नमस्कार, लक्ष्मण सर !
दुई शब्दले १७ वर्षे ठिटो लक्ष्मण राजवंशीलाई भद्रगोल जेल पुर्यायो।
यो २००९ सालतिरको कुरा हो। लक्ष्मण १० कक्षामा पढ्थे। काठमाडौंमा कर्मचारीहरूको आन्दोलन चलिरहेको थियो। ‘तलब बढाउनुपर्ने माग राख्दै ‘लो-पेड’ कर्मचारीले आन्दोलन गरेका थिए,’ लक्ष्मणको स्मृतिमा ती दृश्य अहिले पनि ताजै छन्, ‘म पनि नारा लगाउँदै आन्दोलनमा उत्रिएको थिएँ।’
त्यो दिन न्युरोड, भूगोलपार्कमा थिए उनी। त्यहाँ कम्युनिस्ट नेताहरूले भाषण गर्ने कार्यक्रम थियो। तर, सरकार त्यहाँ कार्यक्रम हुन नदिने सोचमा थियो। भूगोलपार्क वरिपरि थुप्रै प्रहरी थिए, सरकारको हुकुम तामेल गर्न। कार्यक्रम अनिश्चित थियो। विद्यार्थी लक्ष्मण प्रहरीका आँखैअगाडि पार्कभित्र छिरे। र, चिच्याए- ‘इन्क्लाब जिन्दावाद !’
‘नेताहरू जान नपाएपछि पार्कभित्र मै छिरेँ,’ उनी सम्झन्छन्, ‘प्रहरीहरू ठूला नेता आउँछन् भनेर चनाखो थिए। मलाई कसैले शंका गरेन।’
त्यसपछि उनी जेल चलान भए। आन्दोलनमा सहभागी भएको ‘अपराध’मा प्रहरीले उनलाई त्रिपुरेश्वरस्थित भद्रगोल जेलमा थुनिदियो।
जेल उनको जीवनमा एउटा नयाँ र रोमाञ्चक ‘च्याप्टर’ थियो। त्यहाँ अरू पनि नेता जस्ता लाग्ने मान्छेहरू देखे उनले। उनीहरू राजनीतिका कुरा गर्थे, माक्र्सवाद, लेनिनवाद, माओवादका कुरा गर्थे। कम्युनिस्ट आन्दोलनका कुरा गर्थे। गरिबका कुरा गर्थे। मुक्तिका कुरा गर्थे। लक्ष्मण नितान्त नौलो दुनियाँमा पुगेका थिए। माक्र्स, लेनिन, माओ, क्रान्ति, सर्वहारा, बुर्जुवा आदि-आदि शब्दसँग उनी पूर्णतः अञ्जान थिए, बेखबर थिए। ती नेताका गफको केही पनि भेउ पाउँदैनथे, न फेद न टुप्पो। ‘म त बस् सुनेर बस्थेँ,’ लक्ष्मण सम्झन्छन्, ‘मलाई त उनीहरूले बोलेका जे कुरा पनि अनौठा लाग्थे।’ भद्रगोल जेलमा तीन महिना काटेपछि उनी छुटे। देवीलाल श्रेष्ठ (पुष्पलाल श्रेष्ठका भाइ) लगायत केही कम्युनिस्ट नेता उनलाई लिन जेलमै पुगेका थिए।
२००९ सालमा जेल परेपछि उनी खाँटी राजनीतिक कार्यकर्ता भइहाले। कम्युनिस्ट पार्टीहरूले गर्ने आन्दोलनमा उनको सहभागिता छुट्दैनथ्यो। उनी चर्काचर्का भाषण गर्दै हिँड्न थाले। बारम्बार जेल पनि परिरहे।
