एैकदिन ठड्याइए दुई लिङ्गो
भक्तपुर : आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्केट जात्राको चौथो दिन शुक्रबार भक्तपुर नगरपालिका वडा नं ५ योसिंखेल र वडा नं ४ पोटेरी स्क्वायरमा छुट्टाछुट्टै दुई लिंगो ठड्याइएका छन्।योसिंखेलस्थित भद्रकाली मन्दिर परिसरमा साँझ हात भएको करिब ५५ हात लामो र पोटेरी स्क्वायरस्थित जेठा गणेश मन्दिर अगाडि बिहान हात नभएको करिब ४० हात लामो अर्को लिङ्गो ठड्याइएका हुन्।
भैरव एवं इन्द्र देवताको प्रतीक रुपमा योसिंखेलमा आठवटा डोरीको सहायताले हजारौं भक्तजनले तानेर हात भएको लिंगो ठड्याइएको हो। उक्त आठ वटा डोरीलाई अष्टमातृका देवीको प्रतीकको रुपमा लिइन्छ।
उक्त लिंगोको टुप्पो र हातको आकार आउने गरी टाउकोभन्दा करिब पाँच हात तल हरिबेलको हांगाबिंगा बाँधेर निलो कपडाले बेरिएको छ। टाउको र हातको बीचमा काटिएको नाकको रुपमा काठ बाँधिएको छ। लिंगोको हात बाँधेको ठाउँबाट करिब दुई मिटर तल ३४ हात लामा दुई वटा विश्वध्वजा बाँधिएका छन्। यही विश्वध्वजा फहराइने भएकाले यस जात्रालाई विश्वध्वज जात्रा पनि भन्ने गरिन्छ।
उक्त लिङ्गो ठड्याइनुअघि गःहिटीमा रहेको भैरवनाथको रथ तानेर योसिंखेल पुर्याइएको थियो। भैरवनाथको रथ योसिंखेल पुगेपछि लिङ्गोको जन्मदेखि मृत्युसम्मको १६ संस्कार सम्पन्न गरिएपछि हैंसेमा होस्तेको तालमा लिंगो ठड्याइएको छ।
चैत मसान्तको दिन ठड्याइएको उक्त लिंगो नयाँ वर्षको पहिलो दिन अर्थात शनिबार साँझ ढालिन्छ। यो जात्रा हेर्दा शत्रुनाश हुने जनविश्वास रहेकाले भक्तपुर नगर र यसको वरिपरि रहेका गाउँमात्र होइन काठमाडौं, ललितपुर, काभ्रे, नुवाकोट र धादिङका सर्वसाधारणसमेत बिस्केट जात्रा हेर्न भक्तपुर पुग्ने गर्छन्।
उता माटोको भाँडा बनाउने प्रजापतिहरुमात्र सम्मिलित हुने जेठा गणेशको हात नभएको लिंगो बैशाख ५ गतेमात्र ढालिन्छ।