साइनोफोबिक क्लाइन्ट
‘नमस्ते, डाक्टरसाब’
‘नमस्ते, बस’
‘डाक्टरसाब’
‘किन ? ’
‘के म ढोका लगाउन सक्छु ? कुरा अलि सिरियस छ।’
‘हुन दिनु, कोही आउँदैन, मैले कल बेल नबजाएसम्म’
‘तैपनि, कुरा अलि त्यस्तै छ।’
‘फरक पर्दैन।’
अनि मात्र उ आश्वस्त भयो।
मनोज यादव रहेछ, उसको नाम। २६ वर्ष। बीए पढ्दै गरेको रे। घर त खास तराई हो। बुवाको जागिरको सिलसिलामा पहाडतिर उक्लेको रहेछ, बुवाकै फेर समाउँदै। पहाड उक्लेको निकै वर्ष भइसकेको अनुमान लगाएँ मैले, उसको शुद्ध नेपाली बोलाइबाट। मेरो टेबुलको दायाँपट्टिको कुर्सीमा बसिसकेपछि शिरदेखि पैतालासम्म नजर पुर्याएँ।
पुसको जाडोमा पनि खासै बाक्लो लुगा लगाएको थिएन। मलाई अचम्म लाग्यो। म भनेँ भेस्ट, त्यसमाथि थर्मोकोट, पातलो सर्ट, माथि स्वेटर अनि डाउन ज्याकेट लगाएर बसेको थिएँ। सारांशमा कन्ट्रास्ट थियौं हामी दुवै, छालाको रङजस्तै। म चामल गोरो भन्न नमिल्ने, ऊ कोइला जत्तिको कालो भन्न नमिल्ने। उसले बाटा कम्पनीको हवाईचप्पल मात्र लगाएको थियो, मैले चाहिँ बाक्लो मोजामाथि हाइटेक स्पोर्ट शु।
उसको पहिरन देखेपछि जाडो छैन भनेर सोध्न मन लागेको थियो तर झल्ल्याँस्स मेरो जिगरीको सम्झनाले, सोध्न भनेर किलकिलोमा आइसकेको प्रश्नलाई बुझो लगाइदियो। मेरो लंगोटिया यार थिए, सोलखुम्बुका फुर्वा शेर्पा। कलेजमा सँगै पढ्थ्यौं। प्राविधिक विषय भएकोले आर्ट, कमर्समा जस्तो चानचुने मेहनतले काम चल्थेन, कडा परि श्रम चाहिन्थ्यो। त्यसैले त असल विद्यार्थीमा हुनुपर्ने सात गुणमध्ये एक गृहत्यागको आधुनिक भर्सन होस्टेलमा बसेर पढेका थियौं। जाडो मौसममा त भइहाल्यो, मेरो साथी फुर्वा गर्मी मौसममा पनि ६ इन्च बाक्लो सिरक ओढेर सुत्थ्यो। म चाहिँ गर्मीले हपहपी भएर सिरकको पातलो खोल पनि ओढ्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। लामखुट्टेको धेरै जोडी खोज्नुपर्ला, बढ्ता नै रक्तदान गर्नुपर्ला भनेर नाम मात्रको सिरक खोल ओढ्ने हो, नत्र त्यो पनि ओढ्दिनथिएँ होला। गर्मीमा पनि बाक्लो सिरक ओढेर फुर्वाले हँसाउँछ भन्या। यो त अति भयो भनेर ऊ सुतेको बेला यसो नियाल्छु छ त, ऊ आफ्नो अर्ध दन्तलहर देखाउँदै हास्य भावमा सुतिरहेको हुन्थ्यो। यसरी एकपटकमा दुई चोटी हाँस्न करै लाग्थ्यो। जेहोस्, मनोज यादवले आज फुर्वाको याद दिलायो, क्रिकेटको भाषामा टी ट्वान्टी वर्षपछि।
‘डाक्टरसाब, मलाई कुकुरदेखि साह्रै डर लाग्छ’, उसले फेरि आफ्नो डर प्रकट गर्यो। उसले स–साना कुरा पनि निकै परिष्कृत तरिकाले डेमो देखाएको थियो।
‘डाक्टर साब’
(झस्किए पनि, सम्हालिएर) २० वर्षअघिको परिदृश्यबाट वर्तमान समयमा फर्किएर, चिसो कारण खस्खसाएको घाँटी अलि सफा गर्दै सोधेँ, ‘के भयो, भन्नुस्।’
