आत्मबयान काँय्बाटा

आत्मबयान काँय्बाटा

सोच्दासोच्दै भुसुक्क निदाएछु। सोच्नु नि एक तालको एकाग्रता रै’छ। सोच्दाको एकाग्रता भनूँ, एकाग्र सोच आपसमा अन्योन्यास बन्दो रै’छ। काँसका सम्बन्धमा सोच्दै गर्दाको यथार्थ विवरण यो। काँस एक प्रकारको धातु पदार्थ। आफ्नै स्वरूप छ यसको। गह्रुँगो तौलदार धातु वस्तु। अनेकानेक भाँडाकुँडा, गोलाबारी गर्ने तोपका नाल बनाउन पनि प्रयुक्त मिश्रित धातु। काँसलाई नेवार समुदायले काँय् भन्छन्। बिछ्यौनामा पल्टेर सोच्दै थिएँ। भुसुक्कै पो निदाएछु। एकचित्त ध्यानमग्न निद्रा त स्वप्नदर्शी बन्दो रै’छ। मस्त निद्राबीच सपना देख्न थालेछु।

सपना सपनै हो, विपना हुन्न। तर पनि घटनाक्रमले बोध गरायो, सपनाको गाँठो त मनको चिन्तनसित गाँठिएको हुँदो रै’छ। त्यसो त मनको चिन्तन कहिले कहिलेका विस्मित÷बिर्सिसकेका स्मृति धेरै समयपछि पनि उप्किँदो रै’छ, लहसिएर पानी माथिको ओभानो बनेर। जे होस्, यो यथार्थ घटना भने काँय्बाटा÷काँसको बाटामूलक रहेको छ। यथार्थमा जस्ताको त्यस्तै नदेखिने, देख्न नसकिने दूरदराजका विस्मित घटना हाम्रा अन्तस्करणमा लेसिएर रहेका हुँदा रै’छन्, मेमोरि चिप्स बनेर। आफैंबाट आफैंसित सिकिरहेछु। आफैं चेला, आफैं गुरु, सोच्यो आफैं, केलायो आफैं। आफैंले केलाउनु भनेको विश्लेषण गर्नु रहेछ। विश्लेषणले अन्तरकुन्तरका अमूर्तहरूलाई सतहसम्म उकासी छर्लंग्याई दिँदा रै’छन्। काँय्बाटा÷काँसका बाटाका धूनले मच्चाएका तरंग हुन् यी।

काँय्बाटा मूक धातु वस्तु। यिनका स्वरगुञ्जन हुने असर पनि मानिसले निस्प्राण, निर्जीव घरानमा दर्ता गरेका छन् हलचल नास्ति पदार्थ भएर। कसै, कतै, हृदयाघात नलागून् काँसका बाटा महाधातु वस्तुतत्वलाई ! संचेतनाबाट उस्केका यी संवेदनशीलता मेरो। उपहार सौगात औकातभरिका सहृदय पाठक महानुभावहरूमा ! वाचाल ध्वनि गुञ्जन तिनै काँसका धातु वस्तु काँय्बाटा पदार्थको। मस्त निद्राको मदहोस अवस्था मेरो तत्क्षण। किरिङमिरिङ मिरिङमिरिङ स्वर गुञ्जन थाल्यो कानमा। टाङ्टिङ् टिङटाङ् अनुरणन ! बादल गर्जन्छन्— घननन घननन ! त्यो घननन स्वरै त हो, अनुरणन। अचेल प्रायः पश्चिमेली शिक्षाले मुछिएका नयाँ नेपाली पिँढीलाई विरलै मात्र मस्तिष्कका पोल्टामा पर्न सकेका वर्तमान नेपाल मेरो, हाम्रो, सबैको। यथार्थ यस्तै छ जता हे¥यो उस्तै उस्तो देशको ! मात्र स्वर गुञ्जन घननन अनुरणन ! हुट्टिट्याउँको निरन्तर दीर्घप्रतीक्षा ! कहिल्यै पूरा नहुँदो उपेक्षित अपेक्षा !

फुत्त उफ्रँदै कम्मर तोड् नाच नाच्दै भट्भटाउन थाले काँय् बाटा ! के के फलाके फलाके तिनले। स्वप्नील स्मृति अर्ध स्मृति बन्दो रै’छ। झन्डै कम्प्युटर टाइप गर्दागर्दै झ्याप्प विद्युत तरंग टुट्दा सुरक्षा गर्नै नभ्याई तहसनहस भएजस्तै हुँदा रै’छन्। सम्झनै साह्रो गाह्रो— काँय्बाटाको फलाक्याई ! अचेलभरिका कम्मरतोड् नाच गर्ने युवा जमातलाई माथ गर्दो कम्मर काँध सम्पूर्ण अवयव हल्लाउँदै भन्न थाले !

