असिनापानीले हिउँदे बाली नष्ट

असिनापानीले हिउँदे बाली नष्ट

बैतडी : बैतडीका विभिन्न स्थानमा बुधबार दिउँसो परेको असिनापानीले हिउँदे बालीमा ठूलो नोक्सानी पुर्‍याएको छ। जिल्लाको तल्लोसोराडका विभिन्न स्थानमा गहुँ, तरकारी र फलफूलमा असिनाले क्षति पुर्‍याएको मेलौलीका स्थानीय लक्ष्मण पार्कीले बताए। ‘दिउँसो परेको असिनाले खेतमा लगाएको गहुँबाली पूर्ण रूपमा नष्ट गरेको छ। हिउँदको पानी नपरेर गहुँबाली सुक्यो। अलिअलि भएको पनि असिनाले नष्ट गरेको छ’, उनले भने।

पाटन नगरपालिका–७ उपल्ला बाटुला र सिरोलीमा असिनापानीले गहुँबाली पूर्ण रूपमा नष्ट गरेको स्थानीय बलदेव लुहारले बताए। ‘खेतमा भएको अलिअलि गहुँ पनि असिनाले सखाप पार्‍यो। गाउँमा भोकमरी हुने चिन्ताले सताएको छ। रूखका बोक्रासमेत उखेल्ने असिना आयो’, उनले भने, ‘फलफूलसमेत असिनाले नष्ट गरेको छ।’

असिनाले पञ्चेश्वर गाउँपालिकाको आम्चोरामा पनि क्षति पुर्‍याएको किसानले बताएका छन्। पछिल्लो केही वर्षयता असिनाले खेतबारी नष्ट गर्न थालेपछि किसान चिन्तित छन्। ‘गहुँ भित्र्याउने समयमा असिनाले नष्ट गरेपछि गाउँमा खाद्यान्न समस्या चुलिने सम्भावना बढेको छ’, मेलौली नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले भने, ‘असिनाले गाउँमा किसानले लगाएको गहुँबाली पूर्ण रूपमा नष्ट गरेको छ। तरकारी फलफूलमा समेत क्षति पुगेको छ। यसले व्यावसायिक तरकारी खेती गरिरहेका किसानलाई समेत समस्या भएको छ।’


पछिल्लो केही वर्षयता असिनाले खेतबारी नष्ट गर्न थालेपछि किसान चिन्तित छन्।

तल्लोसोराडमा मात्रै नभई केही दिन अघि परेको असिनाले जिल्लाको पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा पनि गहुँबाली नष्ट भएको छ। ‘खेतमा लगाएको सबै अन्नबाली असिनाले नष्ट गर्‍यो। बीउसमेत नजोगिने भयो’, स्थानीय राजेश धामीले भने, ‘असिनाले गहुँबालीमा पूर्ण रूपले क्षति पुर्‍याएको छ।’

बैतडीको २० हजार ९ सय हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ। त्यसमध्ये धेरैजसो ठाउँमा असिनाले नष्ट गरेको छ। ‘सिँचाइ सुविधा नभएका ठाउँमा पहिला नै गहुँ छर्न सकिएन। गहुँ छरेका ठाउँमा पनि असिनाले नष्ट गर्‍यो’, पाटन नगरपालिका–७ का गोपाल चन्दले भने, ‘खेतमा लगाएकोे अन्न नष्ट हुँदा निकै दुःखी छौं।’

असिनाले हिउँदे बाली नष्ट गरेकोबारे स्थानीय तहले तथ्यांक संकलन गरेर क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने किसानको माग छ। ‘हामीले लगातार बालीनालीबाट क्षति बेहोरिइरहेका छौं। स्थानीय सरकारले हाम्रो मर्का बुझिदेओस्’, पुरचौडी नगरपालिका भूमिराजका जनक साउदले भने, ‘लगातार बाली क्षति हुँदा किसानलाई निकै समस्या परेको छ। भित्र्याउने समय भएको गहुँ खेतमै असिनाले नष्ट गरेपछि मन कुँडिएको छ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.