‘डाक्टर साब, मलाई कुकुरदेखि साह्रै डर लाग्छ।’
‘त्यो त कसै कसैलाई हुन सक्छ।’
‘डाक्टरसाहेब ऽऽ (यस पटक अलि लेग्रो तानेर)। मेरो बुवा अहिले सरुवा भएर जुन गाउँमा आउनुभयो नि। हामीले कोठा लिएको घरसँगैको काजी साहूले बडेमाको कुकुर पालेको रहेछ। डराइडराई इन्टरनेटमा गुगल सर्च गर्दा बक्सर जायन्ट भनिँदो रहेछ। मेरो दुर्भाग्य, कुकुरदेखि डराउने म। हामी नै उहाँको घरसँगै बस्नुपरेको। त्यो सानो गाउँमा बुवालाई चित्त बुझेको कोठा पनि त्यही काजी साहूकै घरसँगैको मात्र भयो। मैले बुवालाई मेरो आफ्नो मजबुरी पनि बताउन सक्दिनँ।’
‘के समस्या, कस्तो मजबुरी ? ’
‘त्यसै पनि मैले अहिलेसम्म कमाइधमाइ नगरेकोमा बुवालाई चित्त बुझेको छैन। मैले शादी नगरेकोमा पनि। मेरो विचार चाहिँ दुवै ब्याचलर एकैपटक क्लियर गर्ने हो। त्यसैले, माग्नेलाई तातो भात भनेभैंm मेरो रुचिअनुसारको, मैले चाहेअनुसारको ठाउँमा कोठा लिनुस् भन्ने त आँट नै आएन।’
‘अर्को कुरा, बुवालाई मलाई कुकुरदेखि डर लाग्छ भन्नेसम्म थाहा छ तर यसरी त्राही त्राही नै छु भन्ने चाहिँ थाहा छैन। मैले भन्ने कुरा पनि भएन। ब्याचलर पुगिसक्यो। कस्तो पानीमरुवा, डरछेरुवा भन्लान् भन्ने पीर।’
मलाई उसको कुरामा रुचि लाग्यो। बेला मौकामा यस्ता रोचक गुनासो लिई आउँछन् रोगीहरू, मेरो क्लिनिकमा।
‘अनि ? ’
मनोजले भन्यो, ‘एकदिन म शनिबार गाउँ नजिकैको धारोमा नुहाउन गएको थिएँ। खासमा पानीट्यांकीबाट ओभरफ्लो भएको पानीलाई अलि व्यवस्थित गरी धारोको रूप दिइएको छ। धारो दक्षिणतर्पm फर्केकोले जाडोयाममा त्यहाँ गएर नुहाउनु रमाइलै हुन्छ। पानी पनि न्यानै हुन्छ। म धारो पुग्नै लाग्दा काजी साहूले आफ्नो बक्सर कुकुरलाई त्यहीँ नुहाउँदै गरेको रहेछ। मलाई त कस्तो सिकसिक लाग्यो भने। म त एकैछिन त्यसै कल्पनामा हराएँ। धारो वरिपरि कुकुरको भुत्लैभुत्ला थियो। नुहाउने बेलामा दाँत पनि माभ्mनुपर्ने मेरो बानी नै छ। यस्तैमा दाँत माभ्mने बुरुस स्वाट्ट खस्यो भने ? साबुन जीउमा दल्दादल्दै धारोमुनि खस्यो भने ? त्यसरी कुकुर नुहाइसकेको ठाउँमा खसेको बुरुस, साबुन फेरि प्रयोग गर्न मिल्छ र ? यसबाट रोग सर्दैन र ? म त रोग सर्ने डरले ननुहाई धारोबाट त्यत्तिकै फर्कें। अरू गाउँलेले मलाई के सोचे होलान्, डाक्टर साहेब ? ’
‘त्यस्तो फोहोर ठाउँमा खसेको बुरुस त फेरि प्रयोग गर्नु भएन तर साबुनको माथिल्लो एक तह पखालिएर गएपछि त फेरि प्रयोग गर्दा फरक पर्दैन।’
