२५ वर्षपछि लोमान्थाङ

२५ वर्षपछि लोमान्थाङ

पछाडि मात्र ढोका भएको ढ्वाङ गाडी उति बेला पोखराबाट दमौली, गोरखा र स्याङ्जाको रुटमा खुब चल्थ्यो। सोही गाडीमा अठार जनाको डफ्फा तरकारीको बोरामाथि खाँदिएर पोखराको बाटो हुँदै तीर्थयात्रामा निस्किएका थियौं। पोखरा–बागलुङ सडक भर्खर बन्दै थियो। चाइनिज डम्फरहरू बेस्कन धुलो उडाउँदै गिटी, बालुवा र कुल्ली बोकेर पोखराको बगरदेखि हेम्जा, फेदी हँदै नाउडाँडाको उकालो कुद्दै गरेको देखिन्थ्यो। त्यति बेला पश्चिमाञ्चलका सैनिक बसहरू फेदीसम्म मात्र चल्थ्यो। बगरबाट तिनै बसमार्फत हाम्रो डफ्फा फेदीसम्म पुगेको थियो। त्यसपछि भने ११ नम्बरको स्वचालित पैतालाले गियर बदल्न थाल्यो। साथमा थियो भरोसामन्द, घरैबाट बनाएर लगेको कटुसको हाँगाको मजबुत लट्ठी।

झिसमिसेमा पहिलो बास लुम्लेको धर्मशालामा भयो भने दोस्रो दिन उर्लेनीको ठाडो उकालोले आँसु झार्देको थियो। व्यर्थै आएछु, बरु फर्किऊँ कि भन्ने पनि नलागेको कहाँ हो र ? जूनकीरीको पिलपिल उज्यालोसँगै बल्लतल्ल घोडेपानीको ठाँटीमा कठ्यांग्रिँदो चिसोसँग युद्ध गरी रात कटायौं। त्यो रात मेरो मानसपटलमा हमेसा घुमिरहन्छ। तेस्रो रात भने म्याग्दीको दानामा एउटा घरभित्र न्यानोसँग बितेको थियो। चौथो रात टुकुचे गाउँमा छिरियो। गुफाजस्तो लाग्ने गल्लीभित्र रहेका घरहरू पूरै एकापसमा जोडिएका थिए। त्यो घना बस्तीभित्रको बासले न्यानो महसुस गरायो। ढुंगा उडाउने जोमसोमे हावाको बेगसँग कुस्ती खेल्दै कागबेनी भएर उकालिँदै गर्दा धर्म उकालोमा वृद्धवृद्धाहरूलाई पुनः एकचोटि यात्राले सकस पारेको थियो। जसोतसो पार गरेर अलिक माथि सीमित मात्रामा रहेको खम्बाको कटेरोमा बासको लागि अनुरोध ग¥यौं। पाँचौं रातले त्यहीँ विश्राम लियो। छैटौ दिन एकाबिहानै केही नखाई यात्राले निरन्तरता पायो। करिब दुई घन्टा लगातारको हिँडाइपछि बल्ल हाम्रो अन्तिम गन्तव्य मुक्तिनाथ फेला परेको थियो।

चिसो मुक्तिनाथ

मुटु छेड्ने चिसोलाई आत्मसात् गर्दै एकाबिहानै एक सय आठवटा धारामा नुहाउनु आफैंमा चुनौतीपूर्ण थियो। टाउकोमा रुमाल बेरेर दगुर्दै गर्दा कतै लडिन्छ कि भनेर सम्हालिएर हरेक धाराको पानीले शरीरमा छुनुपर्दा कष्टकर त हुने नै भयो। बीचमा पुगेर टाउको छामेको त हिँउको डल्लाजस्तै भएछ। तर, जसरी पनि दौड पूरा गर्नुपर्ने एक किसिमको बाध्यता थियो। नुहाउने अभियान सकाएर वृद्धवृद्धासहितको समूहले तापिरहेको आगोमा घुस्रिन पुगेँ। जीउ तातिएपछि उसैबाटो फर्कियौं।

