इतिहास अपव्याख्याको जोखिम
पृथ्वीनारायण शाहलाई कसैले नेपालका महान् एकीकरणकर्ता भनेका छन् भने कसैले विस्तारवादी साम्राज्यवादी भनेका छन्। कसैले महेन्द्र राजा दूरदर्शी थिए भनेका छन् भने कसैले कपटी। बीपी कोइरालाका बारेमा पनि त्यस्तै छ। कसैले उनी महामानव हुन् भन्छन भने कतिले अपरिपक्व थिए पनि भन्छन्। भानुभक्त आचार्यका बारेमा पनि त्यस्तै विरोधाभाषपूर्ण व्याख्याहरू भएका छन्। यस्ता विरोधाभाषपूर्ण अभिव्यक्तिहरू पढेलेखेका भनिएका मानिसले गर्दा पाठकहरू अन्योलमा पर्न सक्छन्। त्यसैले इतिहासको बारेमा सत्य र धेरैलाई स्वीकार्य हुने व्याख्या निर्माण गर्नु जरुरी छ। इतिहास व्याख्याका बारेमा विद्वानहरूका समेत फरकफरक मत पाइन्छन्।
समय, काल, परिस्थिति र मानिसलाई त्यसबेला प्रभाव पारेका विचारपद्धतिको आधारमा इतिहासको व्याख्या भएको पाइन्छ।
नेपालको सन्दर्भमा २०४६ साल अघि पञ्चायतकालमा एकपक्षीय रूपमा इतिहासको व्याख्या भएको आरोप लाग्थ्यो। त्यो आरोप एक हदसम्म सही पनि थियो। तर २०४६ को पहिलो जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलन पछि इतिहासको झन् बढी अपव्याख्या हुन थालेको छ जुन दुर्भाग्यपूर्ण छ।
मेरो बालककाल ठमेल चाक्सीबारीमा गणेशमान सिंहको घर नजिकै बित्यो। गणेशमानका छोरा प्रकाशमान मेरा साथी हुन्। त्यस्तै संगतको फल होला म कलेज पढ्ने बेलासम्म कट्टर प्रजातन्त्रवादी भइसकेको थिएँ। म कांग्रेस भएको चाहिँ होइन। प्रजातन्त्रवादी भएकै कारणले म साढे सात वर्ष जेल पनि बसेँ। मलाई खुट्टामा गोली पनि लागेको छ। मैले यति यातना पाएँ कि मेरा १० वटै औंलाका नङहरू झारिएका थिए। व्यवस्था विरोधीलाई हतोत्साहित गर्ने त प्रायजसो अधिनायकवादी शासनमा हुन्छ। प्रजातान्त्रिक शासन पद्धतिमा पनि त्यस्तो हुन्छ। तर त्यसो भन्दैमा इतिहासकारको रूपमा मैले पञ्चायतकालको इतिहासको समेत सकेसम्म निष्पक्ष भएर मूल्यांकन गर्नुपर्छ, पूर्वाग्रही हुनुहँदैन।
सत्यको नजिक हुनुपर्छ इतिहास
इतिहासका सबै घटनाक्रमलाई अहिलेको मानकमा उभिएर मूल्यांकन गर्नु उचित हुँदैन। इतिहासको व्याख्या गर्दा त्यतिबेलाको सामाजिक, राजनीतिक, सांस्कृतिक परिवेशको पनि मूल्यांकन गरिनुपर्छ। राष्ट्रको अस्तित्वलाई सही इतिहासले अप्ठेरोमा पार्न सक्छ भन्ने तर्क पनि छ। सही इतिहासले त राष्ट्रलाई पाठ सिक्न र अस्तित्व झन् बलियो बनाउने अवसर दिन्छ।
