हनी हन्टिङ, १० फोटो
भीरमौरीको मह काढेको हेर्न निकै उत्सुक थिएँ। त्यो उत्सुकताले लमजुङको ताजे गाउँसम्म पु¥यायो। साथमा थिए ध्रुव गुरुङ।
ताजे गाउँमा स्थानीयवासीसँगै भीरमौरी काढेको हेर्न हामी त्यहाँ पुग्यौं।
मानबहादुर गुरुङ, दले गुरुङ र मनराज घले सहितका स्थानीय हनी हन्टरहरू पाँच दिनदेखि मह काढ्न जुटिरहेका थिए। टोलीको पछिपछि हिमचुली हिमालको काखमा पुग्यौं।
एउटा अक्करे भीरको फेदीमा पुगेर रोकियौं। आँखाले नभ्याउने ठाउँमा महको चाका झुन्डिरहेको देखिन्थ्यो। केही हन्टरले तल आगो फुके। केहीले पूरै जीउ छोपिने गरी बोरालाई लुगा बनाएर लगाए। माथिबाट झुन्ड्याइएको थियो डोरी। डोरीमा बाँधिएका थिए बाँसका टुक्राहरू, जहाँ टेकेर उनीहरू उक्लिए। साथमा लगेका थिए बाँसको कोक्रो। मह नचुहिने बनाउन त्यो कोक्रोलाई मृगको छालाले मोरेका थिए। मह भएको ठाउँमा पुग्दा ती सिकारीको शरीरभरि ओइरियो माहुरी।
तलबाट धुवाँको मुस्लो लगाइयो। धुवाँले सिकारी र मह दुवै छोपियो। सिकारी महमा झुत्तिने, माहुरी सिकारीको जीउमा झम्टिने, तलबाट धुवाँको मुस्लो पठाउने, यो छिनाझपटी करिब १० घन्टासम्म चलिरह्यो। दुवै पक्ष आआफ्ना स्थानमा दृढ थिए। पछि हट्ने पक्षमा कोही थिएनन्। बीचबीचमा उनीहरूले तल ओर्लिएर खाना खाए।
दिनभरको प्रयासपछि ती हन्टरले मह काढेरै छाडे। आश्चर्य त के भने मलाई २०औं माहुरीले चिल्दा मुख्य हन्टर मानबहादुरलाई भने केवल तीनवटा मौरीले चिलेका थिए।
झमक्क साँझ पर्दा हामी घरतिर लाग्यौं। गाउँ पुग्दा रातको १० बजेको थियो। मह काढ्नेहरू निकै थकित थिए। उनीहरूले बिक्रीका लागि मह काढेका हुन्। गाउँमै बिक्री हुन्छ मह। ६० वर्षे मुख्य हन्टर मानबहादुरले यसरी नै मह काढ्न थालेको ४५ वर्ष पुग्यो। उनी भन्दै थिए, ‘यसपटक एकजनाको भागमा चार हजार हुन्छ कि ?’