कक्षा ९ मा पढ्दै गर्दा लक्ष्मणले कम्युनिस्ट पार्टीको सदस्यता लिइसकेका थिए। पार्टीले उनलाई सुम्पेको मुख्य जिम्मेवारी थियो- दरबार हाइस्कुलमा संगठन बनाउने। त्यसैले उनी धेरैभन्दा धेरै विद्यार्थीसँग घुलमिल हुन्थे, उनीहरूको कुरा सुन्थे, आफ्ना कुरा सुनाउँथे। उनी आन्दोलनमा हिँड्न थालेको पनि त्यसैबेलादेखि हो।
जेल पर्नु जिन्दगीको सबैभन्दा सुखद पक्ष भएको बताउँछन् उनी। ‘जेल मेरो जिन्दगीको टर्निङ प्वाइन्ट हो,’ उनी तीनमहिने जेल बसाइलाई बडो महŒव दिन्छन्, ‘जेल नपरेको भए गुन्डा, बगलीमारा वा बेइमान मान्छे बन्थेँ होला। किनभने, म एकदमै बदमास बच्चा थिएँ।’
०००
काठमाडौंको वटु टोल। इन्द्रचोकबाट अलिकति भित्र। विसं १९९२ मा जन्मिएका हुन्, लक्ष्मण। वटु टोल उनका बदमासी र उद्दण्डताको साक्षी थियो। परिवारले उनलाई पुल्पुल्याएको थियो। जे गर्न पनि स्वतन्त्र थिए, त्यसैले उद्दण्ड थिए। घरमा कसैले उनलाई गाली गर्दैनथे, नमीठो वचन गर्दैनथे। किन ? ‘किनभने चार दाजुभाइमा बाँचेको म मात्र थिएँ,’ उनी पारिवारिक इतिहास खोतल्छन्, ‘त्यसैले मलाई सबैले माया गर्थे। अझ बज्यैको त म प्राण नै थिएँ।’ लक्ष्मण जुम्ल्याहा सन्तान हुन्। उनीसँगै जन्मिएका रामको निधन भयो। उनीपछि जन्मिएका दुई भाइ पनि बिते। परिवारको एक्लो छोरो भएपछि स्वाभाविक रूपमा उनी प्रिय हुने नै भए। कहिलेकाहीँ छोरो बिग्रिने डरले बाबुले हप्काउँदा हजुरआमा मानकुमारीले कुखुराले चल्ला छोपेझैं उनलाई अँगालोमा बेर्थिन्। उनलाई अहिले पनि बज्यैको त्यो अतिशय स्नेहले बेलाबेला भावुक बनाउँछ। ‘म बज्यैको मुटुको धड्कन थिएँ,’ उनी सम्झन्छन्।
लक्ष्मण दिउँसोभरि सहरतिर बरालिन्थे। ‘सहर पनि के भन्नु र, काठमाडौं ठूलो गाउँजस्तै थियो,’ उनी आफ्नो बाल्यकालको काठमाडौं स्मरण गर्छन्, ‘यहाँ घरहरू एकदमै पातला थिए। खेतबारी प्रशस्तै हुन्थे। काठमाडौं शान्त थियो। घन्टाघरले दिने समयको सूचना वटु टोलसम्मै गुञ्जिन्थ्यो। म त बिहान घन्टाघरको ट्याङ ट्याङ सुनेरै उठ्थेँ।’
मान्छेहरू धर्म गर्न बिहानै पशुपति, विष्णुमतीतिर जाने गरेको सम्झन्छन् लक्ष्मण। उनकी आमा मन्दिरतिर हिँड्थिन्। उनी चाहिँ टोलमा ‘आवारागिरी’ देखाउन निस्कन्थे।