निरन्तर ६ दिनदेखिको पैदल यात्राको थकानले कतै पोखरासम्म जाने जहाजको टिकट पाइन्छ कि भनेर जोमसोम विमानस्थलमा निकै बेर टहलियौं। तर, हप्ता दिनसम्मको बुक भइसकेको जानकारी पाएपछि जहाज चढ्ने सपना पनि टुट्यो। अलि वर निस्कँदै गर्दा झुम्मिएको बाक्लो भीडले सबैको ध्यान खिच्यो। पछि मात्रै थाहा लाग्यो। बलिउड स्टार अमिताभ बच्चन,श्रीदेवी, डेनी, किरण कुमारजस्ता नामुद कलाकारहरू पो आएका रहेछन्। हजुरआमालाई मैले झोलाको गुन्टा हेर्न अह्राएर भीडभित्र समाहित हुन पुगेँ। मलाई त मुक्तिनाथको तीर्थभन्दा पनि तिनको दर्शन पो महत्वपूर्ण लाग्यो। भारतीय कलाकारहरूलाई प्रत्यक्ष त्यसरी देख्न पाउँदा म कम्ता खुसीले गद्गद् भइनँ। सायद उमेर सुहाउँदो चञ्चलता थियो त्यो मेरो। त्यस रात नजिकैको मार्फा गाउँमा हाम्रो बास निर्धारण भयो। भोलिपल्ट बाटो छोट्याउँदै गर्दा कालीगण्डकीको बगरमा देखिएको लस्करै घोडाहरूको दौड र युद्धको दृश्य ती सबै बच्चन समूहको फिल्म सुटिङ पो रहेछ। त्यो फिल्मको नाम ‘खुदा गवाह’ भनेरचाहिँ निकै पछि मात्र थाहा भएको थियो।

यात्राका दौरान, लोमान्थाङको सुन्दर उपत्यकालाई नियाल्दै गर्दा एउटा अर्कै भूमण्डलमा पुगेको अनुभूति भयो। माटोका विशाल चट्टानहरूमा खोपेर बनाइएका गुफाजस्ता लाग्ने दरबारहरू अनौठा लाग्थे।

पच्चीस वर्षअघि र अहिलेको संरचना र साधन फेरिएको छ। तर, मान्छेहरू भने उस्तै हुन्। यसैबीच फेरि एकपटक मुस्ताङको यात्राको मेलोमेसो मिलेको छ।

दसैंको छेको पारेर हामी तीन दाजुभाइले ५५ लिटर पेट्रोल २२ हजार रुपैयाँमा किनेर माथिल्लो मुस्ताङ (लोमान्थाङ) को साहसिक यात्रा थाल्यौं। २०७२ सालको भूकम्पपछि भारतीय अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव भई हाम्रो ढाड सेकेको थियो। २५ वर्षपहिले लट्ठी टेकेर पाँच सय रुपैयाँ खर्चेर ११ दिने पैदल यात्राको क्षणले आज मलाई जिस्क्याइरहेछ। ठाउँ उही हो। बेनी, घासा, लेते, कोबाङ, टुकुचे, मार्फा, जोमसोम र कागबेनी। त्यही गोरेटो बाटो आज सडक मार्गमा परिणत भएको छ।

कागबेनीबाट मुक्तिनाथ र लोमान्थाङ जाने बाटो छुट्टिएपछि फरक किसिमका पखेराहरूले जिज्ञासु बनाउँदै लैजान्छ। म्याग्दीको बेनीदेखि सुरु भएको कच्ची सडकको यात्राले अझ कति नाम मात्रको भद्रगोल सडक पार गर्नुपर्ने हो थाहा छैन। मोटरसाइकलको हेडलाइटबाट निस्किएको तेजिलो प्रकाशले खाल्डाखुल्डी र साना खोला अनि बगरलाई छिचोलेर पार गर्दै छुसाङ गाउँको होटल छुसाङ ग्रान्डभित्र जसोतसो प्रवेश गर्न पुग्छौं।