राज्यले निश्चय नै आफूलाई सजिलो हुने इतिहासको व्याख्या चाहन्छ। तर इतिहास सकेसम्म निष्पक्ष र सत्यको नजिक भएर लेखिनुपर्छ। जस्तो पृथ्वीनारायण शाहलाई साम्राज्यवादी भन्ने हो भने उनी यो यो कारणले साम्राज्यवादी हुन् भन्न सक्नुपर्छ। कारण नदेखाई आरोप मात्र लगाएर हुँदैन। इतिहासकारले लेख्ने इतिहास र राज्यले प्रयोग गर्ने इतिहासको भाष्य फरक हुन सक्छ। त्यसैले त राज्यले सितिमिति इतिहास लेख्दैन। राज्यले प्रयोग गर्ने इतिहासको निष्पक्षतामाथि पनि सकेसम्म प्रश्न नउठेको राम्रो हुन्छ।
अपव्याख्या : २०४६ पछि र एनजीओहरूको नेतृत्वमा
२०४६ पछि इतिहासको अपव्याख्या गर्ने क्रम बढेको छ। २०६२/६३ को आन्दोलन पछि त्यस्तो प्रवृत्तिले झन् उग्र रूप लियो। २०६२/६३ पछि जातजाति, भाषाभाषी र संघीयताका विषयलाई जोडतोडका साथ उठाइयो। त्यसभन्दा अगाडि पनि यी विषयहरू बहसमा ल्याइएका भए पनि दोस्रो जनआन्दोलनपछि यी विषयहरू सामाजिक र राजनीतिक बहसको मूलधारमा आए। २०४६ अघि सीमान्तकृत भनिएकाहरूको इतिहास, भाषा संस्कृति, पहिचान र समग्रमा ती समूहलाई दबाइएको थियो भन्ने बहसहरू हुन थाले। ती समूहहरूको सीमान्तीकरणमा परे भन्ने बहसमा सत्यता छ, तर जुन हदमा सीमान्तीकरण भयो भनिएको छ, त्यसमा सत्यता छैन। २०४६ को आन्दोलन र २०६२/६३ पछि यो देशको राजनीति र प्रभावशाली डिस्कोर्सहरूमा एनजीओ /आईएनजीओहरू (गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू) धेरै नै हावी भए।
२०४६ पछि जनजातिका भाषा संस्कृतिलाई लिएर उकास्ने काममा एनजीओहरू क्रियाशील रहे। ती एनजीओका पछाडि युरोपियन र अमेरिकी शक्तिहरू छन्। यसका लागि ती मुलुकका आईएनजीओहरूले नेपालका एनजीओहरूको सहायता लिए। तिनका आ–आफ्ना उद्देश्यहरू थिए। ती शक्तिहरूको उद्देश्य दलित र जनजातिको भाषा, धर्म, संस्कृतिलाई अगाडि सारेर आफ्नो धर्म, भाषा र संस्कृति फैलाउने रह्यो। उनीहरूको उद्देश्य खासगरी क्रिश्चियानिटी फैलाउनु देखिन्छ। अहिले नेपालमा खासगरी दलित र जनजातिहरूमा इसाईकरण बढेर गएको कारण पनि त्यही हो।
ज्ञानमा आधारित समाज नहुँदा अमेरिका र विश्वमा अन्य भागमा गएका युरोपियनहरूले त्यहाँ दमन नगरेका होइनन्। युरोपबाट अमेरिका गएकाहरूले त्यहाँका आदिवासी रेड इन्डियनहरूलाई दबाएका होइनन् र ? उनीहरूको भाषालाई दबाएको होइन र ? उनीहरूलाई लुटेको होइन र ?
