हट कफी
अचानक कफी पिएँ। अमेरिकानो हट कफी ! जसले मेरो मुख यसरी पोलिदियो कि बदला लिन ‘आई हेट कफी’ भनेर कथा लेख्न पुगेँ।
म जस्तो सस्तोमस्तो मजदुरले कफी पिउने औकात हत्तपत्त राख्न सक्दैन। राखिहाले पनि कफी पिउनुपर्छ भनेर थाहा नै पाउँदैन। अनेक अभाव र समस्याको तिरैतिर हिँडिरहेको जिन्दगीले सफाचट कफी सपतिर च्याउने मेलोमेसो नै पाउँदैन।
तर जब भातपानी खाएर अलिकति पैसा खल्तीमा उर्भिन्छ। तब कसोकसो धनी भएको भ्रम खोपडी भित्र छिरिहाल्छ।
यस्तो बेला कि कफी सप छिर्दो रहेछु ! कि बियर हब। कि ब्रान्डेड सपिङ महल ! कि गहना पसल।
मभित्र, आफू मजदुर भएको कुण्ठा यति बलियो छ कि ! तलब थापेको दिन जताततै छयालब्याल भएर पोखिन्छ।
वर्षमा तीन सय ६५ दिनमध्ये धनी हुने दिन जम्मा १२ ओटा मात्र हुन्।
ती १२ दिन, तीन सय ५३ दिनको विरुद्धमा गहना पसल छिर्छु। दाम सोध्छु। के एफ सी, म्याकडोल, लोटेजस्ता च्यान रेस्टुराहरूको मेनु पढ्छु। महँगा रक्सीको सिसी हेरेर थुक निल्छु। एडिडास, रिबोक, नाइकजस्ता जुत्ताको सोरुम छिर्छु। खुट्टाको रिसाइज गर्छु। साइज घटबड नभएको निश्चित भएर घर फर्कन्छु।
मैले लगाइराखेका जति पनि लत्ताकपडा छन् ती सबै तलब थापेको दिन किनेको हुँ। मैले जति पनि यात्रा गरेको छु ती सबै तलब थापेको दिनबाट सुरु गरेको हुँ।
मैले जति पनि मल्टिनेसनल कम्पनीको विरोध गरेको छु। जति पनि पुँजीवाद र पतिहरूको विरोध गरेको छु ! ती सबै विरोध तलब निख्रिएर खल्ती शून्य भएपछि गरेको छु।
मभित्रको ढोंग र कुण्ठा बडो विचित्रको छ।
कहिले आफ्नै ढोंगसँग बिच्किन्छु। कहिले आफ्नै कुण्ठासँग रिसाउँछु।
एक दिन साउथ कोरियामा, भव्य धनी भएको भ्रम मेरो खोपडीभित्र छिर्यो र खुब चकचक हान्यो।
अचानक अमेरिकानो हट कफी पिउन पुगेँ। जसको कथा सम्झँदा अझै मेरो घाँटी पोल्छ।
०००
साउथ कोरियाको एउटा कृषि मार्फमा तलब थापेपछि झन्डै १५ सय अमेरिकन डलरले भरिएको मेरो खल्ती बोझिलो हुन्छ।
पन्ध्र पल्ट खल्तीको दाम गन्छु। ढुक्क हुन्छु, ‘मसँग नेपाली एक लाख ५० हजार दाम छ।’
यो पैसाले म अनेक थोक गर्न सक्थेँ। जस्तैः देशको तराईतिर शीतलहर चलिरहेको बेला मधेस माथि दया राख्ने पहाडे अभियन्ताहरूले चलाएको ‘न्यानु बाँडौं’ भन्ने अभियानको लागि थुप्रै कम्बल किनिदिन सक्थें। जस्तै ः कर्मलाई ईश्वर मान्ने कुनै मजदुरको छोराछोरीलाई ‘तिम्रा छोराछोरी पढाउने खर्च म तिर्छु’ भनेर आत्मसन्तुष्टि किन्न सक्थेँ।
कुनै धनी व्यापारी साथीलाई ‘बिदामा म घर आउँदै छु ! मुस्ताङ हिँड् ! सबै खर्चमै तिर्छु’ भनेर उसको धनाढ्या सानलाई कुल्चिन सक्थेँ।
तर मैले अन्य औडा काम केही गरिनँ ! सहरको सबसे दाम्मी सपिङ महलबाट कालो असल ओभरकोट किनेँ। ऐनाअघि उभिएर थुप्रैपल्ट आफ्नै गाला सुम्सुम्यएँ। ओभरकोटको सबै खल्ती छामेँ।
कोट बेच्ने धनी मान्छेलाई ‘कस्तो देखिएँ भनेर सोधेँ !’
