२०७४ का आख्यान : एक घोत्ल्याइँ
कविता विधा साहित्यमा सबैभन्दा बढी लेखिने भए पनि तुलनात्मक रूपले बढी पढिने विधामा चाहिँ आख्यान नै पर्ने गर्छ। पछिल्ला केही वर्ष नेपालको पुस्तक बजार आख्यानकै कारण गुल्जार हुन पुगेका छन्। आख्यानअन्तर्गत लामा उपन्यासदेखि छोटा लघुकथासम्म पर्ने तथा विविध प्रकृति र परिस्थितिका पाठकको पठन आवश्यकता र स्वादलाई समेत आख्यानहरूले सम्बोधन गर्ने हुँदा यो विधा लोकप्रिय हुन पुगेको हो।
हरेक वर्ष ‘नयाँ वर्ष’ लाग्दै गर्दा प्रकाशकहरूलाई भ्याइनभ्याइ भएको देखिन्छ। वर्षको अन्त्यमा प्रकाशन गरिने भनेर थाँती रहेका पुस्तकमा आख्यानकै वर्चस्व रहने गर्छ। कतिसम्म भने केही पुस्तकले नयाँ साल लागेको डेढ दुई महिनासम्म बजारको मुख देख्नै पाएका हुँदैनन्। तर, जब प्रकाशन भएर आइपुग्छन्, तिनीहरूमा प्रकाशन वर्ष भने पुरानै साल उल्लेख भएको पाइन्छ। यसले गर्दा कुनै खास वर्षमा के-कस्ता र कति पुस्तक प्रकाशन भए भन्ने कुराको लेखाजोखा तत्काल नयाँ साल लाग्दै गर्दा हुन सक्ने सम्भावना कम हुन्छ। पाठकहरूको हातमा पुग्ने र पढिने त अझ परको कुरा भयो।
२०७४ सालमा यति नै आख्यान कृति प्रकाशित भयो भनेर भन्न नसकिए पनि गत वर्षहरू जस्तै केही पुराना तथा चर्चित र केही नयाँ अनुहारहरू आ-आफ्ना कृतिसहित बजारमा देखिएका छन्। केही कृति र लेखक प्रकाशन अगाडि नै मिडियामा पर्याप्त कभरेज पाउन पनि सफल भइसकेका भेटिन्छन्। उसो त, सबै कृतिहरूले यथोचित मिडिया कभरेज पाउन सकेका छैनन् र सक्दैनन् पनि। कविका रूपमा चर्चित सरस्वती प्रतीक्षा र विप्लव प्रतीक यो वर्ष उपन्याससहित पाठकसमक्ष प्रस्तुत भए। नारायण ढकाल, नीलम कार्की निहारिका, महेशविक्रम शाह यस्तै स्थापित हस्ती हुन् नेपाली साहित्यका, जो यो वर्ष पनि आफ्ना नवीन कृतिसहित पाठकको मन जित्नेत दौडमा संलग्न छन्। अनुपम रोशी, अनमोलमणि, शीतल गिरी, रेनुका सोलु, कमल रिजाल, सुमन सौरभ, कृष्ण गौतम, हरिराज भट्टराई आदि थुप्रै स्रष्टाहरू दौडमा सहभागी छन्। सबै पाठकले यी सबै लेखकका सबै कृति पढ्न त पक्कै पनि सक्दैनन् नै। व्यवहारतः त्यो सहज पनि छैन। पाठकको छनोट र कृतिको विषयवस्तुले त्यसलाई नियन्त्रित गरिराखेको हुन्छ।
सरस्वतीको ‘नथिया’ले मिडियामा पर्याप्त स्थान ओगट्न सफल भएको छ। नथिया सामली नामकी वादी युवतीको कथा हो। सामलीको भोगाइलाई आलम्बमा राखेर सरस्वतीले परम्परागत यौन व्यवसायी भनेर जानिने वादी जातिको कथालाई प्रस्तुत गरेकी छिन्। केही वर्षअघिसम्म बादी स्त्रीहरूको लागि निर्विकल्प ठानिने यौन व्यवसायमाथि लेखिएको ‘ऐलानी’ उपन्यास पनि यसै वर्ष प्रकाशित भयो। विवेक ओझाद्वारा लिखित यो उपन्यासले पनि बादी जातिकै कथालाई उजागर गर्न खोजेको छ, तर बेग्लै परिवेश र बेग्लै प्रकृतिको पात्रको आलम्बमा उभिएर। पात्र, परिवेश र शैलीसँग निरपेक्ष रहेर बादी जातिको बारेमा जान्न चाहने पाठकको लागि कुनै एउटा उपन्यासको अध्ययन पर्याप्त हुन सक्छ।
