रारा सम्बोधनको सार्थकता
दोस्रोपटक प्रधानमन्त्री भएदेखि नै जनसाधारणमा सकारात्मक अपेक्षा प्रवाह गर्न सकेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ का दिन आम जनसाधारणलाई थप आश्वस्त पार्न सके। राराको आँगनमा पुगेर उनले देशवासीका नाममा जे उद्घोष गरे, त्यसले आम जनतामा अपेक्षाको सञ्चार गर्न सकेको छ। संक्रमणकालीन र अस्थिर राजनीतिको दुश्चक्रमा फसेको नेपालले लामो समयपछि एउटा बलियो सरकार र ‘आत्मविश्वासी’ प्रधानमन्त्री पाएको छ।
रारा सम्बोधनमा ओलीले आफूमा निहित त्यो ‘आत्मविश्वास’ मात्रै देखाएनन्, सरकारप्रतिको आशा थप जगाइदिए। खासगरी सरकारै अर्थमन्त्रीले मुलुकको आर्थिक अवस्था जीर्ण रहेका निराशाजनक कुरा गरिरहेका बेला प्रधानमन्त्री ओलीले निराशा चिर्न खोजे। मीठो भाषा र शालीन शैलीमा सम्बोधन गरेका ओलीले निराशा र असन्तोषलाई चिर्ने जुन प्रयत्न गरेका छन्, त्यो सह्रानीय छ, सकारात्मक छ।
रारा सम्बोधनबाट प्रधानमन्त्री ओलीले सरकारको केन्द्रीय मुद्दा आर्थिक विकास र समृद्धि भएको कुरा दोहो¥याए। चुनावदेखि नै वाम गठबन्धनले सारेको समृद्धिको मुद्दामै सरकार बढेको छ र यो उच्च प्राथमिकतामा रहेको छ भन्ने बलियो सन्देश सम्बोधनले दिन सकेको छ। त्यस्तै राष्ट्रियताको सन्दर्भमा कुनै खाले सम्झौता हुन नसक्ने दोहोर्याउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेक र मित्रराष्ट्र सम्बन्ध विस्तार र विकास गर्ने प्रधानमन्त्रीको सोच पनि सम्बोधनमा प्रतिबिम्बित भयो। उनले सार्वभौमिक समानता, अहस्तक्षेप र पारस्परिक हित, आपसी सम्मान र विश्वास अन्तर्राष्ट्रिय सम्बन्धको आधार हुने प्रस्ट पारे। त्यस्तै लोकतन्त्र र सामाजिक न्यायको वकालत गर्दै उनले संविधानले निर्दिष्ट गरेका व्यवस्था र अधिकारको आम जनतालाई प्रत्याभूति दिलाउने प्रतिबद्धता गरे। शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, खानेपानीजस्ता आधारभूत आवश्यकताका कुरा मात्रै होइन, लगानी बढाउँदै आर्थिक स्तर बढाउनेतर्फ पनि सरकार गम्भीर भएको तर्क गर्दै समाजवादउन्मुख राज्य निर्माणको बाटोमा हिँडेको प्रस्ट पारे।
समग्रमा सम्बोधन आश जगाउने खालको छ, कर्णप्रिय छ। तर यसको सार्थकताचाहिँ त्यो बेला मात्रै प्रमाणित हुन्छ, जुन बेला यी सपना कार्यान्वयन हुनेछन्। त्यसकारण यस्ता मीठा अभिव्यक्ति र सम्बोधनका सार्थकताको मापन त्यसले मूर्तरूप लिएपछि मात्रै पाउ“छ भन्नेमा सरकारले हेक्का राख्नुपर्छ।
यो सरकारको सफलताको मुख्य कडी नयाँ संविधानको बलियो कार्यान्वयन हो। तीनै तहका निर्वाचन सम्पन्न भएपछि जसरी सरकार गठन भएका छन्, स्थानीय, प्रदेशदेखि केन्द्रसम्म वाम गठबन्धनका बलिया सरकार गठन भएका छन्। नेपाली जनतालाई वर्षौंदेखि राजनीतिक, आर्थिक रूपान्तरणको ‘सपना’ बाँडेको कम्युनिस्ट शक्ति सत्ताको बागडोर सम्हालिरहेका छ। यी शक्तिबीच आपसी समन्वय र विश्वासका आधारमा बढ्न सके मात्रै सपना पूरा हुन सक्नेछन्। प्रधानमन्त्रीको आत्मविश्वासले मूर्तरूपमा लिन गठबन्धन सरकारका सहयात्रीबीचको आपसी विश्वास मजबुत हुनुपर्नेछ। खासगरी संघीयताको सफलताले राजनीतिक स्थायित्वसँगै मुलुकको आर्थिक विकास र समृद्धिको यात्रा अघि बढाउनेछ। यसलाई जरैदेखि सुदृढ पार्नेमा सरकार कटिबद्ध हुनुपर्छ।
सरकारले नारा र सपना धेरै बाँडेको छ तर विकास र समृद्धिकै हकमा त्यो कसरी प्राप्त हुन्छ ? त्यसको सूत्र र कार्यान्वयन गर्ने विधि÷योजना÷संयन्त्र के हुन् ? ओलीको रारा सम्बोधनले उठाएको महत्वपूर्ण मुद्दा सरकारको नीति तथा कार्यक्रम आगामी बजेटमा केकति प्रतिविम्बित हुनेछन्, त्यसले पनि रारा सम्बोधनको औचित्य र सार्थकता प्रमाणित हुन्छ। सरकारसँग काम गर्ने कि प्रचारमुखी बन्ने दुई विकल्प मात्रै छन्। प्रचारमै रमाउने प्रवृत्तिमै सरकार सीमित भयो भने अहिले जागेको आशा निराशामा बदलिन क्षणभर लाग्ने छैन। त्यसकारण सरकारलाई न निराशा बाँड्ने छुट छ, न त प्रचारमुखी नै हुने। त्यसकारण जुन आत्मविश्वासका साथ ओली प्रस्तुत भएका छन्, सरकार ती वचन पूरा गर्न त्यही स्तरको गम्भीरताका साथ लाग्न सक्नुपर्छ।