तर नेपालमा २०४६ अगाडि त्यस्तो स्थिति थिएन। मानिसले स्वाभाविक रूपबाट आफ्ना संस्कृति अपनाउँथे, आफ्नो भाषा बोल्थे, राज्यले त्यसमा हस्तक्षेप गर्दैनथ्यो। तर ती समुदायले अहिले जसरी सहज तरिकाले इतिहासको बारेमा छलफल गर्न र लेख्न पाएका छन् त्यसबेला पाएका थिएनन्। तिनीहरूको इतिहासले गोर्खालीहरूको इतिहासलाई आघात पार्ने हुनाले उनीहरूको इतिहास लेख्न प्रोत्साहित गरिएको थिएन। तर नेपाली राज्यले ती जातजाति, भाषाभाषी र पहिचानलाई राज्यले नियतवश दबायो भन्ने भनाइमा भने धेरै सत्यता छैन। त्यतिखेर देखि नै उनीहरूको भाषा, संस्कृति, पहिचानलाई दबाएको भए अहिले उनीहरूले ती विषयहरू उठाउन सक्ने नै थिएनन्। इतिहासका अपव्याख्या गरिएका अरू उदाहरण पनि छन्।
उदाहरण १ : पृथ्वीनारायण शाह
इतिहासका पात्रहरूलाई आजको वस्तुस्थितिमा आधारित भएर मूल्यांकन गर्नु जायज हुँदैन। पृथ्वीनारायण शाहलाई कसैले नेपालको एकीकरणकर्ता भनेका छन् भने कसैले साम्राज्य विस्तारको क्रममा नेपाल बनेको हो भनेका छन्। तर साम्राज्य विस्तार गरेका मात्र हुन् भनेर उनको मूल्यांकन गर्नु उचित हुँदैन। तत्कालीन राजनीतिक परिस्थितिलाई पनि हेर्नुपर्ने हुन्छ। उनको पालामा भारतमा अंग्रेजहरू बलियो भइसकेका थिए। अहिलेको नेपालको सीमा क्षेत्रतर्फ क्रमिक रूपमा बढ्ने कोसिस उनीहरूले गरेका थिए। त्यतिखेर पृथ्वीनारायणले यो सीमा क्षेत्रको सुरक्षा गरे। त्यसमा उनीदेखि भीमसेन थापासम्मको योगदान छ। उनले एकीकरण नगरेका भए सायद आज स्वतन्त्र नेपाल हुन्थेन होला, यो भारतको एउटा राज्य वा विभिन्न राज्यहरूको हिस्सा हुन्थ्यो होला। पृथ्वीनारायण शाहको एकीकरणको विरोध गर्ने हो भने त्यो बेलाको टुक्रे राज्यमा फर्किनु पर्छ।
यो नेपालको भूगोल बन्नमा पृथ्वीनारायण शाहको योगदान रहेको हुनाले एकीकरण भन्दा राम्रो अर्को राम्रो शब्द हुन सक्तैन। एकीकरण गर्नुका पछाडि आर्थिक उन्नति गर्ने, बलियो राजा बन्ने अनेक लक्ष्य हुन सक्छन्। तर उनी यो पहाडी क्षेत्रलाई अंग्रेजको कब्जाबाट जोगाउन चाहन्थे।
सुरुमा पृथ्वीनारायण शाहको त एकीकरण गर्ने लक्ष्य थिएन। उनको लक्ष्य त सुरुमा नुवाकोट जित्ने थियो। गोरखा कमजोर र गरिब राज्य थियो। नुवाकोटमा उब्जाउ जग्गा थियो र त्यो तिब्बतसँग व्यापार गर्ने बाटो पनि हो। नुवाकोट जितेर राज्यको आर्थिक अवस्था बलियो बनाउने उनको धारणा थियो। उनका पिता नरभूपाल शाहले पनि नुवाकोट जित्न चाहेका थिए। नुवाकोट जित्न नसकेका कारण उनी पागल नै भएर जंगलमा गएर बसेका थिए तर शाह राजाहरूले इतिहासमा त्यो लेख्न दिएनन्। यसरी सत्यतथ्य लुकाएर राम्रो इतिहास लेखिँदैन। पृथ्वीनारायण शाहले पनि नुवाकोट आक्रमण गरे र दोस्रो प्रयासमा मात्र सफल भए। नुवाकोट जितेपछि काठमाडौं पनि उब्जाउ जग्गा भएकाले उनले यहाँ पनि अनेक प्रयासपछि कब्जा गरे। त्यसपछि पनि विस्तारैविस्तारै अगाडि बढेकाले मानिसले उनलाई साम्राज्यवादी भने होलान् तर गोरखा त्यो बेला साम्राज्य थिएन।
