प्रधानमन्त्री हिल्सा पुगे, चीनसँगको नाका अवलोकन गर्ने
सिमकोटः प्रधानमन्त्री केपी शर्माओली नेपाल–चीन सिमानामा अवस्थित हिल्सा प्रस्थान गरेका छन् । कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा पुगेका ओली हिल्सा नाकाको अवलोकनका लागि हेलीकोप्टरमार्फत हिल्सा प्रस्थान गरेका हुन् ।
रारबाट उडेका दुई हेलिकप्टरबाट प्रधानमन्त्री ओली रक्षा मन्त्री ईश्वर पोखरेल, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही लगायतको प्रदेश र संघीय सरकारका मन्त्री तथा विशिष्ठ व्यक्तित्व हिल्सा नाका गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले बताए ।
सीधै हिल्सा गएका प्रधानमन्त्री ओलीको टोली हुम्ला सदरमुकाम सिमकोट आएर स्थानीयसँग भलाकुसारी गर्ने कार्यक्रम रहेको प्रमूख जिल्ला अधिकारी ढुंगानाले जानकारी दिए ।
हुुम्लाको विकास र हिल्सा नाकाको स्तरोन्नति गरेर चल्तीको बनाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउने तयारी समेत भएको माओवादी केन्द्रका नेता विजय भण्डारी प्रतिरोधले बताए ।
जिल्लाका सबै राजनीतिक दल, स्थानीय सरकार र समग्र हुम्लावासीको तर्फबाट केन्द्रीय र प्रदेश सरकारसमक्ष उक्त माग राख्ने तयारी भएको जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले अन्नपूर्णलाई बताए ।