पोखरामा नयाँ वर्ष : पर्यटक खचाखच, व्यवसायीलार्इ भ्याइनभ्याइ

पोखरामा नयाँ वर्ष : पर्यटक खचाखच, व्यवसायीलार्इ भ्याइनभ्याइ

पोखरा : सेतो टेन्टमुनि सेतै रङको एप्रोन लगाएका कुकहरूलाई भ्याइनभ्याइ थियो। नेपाली, भारतीय र पश्चिमा खानाका परिकार पस्किरहेका स्टलमा युवाहरू लोभिएका थिए। ती युवा कोहीले सेतो, बैजनी, हरियो र नीलो रङले अनुहार रंग्याएका त कोहीले कलाकृतिपूर्ण मास्कले मुख छोपेका थिए। युवा पंक्ति संगीतमा लठ्ठ थियो। हातमा खानाका परिकार लिँदै नाँच्दै उनीहरू नयाँ वर्ष २०७५ को स्वागत गर्दै थिए।

वर्ष २०७४ को अन्तिम दिन पोखराको नयाँ बजार प्रदर्शनी केन्द्रमा उत्सव थियो। नयाँ वर्ष २०७५ लाई स्वागत गर्न आई ब्लुज म्यानेजमेन्टले आयोजना गरेको ‘पोखरा फुड कार्निभल’ मा खानाका परिकार र गीतसंगीतमा युवाहरू झुमेका थिए। त्यसरी रम्ने स्थानीय युवामात्रै होइनन्। यही कार्निभल लक्ष्य गरेर काठमाडौंदेखि हुलका हुल युवा पोखरा आएका थिए। आयोजकले आउने जाने बस, खानेबस्ने र होटल सुविधा पनि उपलब्ध गराएको थियो। आई ब्लुज म्यानेजमेन्टकी अध्यक्ष सजना थापाका अनुसार १२ हजार रुपैयाँको टिकटमा ती सम्पूर्ण सुविधा दिइएको थियो।

लाइभ म्युजिकका अलावा कार्निभलमा बी बोइङ डान्स देखाइयो। राति अबेरसम्मै लाइभ डिजे प्रस्तुतिमा युवाहरू खुब नाचे। डान्स पार्टी नै जम्यो। कार्निभलमा काठमाडौंदेखि नै कलाकार, प्राविधिक तथा डिजे र म्युजिक सिस्टमसमेत आयोजकले पोखरा ल्याएका थिए।

उता फेवाताल किनारको क्याम्पिङ साइट नजिकै फनपार्कमा म्युजिकको मस्ती लिने युवाको उस्तै हुल थियो। अर्काेतिर फेवाताल छेवैको कोमागाने पार्कमा पनि कन्सर्ट चल्दै थियो। ताल किनारको फुटपाथमा त भन्नै परेन हुलका हुल मानिस चिसो पवनको स्पन्दन महसुस गर्दै पैदल यात्रा गर्दै थिए। फुटपाथमा आउने जानेको चाप बाक्लो थियो। यी सबैको एउटै कारण नयाँ वर्षको छेको नै थियो। यो छेको पारेर पोखरा घुम्न आएका पाहुना र ताल किनार पुगेका स्थानीयको रौनक साँच्चिकै लेकसाइडमा मेला लागे झै भयो। शुक्रबार र शनिबार लेकसाइडको सडकमा गाडी गुड्न नदिइएको मौकामा सडकमै हिँड्नुको मज्जा पाहुनाहरूले उठाउन पनि पाए।

वर्ष २०७४ को अन्तिम दिन पोखराको नयाँ बजार प्रदर्शनी केन्द्रमा उत्सव थियो। नयाँ वर्ष २०७५ लाई स्वागत गर्न आई ब्लुज म्यानेजमेन्टले आयोजना गरेको ‘पोखरा फुड कार्निभल’ मा खानाका परिकार र गीतसंगीतमा युवाहरू झुमेका थिए।