पृथ्वीनारायण शाहका सबै क्रियाकलापलाई राम्रो भन्नुपर्छ भन्ने होइन। उनमा पनि कमजोरीहरू थिए। कतिपय अवस्थामा उनले क्रूर कामहरू पनि गरेका छन्। जस्तो उनले नुवाकोटको बेलकोटमा जयन्त रानालाई जिउँदै छाला काटेर मार्न लगाएका थिए। मकवानपुरमा श्रीमती लिन जाँदा जेठानका सैनिकले जुत्ता नफुकाली सलाम गर्दा उक्त सैनिकलाई काटिदिएका पनि छन्। यो क्रियाकलाप त्यसबेलाको मानकअनुसार पनि गलत थियो। कीर्तिपुरका जनताको नाक, कान काटेको आरोप पनि उनीमाथि लागेको छ। नाक, कान काटेको सन्दर्भमा दुईथरी भनाइहरू छन्। एकथरीले यसै आधारमा पृथ्वीनारायणलाई घृणा गर्छन् भने अर्काथरीले उनले त्यस्तो गरेकै थिएनन् भन्ने दाबी गर्छन्। होइन भन्नेहरू विगतमा राजाको गुणगान गाउनेहरू छन्। इतिहास यसरी लेखिनु हँदैन, इतिहासमा सकेसम्म सत्यमै आधारित हुनुपर्छ। सत्यमा आधारित भएर इतिहास लेख्न थाल्यौं भने सही तरिकाले राष्ट्रनिर्माण प्रक्रिया अगाडि बढ्छ। गलत इतिहास लेख्न थाल्यौं भने, जहिले पनि विवाद रहिरहन्छ। पृथ्वीनारायण शाहलाई बुझ्ने विषयमा पनि सहमति हुनुपर्छ। पृथ्वीनारायण शाहका गल्ती कमजोरीहरू केलाउँदा उनको अवमूल्यन हुँदैन। गल्ती कमजोरी केलाउँदा राज्यलाई इतिहासबाट सिक्ने मौका मिल्छ। यसले राज्यलाई फाइदा नै पुग्छ।
उदाहरण – २ : राणाहरूकालमा सतीप्रथाको अन्त्य
राणाहरूले गरेका पनि सबै काम नराम्रा थिए भन्ने होइन। उनीहरू निरकुंश र अधिनायकवादी थिए। जनताका छोराछोरीहरू टाठाबाठा नहोऊन् भन्ने उनीहरूको धारणा थियो। तर उनीहरूले गरेका सबै काम नराम्रा थिएनन्। जंगबहादुर राणाको शासनकालमा १० वर्षभन्दा कम उमेरका बालिकाहरू पनि सती जाने प्रचलन थियो। त्यसबेला १५/१६ महिनाका बालिकाहरूको पनि बिहे हुन्थ्यो। चार वर्षका बालिकाहरू पनि सती गएका उदाहरणहरू थिए। जंगबहादुरले १० वर्षको नभई सती जान नमिल्ने कानुन बनाए। यसलाई दुई तरिकाले व्याख्या गर्न सकिन्छ। जंगबहादुरले सती प्रथा उन्मूलन गरेनन् भन्न सकिन्छ। तर उनले लिएको कदम सकारात्मक त थियो नि ! त्यसबेलाको समाज र परिवेशलाई हेर्दा सती प्रथा पूरै हटाउन गाह्रो रहेछ भन्ने बुझ्नुपर्छ, जंगबहादुर जस्तो शासकले पनि सजिलै आँट गर्न नसक्ने।
जंगबहादुर राणा, दरबार हत्याकाण्ड माथि पुस्तक लेख्ने हो भने हारालुछ बिक्री हुन्छ। तर, इतिहासका स्तरीय मानकमा उभिएर लेखिएका र विश्लेषण गरिएका पुस्तकहरू लेख्न नसक्ने हो भने ‘रक्तकुण्ड’ जस्ता पुस्तक बिक्री हुन्छन्।