भर्खर-भर्खर जनसेवा सिनेमा हल बनेको थियो। फिल्म हेर्न २५ पैसा लाग्थ्यो। हजुरआमा र बुबाले खाजा खान दिएको पैसा अलिअलि बचत गरेर उनी फिल्म हेर्न पुग्थे। घरबाट नजिकै थियो हल। ‘अहिले त्यहाँ विशाल बजार छ,’ उनी भन्छन्। पछिपछि जमलस्थित विश्वज्योति हल, थापाथलीमा रहेको मुनलाइट हलसम्म जान थाले उनी।
साथीहरूसँग दिउँसोभरि गुच्चा खेल्थेँ। पांग्रा गुडाउँथेँ। अहिले जस्तो धेरै खेल थिएनन्। खेल्ने खुला ठाउँ भने प्रशस्त थिए। ‘कसैकसैले टुँडिखेलमा फुटबल खेल्थे,’ लक्ष्मण सम्झन्छन्, ‘तर, हामी फुच्चाफाच्चीलाई कसले फुटबल खेल्न दिने ? ’
उनी वटुटोलको दादा नै थिए। कसैलाई मान्छे नगन्ने। ठूलासाना सबैलाई गाली गर्ने। झगडा गर्न तम्सिहाल्ने। गुच्चा खेल्दा उनले हार्नासाथ साथीले कुटाइ खाइहाल्थ्यो। साथीहरूलाई उनीबाट जतिबेला पनि ‘असुरक्षा’ थियो। एक प्रकारले वटुटोलका बालकहरूका निम्ति उनी ‘सेक्युरिटी थ्रेट’ नै थिए। घरमा एकछिन पनि बस्दैनथे उनी। टोलटोल चहारिहिँड्थे। तास खेल्थे। छ, सात कक्षा पढ्दाताका नै साथीहरूसँग बसेर यसो ‘टुच्च लाउन’ पनि पछि पर्दैनथे। ‘नेवार समुदायमा कहिलेकाहीँ जाँड-रक्सी खानु ठूलो कुरा थिएन,’ उनी भन्छन्।
उनलाई दरबार हाइस्कुल भर्ना गरिएको थियो। एकैचोटि ४ कक्षामा भर्ना भए। २००६ सालतिरको कुरा हो यो। तर, स्कुलमा पूरै घन्टी कहिल्यै पढ्दैनथिए। एक-दुईवटा कक्षामा बस्थे, त्यसपछि साथीहरूको हूल बोकेर घुम्न निस्कन्थेँ। ‘दरबारको कर्मचारी बुवाको भनसुनले दरबार हाइस्कुलमा भर्ना हुन पाएको थिएँ,’ लक्ष्मण अतीतमा प्रवेश गर्छन्, ‘तर, पढ्नै मन लाग्दैनथ्यो। दरबार हाइस्कुलमा राणाका सन्तान र गन्यमान्य भारदारका छोराछोरीबाहेक अरूले पढ्न पाउँदैनथे। मैले चाहिँ बुवाका कारण त्यो अवसर पाएको थिएँ।!
उनका बाबु बुद्धिबहादुरले कानुन जानेका थिए तर कानुन पढेका चाहिँ थिएनन्। स्वअध्ययनबाट थोरबहुत कानुनी कुरा बुझेका थिए। वटुको घरमा बाजेहरूबीच अंशबन्डामा विवाद आएपछि बुद्धिबहादुरले कानुन सिकेका थिए। ‘वर्षौदेखि चल्दै आएको अंशको किचलो पनि आफूले सिकेको कानुनकै आधारमा मिलाएको हुँ भन्नुहुन्थ्यो बुवा,’ लक्ष्मण सम्झन्छन्, ‘कानुनको ‘एक्सपर्ट’ भएपछि दरबारले पनि जागिर दिएको रे !’