पाठकवर्ग ! म धातु युग सभ्यता, संस्कार र संस्कृतिकै प्रतिमूर्ति हुँ ! प्रतीक हुँ ! ढुक्क हुनुस् ! यो हलुँगो, तरल समयको लागि भयंकर गह्रुँगो वजनदार धातु पदार्थ म ! फलामे धातुको पछाडिको वजनदार धातु ! परिस्कृत छु म नितान्त फलाम भन्दा ! फलाम खिइन्छ। म खिइन्न कवै। नखिइनु मेरो अमरत्व ! अमरत्व नै स्वत्व मेरो। अमर धातु म। अमरत्व आर्जन खोट्याउनै नसकिने गरी अर्कासित घुलमिल गर्न सक्नुपर्छ। चार भाग तामा धातु एक खण्ड÷एक भाग राङ् धातु पदार्थको मिश्रित अंग स्वरूप मेरो। आधुनिक युग भाषा यस्तै बोल्छ, भन्छ। हजुर पुस्तासित सोधे भन्नेछन् काँस एक धार्नीमा एक पाउ एक छटाक राङ् मिसाई अग्नि पाक गर्दा काँस अवतार लिन्छु म। सयौं डिग्री चढ्दो रापमा पाएको पूटको स्वरूप मेरो आकृति ! यस्तै मि िश्रत घुलन मिलनका पुजनन, अविर्भाव, आविष्कार हुँ म !

द्वन्द्वात्मक भौतिक तत्व मेरो अभ्यन्तर। तामा र राङ् दुवै भौतिक तत्व— पदार्थ। आपसमा घुलमिल हुनुपूर्व, अगाडि मसितका, मभित्रका तामा र राङ् घुलमिल नभएसम्म भयंकर द्वन्द्व हुने गथ्र्यो मेरै मभित्रभित्र अन्तरंगभरि ! जब जब मेरा पूर्वज–तामा र राङ् परस्पर घुलमिल भएर एक आपसमा चुस्की चुसेर लडीबुडी गरिरहन्थे, जब जब एकले अर्काको काँधमा पाखुरी कसी अँगाल्न पुग्थे, तब तब परस्पर चुक्क, चुम्बन लाउन पुग्थे। सायद आपसी अँगालो र चुम्बनको अन्तर रापका तरंगले पगाल्न थाले तामा र राङ्का आनुपातिक दुई भिन्न तत्वलाई। भित्रैभित्रको अदृश्य अँगालो र अमूर्त म्वाइँहरूका राप सयौं सयौं गुणा शक्तिशाली अणुभट्टी जतिकै रापिला हुँदा रै’छन्। कम्मर, नितम्ब हल्लाइहरू सितका अचाक्ली मोहमा मैले काँय्बाटा रूप धारण गर्न पुगेँ। यही मेरो प्रथम अवतार अर्थात् व्याख्यान बनेको छ।

काँय्बाटा वास्तवमा नेवार समुदायिक जीवन पद्धतिमूलक संस्कारमा आधारित भाँडाकुँडा संस्कृति एउटा स्वरूप बनेको छ।

द्वन्द्वबाट अझ अर्काअर्का थरी सकारात्मक प्रजनन भनौं उत्पादन भए प्रवर्तनकारी सकार बन्छ। त्यस्ता सकारात्मक नतिजाले जनजीवन र समाजमा सार्थक प्रभाव पैदा गर्छ ! काँसका बाटा गुन्गुनाइरहे। प्रमिलित भएर म स्वप्नील झक्झकाइमा मगनमस्त थिएँ। काँय्बाटा मरमराउँदै रहे। काँय् राङ् आफैंमा मि िश्रत धातु वस्तु हो। यसमा अनुपम गुणका क्षमता निहित छ। त्यस गुणले धातुको महिमा बढाएको छ। काँय् राङले धातु वस्तुलाई खिइनबाट जोगाउँछ। यसले अर्काथरि धातुसित आत्मसात् भएर गुञ्जने अनुरणन जडिदिन्छ। गुनुगुनु गुनुगुनु गुञ्जेर अनुरणन गुञ्जाउने क्षमताका लागि त्यत्रो ठोस पदार्थ भित्रभित्रै सूक्ष्ममा पनि अति सूक्ष्म दुर्भेद्य दृष्टिले देख्नै नसकिने परमाणु छिद्रहरू बनाइदिएका हुन्छन्। काँय्बाटा बक्न थालेका थाल्यै हुन्छन्। स्वप्नील तन्द्रामै आनन्दविभोर रहेको रह्यै थियो म भित्रको चेतको संस्कार। सपनाका श्रुति आख्यान यस्तै त्यस्तै रौनक, रोमाञ्चक, विभत्स, भयानक जे पनि हुन सक्छन्। काय् राङ् सम्मि श्रण भएका काँसका बाटा इतिवृत्ति आफ्नै बखान गर्दै रहे। सपनाभरि सिकिरहेँ म !