उसले मेरो यसरी प्रशंसा गर्यो कि मानौं मेरो अघि ऊ केही होइन। थुप्रैपल्ट ‘सर’ भनेर सम्बोधन गर्यो। ‘तिमी असाध्य राम्रो देखिएका छौै। मैले भनेको पत्याएनौ भने फोटो खिचेर आफ्नी प्रेमिकालाई पठाऊ।’
मूल्यमा एकै रुपैयाँ पनि दलाली गरिनँ। बडो गर्विलो सानले ओभरकोट किनेँ।
कोटको ताजा बास्ना गाँजाको जस्तो मीठो थियो। गाँजाले लठ्ठिएझैं ओभरकोटको बास्नाले लठ्ठिएँ। ज्यानको पुरानो ज्याकेट खोलेर झोलामा कोचेँ। ओभरकोट भिरेर सपिङ महलबाट बाहिर निस्केँ।
यति बिघ्न भव्य धनी भएको भ्रम योभन्दा अघि कहिल्यै भएको थिएन।
‘म कुनै आप्रवासी मजदुर हुँ,’ यो झुट हो।
‘मैले मिनेटमिनेटमा आत्मसम्मान गुमाएर निरीह बनिरहेको छु’, यो झुट हो।
‘मिनेटमिनेटमा घटिया गाली सुनिरहेको छु,’ यो पनि झुट हो।
‘म त सहरको सबसे महँगो सपिङ महलबाट असल ओभरकोेट पहिरिएर निस्किएको कुनै धनी मान्छे हुँ’, यो सत्य हो।
त्यसदिन सस्तोमस्तो बियर पिउन भट्टी छिरिनँ। त्यो कालो ओभरकोट यति भव्य थियो कि सस्तोमस्तो भट्टीमा पटक्कै सुहाउँदैनथियो।
त्यो भव्य ओभरकोट पहिरिएर सडक पेटीमा पैदल हिँड्दा लातलुत गिदीबाट धनी भएको भ्रम खसी जालाकि भन्ने पीरले ट्याक्सी चढेँ।
ट्याक्सी चढेर डेरा फर्कंदा कम्तीमा पाँच हजार नेपाली रुपैयाँ स्वाहा हुन्छ। तर, मैले पाँच हजारको माया गर्न सकिनँ।
मेरो गिदीमा एउटा धनी मान्छे बिराजमान छ, जसलाई चलाएर दुःखी हुन चाहन्न। जसलाई चलाएर, ‘एक निरीह आप्रवासी मजदुर हुँ !’ भन्न चाहन्न। जसलाई बिथोलेर मैलै गुमाइरहेको आत्मास्वभिमान सम्झन चाहन्न।
ओभरकोटको इज्जत राख्नु र मेरो गिदीबाट ‘आप्रवासी मजदुर हुँ !’ भन्ने सत्य हराउनु एकैपल्ट भयो। सहरको सबसे दामी कफी सप अघि ट्याक्सी ड्राइभरलाई ट्याक्सी रोक्न आदेश दिएँ।
फटाफट कफी सप भित्र छिरेँ।
बिना मेनु कफी मगाएँ।
कफी बेच्ने मान्छेले मेरो छालाको रङ र कालो ओभरकोट एकै पल्ट हेर्यो।
यति हेरेपछि ऊ मुस्कुराउँदै सोध्नुपथ्र्यो, ‘कुन कफी लिनुहुन्छ ? ’
तर, ऊ पटक्कै नमुस्कुराई सोध्यो, ‘कुन कफी लिनुहुन्छ ? ’
कुन कफी ?
‘कफीको नाम हुन्छ ? ’ यो प्रश्न घाँटीबाट माथि निस्केन। तर, छिटोछिटो घाँटीमुनिनै तीनपल्ट दोहोरियो।
मलाई थाहा थियो, कफी एकै जातको हुन्छ। दूध, चिनी र कफी पाउडर हालेर उमालेको दूध कफी !