०००
लक्ष्मणलाई सानैदेखि राणा प्रधानमन्त्रीहरू मन पर्दैनथ्यो। वटुटोलमा कसैलाई मान्छे नगन्ने जस्तै उनको बालक र विद्रोही मन राणाहरूलाई पनि गन्दैनथ्यो।
त्यतिबेला राणाहरूले सिन्दुरजात्रा गर्थे। सिन्दूरजात्रा गर्दा प्रधानमन्त्री हिँड्ने ‘रुट’ लक्ष्मणकै घर भएर अघि बढ्थ्यो। ‘हाम्रो घर डेढतले थियो,’ उनले सम्झिए, ‘अपूरो घर प्रधानमन्त्रीलाई देखाउँदा बिच्छुक लाग्छ भनेर सिन्दूरजात्रा हुनुभन्दा दुईतीन महिनापहिले हामीलाई घरबाट निकालिन्थ्यो।’ त्यसपछि घरलाई त्रिपालले छोपिन्थ्यो। यो सबै काम प्रधानमन्त्रीका आसेपासेले गर्थे। ‘पद्मशमशेर र मोहनशमशेर प्रधानमन्त्री हुँदा हामीलाई घरबाट निकालिएको मलाई याद छ,’ उनको राणाविरोधी भावनाको जग यस्तो थियो।
त्यतिबेला राजवंशी परिवारको त्यो घरमा मुद्दा परेको थियो। त्यसैले घरको तला थप्न पाइएको थिएन। यसले गर्दा उनीहरू बारम्बार आफ्नै घरबाट निक्लिनुपथ्र्याे।
घरबाट निकालिएपछि राजवंशी परिवार खान÷बस्नका लागि छिमेकीहरूको घरमा पुग्नुपथ्र्याे। गाउँभरि छरिनुपथ्र्याे। हुन त वटुमै उनीहरूको अर्काे पनि घर थियो। तर, संयुक्त परिवार भएकाले बस्ने ठाउँ पुग्दैन थियो।
‘प्रधानमन्त्रीको सवारी हुँदा मेरी बज्यै सडक किनारामा उभिएर बिन्ती बिसाउनुहुन्थ्यो,’ लक्ष्मण विनीत हजुरआमाको अनुहार अहिले पनि सम्झन्छन्, ‘उहाँ धुरुधुरु रुँदै ‘हामीलाई अन्याय भयो महाराज, घरबाट ननिकालियोस्’ भन्नुहुन्थ्यो।’
आफ्नो परिवारविरुद्ध राणाहरूको यस्तो अत्याचार देखेर उनी उद्वेलित हुन्थे, आक्रोशित हुन्थे। यसरी एउटा बालकको मानसिकता राणाविरोधी भएको थियो। ‘मेरो बुवा पनि २००७ सालको आन्दोलनमा उत्रिनुभएको थियो,’ लक्ष्मण सम्झन्छन्, ‘उहाँले कहिल्यै राजनीति गर्नुभएन। तर, राणाशासनविरुद्ध सडकमा जान तयार हुनुभयो।’
०००
राणाशासनसँग त्यो आक्रोशले लक्ष्मणलाई प्रजातन्त्र स्थापनापछि सक्रिय राजनीतिमा पुर्यायो। २००९ सालमा जेल परेपछि त उनी खाँटी राजनीतिक कार्यकर्ता भइहाले। कम्युनिस्ट पार्टीहरूले गर्ने आन्दोलनमा उनको सहभागिता छुट्दैनथ्यो। अब उनी चर्काचर्का भाषण गर्दै हिँड्न थाले। बारम्बार जेल पनि परिरहे। ‘राणाशासनको अन्त्य भएको केही समयपछि किसान आन्दोलन पनि सुरु भएको थियो,’ उनले भने, ‘त्यसमा पनि मेरो सहभागिता रह्यो।’
उनलाई पार्टीले किसानहरूको अध्ययन गर्न भन्यो। उनले ‘अल नेपाल किसान संगठन’ मा रहेर उनले पाटन र किसानका समस्या अध्ययन गरे। उनीहरूका जीवन, भोगाइ र दुःखकष्टलाई नजिकबाट नियाले। मालिकले भनेको बेला जुनसुकै समयमा खेत छाड्नुपर्ने उनीहरूको नियति देखे र बुझे। कम्युनिस्ट पार्टीले किसानहरूको पक्षमा आन्दोलन सुरु ग¥यो। उनी त्यसमा सरिक भए। पार्टीका क्रियाकलापमा उनको सहभागिता बढ्दै गयो। साथसाथै, राजनीतिक वृत्तमा उनको परिचय पनि बन्दै गयो।
