निन्दनीय कृत्य
भारतको एक कोठीबाट बलजफ्ती देहव्यापारमा संलग्न गराइएका नेपाली चेलीहरूलाई उद्धार गरिएको समाचारले चेलीबेटी बेचबिखन अझै कायम रहेको देखाउँछ। भारतका वेश्यालयमा नेपाली चेलीहरू विभिन्न प्रलोभनमा पारी बेचिन थालेको लामो समयसम्म पनि राज्यले यसलाई रोक लगाउन नसक्नु विडम्बनापूर्ण छ। चेलीबेटी बेचबिखन रोक्नका लागि चलाइएका अनेकौं कार्यक्रम सफल हुन सकेनछन् भन्ने एक उदाहरण पनि पछिल्लो समाचार बनेको छ।
अझै पनि चेलबेटी बेचबिखनको घिनलाग्दो प्रक्रिया केकति कारणले चलिरहेको छ भन्नेबारे सरकार गम्भीर हुन जरुरी छ। साथै अहिलेसम्म चालिएका हरेक कदमबारे पुनः परीक्षणको आवश्यकता देखिएको छ। हालै भारतीय सञ्चारमाध्यमले भारतीय सीमासुरक्षा फौजलाई आधार बनाएर नेपालबाट भारतमा चेलीबेटी बेचबिखन हुने क्रम बढेको समाचार सार्वजनिक गरेपछि यो समस्या कतिसम्म जटिल रहेछ भन्ने देखिन्छ।
विभिन्न अध्ययन-प्रतिवेदन र बेलाबखत सार्वजनिक हुने समाचारले चेलीबेटी बेचबिखनको सञ्जाल अब भारतमा मात्र सीमित नभई अरबी र अफ्रिकी मुलुकसम्म पुगेको देखाएका छन्। रोजगारको प्रलोभनमा पारी लगिएका महिलालाई जबर्जस्ती यौन व्यवहारमा संलग्न गराइनु निन्दनीय हो, साथसाथै यो मानव अधिकारको गम्भीर उल्लंघन पनि हो। यद्यपि यसको कारणसम्म नपुगी चेलीबेटी बेचबिखन रोकिने सम्भावना कमजोर नै रहन्छ।
चेलीबेटी बेचबिखनको पहिलो र प्रमुख कारण बेरोजगार नै हो। अधिकांश महिला पैसा कमाउने प्रलोभनमै परेका छन्। दैनन्दिनको आवश्यकता पूरा गर्न नसक्ने स्थिति भएपछि मानिसले विकल्पका सम्भावना खोज्नु अस्वाभाविक होइन। जीविकोपार्जनका विकल्पहरू सीमित हुँदा बेचबिखनको खतरा बढी हुने गरेको छ।
सरकारले चेलीबेटी बेचबिखनलाई रोक्न आर्थिक आत्मनिर्भरतालाई जोड दिन आवश्यक छ। सीपमूलक तालिमहरू त्यसका विकल्प हुन सक्छन्। यद्यपि अहिले सञ्चालनमा ल्याइएका सीपमूलक तालिम खासै प्रभावकारी देखिएका छैनन्। यसका कारणको खोजी आवश्यक छ। सीपमूलक तालिमले मात्र स्वरोजगार स्थापना गर्न सक्दैन। त्यसका लागि लगानी र बजार दुवै आवश्यक पर्दछ। लगानी गर्ने सामान्य पुँजी नभएको अवस्थामा सीपले व्यावसायिकता पाउन सक्दैन। बजारको सम्भावना कमजोर हुँदा सीमित पुँजी भएका व्यक्तिले लगानी गर्ने जोखिम नमोल्नु स्वाभाविक हो।
सरकारले महिलालाई सीपमूलक तालिमका साथसाथै लगानीको वातावरण र उत्पादित मालसामान खरिदको जिम्मेवारी लिन आवश्यक छ। त्यसका लागि सरकारले उच्च बजार सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी त्यसमा महिला श्रमको उपयोग गर्नु बुद्धिमत्तापूर्ण हुनेछ।
चेलीबेटी बेचबिखन बढी हुने जिल्लामा नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकलगायतका जिल्ला पहिलो पंक्तिमै आउँछन्। त्यस्तै तराईका देहाती इलाकाका महिला पनि बिक्रीमा पर्ने गरेका छन्। यसको आर्थिक र सामाजिक दुवै कारण छन्। अधिकांश उद्धार हुने महिला मानव विकास सूचकांकमा तल्लो सूचीमा रहेका जातिगत समुदायका पाइने गरेका छन्। यसले चेतनास्तर र सामाजिक बनोट पनि चेलीबेटी बेचबिखनको कारक रहेको देखाउँछ।
विद्यालय वा क्याम्पस खोल्दैमा चेतनास्तर बढ्छ भन्ने होइन। सामाजिक सम्मिलन र घुलन नहुँदासम्म लामो समयसम्म सीमान्तकृत बनाइएको जाति-समुदायको चेतनास्तर कमजोर हुनु स्वाभाविक हो। त्यसैले उक्त समुदायलाई समाजमा स्थापित गर्न पनि सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ।
चेलीबेटी बेचबिखनविरुद्ध चेतना जगाउने काम केवल राज्यको मात्र होइन। सामाजिक अगुवा, राजनीतिक कार्यकर्ता, शिक्षक र सामान्य नागरिकले यसमा ध्यान पुर्याउन जरुरी छ। केवल पैसाको प्रलोभनमा नपरौं भन्ने नारा भट्टयाउँदैमा चेतनास्तर बढ्ने होइन। सामाजिक गरिमा प्रदान पहिलो सर्त हो। सरकारले ध्यान पुर्याउनुपर्ने अर्को क्षेत्र खुला सिमाना हो। खुला सीमाकै कारण हजारौं नेपाली महिला भारत हुँदै अरब र अफ्रिकी मुलुकसम्म पुर्याइएको अवस्थामा सीमा नियमन सम्बन्धमा सरकारले सोच्न ढिलाइ भइसकेको छ।