‘कफीका थुप्रै नाम हुन्छन्। प्रत्येक नमका छुट्टाछुट्टै स्वाद हुन्छन्। प्रत्येक स्वादको फरकफरक दाम हुन्छन्’, धनी भएको भ्रम खोपडीमा छिर्नुअघि यति थाहा पाएको भए काइदा हुन्थ्यो !
घुँडा मुनिसम्म लत्रेको कालो ओभरकोटको तल्लो भागमा पुगेका मेरा आँखाले भुइँ हेर्यो ! म टोलाएँ।
कुन कफी भन्ने अब ?
कफी बेच्ने मान्छेले मेनु हेरिकन कफी अडर गर्न मलाई अर्डर दियो।
म आप्रवासी मजदुर हुँ– सत्य हो। मैले प्रत्येक मिनेटमिनेटमा आत्मास्वाभिमान गुमाउँछु– सत्य हो। मैले प्रत्येक मिनेटमिनेटमा घटिया गाली खान्छु– सत्य हो। म धनी भएको– झुट हो। म कफी पिउन जान्दिनँ –सत्य हो।
चित्रसहितको कफी मेनो मेरो आँखातिर सार्यो।
मैले नामसाम पढिनँ। चित्र हेरेँ। फ्याट्ट चित्र देखाउँदै भनेँ, ‘यो कफी।’
मेरो अर्डरलाई सुनिश्चित गर्न उसले कफीको नाम उच्चारण गर्यो। मैलै ‘हो हो अमेरिका !’ भनेँ।
मेरो जिब्रोले उच्चारण गरेको कफीको नामलाई उसले ‘अमिरिकानो’ बुझ्यो।
मैले ओभरकोटको टाँक हेरेँ। खल्तीभित्र हात घुसारेर औंलाहरू न्यानो बनाउन खोजेँ।
‘कति समय लाग्छ कफी बन्न !’ भनिकन सोध्न खोज्दै थिएँ। उसैले पहिले सोध्न भ्यायो, ‘सानो पटमा कि ठूलो पटमा दिऊँ !’
म त धनी मान्छे हुँ। आज तलब थापेको दिन हो। असल ओभरकोट पहिरेको छु। किन थोरै दामको सानो भाँडोको कफी पिउनु !
मैले ठूलो पटतिर देखाउँदै भनेँ, ‘बिग पट !’
एक मिनेट भित्र मेरो हातमा कफी पर्यो।
झन्डै ६ सय एमएलको ठूलो कागजको कपमा कफी छ। कपको मुख बिर्काेले थुनिएको छ। बिर्काेमा सानो प्वाल छ। प्वालभित्र पातलो पाइप घुस्रिएको छ। जुन पाइपको बाटो हुँदै अमेरिकानो कफीको कुमारी स्वादले मेरो जिब्रा भिज्नेवाला छ।
कप समात्दा तातो नहोस् भनेर कपको बाहिरी भाग फेरि मोटो कुट कागजले बेरिएको छ।
कफी कप समात्नुअघि पैसा चुक्ता गरेँ।
दाम चुक्ता गर्नसाथ कफी कप हातमा समातेर बाहिर निस्केँ। कफी सपको दैलोमा पुग्दानपुग्दै स्वाट्ट एक सट कफी तानेँ।
ओ हो ! मेरो मुखमा आगोको तातो भुत्भुते खन्याएजस्तो भयो।
लातलुत जिब्रो र गिजा पोल्यो। ओकलेर फाल्न खोज्दै थिएँ। अर्काे मान्छे कफी सपभित्र पस्यो। त्यो मान्छेको अघि मुखको तातो कफी बाहिर फाल्न सकिनँ। घाँटीबाट ओरालो खसालीदिएँ। घाँटी र आन्द्रामा आगो लगाए जस्तो भयो।
पाइपबाट तानेर तातो जिनिस कहिल्यै खाएको रहेनछु। कति बलले, कति मात्रा, कति तान्नुपर्छ भन्ने अड्कल भएन।
यति धेरै पोल्यो कि ! मैले भर्खरै किनेको असल ओभर कोट र खल्तीमा भएको दामले दिएको भ्रम कहाँ हरायो हरायो। त्यो सुन्दर भ्रम हराएकोमा कुनै पिरलो बाँकी रहेन।
‘म मजदुर हुँ !’ भन्ने सत्य पनि बिर्सिएँ। पाँच हजार रुपैयाँ खर्चेर सहरबाट गाउँतिरको डेरा फर्कंदै छु भन्ने सान पनि बिर्सिएँ।