केही कृति र लेखक प्रकाशन अगाडि नै मिडियामा पर्याप्त कभरेज पाउन पनि सफल भइसकेका भेटिन्छन्। उसो त, सबै कृतिहरूले यथोचित मिडिया कभरेज पाउन सकेका छैनन्।
नथिया र ऐलानी शीर्षकले प्रतीकात्मक अर्थ बोकेका छन्। नथिया नाकमा लगाउने गहना हो। यौन व्यवसायमा नलागेका युवती र स्त्रीहरू नथिया लगाउँछन्। पहिलो पटक यौन समागम गरेर व्यवसायको प्रारम्भ गर्ने प्रक्रियालाई नथिया उतार्ने भनिन्छ। यौन व्यवसायबाट आफूलाई अलग गर्न चाहने बादी स्त्री पुनः नथिया धारण गरेर त्यो कुराको संकेत गर्न सक्छे। सामान्य अवस्थामा बादी समाज यो अपेक्षा गर्दैन। सरस्वतीकी सामली नथियासँग खेल्छे र परम्परागत यौन व्यवसायप्रति तीव्र असहमति प्रकट गर्छे। सामलीको लागि यौन बिक्रीको वस्तु होइन, प्रेमको उत्कर्ष हो। विवेकको ‘ऐलानी’ मा बादी स्त्रीको तुलना प्रतीकात्मक रूपमा ऐलानी जग्गासँग गरिएको छ। बादीहरूको नागरिकता बन्नमा समस्या छ, जसले गर्दा उनीहरू ऐलानी जग्गामा बस्न बाध्य छन्। बसाइ ऐलानी जग्गामा मात्र छैन, बादी स्त्रीहरू जीवन पनि ऐलानी नै बाँचेका हुन्छन्, सार्वजनिक र परम्परागत रूपमै देहव्यापार गरेर। विवेकको उपन्यासको संकेत यस्तै बुझिन्छ।
विप्लवको ‘अविजित’ चाहिँ अविजित नामको पात्रको जीवनी हो। अविजित राजनैतिक रूपले सचेत र कम्युनिस्ट राजनीतिबाट प्रभावित व्यक्ति हो। मूल्यको तर सामान्य जीवन बाँच्न रुचाउने अविजित सर्वसाधारण नेपालीको प्रतिनिधि हो। काठमाडौंको माहोलमा जन्मे हुर्केर यहाँ भएका राजनैतिक घटनामा प्रत्यक्ष सहभागी पनि छ ऊ। प्रजातन्त्र र स्वतन्त्रताका लागि ज्यानको आहुति पनि दियो, तर उसको योगदानको कसैलाई पत्तै भएन, कतै गणना पनि भएन। सुस्त रूपले परिवर्तित काठमाडौं र निरपेक्ष जीवन बाँचेको व्यक्तिको कथा बोकेको यो उपन्यास उदासीनताको एउटा दस्तावेज जस्तो देखिन्छ।
अर्का पुराना चर्चित साहित्यकार नारायण ढकाल ‘हजार माइलको बाटो’ शीर्षकको उपन्याससहित उपस्थित छन्। नारायणको उपन्यासको लोकेसन काठमाडौंको काँठ र विषयवस्तु राजनीति नै रहने गरेको छ, जुन यो उपन्यासमा पनि निरन्तर छ। दुःखपुरको अधिकारी परिवार यो उपन्यासको केन्द्रमा छ। सामन्ती परिवारभित्रको द्वन्द्व र परिवारको विद्रोही सदस्यको कम्युनिस्ट राजनीतिप्रतिको आकर्षण कथाको विषयवस्तु हो। खस्किँदो सामाजिक मूल्य र अवसरवादी चरित्र उपन्यासका सहायक तŒव हुन्। यो पृष्ठभूमिमा जब माओवादी द्वन्द्व गाउँ पस्यो, विभिन्न विचार र उद्देश्य बोकेर मानिसहरू माओवादी बन्न पुगे। साम्यवाद, समृद्धि, सम्पन्नता, समानता ल्याउने आदर्शको लागि हजार माइलको यात्रामा हिँडेको कम्युनिस्ट राजनीति स्वार्थ, प्रतिशोध र अवसरवादिताको दलदलमा फसेर विसर्जन हुन पुगेको तर्फ उपन्यासले संकेत गरेको छ। नेतृत्वमा इमानदारी र सही दृष्टिकोण नहुँदा सच्चा कार्यकर्ताको बलिदानको अवमूल्यन भएको छ। उपन्यासमा दुई खण्ड छ। पहिलो र मुख्य खण्ड यथार्थवादी र वर्णनात्मक छ। पछिल्लो खण्ड स्वैरकल्पना र जादुई यथार्थको प्रयोग भएको छ।