मैले कुरो बुझिनँ कि भनेर मनोज जुरुक्क उठेर उसले मेरो क्लिनिकलाई ठ्याक्कै त्यही धारोमा काल्पनिक रूपमा परिणत गरी हाउभाउ, अभिनयसहित कुनै फिल्मको डाइरेक्टरले सुटिङ गर्नुपर्ने दृश्य नायकलाई सम्झाएजस्तै गरी मनोजले धारो कहाँ थियो ? काजी साहूले कसरी कुकुरलाई नुहाइरहेको थियो ? आफू कहाँनिर उभिएर थियो ? धारोको टुटीबाट पानी कहाँनिर खस्थ्यो ? उसले बुरुस कसरी माभ्mथ्यो ? नुहाउने क्रममा साबुन कसरी दल्थ्यो ? ठ्याक्कै अभिनय गरी देखायो। साँच्चिकै दाँत माभ्mदा माभ्mदै बुरुस नै खसेजस्तो, साबुन दल्दादल्दै साबुन नै खसेजस्तो देखायो। अन्त्यमा मलाई प्रश्न ग¥यो, ‘यस्तो स्थितिमा कुकुरको इन्फेक्सन सर्दैन र, भन्नुस् त ? ’
ऊ बीए पढ्दै गरेको हो कि कुनै ड्रामासम्बन्धी तालिम लिँदै गरेको भन्नेमा मलाई शंका लागेर सोधेँ, ‘मनोज, तिमीले के पढिरहेको रे अहिले ? ’
‘बीए, किन र डाक्टर साब ? ’
‘त्यतिकै।’
‘डाक्टरसाब, मलाई कुकुरदेखि साह्रै डर लाग्छ’, उसले फेरि आफ्नो डर प्रकट गर्यो।
म डाक्टर नभई डाइरेक्टर भएको भए आँखा चिम्लेर मनोजलाई फिल्म, नाटकमा काम दिन्थेँ। उसले स–साना कुरा पनि निकै परिष्कृत तरिकाले डेमो देखाएको थियो।
‘सर’ (उसले डाक्टरसाब नभनी सर भन्न थाल्यो।)
‘के ? ’
‘अर्को घटना पनि भन्नु छ, यो झन् सिरियस छ।’
‘भन्नु त।’
‘म अस्ति कलेजबाट फर्किंदै थिएँ। बाटोमा एउटा घाइते कुकुर आइरहेको परैबाट देखेँ। त्यसको गर्दन, ढाडबाट रगत बगी नै रहेको थियो। त्यसलाई भर्खरै मात्र कसैले खुकुरीले छ्याक्कछ्याक्क पारेको हुनुपर्छ। त्यो कुकुर म तिरै भाग्दै आयो। जोगिन भनी पेटीतिर भाग्दाभाग्दै पनि मेरो दायाँ औंलाले त्यसको जीउमा छोइहाल्यो। कुकुरले केही गरेन तर मलाई त एकछिन भूत चढेकोजस्तै भयो।’
‘अनि ? ’
‘अनि, कुकुरलाई अनायासै छोएको मेरो हातको औंलालाई के गरौं, के गरौं भयो मलाई। कलेजबाट गाउँसम्म हातलाई त्यत्तिकै हावामा उठाएर आउँ कि जस्तो लागेको थियो तर मैले यसरी हिँडेको भए मानिसले मलाई पागल भन्ठान्दैनन् र ? गाउँसम्म पुग्न गाडी चढ्न आवश्यक थियो। गाडीमा यात्रा गर्दा हात कसरी उठाइराख्ने ? गाडी भाडा तिर्न पाकेटमा हात नघुसारी धरै थिएन। त्यसो त मैले पकेटमा हात राखेँ तर पकेटमा पर्स, मोबाइल, आईडी कार्ड पनि थियो। अरू कागजपत्र पनि थियो। (बीचमा प्रसंग बदल्दै) अब मलाई रोग लाग्दैन र, भन्नुस् त ? ’
मैले कुनै प्रतिक्रिया जनाइनँ। मेरो कुनै प्रतिक्रिया नपाएपछि उसले भनाइ जारी राख्यो, ‘आइडी कार्ड त अर्को बनाउँला, मोबाइल पनि साटौंला, पैसा त फाल्नु भएन नि। हैन र सर ? ’
उसको कुराले मलाई काखीमा कसैले बेजोड काउकुती लगाएझैं त्यतिन्जेल हाँसो खपी नसक्नु भइसकेकोथ्यो। तैपनि खपेँ।
‘बाबालाई भनेर मोबाइल पनि चेन्ज गरिसकेँ मैले। पाइन्टको खल्ती के गर्ने मैले ? ’
मैले लाटो हिसाबले ‘सबै सामान निकालेर धुन मिलिहाल्छ नि’ भनेँ।