२०१४ सालमा उनी कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य भए। पार्टीले माक्र्सवाद, लेनिनवाद, सोभियतको समाजवादी क्रान्ति, माओको क्रान्ति आदिबारे प्रशिक्षण दियो। पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठजस्ता नेताले प्रशिक्षण दिन्थे। ‘म सिद्धान्तका गफ चाख मानेर सुन्थेँ र गरिब जनताको मुक्तिको सपना देख्थेँ,’ उनी सम्झन्छन्।
२०१५ सालमा उनलाई राज्यले फेरि गिरफ्तार गर्यो, आन्दोलनमा लागेको भन्दै। उनी जेल परे। त्यतिबेला गृहमन्त्री डिल्लीरमण रेग्मी थिए। लक्ष्मणलाई छोड्नू भनेर पार्टीले दबाब दिएको थियो। तर, चुनावअघि नछोड्ने राज्यको निष्कर्ष थियो। २०१५ सालको पहिलो चरणको निर्वाचन सकियो। उनी जेलमुक्त भए। र, दोस्रो चरणको निर्वाचनमा साथीहरूलाई सघाउन पाल्पातिर गए।
निर्वाचन सकियो। पार्टीहरू संसद्मा गए।
उनलाई ‘पार्लियामेन्ट बोर्ड’को सचिव बनाइयो। बिहान प्रतिनिधिसभाको बैठक र बेलुकी महासभाको बैठक चल्थ्यो। उनी दुवै बैठकमा दैनिक पुग्थे। त्यहाँ भएका गतिविधि टिपोट गर्थे र पार्टीलाई बुझाउँथे। २०१६ सालतिरको कुरा हो यो। ‘त्यतिबेला कम्युनिस्ट पार्टीको कार्यालय वसन्तपुरको मन्दिरपछाडि थियो,’ उनी सम्झन्छन्।
०००
२०१७ साल पुस १ गते। राजा महेन्द्रबाट संसद् भंग भएको घोषणा भयो। राज्यका नजरमा राजनीतिक पार्टीहरूको औचित्य सकियो। लक्ष्मण भूमिगत भए। पाटन, मनमैजु, भक्तपुर, बूढानीलकण्ठ जस्ता ठाउँमा लुक्दै हिँडे। पार्टीका ठूला नेता चाहिँ कोही रूसतिर थिए, कोही चीनतिर थिए। ‘पुष्पलाल खेमाका नेताहरू चीनतिर थिए, केशरजंग रायमाझी खेमाकाहरू रूसतिर थिए,’ उनी सम्झन्छन्। पार्टी नफुटे पनि आन्तरिक संघर्ष चर्का थियो, पुष्पलाल खेमा र रायमाझी खेमाको। ‘भित्रभित्र चिरा परिसकेको थियो पार्टी,’ लक्ष्मण स्मरण गर्छन्।
लुकेर कति दिन हिँड्ने ? उनको असुरक्षा बढ्दो थियो। कुनै पनि बेला पुलिसले समाउन सक्थ्यो। पार्टीले उनलाई नेपालमा नबस्न र भारतको दरभंगा जान सल्लाह दियो। उनलाई पनि यहाँ के हुने हो भन्ने भय थियो। त्यसैले दरभंगा जान तयार भए।
महेन्द्रको सत्ताले उनलाई जहाँ भेटे पनि समात्ने निश्चित थियो। दरभंगा जाने तर कसरी ? उनलाई थाहा थिएन। त्यसपछि पेट्रोलपम्पमा काम गर्ने पार्टीकै साथी अकबर महबुललाई उनले साथ लिए। अकबरले पेट्रोलपम्पको गाडीमा हालेर लक्ष्मणलाई वीरगन्ज पठाइदिए। ‘ज्यानै कालो हुने गरी मोबिल लगाएँ,’ उनी याद गर्छन्, ‘कपडामा पनि मोबिल दलेँ। भर्खरै गाडी बनाएर निस्किएको सहचालक जस्तो बनेँ।’
