‘नेपाल बन्छ, बनाउनै पर्छ’

‘नेपाल बन्छ, बनाउनै पर्छ’

 रारा : पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित रारातालको किनारमा शनिबार बिहान गज्जबको रौनक देखियो। ताल समीपको बाटोमा स्थानीय ओहोरदोहोर गरिरहँदा तालअगाडिको चौरबाट सरकारको योजना र सपना सुनाउँदै थिए प्रधानमन्त्री केपी ओली।

मानवीय विकासको सूचकांकमा पछाडि रहेको कर्णालीको मुगुमा पर्ने रारातालबाट प्रधानमन्त्री ओलीले राष्ट्रका नामका सम्बोधन गर्दै भने, ‘इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ।’ कर्णालीलाई देश विकासको मूल प्रवाहमा जोड्ने घोषणा गर्दै प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘रारा आफैंमा प्रतीक हो– हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो सम्भावना र भविष्यको। समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो संकल्पलाई कर्णालीसँगै सिंगो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ।’

सम्बोधन क्रममा प्रधानमन्त्री ओलीले सामाजिक सद्भाव खलबल्याई जस्तोसुकै हिंसात्मक गतिविधि गर्ने कार्य कसैलाई छुट नहुने बताए। देशमा व्याप्त महिला हिंसा, बालविवाह र बहुविवाहजस्ता गतिविधि पनि छुट नभएको उनको अभिव्यक्ति थियो।

अबको पाँच वर्षभित्र नेपालको कृषि उत्पादन चार गुणाले वृद्धि गर्ने गरी कृषिमा आधुनिकीकरण, व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेसा बनाउन सरकारले नीति ल्याउने प्रधानमन्त्रीको सम्बोधनमा दाबी गरिएको छ। स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै ‘सरकार जनताको भएकाले अब कोही पनि नेपालीले आधारभूत आवश्यकताबाट वञ्चित हुन नपर्ने, अबको पाँच वर्षभित्र धनी र गरिब बीचको खाडल घटाउँदै जाने लक्ष्य राखिएको’ पनि प्रधानमन्त्री ओलीले जानकारी दिए।

विगतमा विदेशी लगानी भित्रिए पनि फिर्ता हुने गरेकाले अब यस्तो नहुने उनको आश्वासन थियो। सरकारले लगानी फिर्ता नहुने गरी मुनाफा व्यवस्थापन र लगानीमैत्री वातावरण सिर्जना गर्ने भएकाले लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रहसमेत गरे। प्रधानमन्त्री ओलीले भने, ‘छिमेकी मुलुक तथा विदेशी मित्रराष्ट्रसँग पारस्परिक सम्बन्ध कायम राखिनेछ र सबैको सहयोग र सद्भाव उत्तिकै आवश्यक छ।’

नयाँ वर्षको छेको पारेर आयोजित रारा महोत्सव उद्घाटनका बेला ३१ बँुदे सम्बोधन पढेका प्रधानमन्त्री ओलीले विकास मात्र होइन, भ्रष्टाचार नियन्त्रणमा समेत जोड दिएका थिए। उनले भने, ‘नैतिक स्वच्छता कायम गर्न सरकारले आफैंबाट सुरु गर्नेछ। प्रधानमन्त्रीका रूपमा मैले यसको अगुवाइ गर्नेछु।’

वाम गठबन्धनलाई जनताको स्पष्ट बहुमत प्राप्त भएको र यसको दुरुपयोग गर्न नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा अब जनताको सेवा गर्ने तथा कर्तव्य पालना गर्ने मौका आफूहरूलाई प्राप्त भएको बताए। प्रतिपक्षलाई प्राप्त जनमत पनि सदनमा विरोध मात्र गर्ने नभई देश विकास र समृद्धिका लागि रचनात्मक सुझाव राख्ने अवसर भएकाले देशमा अहिले सहमति, सहकार्य र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने राय उनको थियो।

अहिले पनि के नेपाल बन्छ ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्न आफूले पटक–पटक सुन्दै आएको स्मरण गर्दै उनले भने, ‘नेपाल बन्छ, बनाउनै पर्छ। हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ। मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ। तर, इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन। इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.