बाहिरको चिसोलाई अब भने थुप्तेन गुरुङको होटलको पर्खाल र उनकी श्रीमतीले तताएर दिएको उवाको रसले छेलिदिएको छ। होटल साहुनी भन्दै थिइन्, ‘आजलाई अबेर भो, च्यांग्राकै सुकुटीले काम चलाउनुस्।’ चौंरीको पाए पनि किलोकै पाँच हजार पर्दो रहेछ। जसरी हुन्छ थकान मेट्नु यिथो भने चिसोलाई छेक्नु थियो।

थकान र चिसोले बाहिर निस्कन मन छैन। र, पनि निस्कनु पर्नेछ। दयालु थुप्तेनले आतिथ्यता प्रदान गरी बाटो कटाउँदै जादा खान हुन्छ भनेर प्रतिव्यक्ति दुई गेडाका दरले रसिलो स्याउ सुम्पिए। हामी जतिजति देशको उत्तर भागतर्फ लम्किन्छौं, त्यति नै मनकारी मान्छेहरू भेटिन्छन्। यो मेरो आफ्नो व्यक्तिगत अनुभव हो। फर्की आउँदा पुनः पस्ने वाचासहित राति ८ बजे थुप्तेन परिवारसँग हामी बिदा भयौं।

जब कालीगण्डकी पार गरी चैलेको उकालो लागियो, अनि त मोटरसाइकलले ठाउँठाउँमा तान्नै सकेन। पहाडी चट्टान अनि समथर लाग्ने भूभागमा जमेर बसेका धुलोका बाक्लो कणभित्र टायर दबेपछि निस्कन हम्मेहम्मे पथ्र्यो। जतिजति माथि डाँडातर्फ उक्लन्छौं, त्यति नै खुइलिएका विशाल पहाड र हिमालका शिखरहरू एकतमासले देखिन थाल्छ। विस्तारै कालीगण्डकी नदीलाई नजरले ठम्याउन नसक्ने भएपछि एउटा फरक दुनियाँमा प्रवेश गरेको आभास हुन्छ। अब त परपर हिमालका चुचुराहरू र आफू ठडिँदै गरेको स्थानको मापन उस्तैउस्तै लाग्छ। भीर पखेरासँग पौंठेजोरी खेल्दै गरेको यो साहसिक यात्राले भिन्नखाले रोमाञ्चकता पैदा गराउँछ। चुचुराको चट्टानी सडकमा मोटरसाइकल कुदाउँदै हिमाललाई गिज्याउन पाउँदा मन यसैयसै अल्हादित हुन्छ।

छुसाङबाट दिनहुँ लोमान्थाङ जाने बोलेरो जिपहरूसमेत उच्च भागको भेनामा पुगेपछि चेन्ज गर्दा रहेछन्। उताको उतै र यताको यतै। झन्डै एक किलोमिटर बाटो बीचमा हिउँ पग्लिएर बगेको पानीको खोल्सामा मान्छेहरू पैदल कस्दै थिए भने हामीचाहिँ सकीनसकी मोटरसाइकल ठेल्दै थियौं। सायद यो भाग यस यात्राकै सबैभन्दा उच्च बिन्दुमा पर्ने भञ्ज्याङ भएर होला, सास फेर्नसमेत गाह्रो भइरहेको थियो। प्रकृतिसँगको रसास्वादनले भने सारा पीडा छायामा पारिदिन्थ्यो।

भीरको टाकुराबाट निकै पर नियाल्दै गर्दा एउटा सुन्दर बस्ती देखियो। गुम्बा र फर्फराइरहेको लुङदरहरूले गाउँलाई झनै मोहक देखाएको थियो। बस्ती मुन्तिर फैलिएको बारीका पाटाहरूले यति उचाइमा पनि उब्जनी हुने रहेछ भन्ने संकेत दिन्थ्यो। भाइ शरद गाउँ इंगित गर्दै भन्दै थिए, ‘ऊ, त्यो गाउँमा गएर खाना खाइवरी मस्तले थकान मेट्नुपर्छ।’ सयौं किलोमिटरको त्यो अफरोड मोटरसाइकल यात्राले जीउलाई लखतरान पारेको थियो। एकाध घर भेटिनासाथ बाटो छेउमा उभिरहेको एकजना बिनाबर्दीका पुलिस मित्रसँग सामान्य भलाकुसारी भयो। उनका अनुसार अलि पर गाउँमा खुकुरी हानाहान भएर हिजो चौकीका सबै पुलिस उतै गएका रहेछन्। उनी एक्लै चौकी कुरेर बसेका रहेछन्। घरमा नीलो साइनबोर्ड झुन्डिएको थियो। त्यसमा लेखिएको थियो, ‘प्रहरीचौकी घमी ५, मुस्ताङ। उनले भित्री बाटोमा खाने, बस्ने होटल छ भनेर देखाइदिए। हामी तीन दाजुभाइ मोटरसाइकल यसै छाडेर गुजुक्क परेको घना बस्तीभित्र लाग्यौं।