वीरशमशेरले सती जानु अगाडि केन्द्रबाटै अनुमति लिनुपर्ने नियम बनाए। त्यो बेलामा केन्द्रबाट अनुमति लिनु असाध्यै गाह्रो काम थियो। त्यसैले उनीहरूलाई यसलाई उन्मूलन गर्न खोजेका थिए भन्ने बुझ्नुपर्छ। वीरशमशेरले केन्द्रबाट अनुमति लिनुपर्ने कस्तो अव्यावहारिक नीति बनाएका भनेर आलोचना गर्नु उचित हुँदैन। पछि चन्द्रशमशेरले सती र दासप्रथा दुवै उन्मूलन गरे।
उदाहरण ३ –राजा महेन्द्र र बीपी कोइरालाको मूल्यांकन
राजा महेन्द्रका बारेमा विभिन्न व्याख्याहरू गरिएका छन्। कसैले उनलाई महान् राजा भनेका छन् भने अरूले उनलाई कुटिल र प्रजातन्त्रविरोधीका रूपमा चित्रित गर्छन्। महेन्द्र धेरै अगाडिका शासक त होइनन्। उनको शासनकाल म आफैंले देखेको छु। उनको शासनकालमा म स्वयंले यातना भोगेको छु। तर यातना भोगेको छु भन्दैमा, मैले इतिहासकारको रूपमा इतिहासको अपव्याख्या गर्नु हुँदैन।
राजनीतिक आधारमा उनले प्रजातन्त्र अपहरण गरे। तर उनले प्रजातन्त्र हत्याउनुमा कारणहरू थिए भन्ने विज्ञहरूसमेत छन्। नेपाली कांग्रेस र बीपीकै व्यवहारका कारण प्रजातन्त्रको अन्त्य भएको भन्ने धारणाहरू पनि छन्। त्यसैले यस्ता विषयहरूमा सही इतिहास लेखिनुपर्छ। प्रजातन्त्र हत्याउनु उनको गल्ती थियो होला तर उनलाई राष्ट्रवादी नेताका रूपमा स्वीकार गर्न हिच्किचाउनुपर्ने अवस्था छैन।
अहिलेका राजनीतिक शक्तिहरू कोही भारततिर र कोही चीनतिर ढल्किने गरेका छन्। राजा महेन्द्र पनि कहिले भारततिर ढल्किने कहिले चीनतिर ढल्किने गरे तर उनले त्यसो गर्दा पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गरे। त्यस्तो गर्दा उनलाई व्यक्तिगत फाइदा पनि भयो होला तर त्यसको उद्देश्य त राष्ट्रकै सुरक्षा थियो। राष्ट्रियताको दृष्टिकोणबाट हेर्दा उनमा खासै कमजोरी थिएनन् तर राजनीतिक रूपमा आफूलाई केन्द्रमा राख्ने चाहना उनमा पनि थियो। बीपी महेन्द्रभन्दा पढेका र जानेबुझेका थिए। बीपीलाई काम देखाउने अवसर दिँदा आफू छायाँमा परिन्छ कि भन्ने डर राजा महेन्द्रलाई थियो। त्यसैले उनीहरूको अहम्को द्वन्द्व भएको हो। दुवै उग्र महŒवाकांक्षी थिए।
बीपीका पढेलेखेका, जानेबुझेका नेता थिए। उनमा स्पष्ट विचार र दृष्टिकोण थियो। तर उनमा कमजोरी पनि थिए। २००७ सालमा गृहमन्त्री हुँदा आफू ३२/३३ वर्षको भएको र त्यसबेला आफूलाई धेरै कुरा थाहा नभएको उनले स्वीकारेका छन्। त्यो भनेको उनले अवगुण र कमजोरी स्वीकारेका हुन्।
