुझाव प्रस्ताव गरेको छ भने भारतीय पक्ष पनि यसमा सकारात्मक रहेको बुझिएको छ। ‘सन्धिमा परिवर्तनको आवश्यकताको सुझावलाई कुनै न कुनै किसिमले प्रतिवेदनमा राख्ने सहमति भएको छ। तर, कस्तो सुझाव राखिन्छ त्यसका लागि अन्तिम प्रतिवेदन कुर्नै पर्छ’, ती सदस्यले भने।

‘प्रधानमन्त्री ओलीको भ्रमण क्रममा दुवै समकक्षीबीच बृहत् रूपमा विकासका ठूला परियोजनामा जस्तै रेल्वे, वाटर वेका विषयमा सहकार्य गर्ने सहमति भएको छ। यो ईपीजीलाई दिइएको म्यान्डेट र गरिरहेको कामसँग ठ्याक्कै मिल्न जान्छ। यसले हामीलाई पनि थप उत्साही बनाएको छ’, समूहका भारततर्फका एक सदस्य महेन्द्र पी लामाले भने।

‘प्रधानमन्त्रीको भ्रमणपछि दुवै पक्ष उत्साहित भएका छौं, सबै कुरा सकारात्मक ढंगबाट अघि बढेको छ’, नेपाली समूहका तर्फबाट यादव खनालले भने। बैठकमा सहभागी हुन पूर्वमन्त्री तथा कूटनीतिज्ञ डा.भेषबहादुर थापाको नेतृत्वमा बुधबार दिल्ली पुगेका खनालले अन्नपूर्णसँग भने, ‘यो बैठकले केही निचोड ल्याउँछ।’

भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले आठौं बैठकलाई नै निर्णायक बनाउने तयारी भइरहेको बताएका थिए। तर, नेपालमा भएको सत्ता परिवर्तनपछिको परिदृश्यले समूहको भूमिकामा एकाएक परिवर्तन ल्यायो। वाम गठबन्धनको पोल्टामा नेतृत्व गएलगत्तै भारत सरकारले ईपीजीको सुझावलाई नेपाली जनताको मन जित्ने कदम बनायो। छैटौं बैठकपछि ईपीजीको भारतीय पक्षमा आएको लचकता पनि त्यसैको परिणाम थियो।

आलोपालो गरी कम्तीमा आठ वटा र आवश्यकताअनुरूप थप बैठक गर्न सक्ने प्रावधानअनुरूप आगामी बैठक बस्दै जाने समूहका सदस्यले बताउँदै आएका छन्। जुलाई २० सम्म समूहले आ–आफ्ना सरकार प्रमुखलाई प्रतिवेदन बुझाउनु पर्नेछ।

ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला गठन गरिएको ईपीजीको प्रतिवेदन उनी दोस्रो पटक प्रधानमन्त्री भएको समयमै बुझाउने देखिएको छ।

चार÷चार सदस्य रहने गरी गठित समूहमा नेपाली पक्षतर्फ डा.भेषबहादुर थापा संयोजक र डा.राजन भट्टराई, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय सदस्य छन्। भारतका तर्फबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी संयोजक तथा महेन्द्र पी लामा, बीसी उप्रेती तथा जयन्तप्रसाद सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.