बाहिर बोर्डमा होटल रोयल मुस्ताङ लेखिएको थियो, भित्र छिर्दा पनि पुरानो दरबारजस्तो भान हुन्थ्यो। खाना बनाउन लगाएर जीउ तन्काउने मेलोस्वरूप गफिँदै गर्दा गाउँकै जानकार र मनकारी होटल सञ्चालक राजु विष्ट (थरी भोटे) ले त्यस ठाउँको बारेमा धेरै नै बखान गरिदिए। राजु विष्ट मुस्ताङे राजा जिग्मे परवल विष्टका आफ्नै भान्जा रहेछन्। उनी भन्दै थिए, ‘मामा अलिक बिमार पनि थिए। झन् भूकम्पले दरबार सबै चर्काएपछि आजकाल काठमाडौंको चाबहिलस्थित छोरीको घरमा बस्छन्।’ हाम्रो थकित मुद्रा नियाल्दै उनले लामो भलाकुसारीपछि बाइक यतै छाडेर जान सुझाए। अब जिपमा डेढदुई घन्टाको यात्रा बाँकी रहेछ। बाटो छेउमा ठूलो ढुंगामाथि बसेकी भोटेनी युवतीले टिकट लिनुपर्छ भनेपछि तीन जनाको ६ सयका दरले अठार सय रुपैयाँको हिसाब बुझाइयो। र, मोटरसाइकललाई टुहुरो बनाएर जिपको पछिल्लो भागमा चढ्यौं। दुईजना डोल्पाली दसैंको छेको पारी पोखरामा गोडा तीन सय च्यांग्रा बेचेर धुलो खाँदै फर्केका रहेछन्। उपल्लो मुस्ताङबाट तीन दिनको पैदल दूरीमा बल्ल घर पुगिन्छ भन्थे। उनीहरूले सदरमुकाम दुनै पुग्नसमेत उस्तै समय लाग्ने बताए। उनीहरूलाई नेपाल सरकार कहाँ छ भन्ने थाहा थिएन।

ती दुई डोल्पालीसँगको सवालजवाफले साराङ कटेर लोमान्थाङ उपत्यका प्रवेश गरेको पत्तो भएन। बाटोको दृश्य यस्तो मनमोहक थियो कि जीवनभरि नमेटिने मनको पेनड्राइभमा सुरक्षित राख्न मन भयो। झन्डै चार हजार मिटर उचाइमा रहेको उपत्यका भएकाले चिसो उस्तै थियो। त्यसैले जिप स्टेसन नजिकै रहेको होटल लोटस होलिडे इनमा बस्ने निधो गरियो। जिपको यात्रामै साथी बनेका डोल्पेलीहरू जहाँ पुगिन्छ, त्यहीँ बास बसौंला भन्दै आफ्नै पारामा सुइँकिए।

यात्राका दौरान, लोमान्थाङको सुन्दर उपत्यकालाई नियाल्दै गर्दा एउटा अर्कै भूमण्डलमा पुगेको अनुभूति भयो। माटोका विशाल चट्टानहरूमा खोपेर बनाइएका गुफाजस्ता लाग्ने दरबारहरू अनौठा लाग्थे। अबेर रातिसम्म पूरै गाउँले घेरिएको भूकम्पले चर्किएको राजदरबार र पल्लो छेउमा नयाँ बन्दै गरेको आधुनिक राजदरबार भवनको सूक्ष्म अवलोकनपछि होटल फर्कियौं। तीन दिनदेखि शरीरमा गाँजिएको थकानले बल्ल वि श्राम पायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.