कांग्रेसभित्र उनीभन्दा कोही अगाडि बढ्न खोजे भने बीपीले सहँदैनथे। प्रजातन्त्र प्राप्तिपछि गिरिजाप्रसाद कोइरालाले देखाएको जस्तो चरित्र बीपीमा पनि थियो। तर उनी पढेलेखेका भएर अरूलाई विभिन्न तरिकाले रोक्न सफल हुन्थे भने गिरिजा खुलै देखिने गरी अरूलाई दबाउन लागिपर्थे। बीपीले पनि आफूलाई चुनौती दिने नेताहरूलाई उठ्न दिँदैनथे। त्यस्ता थुप्रै नेताहरू काठमाडौंमै थिए। त्रिपुरवरसिंह प्रधान र एकजना प्रेमबहादुर कंसाकार जस्ताहरू बीपी झैं शिक्षित थिए। बीपी भारतमा बसेर राजनीति गरेका थिए भने उनीहरू नेपालमै बसेर राजनीति गरेका थिए। उनीहरूलाई बीपीलाई भन्दा नेपालको बारेमा बढी थाहा थियो। बीपीले महŒव नदिएपछि ती नेताहरू थन्किँदै गए। उनीहरू अर्कै पार्टीमा लाग्ने र अर्कै किसिमले राजनीति गर्न थाले।
राजा महेन्द्रलाई प्रशंसा गर्न बीपीलाई गाली गर्ने र बीपीलाई प्रशंसा गर्न राजा महेन्द्रलाई गाली गरिरहनु पर्दैन। दुवैका सबल र दुर्बल पक्ष थिए। बीपीलाई ‘म जनताले छानेको प्रधानमन्त्री’ भन्ने थियो भने राजालाई ‘यो मेरो पुख्र्यौली राज्य हो’ भन्ने थियो। बीपीले राजालाई अपमान गर्न नचाहेका भए पनि सधैं राजनैतिक रूपमा सम्मान गरेनन् र राजाले पनि जनताले चुनेका प्रधानमन्त्री बीपीलाई सम्मान गर्न चाहेनन्। बीपीले राजाको व्यक्तिगत रूपमा विरोध गरे पनि उनी सधैं राजतन्त्रको सम्मान नै गर्थे। उनले राजा महेन्द्र र वीरेन्द्रलाई आलोचना गरे पनि मृत्युपर्यन्त उनले राजतन्त्रको विरोध गरेनन्।
उदाहरण –४ : सहिद घोषणा
राष्ट्रका लागि ज्यान गुमाउनेहरूप्रति संवेदनशील भएन। जो पायो त्यहीलाई सहिद घोषणा गर्दा वास्तवमै देशका लागि ज्यान गुमाउनेहरूप्रति अपमान हुन्छ। मनलाग्दी सहिद घोषणा गरेर देशका लागि बलिदान गरेकाहरूलाई राज्यले अपमान गरेको जस्तो देखिन्छ। जस्तो राणाकालमा ज्यान गुमाएका चार जना सहिदहरू असाध्यै मानिएका थिए। अहिले त दस लाख पाउने भएर जसलाई पनि सहिद घोषणा गर्ने चलन आएको छ। यसरी राम्रो इतिहासको निर्माण हुँदैन।
इतिहासमा गरिएका गल्तीका बारेमा माफी
पश्चिमका देशहरूमा पहिला इतिहासमा गरिएका गल्तीहरूका लागि माफी माग्न थालिएको छ। नेपालमा पनि त्यस्तो चलनै नभएको होइन। गल्ती भएको छ भने माफी माग्नु पनि पर्छ। तर इतिहासमा भएका घटनाका बारेमा माफी माग्ने काम कम हुन्छ र यसो गर्न गाह्रो मानिन्छ। जस्तो अस्ट्रेलियाको इतिहासमा त्यहाँका आदिवासीका छोराछोरीलाई बाबुआमाबाट गोराहरूको सरकारले खोसेर शिक्षादीक्षा दिएर ‘सभ्य बनाउने’ गरेकोमा उक्त ‘स्टोलन जेनेरेसन’को विषयलाई लिएर सरकारले माफी मागेको छ। इतिहासका क्रियाकलापलाई लिएर माफी माग्ने घटना अन्य धेरै ठाउँमा पनि भएका छन्।
सुगौली सन्धिमा नेपालले ठूलो भूमाग गुमायो। त्यसबेला अंग्रेजसँग युद्ध सुरु नगर्न सुझाव दिँदा सुरुमा भीमसेन थापा मानेनन् तर पछि युद्ध हार्न थालेको जस्तो देखिएपछि युद्ध नरोक्ने सुझाव दिँदा उनले युद्ध रोके। त्यसको जिम्मेवार त शक्तिशाली प्रधानमन्त्री भएकाले उनै थिए। तर त्यसपछि प्रधानमन्त्री भएका कसले माफी माग्ने ?