सपना सपनै मात्र भन्ठानेथेँ होइन रै’छ। यतिन्जेल सपना विपनाभन्दा बलिया सत्यनिष्ठ लाग्न थालिरहेछ। सपनाभरि म शिक्षण सिकाइका मनोविनोद् अनुभूत गरिरहेछु। सपनै सपनामा बटुलेका यी सुखानुभूतिहरू सपनाभरि कथिरहेछु, लिपिबद्ध गर्दैछु। सपनैमा बरबराउन थालेछु। सासुकी छोरीले के बरबराको भन्दा झसंग बिउँझेछु— सासूको ज्वाइँ म। काँसका बाटा ध्याउन्नका भाउन्नको गाँजेको गाँजे नै गरिरहँदा नि भुसुक्कै निदाएछु फेरि। चालै पाइनँ। काँय्बाटाले फेरि पनि इतिवृत्ति जोड्दै गरे। काँय्बाटा वास्तवमा नेवार समुदायिक जीवन पद्धतिमूलक संस्कारमा आधारित भाँडाकुँडा संस्कृति एउटा स्वरूप बनेको छ। काँय्बाटा बर्बराउँदै रहे। म टिपोट गर्दै गरेँ। नेवार समुदायले मलाई सुत्केरी छोरी बुहारी, श्रीमती सबैका प्रसूति अवस्थामा भातमाथि कर्कराएको एक डाडु घिउचाकु झ्वाइँय्य झानी खुवाउने भाँडो म।

भात चिसिन नदिन प्रयुक्त साजसज्जा काँय्बाटा म ! थर्मस भाँडो आविष्कार नहुँदाको आधुनिक हटकेसको पनि पुख्र्यौली अवतार म। काँय्–राङ्को तामा, धातुमा सम्मि श्रणले खाना चिसिनबाट जोगाउँछु म, काँसको ठूलो बटुको आकारको काँय्बाटा भन्दै रहे— मनोहरा बगेझैं सललल ! टिपोट गर्न पनि हम्मेहम्मे मलाई भने। जस्तै हम्मे परे पनि भित्री तहको रुचिलाई हम्मेले हरेश नलगाउँदो चाल पाएँ !

हटकेसको जमाना ! काँय्बाटाको युग अब रहेन। सुत्केरी युवतीका भोजन पात्र नभए नि रूपान्तरण भएकै छु। मेरो रूपान्तर अचेलभरिका सिगिंङ बाउल अवतार। पुनर्जन्ममा विश्वास नगर्नेहरूका लागि काँय्बाटाले पाएको सिगिंङ बाउल ज्वलन्त उदाहरण ! काँय्बाटा सर्कंदै मर्कंदै अभिनय मुद्रामा मुस्की, मस्की रहे। प्रफुल्ल थिएँ म मस्त निद्राको तानामा। सबै खाले काँय्बाटा चाँदी धातु मिश्रित छैनन्, हुन्नन्। तर, मेरो नौलो अवतार पुनर्जन्मको लीला संगीतमय रहेको छ। नामैले सिगिंङ बाउल, गायन बटुको। म रूपान्तरित हुन पुगेछु— रूप, रंग उपयोगिता, स्वर गुञ्जन— मधुर गुनगुनाइ— सुमधुर गुनगुनाहट !

काँय्बाटाको आकार र गायन बटुको सिगिंङ बाउलको उस्तै छैन। तर, एक घरानको देखिन्छ। मानिस प्राणी परिवारकै पनि सन्तति नापेजोखे जति नै ठीक दुरुस्त कहाँ हुने गरेका छन् र ! पेसागत हिसाबले पनि त नेताका सन्तान कहाँ नेतै भएका छन्। साहित्यकारका सन्तति कहाँ साहित्यकार–स्रष्टा भएका छन्। यसो भन्दै गर्दा यहाँ भन्नु होला काँय्बाटाका सन्तति गायन् बटुको–सिगिंङ बाउलको डीएनए परीक्षण गर्नुपर्ने पो हो कि ? चाँदी नमिसिएको काँय्बाटा र चाँदी मिश्रित गायन बटुकोको डीएनए किमार्थ एकै नहोला। अर्कै डीएनएका शुक्रकीट फेला परे तिनलाई वर्णशंकर कोटीमा दर्जिने पो हो ! अनौठो लाग्दो हो ! के गर्नु ?

सुन्दै मस्त स्वप्नील निद्राको तन्द्रामा मगनमस्त चेत प्रफुल्ल रह्यो मेरो ! आनन्दका अनुभूति स्रोत त मेरै स्वप्न तन्द्रा बनिरहे घन्टौं मस्त निद्राभरि ! सपना त निद्रादेवीको सिर्जनशील कलाकार सन्तति रहेछ ! सपनामै सम्झेँ। लक्ष्मीप्रसाद देवकोटा गुरुले निद्रा निबन्धका आयामहरू खुल्दै खोल्दै गरेका। निद्रा त जीवन्त जैविक क्षणहरूका आनन्दी आगमघर रहेछ। बटुल्दै रहेँ, स्वप्नील निद्राका अनुपम गाथा— काँय्बाटाका मुक्तकण्ठबाट मुखरित स्वर गुञ्जनहरू गुनगुन संगीतमय स्वर गुञ्जन !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.