बाटोमा कसैले उनलाई पार्टीको कार्यकर्ता भनेर शंका गरेन। उनी वीरगन्ज पुगे। नेपालको सिमाना पार गरे। त्यतिबेला उनको साथमा जम्मा १५ रुपैयाँ थियो। दुई जोर लुगा बोकेका थिए।
दरभंगास्थित पार्टीले खोजिदिएको घरमा पुगे, उनी। ‘रायमाझी खेमाका मानिसले त्यो घर भरिइसकेछ,’ उनले सम्झन्छन्, ‘जुनसुकै खेमाका भए पनि पार्टीकै मान्छे थिए। म उनीहरूसँग बस्न थालेँ।’ त्यहाँ साथीहरूको व्यवहारले उनलाई क्षुब्ध बनायो। रायमाझी खेमाका साथीहरू कोही पनि उनीसँग बोल्दैनथिए। उनीहरू गफ गरिरहेका छन् भने लक्ष्मणलाई देखपछि एकाएक चुप हुन्थे। ‘हरेक क्षण मलाई अर्कै पार्टीको मान्छेझैं व्यवहार गरिन्थ्यो,’ उनी त्यतिबेला आहत थिए।
भारत पुगेको दुईतीन दिन भइसकेको थियो। खाना खाएर सबै साथी सुत्नका लागि ओछ्यानमा पुगिसकेका थिए। लक्ष्मण एउटा कोठामा, साथीहरू अर्काे कोठमा थिए। मध्यरातमा लक्ष्मणले गुनगुन आवाज सुने। अलि ध्यान दिएर सुन्न थाले। ‘उनीहरू ‘लक्ष्मणका अगाडि केही कुरा नगर्नू, यो पुष्पलालको मान्छे हो, उसलाई देख्नेबित्तिकै चुप लागेर बस्नू’ पो भनिरहेका थिए,’ लक्ष्मण साथीहरूको व्यवहार बयान गर्छन्, ‘उनीहरू मलाई अर्कै पार्टीको मान्छे जस्तो ठानिरहेका थिए।’
साथीहरूको कुरा सुनेपछि उनलाई भाउन्न भयो र ढोका ढक्ढक्याए।
र, भने- ‘म नेपाल फर्किन्छु।’
साथीहरू झस्किए। लक्ष्मणले उनीहरूलाई हाकाहाकी भनिदिए- ‘महेन्द्रले भेटे भने सबैलाई सक्छन्। यस्तो अवस्थामा पनि आफ्नै पार्टीभित्र शत्रुको जस्तो व्यवहार ! तपाईंहरूसँग बस्नु जेलमा बस्नुभन्दा खतरनाक छ। म गएँ।’
त्यसपछि उनी मध्यरात त्यो घर छोडेर हिँडे। ‘त्यतिबेला मेरो गोजीमा पाँच रुपैयाँ थियो,’ उनी सम्झन्छन्।
०००
मध्यरात थियो। उनले जयनगरनबाट रेल चढे। ‘भाडा थिएन, ट्रेनको टिटीलाई झुक्याएर म रक्सौल आइपुगेँ,’ उनी त्यो रात सम्झन्छन्, ‘रक्सौलबाट वीरगन्ज आएँ। त्यहाँ बैंकमा काम गर्ने एक जना साथीसँग अलिकति पैसा मागेर काठमाडौंतिर लागेँ।’
थानकोटको चेकपोस्टमा चेकजाँच भयो। त्यहाँ उनले आफ्नो नाम दर्ता गराए- लक्ष्मण राजवंशी।
‘भागेर जानु कहाँ थियो र ! कति दिन भाग्ने ? ’ लक्ष्मण सम्झन्छन्, ‘त्यसपछि मैले असली नाम टिपाएँ।’
पुलिसको वान्टेड सूचीमा रहेका लक्ष्मणलाई तुरुन्त समाइयो र जेल लगियो।
०००