‘हो त नि है,’ उसले भन्यो।
यति भलाकुसारी भएपछि यो मान्छेलाई एक प्रकारको मनोरोग (फोबिया) अर्थात् कुनै वस्तु विशेषबाट असाध्यै डर लाग्ने समस्याबाट पीडित भइरहेको विचार गरेँ। उसको लागि काउन्सेलिङ (परामर्श) नै मुख्य औषधि ठानी सम्झाउन कोसिस गरेँ।
‘भाइ, अब तिम्रो कुरा सब सुनेँ। अब मेरो कुरा सुन। पहिलो कुरा, यदि काजीसाहूले त्यही धारोमा कुकुरको सट्टामा घरको बिरालोलाई नुहाइराखेको भए पनि तिमीलाई त्यत्तिकै सिकसिक लाग्थ्यो ? के त्यो परिस्थितिमा पनि तिमी ननुहाएरै फर्किन्थ्यौ ? ’
‘दोस्रो, तिमी कलेजबाट फर्किरहँदा घाइते कुकुरको ठाउँमा मानिलिउँ घाइते बोकालाई छोएको भए के त्यो हात घुसारेको खल्तीमा रहेका सारा चीज अनि खल्ती त्यसरी नै फेर्न, फाल्न, धुन आतुर हुन्थ्यौ ? ’
‘भाइ’
‘हजुर’
‘तिमी बीए त पढिरहेका छौ, तर कोरियन भाषा सिकेर भाषा परीक्षा दिई कोरियामा रोजगारीमा चाहिँ नजाऊ है।’
‘किन र, सर ? ’
‘कोरियामा त कुकुरलाई नुहाइदिने, छुने मात्र होइन, काटेर मजाले खान्छन्, हामीले दसैंमा अष्टमीको दिन खसी काटेभैंm।’
‘बाफ रे बाफ, कान पक्रेँ मैले।’ रक्सीले मातेको असनको साँढेभैंm रातो न रातो ठूल्ठूला आँखा पर्लक्क पल्टायो उसले।
‘मैले भन्न खोजेको के भने, तिमीलाई कुकुरप्रति अस्वाभाविक डर लाग्छ, यसलाई क्रमशः कम गर्दै लैजाऊ। सुरुमा कुकुरको चित्र वा कार्टुनसँग अभ्यस्त होऊ। त्यसपछि आजकल केरुङबाट ल्याएका ठ्याक्कै कुकुरजस्तै देखिने मोडल पाउँछ। कोठामा टेडी बियर, सेडी बियरभन्दा कुकुरकै याँ मानको मोडल ल्याऊ। अनि साँच्चिकैको छाउरा, छाउरीसँग खेल एवं रीतले काजीसाहूको बक्सर त के कोही माइकालालको याकोजुना, अन्डरटेकर जातका कुकुरसँग पनि डर मान्नु पर्दैन तिमी।’
एकछिन ख्याल ठट्टा गर्न मन लाग्यो र भनें, ‘भाइलाई वर्षमा ११ महिना मात्र भए हुन्थ्यो होला है, भाइ ? ’
‘किन र, सर ?’
‘कात्तिक लागेपछि भाइलाई घरबाट निस्किनै डर मर्नुहुन्छ होला।’(उ खित्तित्ती हाँस्यो मात्रै।) ‘मैले जोकमात्रै गरेको। ल भाइ, मन बलियो पार। अनावश्यक डर नमान। कुकुरलाई कुकुर हैन, खसी सम्झिऊ, न, टन्टै साफ।’
‘आज जाऊ, दुई हप्तापछि फलो अपमा आऊ।’
‘हस्’ भन्दै ऊ क्लिनिकबाट बाहिरियो।
साँच्चै कुकुरसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भन्छ हँ ? जिज्ञासा उठ्थ्यो मनमा अनायास। गुगल सर्च गरेँ। कुकुरसम्बन्धी विज्ञानलाई साइनोलोजी र कुकुरदेखि थुरथुर हुने विज्ञानलाई साइनोफोबिया भनिँदोरहेछ। मेरो मेडिकल डायरीमा मेरो एक क्लाइन्ट मनोज यादवले ‘इन्ट्रेस्टिङ अनबिलिबेभल बट रियालिटी बेज्ड फोकिब क्लाइन्ट’को रूपमा दर्जा पायो।'