तीर्थ गुरुङको ‘पाठशाला’ विषयवस्तु र शैलीको दृष्टिले यो वर्षको पृथक् उपन्यासको रूपमा रहेको छ। यसले परम्परागत शिक्षण पद्धतिप्रति ठूलो व्यंग्य गरेको छ। एउटा बालक योग्य, सक्षम र सन्तुलित मस्तिष्कको नागरिक बन्नको लागि परिवार, समाज र विद्यालयको उत्तिकै योगदान हुनुपर्छ। उपन्यासको नायक डब्बु अन्तरजातीय विवाह गरेको जोडीको जेठो छोरा हो। तर, डब्बुको आमाबाबुको सम्बन्ध सौहार्दपूर्ण छैन। उनीहरूको आर्थिक स्थिति पनि ठीकठीकै छ। डब्बुको दाजुभाइलाई राम्रै स्कुलमा पढाउनको लागि उनीहरूले कुनै कसर बाँकी राखेका छैनन्। तर, शिक्षक र स्कुलको वातावरण बालमैत्री छैन। स्कुल कमाउने भाँडो मात्र बनेको छ। स्कुलका शिक्षक र प्रिन्सिपलको ध्याउन्न सिकाउनेभन्दा पनि परीक्षामा राम्रो अंक ल्याउनेमा बढी केन्द्रित छ। यान्त्रिक शिक्षण पद्धति र भयपूर्ण वातावरणले डब्बुको मस्तिष्कमा नकारात्मक भावनाकै विकास गरेको छ। उसको भित्री मनमा कसैप्रति पनि सम्मानको भावना छैन। डब्बु टाठो र चलाख केटो हो, तर उचित वातावरणको अभावमा उसमा हीनभावनाले जरो गाड्दै लग्यो। डब्बु मानसिक विक्षिप्त भएको तथ्यलाई प्रष्ट पार्न उसको डायरीलाई उपन्यासको रूपमा प्रस्तुत गरिएको छ। एउटा किशोरको कोणबाट लेखिएको भाषा र शैलीले उपन्यासलाई प्रभावशाली बनाएको छ।
दुई वर्षअघि महाभारतकालीन पात्रहरूमाथि मोटो उपन्यास लेखेर थप चर्चामा आएकी नीलम कार्की निहारिका यो वर्ष त्यत्तिकै मोटो ‘योगमाया’ लिएर फेरि देखिइन्। राणाकालमा विभिन्न सामाजिक सुधारका माग राखेर सामाजिक आन्दोलन चलाएकी योगमायाको बारेमा पर्याप्त अनुसन्धान भइसकेको छैन। योगमायाका जीवनी भनेर संक्षिप्त परिचयहरू प्रकाशित भएका छन्। तर आधिकारिक रूपले सिंगो जीवनी भने नआइसकेको पृष्ठभूमिमा नीलमको यो उपन्यासलाई महŒवपूर्ण उपलब्धिको रूपमा लिनुपर्छ। उपन्यासको रूपमा आएकोले यो आधिकारिक जीवनी त हुन सक्दैन, तर पनि योगमायालाई बुझ्न, जान्न चाहनेलाई प्रस्तुत कृति उपयुक्त हुनेमा दुई मत हुँदैन। योगमाया पछिल्लो समय ‘ठूली हजुर’ भनेर परिचित थिइन्। उपन्यासलाई ठूलीहजुरकी भाइ-बुहारीको तर्फबाट वाचन गराइएको छ। तत्कालीन परिवेश, सामाजिक संस्कार र प्रचलनलाई उतार्न लेखकले राम्रो मेहनत गरेको देखिन्छ। लगभग सय वर्षअघिको समाजको चित्रण गर्ने क्रममा केही समस्या देखिएका चाहिँ छन्। उदाहरणको लागि कतिपय संवादहरू प्राञ्जल भाषामा प्रस्तुत हुँदा त्यो समय नभएर आजको समय हो कि जस्तो भान पर्छ। तथापि योगमायाका विचार, उनका भजन, जीवनशैली, उनले गरेका क्रियाकलाप र उनका भक्तहरूको गतिविधिलाई सूक्ष्म ढंगले विस्तारमा प्रस्तुत गर्न भने लेखक सफल देखिएकी छन्। ‘योगमाया’ नेपाली उपन्यास परम्पराको एउटा महŒवपूर्ण उपलब्धि हो भन्नलाई हिचकिचाउनु पर्दैन।