म त तातो कफी पिउन नजानेर घाइते भएको बिरामी हुँ ! भन्ने सत्य मात्र बाँकी छ अब।
०००
हातमा तातो कफी समातेर चुपचाप ट्याक्सीमा बसेँ।
अघि नै ट्याक्सीवालाले मेरो देशको नाम थाहा पाइसकेको थियो।
तेरो घरबाट हिमाल कता पर्छ भनेर सोधेको थियो।
‘घरको बार्दलीबाट हात लम्काए हिमाल भेटिन्छ !’ भनेर जोत हानेको थिएँ। मेरो गफले उसका चिम्सा आँखा फराकिलो र चम्किलो बनेको थियो। निधार तन्किएर तालुसम्म पुगेको थियो।
उसले बुद्धको नाम सुनेको रहेछ। ‘बुद्ध जन्मेको ठाउँ चाहिँ तेरो घरबाट कति टाढा छ !’ भनेर पनि सोध्न भ्याएको थियो।
‘खास टाढा होइन दिनभर बसमा यात्रा गर्यो भने पुगिन्छ !’ भनेको थिएँ।
दिनभर बसमा यात्रा गर्दा पनि नजिकै भन्न सक्ने मेरो खुबी देखेर ऊ दंग परेको थियो।
तर, अचानक म निरास र उदास देखिएँ।
मैले, कफीले मेरो मुख पोल्यो भन्न सक्ने कुरै भएन। चुपचाप बसिरहेँ। उसले नेपालमाथिका अनेक कुरा सोध्न खोज्दै थियो। इन्टरनेटले थाहा दिएको थुप्रै कुरा ! भुइँचालोदेखि हिमालसम्मका कुरा !
हिमालमाथि रुचि राख्दो रहेछ। थुप्रै हिमालको नाम सोध्यो ! ‘तेरो घरबाट कता पर्छ !’ सोधेर हैरान खेलाउन थाल्यो।
भतभती पोलेको मेरो जिब्रोबाट उसको प्रश्नको उत्तर उत्पत्ति हुन सक्दैन। म यसरी मौन छु कि मानौं मेरो सबै दुनियाँ तातो कफीले पोलेर सकिदिएको छ। मानौं अब म कहिल्यै बोल्न सक्दिनँ।
एकै छिनपछि उसले मेरो अनुहारको पीडा पढेर भ्यायो। सोध्यो– ‘कफी सपमा छिर्नुअघि तिम्रो अनुहार उज्यालो थियो। अचानक तिम्रो अनुहार कसरी धमिलो भयो ? कुनै खराब समाचार सुन्नपर्यो कि !’
मैले ‘हो’ भन्न संकेतको प्रयोग गरेँ।
मेरो अनुहारको उदासीलाई उसले खुबै सम्मान गर्यो।
मेरो मुख यति धेरै पोलेको छ कि मुखको बाटो हुँदै बाहिर निस्केको श्वासमा समेत प्रशस्त ताप छ।
ट्याक्सी ड्राइभरलाई बिस्तारै अनुरोध गरेँ, ‘कफी सपमा फोन आयो। मेरो साथी असाध्य बिरामी छ। खोरे फ्याङ्वान (खोरे अस्पताल) लगिदेऊ !’
कसोकसो खोरे अस्पतालको नाम थाहा पाएको थेँ। अहिले काम लाग्यो।
उसले मेरो डेरा जाने जीपीआरएस नक्सा चेन्ज गरेर खोरे अस्पताल जाने बाटो पत्ता लगायो।
मैले अस्पतालमा सारा लाज पचाएँ। कफी पिउन नजानेको कारण यसरी मुख पोलेको हो, भन्न सकेँ।
जब डाक्टरले औषधि गर्न सुरु गर्यो र मेरो जलनको दर्द कम हुँदै गयो। मेरो ढोंग र कुण्ठा पनि गायब हुँदै गयो। म आफ्नो असली औकाततिर फर्कंदै गएँ।
म आप्रवासी मजदुर हुँ – सत्य हो।
मैले प्रत्येक मिनेटमिनेटमा आत्मास्वाभिमान गुमाउँछु – सत्य हो।
मैले प्रत्येक मिनेटमिनेटमा घटिया गाली खान्छु – सत्य हो।
म धनी भएको – झुट हो।
म कफी पिउन जान्दिनँ –सत्य हो।
मैले यति कुरा मन्त्र जसरी नरम लयमा दोहोर्याइरहेँ।