बीचमै विद्यालय छाड्छन् दलित बालबालिका
बझाङ : गाउँबस्तीमै विद्यालय खोलिए पनि बझाङका दलित समुदायका बालबालिकाले बीचमै स्कुल छाड्ने दर बढी देखिएको छ। कक्षा १० पूरा नगरी अभिभावकसँग भारतमा चौकीदारी गर्न जाने हुँदा १६ वर्षमुनिका दलित बालबालिकाले विद्यालय छाडेका उदाहरण थुप्रै छन्।
बीचमै स्कुल छाड्ने समुदायका विद्यार्थीका अभिभावकसँग शिक्षाको महत्व बुझाउन जिल्ला शिक्षा कार्यालयका कर्मचारीको टोलीले जिल्लाका विभिन्न बस्तीमा घरदैलो कार्यक्रम गरेपछि दलित बालबालिका बीचमै स्कुल छाड्ने दर बढी देखिएको हो।
प्रत्येक गाउँबस्तीमा विद्यालय स्थापना भए पनि बालबालिकाहरू माध्यमिक तह पूरा नगरी बीचमै स्कुल छाड्ने दर दलित समुदायमा बढ्दो भएको सरोकारवालाको भनाइ छ। विद्यार्थीहरूको निरन्तर पढाइ र शिक्षाको महत्व बुझाउन जिल्ला शिक्षा कार्यालयसँगै स्थानीय जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रका प्रतिनिधि अभिभावकसँग अन्तक्र्रिया गर्न गाउँगाउँ हिँडेको जिशिकाका नायब सुब्वा बिर्खराज भट्टले बताए।
केदारस्युँ गाउँपालिकाको सेकु गाउँमा मात्र १६ वर्षमुनिका २० जनाले बीचमै स्कुल छाडेको भेटिएको उनको भनाइ छ। झोताको दलित बस्ती, कुच, थलारा, पिखेत, खानीगाउँ, बगडगाउँ र गुगै गाउँमा रहेको दलित बस्तीमा पनि १६ वर्षमुनिका ५५ जना बालबालिकाले बीचमै स्कुल छाडेको उनले बताए।
गाउँमै विद्यालय रहेको बगडगाउँमा पनि यसपालि मात्र चार जना बालबालिका कक्षा ६ को परीक्षा नदिई भारत लागेका छन्। चैनपुरका वादी बस्तीमा पनि हालसम्म एक जनाले पनि कक्षा १० पास गरेका छैनन्। ‘शिक्षाको महत्वबारे नबुझाइएका कारण दलितहरू गरिब हुँदै गएका छन्’, नमुना निमाविका प्रधानाध्यापक गजेन्द्र रसाइलीले भने।
१० हजार बालबालिकामध्ये यस वर्ष मात्र पाँच सयभन्दा बढीले बीचमै स्कुल छाडेको पाइएको छ।
बीचमै विद्यालय छाड्ने भएकाले दलितमा सामाजिक–आर्थिक विकास पनि नभएको जनप्रिय उमावि बगडगाउँका प्रधानाध्यापक पदमबहादुर खड्काको भनाइ छ। जिल्लाका ४० भन्दा बढी दलित बस्तीमा गई बीचमै स्कुल छाड्ने बालबालिकाका अभिभावकसँग छलफल कार्यक्रम गरिँदै छ।
विद्यालयमा पढाइ कमजोर भएकाले पढ्न नसकेर दलित बालबालिकाले बीचमै स्कुल छाड्ने गरेको अभिभावकहरू बताउँछन्। जिल्लामा हाल चार सयभन्दा बढी विद्यालय छन्। १० हजार स्कुल पढ्ने दलित बालबालिकामध्ये यस वर्ष मात्र पाँच सयभन्दा बढीले बीचमै स्कुल छाडेको पाइएको छ।