जेलमा परेकाहरूको न्याय÷अन्याय भएको छुट्याउन सुप्रिम कोर्टबाट मान्छे खटाइएको थियो। ती मान्छे को थिए, उनलाई थाहा थिएन। एक दिन उनले आफूलाई अन्याय भएको कुरा सुनाए। आफ्नो जिन्दगीको कथा सविस्तार कहे। ‘त्यो बुझ्न आउने मान्छेले राजासँग प्रस्ताव राखिदिने वाचा गरे,’ लक्ष्मण सम्झन्छन्, ‘त्यसको केही दिनपछि कागजको एउटा चिर्कटो मेरो हातमा प¥यो। त्यसमा लेखिएको थियो- महाराज विदेश भ्रमणमा जाँदै होइसिन्छ, उताबाट फर्केपछि तपाईं जेलबाट छुट्नुहुनेछ।’
राजा विदेशबाट फर्किए। उनी जेलबाट छुटे। तर, हरेक क्षण लक्ष्मणमाथि निगरानी हुन थाल्यो। एक जना सरकारी मान्छे उनको पछिपछि हिँड्न थाल्यो। ‘म घरमा हुँदा पनि मेरो घरबाहिर बसिरहन्थ्यो ऊ,’ उनी सम्झन्छन्, ‘मलाई त मानसिक यातना हुन थाल्यो।’ आफूमाथि निगरानी हटाइयोस् भन्दै उनी सेन्टर इन्टेलिजेन्सको ब्युरो पुगे। ‘त्यहाँ मैले ‘कि मलाई फेरि जेल हाल्नुस्, हैन भने निगरानी नगर्नुस्’ भनेँ,’ उनले आफ्ना कुरा स्पष्ट राखेका थिए। त्यसपछि उनीमाथिको निगरानी हटाइयो।
उनी घरतिरै रमाउन थाले। पार्टी भूमिगत थियो। अरू काम थिएन। वर्षहरू यसरी बित्दै गए।
०००
२०३० सालतिरको एक दिन।
लक्ष्मण छोरा रूपकसँग घरमा चेस खेलिरहेका थिए। राष्ट्रिय पञ्चायतका अध्यक्ष नयनबहादुर स्वाँर उनको घरमा आइपुगे। उनलाई आफूसँग हिँड्न अनुरोध गरे। लक्ष्मणले कहाँ जाने भनेर सोध्दा पनि स्वाँरले जवाफ दिएनन्। गाडीमा बस्न अनुरोध गरे। उनी गाडीमा बसे। ‘मेरो मन चाहिँ भोलिदेखि साथीहरूले पञ्चे भन्ने भए भन्ने डरले कामिरहेको थियो,’ उनी सम्झन्छन्,।
गाडी सिंहदरबारतिर हिँड्यो। तत्कालीन शिक्षामन्त्री कृष्णराज अर्यालकोमा पुगे, स्वाँर र लक्ष्मण। स्वाँरले शिक्षामन्त्रीलाई उनको परिचय दिए। प्राध्यापक बनेर फर्पिङ जान शिक्षामन्त्रीले लक्ष्मणलाई सल्लाह दिए। तर, उनले मानेनन्, फर्पिङ काठमाडौंबाट टाढा भएकाले। उनलाई अर्काे विकल्प दिइयो, क्षेत्रपाटीको एउटा स्कुलमा प्राध्यापक बन्न। उनले त्यो प्रस्ताव पनि स्विकारेनन्। ‘त्यहाँ मभन्दा भेट्रान शिक्षकहरू थिए,’ उनी सम्झन्छन्, ‘मैले त्यहाँ प्रिन्सिपल भएर जाँदा नराम्रो हुन्थ्यो।’
त्यसपछि उनलाई सिद्धार्थ वनस्थली स्कुलमा जान सल्लाह दिइयो। शिक्षामन्त्रीको पछिल्लो प्रस्तावमा उनी राजी भए। ‘त्यतिबेलासम्म म अब राजनीति नगर्ने भन्ने सोचमा पुगिसकेको थिएँ,’ उनी भन्छन्, ‘अब विद्यार्थीसँग रमाउँछु भनेर मैले शिक्षक बन्ने निधो गरेँ। त्यतिबेला मेरो तलब चार सय ५० रुपैयाँ थियो।’
त्यसपछि राजनीतिबाट उनी पूरै कटिए। शिक्षणमा रस बस्यो, विद्यार्थीसँग रमाउन थाले। र, शिक्षकका रूपमा उनको ख्याति फैलियो। देशका उम्दा शिक्षकहरूमा उनी गनिन थाले।