कोमागाने पार्कमा फेवा नव वर्ष महोत्सव भइरहँदा बसुन्धरा पार्क छेउको होटल माउन्ट कैलाशमा न्यू एयर गाला डिनर पार्टी जम्दै थियो। सन् २००९ मा खुलेको यो होटलले सधैं नेपाली नयाँ वर्षमा यस्तै पार्टी गर्दै आएको छ। यसपालिको पार्टीमा डिजे नवाङ, गायिका प्रीति कौर र गायक जेम्स प्रधान निम्त्याइएका थिए। होटल सञ्चालक नरेश भट्टराईका अनुसार नयाँ वर्षमा यही पार्टी हुन्छ भनेर काठमाडौंदेखिका पाहुनाले होटल अग्रिम बुकिङ गर्दै आएका छन्। उनी भन्छन्, ‘अंग्रेजी नयाँ वर्षमा मात्रै होइन, नेपाली नयाँ वर्ष पनि पर्यटकीय इभेन्ट हुनुपर्छ भनेरै पार्टी आयोजना गर्छाैं।’

नेपाली पाहुनालाई लक्ष्य गरेर नै तत्कालीन पोखरा होटल संघले १५ वर्षअघि फेवा नयाँ वर्ष महोत्सव सुरु गरेको थियो। अहिले त्यो संघ पश्चिमाञ्चल होटल संघमा गाभिएपछि पनि महोत्सवले निरन्तरता पाइरहेको छ। तत्कालीन संघका संस्थापक अध्यक्ष रमेश भट्टराई भन्छन्, ‘१५ वर्षअघि महोत्सव गर्दा पोखराकै मान्छे आउँथे, अचेल टाढाटाढाबाट आउन थाले।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार नेपाली नयाँ वर्षमा यहाँका होटेल लगभग फुल अकुपेन्सीमा छन्। नयाँ वर्षको छेकोमा मात्रै तीन दिनमा ४० हजार पर्यटक पोखरा आउने अनुमान छ। उनी भन्छन्, ‘दसैंताका कामकाजी र व्यवसायी पनि पोखरा घुम्ने फुर्सद पाउँछन्, नयाँ वर्षचाहिँ बालबच्चाको स्कुल छुट्टि भएका अभिभावक पारिवारिक भ्रमणमा पोखरा आउँछन्।’ अंग्रेजी नयाँ वर्षमा पनि पोखरामा सडक महोत्सव हुन्छ। १८ वर्षदेखि त्यस्तो महोत्सव हुँदै आएको छ। नेपाली चाडपर्वको स्वाद विदेशीलाई चखाउने गरी नेपाली नयाँ वर्षमा बाह्य पर्यटकलाई लक्ष्य गरी कार्यक्रम समावेश छन्।

होटल माउन्ट कैलाशले जस्तै लेकसाइडकै स्पोटर््स बारमा स्थानीय ब्यान्डको प्रस्तुति नयाँ वर्षको पूर्वसन्ध्यामा जम्यो। पोखराको पाँचतारे होटल ग्रान्डमा बुलेट मोटरसाइकल राइडरको संस्थाका तीन सयजना काठमाडौंबाट पोखरा आए। त्यो टिम आफैंले सांगीतिक चाँजो मिलायो।

पछिल्लो समय नेपाली नयाँ वर्ष पोखरा घुम्ने आन्तरिक पर्यटकका लागि बहाना बनिरहेको छ। त्यसै संस्कृति लक्ष्य गरेर यहाँका व्यवसायीले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्। काठमाडौं बानेश्वरका हरि खड्का साथीहरूसहित यसपालि पोखरामा नयाँ वर्ष मनाएर फर्किदैछन्। उनी भन्छन्, ‘यो बेला पोखराको मौसम पनि मिठो लाग्यो।’ उनले फेवाताल घुमेर साँझ लेकसाइडको पर्यटकीय गतिविधि मज्जैले अवलोकन गरे। बरु उनलाई होटलमा कोठा पाउन भने मुस्किलै पर्‍यो। जुन होटल चहारे पनि फुल थिए। प्राय होटलका पाहुना नेपाली नै थिए। होटल मीरापिकका सञ्चालक विजय केसी नयाँ वर्षमा पाहुनाको खाँचो हुन छाडेको केही वर्ष भइसक्यो। भन्छन्, ‘यस्तो बेला त १०० रुमको होटल बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ।’