कल्पना कल्पपुञ्ज ‘सञ्जीवनी’ उपन्याससाथ आख्यानको दुनियाँमा यसै वर्ष प्रवेश गरेकी छन्। सञ्जीवनी बोल्ने क्षमता नभएकी एउटी युवतीको कथा हो। मानसिक रूपले सबै कुरामा सक्षम भएर पनि बोल्न नसक्ने व्यक्तिले भोग्ने पीडालाई उपन्यासमा उठाउन खोजिएको छ। मुख्य पात्रको यो असक्षमताको पृष्ठभूमिमा स्त्रीको समर्पण र स्त्रीको कथित अबलापनमाथि पुरुषको हिंसापूर्ण शोषणको द्वन्द्वलाई उपन्यासको मुख्य कथावस्तु बनाइएको छ। यौन हिंसा र प्रतिशोधबाट आजित भएर नायिकाले स्वतन्त्र र मुक्तजीवन बाँच्न निर्णय गर्नु उपन्यासको उत्कर्ष हो। कथामा बोल्ने क्षमता नभएको व्यक्तिलाई नायक बनाए पनि उपन्यासले त्यो कारण पात्रले गर्नुपरेको संघर्षलाई भने पर्याप्त चर्चा गरेको छैन। प्रमुख पात्रले स्वतन्त्रताको निर्णय गरे पनि त्यसलाई विद्रोहको रूपमा देखाउन भने उपन्यास सफल छैन। स्वतन्त्रताको निर्णय नायिकाको बाध्यता हो। उपन्यासको समग्र फ्रेम परम्परागत पुरुषवादी चिन्तन पद्धतिबाट मुक्त हुन सकेको पनि छैन। तथापि समाजमा विभिन्न प्रकारका शारीरिक असक्षमताको सिकार भएका व्यक्तिहरूको जीवनलाई साहित्यमार्फत उजागर गर्नुपर्ने तथ्यलाई अगाडि ल्याउन भने उपन्यास सफल मान्नुपर्छ।
‘सुवर्णलता’ मालिका केशरीको दोस्रो उपन्यास हो। पहिलो उपन्यास ‘पुनरुत्थान’ जस्तै यसमा पनि लेखकले बौद्ध धर्म र विचारलाई उपन्यासभित्र प्रवेश गराउन सफल भएका छन्। उपन्यास मूलतः प्रेम र समर्पणमा नै केन्द्रित छ। पच्चिस सय वर्षअघिको एउटा काल्पनिक इतिहासलाई जादुई यथार्थ जस्तो ढंगले प्रस्तुत गर्न सक्नु उपन्यासको सबल पक्ष हो। तर, उपन्यासको पहिलो आधा खण्डले मुख्य कथाको भूमिकाको रूपमा मात्र काम गरेको छ। भूमिका खण्डमा आएकी पात्र नै कथाको मुख्य नायक हो कि भन्ने भान पर्छ। मूल पात्र सुवर्णलता चाहिँ एन्टीहिरो जस्तो देखिन पुगेको छ। सुवर्णलतामार्फत् बुद्ध दर्शनलाई संवादको रूपमा सरलीकृत गरेर प्रस्तुत गर्न खोजिएको छ। उपयुक्त सम्पादनको अभावमा छुट्न पुगेका भाषागत र शैलीगत समस्याहरू उपन्यासका कमजोरी पक्ष हुन्।
यो वर्ष नितान्त नयाँ र भिन्न प्रकृतिका कथाहरू लिएर अर्चना थापाको प्रवेश भएको छ नेपाली आख्यान साहित्यमा। सरदरमा लामा आठ कथाहरूको संग्रह ‘कठपुतला’ एउटा राम्रो कथासंग्र्रह हो। फरक प्रकृतिका विषयवस्तु र शैली संग्र्रहको मुख्य आकर्षण हो। बालयौन शोषण, लैंगिक द्वन्द्व, उत्तर-मानवता, लिंगान्तरण (ट्रान्ससेक्सुआलिटी), जादुई यथार्थ, विमथीकरणजस्ता विषयवस्तु भएका सबै कथाहरू रोचक छन्। हरेक कथाले पाठकलाई सोच्न र त्यसमाथि वैकल्पिक विचार व्यक्त गर्न स्पेस प्रदान गरेको छ। लेखक नै सर्वेसर्वा हो, लेखकको निर्णय र