नेपाली राजनीतिमा गल्ती स्वीकार्ने र माफी माग्ने प्रचलन भने असाध्यै कम छ। गल्ती भएको छ भने माफी माग्नुपर्छ। नेपालमा पनि यदि पृथ्वीनारायण शाह र उनको सेनाले कीर्तिपुरवासीको नाक, कान काटेको रहेछन् भने नेपाल राज्यले त्यसका लागि माफी माग्नुपर्छ।
यसरी एकातिर इतिहास अपव्याख्या हुने क्रम बढेको छ भने इतिहासको अध्ययन र अध्यापनमा शिथिलता आउँदै गएको छ। इतिहासको अध्ययन, अनुसन्धान कमजोर हुनुमा विश्वविद्यालय र तिनका इतिहासका विभाग र प्राध्यापकहरू पनि जिम्मेवार छन्।
कमजोर बन्दै इतिहास अध्ययन
त्यसै पनि नेपालमा अध्ययन, अनुसन्धान र पठन संस्कृति कमजोर छ। त्यहीमाथि अहिले, इतिहास, भूगोल, राजनीतिशास्त्र पढेर सजिलै जागिर पाउन गाह्रो छ। अहिले त पढाउने काम पाउन पनि गाह्रो छ। हाम्रो जस्तो गरिबीले गाँजेको देशमा व्यावसायिक शिक्षा उचित हुन्छ भन्ने धारणा सिर्जना भएको छ। व्यावसायिक शिक्षा हासिल गर्ने हो भने काम पाइन्छ, आर्थिक उन्नति हुन्छ भन्ने धारणा विकास भएको छ। तर इतिहास जस्तो विषयको भविष्य राम्रो देख्न सकेनन् विद्यार्थीले। विगतमा इतिहास पढ्ने धेरै विद्यार्थी हुन्थे। मैलै नै एउटा कक्षाको एउटा सेक्सनमा एक सय ५० जनासम्म विद्यार्थीलाई इतिहास पढाएको छु। अहिले एउटा विद्यार्थी पाउन पनि मुस्किल हुने स्थिति छ। दलहरूले पनि व्यावसायिक शिक्षालाई महŒव दिएका छन्। मानविकीमा पनि विद्यार्थीमा नयाँनयाँ विषयमा चासो बढ्न थालेको छ।
इतिहास विषय पछाडि पर्नुमा हाम्रा पुराना शिक्षकहरूले पनि जिम्मेवारी लिनुपर्छ। उदाहरणका लागि त्रिरत्न मानन्धर, तुलसीराम वैद्यजस्ता इतिहासका प्राध्यापकहरू विश्वविद्यालयका उच्च निकायहरूमा पनि पुगे। तर त्यसबेला पनि उनीहरूले इतिहास विषय प्रवद्र्धन गर्न खासै योगदान गरेनन्। विश्वविद्यालयका नीतिगत कुराहरूहरूले पनि इतिहास पढ्ने विद्यार्थी घटेका हुन्।
हाम्रो इतिहास लेखन बढी राजनीतिक इतिहासमा केन्द्रित छ। तर राजनीतिबाहेक पनि विभिन्न विषयका इतिहास लेखिन सक्छन्। जस्तो शिक्षा, संस्कृति, चित्रकला, चिकित्सा विज्ञान, धानखेती, जातजाति आदिका इतिहास कमै लेखिएका छन्।