कुनै बेलाका यी नामी शिक्षक हाल पढाउँदैनन्। तर, सहरभरि उनका असंख्य विद्यार्थी छन्। हरेक दिनजसो कसै न कसैसँग भेट हुन्छ। उनीसँग भेट हुनासाथ उनले वर्षाैंपहिले पढाएको विद्यार्थीको मुखबाट न्यानो हार्दिकतासहित निस्कन्छ- नमस्कार, लक्ष्मण सर ! नमस्कार कुनै नयाँ कुरो होइन, सबैले गर्छन्। तर, लक्ष्मण सरले पाउने नमस्कारमा उनका पूर्वविद्यार्थीको प्रेम र सम्मान यस्तरी घुलेको हुन्छ कि उनलाई लाग्छ- यही नै उनको सम्पूर्ण जीवनको एक मात्र आर्जन हो।
०००
अहिले लक्ष्मण ८२ वर्षका भए। घरतिरै हुन्छन्। पुस्तक पढ्छन्। कथा, निबन्ध लेख्छन्। उनका नेपाली, अंग्रेजी र नेवारी भाषामा गरी एक दर्जनभन्दा बढी किताब प्रकाशित छन्। अखबारी लेखन पनि गरिरहेका छन्। सामाजिक सञ्जालमा पनि बरालिन्छन् दिनको एकाध घन्टा। साथी मिल्यो भने वर्षमा एक पटक नेपालका सुदूर गाउँहरूमा पुग्छन्।
सुदूर गाउँबस्तीमा पुग्दा त्यहाँका स्कुलहरू नियाल्छन्। कसरी पढाउने, के पढाउने, शिक्षकहरूलाई तालिम दिन्छन्। विद्यार्थीलाई भेला पारेर ज्ञानगुनका कुरा सिकाउँछन्। ‘घुमाइ पनि हुने, आफूले जानेको कुरा विद्यालयमा सिकाउन पनि पाइने,’ उनी भन्छन्, ‘केही महिनाअघि पाल्पा पुगेको थिएँ। त्यहाँ पनि त्यस्तै गरेँ।’
उनले देशका ५० भन्दा बढी जिल्ला घुमिसकेका छन्। दुर्गम ठाउँहरूमा पुगेका छन्। यस्तो अवस्थामा अहिले चर्काे रूपमा उठिरहेको समृद्धिको कुरा उनलाई मन पर्दैन। भन्छन्, ‘मान्छेले खान पाएका छैनन्। लाउनलाई एकसरो कपडा छैन। नेताहरू चाहिँ रेल र पानीजहाजका कुरा गरिरहेका छन्।’
विकाससम्बन्धी उनका आफ्नै मत र मान्यता छन्। उनको प्रस्ट धारणा छ- अहिले नेपालमा गरिब जनतालाई उकास्ने विकास र समृद्धि आवश्यक छ। भन्छन्, ‘विकास हाम्रो कृषिबाट सुरु गर्नुपर्छ। किनभने, नेपालीको आत्मा कृषिसँग जोडिएको छ। यता देशमा मल छैन, बीउ छैन, गरिबहरूले खान पाएका छैनन्, कृषि उत्पादन प्रचुर छैन। उता, नेताहरू चाहिँ चीन र भारतबाट रेल ल्याउने कुरा गर्छन्। अनि रेलमा के बोक्ने ? आयात त हुन्छ तर रेलमा हालेर हामीले के पठाउने ? मान्छे निर्यात गर्ने ? ’
नेताहरूको ध्यान गरिब जनतालाई उकास्नेतिर पटक्कै नभएको देखेर कुनै बेला गरिबको मुक्तिको सपना देख्ने लक्ष्मण निराश हुन्छन्। दोस्रो संविधानसभामा नेपाः राष्ट्रिय पार्टीबाट समानुपातिकबाट सभासद् भएका उनलाई नेताहरूको चालामाला ठीक लागेको छैन। उनीहरूको व्यहोरामाथि उनको टिप्पणी छ- ‘हाम्रा नेता झगडा मात्रै गर्छन्। उनीहरू सत्ता, सत्ता र सत्ताबाहेक अर्थाेक केही सोच्दैनन्। सबैलाई कुर्सी र पद चाहिएको छ, गरिब जनता कसैलाई चाहिएकै छैन।’
तर, कुनै बेलाका राजनीतिक कार्यकर्ता र विख्यात शिक्षक लक्ष्मणले गरिब जनताको मुक्तिको सपना देख्न छाडेका छैनन्।