निर्देशनानुसार नै पाठकहरू डोरिनुपर्छ भन्ने परम्परागत मान्यता यी कथाहरूमा देखिँदैन। कथाका विषयवस्तु फरकफरक भए पनि समाजमा विद्यमान लैंगिक विभेदको प्रतिविम्ब प्रायः सबै कथामा देखिन्छ। कथामार्फत यस्ता विभेदप्रति विभिन्न कोणबाट प्रश्न उठाउन लेखन सफल छ। एकलमातृत्व र त्यसले निम्त्याउने समस्याप्रति पनि कथामा प्रसंग उठाइएका छन्। लैंगिक मूल्य मान्यताको परम्परागत प्रणालीले स्त्रीहरू मात्र पीडित छैनन्, पुरुषहरूमा पनि बेग्लै प्रकारको मानसिक पीडा सिर्जना गरेको हुन्छ भन्ने तथ्य केही कथाबाट उजागर भएको छ। प्राज्ञिक र वैचारिक पाटोले प्रधानता पाएकोले कथाहरूमा भाषिक लालित्य भने तुलनात्मक रूपले ओझेलमा परेको चाहिँ अनुभूति हुन्छ।
ध्रुवसत्य परियारको ‘कैरन’ पनि यो वर्षको प्रकाशित कथाहरूमा फरक धारको परिचयसहित उपस्थित छ। यी कथाहरूले परियारलाई कथाको संसारमा छुट्टै स्पेस दिन सफल भएका छन्। लोककथा शैलीमा समकालीन विषयवस्तुलाई छ्याङ पारेर व्यक्त गर्ने यिनको शैली नितान्त पृथक् देखिन्छ। एक दर्जन कथाहरू रहेको यो कृति यो वर्ष प्रकाशित राम्रा आख्यानहरूमध्ये एउटा हो भन्दा विवाद रहने देखिँदैन। शीर्षकहरू हेर्दा पौराणिक कथा पो हुन् कि जस्ता लाग्ने र कथाभित्र पनि नयाँ मिथहरू सिर्जना गर्न सक्ने नवीन शैली परियारले अपनाएका छन्। कथाहरूले समाजमा भएको विभेदलाई मात्र उठाएको छैन, समाजमा विद्यमान यथार्थप्रति जिज्ञासुभाव पनि प्रस्तुत गरेको छ। कथाहरू विचार प्रधान छन्। कथाका भाषाशैली हेर्दा लेखक परम्परागत र पुरातन शैली र भावप्रति अलि बढी नै आकर्षित भएको हो कि भन्ने भान पर्छ।
यो वर्ष प्रकाशित पुस्तकहरूमा बेग्लै प्रकृतिका ४० वटा छोटा कथाहरूको संग्र्रह ‘अनुहारहरू’ शीर्षकको कृति पनि उल्लेखनीय मान्नुपर्छ। वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेत यौन विषयक रचनाहरूमा परिचित नाम हो। ‘जीवनका लागि यौन’, ‘यौनका सुख दुःख’, ‘यौनका फूल, यौनका काँडा’ जस्ता यौन प्रधान कृतिहरूमार्फत परिचित बस्नेतले यो संग्रहमा पनि तिनै विषयहरूका तर फरकफरक आयामलाई कोट्याउने प्रयास गरेका छन्। विभिन्न समयमा लेखिएका प्रकाशित, अप्रकाशित कथाहरूको संग्र्रह हो यो। यौन मान्छेको नैसर्गिक प्रवृत्ति हो। विभिन्न सामाजिक र व्यक्तिगत कारणहरूले यौन कुण्ठित हुन पुगेको हुन्छ। तर, अनुकूल वातावरणमा यी भावनाहरू प्रकट भएरै छाड्छन्। यस्तो प्राकृतिक प्रवृत्तिलाई दबाउन खोज्दा विभिन्न प्रकृतिका विचलनहरू आउन सक्ने सम्भावनातर्फ कथाहरूले संकेत गरेका छन्। अधिकांश कथाले स्वस्थ जीवनको लागि स्वस्थ यौन आवश्यक छ भन्ने निष्कर्ष दिन्छन्। परिवेश र प्रकृतिअनुसार अनुहारहरू फरकफरक भए पनि मानव मात्रका यौनजन्य तृष्णा, आकर्षण र कौतुहलतामा समानता नै हुन्छन्। यी कुराहरूलाई प्रस्टसँग बुझ्न संग्रहका कथा सहयोगी सावित हुने निश्चित छ।