सीमान्तकृतहरूको इतिहास लेख्ने क्रम पनि सुरु भएको छ, सर्वाल्टन हिस्ट्रीका नाममा। यी विविध विषयका इतिहास एकदुई व्यक्तिहरूले लेखे पनि त्यतिले पुग्दैन। धर्मको इतिहास पनि खासै लेखिएको छैन किन कि हाम्रो धर्म भारतको धर्मसँग मिलेको छ। त्यसैले हाम्रा इतिहासकारहरूले धर्मको छुट्टै इतिहास लेख्ने कुरामा ध्यान दिएनन्।
सबै मुलुकमा इतिहास र इतिहास अध्ययनप्रति यति बेवास्ता चाहिँ हुँदैन। युरोपको सानो मुलुक अस्ट्रिया जाँदा त्यहाँ चिकित्साशास्त्र पढिरहेका विद्यार्थीले समेत इतिहास पढेको देखियो। धेरैजसो मुलुकमा जुनसुकै विषय पढेका विद्यार्थी भए पनि उनीहरूले त्यो देशको इतिहास, भाषा, धर्म र संस्कृति पढेका हुन्छन्। जस्तो नेपालमा पनि प्रवीणता प्रमाणपत्र तहमा नेपाल परिचय भन्ने विषय पढाइ हुन्थ्यो। नेपाल परिचयभित्र नेपालको इतिहास, संस्कृति, समाज आदिका बारेमा पढाइन्थ्यो। पछि नेपाल परिचयलाई पञ्चायतकालमा सुरु गरिएको विषय भनेर हटाइयो। यसरी हाम्रोमा इतिहास विषयलाई हेर्ने धारणा नै नकारात्मक बन्यो।
अहिले नेपालका विश्वविद्यालयमा इतिहास विषय पढ्ने विद्यार्थी असाध्यै कम छन्। यसले गर्दा भविष्यमा राम्रो इतिहास लेख्न सक्ने मानिसहरू नपाइन सक्छन्। तर इतिहास पढ्न रुचि राख्ने मानिसको संख्या भने घटेको छैन। अहिले पनि जंगबहादुर राणा, दरबार हत्याकाण्ड आदिका बारेमा पुस्तक लेख्ने हो भने हारालुछ भएर बिक्री हुन्छन्। तर इतिहासको स्तरीय मानकहरूमा उभिएर लेखिएका र विश्लेषण गरिएका पुस्तकहरू लेख्न नसक्ने हो भने ‘रक्तकुण्ड’जस्ता पुस्तकहरू बिक्री हुन्छन्। विद्यार्थीलाई बलजफ्ती तानेर इतिहास पढाउन पनि सकिँदैन। यो विषय पढेर भविष्य सुरक्षित छ, प्रतिष्ठित जीवन सम्भव छ भन्ने लाग्यो भने विद्यार्थीहरू यो विषय पढ्न आउँलान् नत्र, यो विषय पढ्न आउने विद्यार्थी पाउन गाह्रो छ। इतिहासको अपव्याख्या हुँदै जाने, नियतवश इतिहासको राजनीतीकरण गर्ने गैरसरकारी संस्थाहरू इतिहासको व्याख्यामा हावी भए भने राष्ट्र दुर्घटनामा पर्न सक्छ।
(प्रा. गौतमसँग शिवप्रसाद तिवारीले गरेको कुराकानीमा आधारित)