कुनै जमाना थियो, पोखराका होटलले नेपालीलाई पर्यटक ठान्न गाह्रो मान्थे। अहिले भने नेपाली आइदिए हुन्थ्यो भन्ठान्छन्। नेपाली पाहुना डाक्नैका लागि अभियान पनि गर्छन्। महिना दिनअघि मात्रै पश्चिमाञ्चल होटल संघको टोली नेपालगन्ज, धनगढी र कञ्चनपुर पुगेर पोखराको प्रचार गरी फर्कियो। जाऊँ है पोखरा अभियान चलाउँदै व्यवसायीले पोखरा घुम्न निम्तो बाँडे। मुलुकमा द्वन्द्व चलेका बेला २०५९ सालमा अभियान सुरु भएको थियो। विदेशी पर्यटक आउन डर मानेका बेला नेपालीलाई लक्ष्य गर्दै सुरु भएको अभियानको सफलता के भने अचेल पोखराको पर्यटनको मूल टेको नै आन्तरिक पर्यटक हुन थालेका छन्। संघका अध्यक्ष तुलाचन भन्छन्, ‘पोखरा आएका पर्यटकमध्ये ६० प्रतिशत नेपाली नै हुन्छन्।’ उनकै भनाइमा नेपाली खर्चालु पर्यटक हुन्। ‘तेस्रो मुलुकका पर्यटक नेपाल आउन पर्‍यो भने ६ महिना वर्ष दिनअघि योजना बनाउनुपर्छ, नेपाली त १÷२ दिन विदा पर्‍यो भने पोखरा घुम्न आइहाल्छन्।’ विदेशी पर्यटक आउनका लागि सिजन कुर्नु परे पनि नेपाली भने बाह्रैमास आइरहने तुलाचन सुनाउँछन्।

पोखरामा आउने स्वदेशी वा विदेशी पर्यटकको तथ्यांक राख्ने निकाय छैन। अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले चाहिँ पदमार्गमा जाने विदेशीको संख्या यकिन गर्छ। तर पनि नेपाल आएकामध्ये ४० प्रतिशत विदेशी पर्यटक पोखरा आउने अनुमान छ। त्यस हिसाबले बर्सेनि दुई लाखभन्दा बेसी पर्यटक पोखरा आउँछन् भन्न सकिन्छ। होटल संघ अचेलका वर्षमा नेपालीको संख्या पनि वर्षमा दुई लाखकै हाराहारीमा भएको अनुमान गर्छ।

पोखरा आएका पर्यटक वरपरका डाँडाकाँडा पनि उक्लन्छन्। यही बेला उपल्लो मुस्ताङ, मनाङ पनि घुम्छन्। अन्नपूर्ण संरक्षण क्षेत्रका पदयात्रा मार्गमा पनि नेपाली पाहुना पुगेका छन्। विदेशीको जस्तो नेपालीहरूको संख्याको रेकर्ड राख्ने निकाय भने छैन। होटेलियर तुलाचनका अनुसार पोखरामा पर्यटनस्तरका झन्डै चार सय होटल छन्। तिनमा २२ हजार विस्तारा छन्। रेस्टुरेन्टको संख्या झन्डै एक सय छ। नयाँ वर्षमा होटेल खाली भएको सुन्न परेको छैन भन्छन् तुलाचन। उनकै भनाइमा लगभग फुल अकुपेन्सीको अवस्थामा छन् सबै होटल। पाहुनाहरूका अनुसार भने यो बेला होटलले अरु बेलाभन्दा महँगोमा कोठा बेचेका छन्। अरु बेला एक हजार रुपैयाँमा पाइने कोठालाई पनि दोब्बरभन्दा बेसी तिर्नुपरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.