लेख्ने लत
दरबारमार्गको क्याफिन क्याफे। बन्द कोठा चुरोटको धुवाँले भरिएको छ। ल्यापटपमाथि एकतमासले नाचिरहेका छन्— सागर चन्दका औंलाहरू। उनी हरेक दिन यसरी नै मग्न रहन्छन्। उनलाई लेखनको लत लागेको छ। कफी सप उनको लेख्ने अड्डा हो। भौतिक कोठाभित्र अभौतिक संसारको व्याख्या गर्ने आजको प्रचलित थलो।
‘कल्चर, पोलिटिकल, आर्ट— विषय जेसुकै होस्, बस् मन छुनु पर्यो, लेखिन्छ’, उनी भन्छन्। २४ वर्षे सागरलाई लेख्न मन पर्छ। उनी हरदिन केही न केही पढिरहन्छन्, खोजिरहन्छन्, लेखिरहन्छन्। बसोबास ललितपुरमा छ। लेख्नु भनेको मस्तिष्कको क्रिया हो भन्छन् उनी। ‘लेखन हृदयको बाटो हुँदै मस्तिष्कमा प्रहार गर्नसक्ने होस् भन्ने मेरो चाहना हो’, उनी भन्छन्।
मानिसका लत अचम्मका हुन्छन्। कुनै लतले मानिसको घरबार बिगारिदिन्छ, जसलाई ‘कुलत’ भनिन्छ। तर, कुनै लतले मानिसलाई लोकप्रियता र सफलताको शिखरमा पुर्याइदिन्छ। पछिल्लो समय लतको भीडमा थपिएको छ— लेखन लत। हुन त यो अघिल्लो पुस्तामा थिएन भन्ने होइन। तर, ल्यापटपको आगमनसँगै हुर्किएको पछिल्लो नयाँ पुस्तामा समेत लेखनको लत बढ्दो छ।
यो लेख्ने लत अजिबको छ। शब्दको माध्यमबाट मनको भावना बाहिर उजागर नभएसम्म लेखकलाई चैन हुँदैन। कुनै घटनाले मस्तिष्कमा ‘क्लिक’ गर्नुपर्छ। लेख्ने हातहरू आफैं श्वेत कापीका पानामा वा कम्प्युटरको किबोर्डमा सल्बलाउँछन्। त्यस्तै अर्का एक लती हुन्— शिरीष कार्की।
शिरीष कविता लेख्छन्। जीवन र जगत्मा बाँधिएर कविता लेख्दा उनी आफू भर्खरको लक्का जवान ठिटो भएको कुरा बिर्सन्छन्। आफ्नो घरपरिवारप्रतिको जिम्मेवारी बिर्सन्छन्। एकसुरले लेख्न थाल्छन्। गहिराइमा डुबेर कविता लेख्न रुचाउँछन् उनी। उनका अघिल्ला पुस्ताले बाँचेभन्दा आजको समाज निकै परिवर्तन भइसक्यो। उनी त्यही पछिल्लो समाजका खेस्राहरू कवितामार्फत केलाउने कोसिस गर्छन्। उनी आफ्ना कवितामार्फत बारम्बार घच्घच्याउँछन् आफ्नै पिताजीलाई। लेख्छन्—
मौन नबस्नुस् पिताजी !
मौन बस्नु भनेको फेरि पिल्सिनु हो
मौन बस्नु भनेको फेरि अंश र हंश गुम्नु हो
मौन बस्नु भनेको मौनतालाई गिज्याउनु हो
झट्ट हेर्दा शिरीष मौन देखिन्छन् तर उनका कविताले विद्रोह बोल्छन्। विचार र भावनाको मौनतालाई भंग गर्छ। लेख्ने लत लागेको छ शिरीषलाई। सामाजिक सञ्जालमा कविताहरू पोस्ट गरिरहन्छन्। झापा स्थायी घर भएका उनी काठमाडौंका डेरा गरी बस्छन्। पढाइमा अब्बल शिरीष क्लास टपरसमेत हुन्। कविता लेख्न पछि हट्दैनन्। लती भएका छन् उनी। लेखेर भातदालको जोहो हुँदैन भन्ने उनलाई हेक्का छ। तर, लेख्ने लतले पछ्याउन छोडेको छैन। भन्छन्, ‘कविता लेखेर जोहो चल्दैन थाहा छ तर कविता लेखिरहन्छु। संग्रहकै तयारी गर्दैछु।’
लेख्ने लतले सागर चन्दलाई शान्तसँग बस्न दिएन। केही न केही लेखिरहनुपर्छ। उनी पुस्तक प्रकाशनको तयारीमा छन्।
सागरको ब्लग आफ्ना लेखहरूले भरिएका छन्। प्रायः कला, साहित्य र नाटकबारे लेख्न रुचाउँछन्, उनी। कुनै घटनाले विक्षिप्त बनाएपछि उनी घोत्लिन्छन् अनि लेख्न बस्छन्। उनका साथीहरू निकै कम छन्। ‘मेरा साथी कम छन्। यसको मतलब मसँग सांसारिक तनाव कम छ’, उनी तनावमुक्त भावले बोल्छन्।
लेखेर कमाइ होस्–नहोस् तर युवापुस्तामा लेखनप्रतिको क्रेज बढ्दो छ। लेख्नु अब उनीहरूको लत बनिसकेको छ।
हरेक लेखलाई टुंग्याउन उनी एकान्त स्थान मन पराउँछन्। तर, कहिलेकाहीँ ज्याज म्युजिक र क्याफे सपको कोलाहलबीच पनि उनका औंलाहरू नाचिरहन्छन् किबोर्डमाथि। उनी कहिले दिनमा हजार शब्द लेख्छन्। कहिले चार सय शब्द लेखेपछि ल्यापटप बन्द गर्छन्। लेखेरै जीवन चल्दैन भन्ने उनलाई पनि थाहा छ।
सागरको लेखनमा लत १२ कक्षा पढ्दै गर्दा लाग्यो। त्यस बेला मनोविज्ञान, सामाजिक, राजनीतिक विषयका पुस्तकहरू पढे। शंकर लामिछाने, पारिजात, धु्रवचन्द्र गौतम, मनु ब्राजाकी, कुमार नगरकोटी, अर्चना थापा आदिका कृति पनि पढे। उनी विदेशी लेखकका पुस्तकहरूसमेत पढ्ने गर्छन्।
शालीन र शान्त स्वभावका शैलेस क्षेत्री पनि लेख्न रुचाउँछन्। लेखक बन्ने उनको धोको छ। केही लेख पनि उनले लेखिसके। अझै लेख्दैछन्। उनलाई महिलाका विषयमा लेख्न मन पर्छ।
एक टेलिभिजनमा ब्रोडकास्ट प्रोड्युसरका रूपमा समेत शैलेसले काम गर्दै आएका छन्। उनी भन्छन्, ‘म आफ्नो काममा इन्जोई गर्छु, मनैदेखि गर्छु।’ फिल्म स्क्रिप्टमा समेत उनको रुचि छ। चलचित्रका संवाद लेख्न उनलाई मन पर्छ।
नयाँ पुस्तालाई लेखनमा सहजता छ। आवश्यक लागेका पठनसामग्रीहरू सहजै उपलब्ध हुन्छन्। कापीमा केरमेर गर्नुपर्ने झन्झटबाट नयाँ पुस्ता मुक्त छ। उनी भन्छन्, ‘लेख्ने कला र कल्पना शक्तिको साथमा प्रविधिको ज्ञान हुनुपर्छ। आधा लेखन त्यसै पूरा हुन्छ।’