‘अतिवादी समूहबाट मुलुक खतरामा’

‘अतिवादी समूहबाट मुलुक खतरामा’

काठमाडैाँ : प्रधानमन्त्री केपी ओलीले जातीय र क्षेत्रीय नाराका आडमा हिंसा निम्त्याउन सक्रिय अतिवादी तत्वका गतिविधिका कारण मुलुक खतरामा पर्न सक्ने बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत क्याडेट आधार तालिम सम्पन्न गरेका सैनिकलाई ‘सहायक सेनानी’ दर्जाको आयुक्त पद प्रदान गर्दै प्रधानमन्त्री ओलीले जातीय र क्षेत्रीय नारा लगाउने अतिवादीका गतिविधिले सामाजिक सद्भाव र एकतासमेत खल्बल्याउने बताए।

त्यस्ता गतिविधि नियन्त्रण गर्न सबै सुरक्षा निकाय सदैव सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले मुलुक अहिले तुलनात्मक रूपमा स्थिर र शान्तिपूर्ण भए पनि भविष्यमा उत्पन्न हुन सक्ने सबैखाले सुरक्षा खतराबारे सतर्क र सजग हुन जरुरी रहेको बताए। प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा अतिवादी समूह र बाह्य रूपमा आतंककारी गतिविधिहरू मुलककाका लागि प्रमुख सुरक्षा चुनौती बनेको बताए।

प्रधानमन्त्री ओलीले त्यस्ता अतिवादी तत्व को हुन् भन्नेबारे भने केही खुलाएका छैनन्। ‘अन्तर्राष्ट्रिय आतंकवादलगायत देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वका गतिविधिले निम्त्याउने क्षेत्रीय र जातीय द्वन्द्वहरू अहिलेका वास्तविक खतरा हुन्, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनकै सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ - त्यस्ता प्रकारका खतराविरुद्ध लड्न हाम्रा सुरक्षा निकाय सदैव तयार हुनुपर्छ।

स्पष्ट रूपमा कसैको नाम नलिए पनि प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विखण्डनकारी अभिव्यक्ति दिँदै आएका सीके राउतका गतिविधितर्फ संकेत गर्दै त्यस्ता चुनौती सामाना गर्न सुरक्षा निकाय सजग हुनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले उक्त अवसरमा साइबर सुरक्षा अहिलेको अर्को ठूलो चुनौती भएको र त्यसबारे समेत सुरक्षा निकायबीच समन्वय जरुरी रहेको बताए।

गृहमन्त्री रामबहादुर थापाले समेत जातीय र धार्मिक द्वन्द्व निम्त्याउने तत्व सक्रिय रहेको बताउँदै आएका छन्।

विराटनगरमा धार्मिक गुरु श्रीनिवासाचार्यमाथि केही दिनअघि भएको गोली प्रहारको घटनालाई लिएर गृहमन्त्री थापाले मंगलबार जातीयता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान खोज्ने तत्व सक्रिय रहेको र त्यस्ता तत्वलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए। केही साताअघि गृहमन्त्री थापासँगको भेटमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले समेत सम्भावित आतंकवादी गतिविधि र मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे चासो राखेका थिए।

चौबीस महिना अवधिको उक्त तालिममा सहभागी ९ जना महिला अधिकृत क्याडेट, ७४ जना पुरुष अधिकृत क्याडेट, १ जना विदेशी अधिकृत क्याडेट तथा ८ जना पदिक÷हुद्धा अधिकृत क्याडेट गरी ९२ जना अधिकृत क्याडेटलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.