घरघरम अभिकर्ता : सक्रियभन्दा निष्क्रिय बढी
काठमाडौं : जीवन बिमाक्षेत्रको बलियो आधार नै अभिकर्ता हुन्। बिमा व्यवसाय धान्ने मूल खम्बा मानिने यो जनशक्ति पछिल्लो समय बिमा कम्पनी बढ्दै जाँदा उत्पादन पनि उल्लेख्य रूपमा बढेका छन्। पछिल्लो पाँच वर्षदेखि बिमा समितिले अभिकर्तालाई तालिम नदिएका कारण सम्बन्धित कम्पनी आफैंले आफूलाई चाहिने जनशक्तिलाई तालिम दिइरहेका छन्। ‘हामीले अभिकर्ताको तालिम नदिँदा सम्बन्धित कम्पनीले नै आवश्यक जनशक्ति तयार पार्ने जिम्मेवारी दिइएको छ’, बिमा समितिका निर्देशक राजुरमण पौडेलले भने। अभिकर्ता घरघरबाटै उत्पादन त भएका छन्। तर, ती अभिकर्ताको परिचालन संयन्त्र भने निकै कमजोर रहेको उनको बुझाइ छ।
बिमा कम्पनीले ३/४ दिनकै छोटो तालिमबाट अभिकर्ता उत्पादन गर्ने गरेका छन्। छोटो तालिमबाट आउने अभिकर्तालाई पूर्ण रूपले बिमा बजारको जानकारी नहुने, कन्भेन्सिङ पावरको विकास नगरी बजारमा जाने, एउटा क्षेत्रमा रोजगारी भएका व्यक्ति नै अभिकर्ता बन्ने गरेकाले यो क्षेत्रलाई सहजता प्रदान गर्नेभन्दा चुनौती थपिएका छन्। अभिकर्ता पेसालाई पार्टटाइमका रूपमा लिने र पूर्ण रूपमा सक्रिय नहुने गरेका कारण पनि अभिकर्ता परिचानलमा समस्या भएको समितिको बुझाइ छ।
समितिबाट इजाजतपत्र लिएका बिमा अभिकर्तामध्ये अधिकांश निष्क्रिय हुने र आफ्नो बिमा गर्न मात्रै एजेन्ट बन्नेको संख्या धेरै देखिएको पेसागत बिमा अभिकर्ता नेपालका अध्यक्ष नन्दप्रसाद तिवारीले बताए। उनले भने, ‘बिमा कम्पनीको संख्या बढ्दै जाँदा र बजार विस्तारका क्रममा नयाँ जनशक्ति थप गर्ने क्रममा अभिकर्ता उत्पादन बर्सेनि बढ्दै गएका छन्। यी अभिकर्ता सबैले काम नगर्ने र आफ्नो परिवारभित्रको बिमासमेत नगराउने गरेका कारण निष्क्रियको संख्या बढिरहको तिवारीको बुझाइ छ। उनका अनुसार घरभित्रै एउटा कम्पनीको एजेन्ट हुँदा पनि बिमा र यसको अवस्था बुझाउन नसक्दा बढी लाभ पाइने र सुरक्षित भनिदिएकै भरमा अर्कै कम्पनीमा बिमा गराउने गरेको पाइन्छ।
अभिकर्ता पेसालाई पार्टटाइमका रूपमा लिने र पूर्ण रूपमा सक्रिय नहुने गरेका कारण पनि अभिकर्ता परिचानलमा समस्या भएको हो।
नेपालमा बिमा व्यवसायमा क्रियाशील जीवन र निर्जीवनका गरी करिब ३ लाख ९० हजार जना अभिकर्ताले बिमा समितिबाट इजाजतपत्र लिएका छन्। इजाजत लिएकामध्ये चैत मसान्तसम्मका निम्ति नवीकरण गराएका अभिकर्ताको संख्या ९५ हजार छ। हरेक वर्ष चैत मसान्तभित्र बिमा अभिकर्ताको इजाजतपत्र नवीकरण गराउनुपर्ने भएकाले यो संख्यालाई समितिले सक्रिय अभिकर्ताको सूचीमा राखेको छ। समितिका निर्देशक पौडेलका अनुसार इजाजत लिएकामध्ये करिब ५० प्रतिशत अभिकर्ता सक्रिय छन्। बिमाको बजार बर्सेनि बढ्दै गएको र यो पेसाप्रतिको विश्वास बढिरहेकाले अभिकर्ताको सक्रियता पनि सोही अनुपातमा देखिएको समितिको दाबी छ।
पेसागत बिमा अभिकर्ता संघले भने इजाजत लिएका र नवीकरण गराउँदैमा सबै सक्रिय नहुने दाबी गरेको छ। संघका अध्यक्ष तिवारीका अनुसार पूर्णकालीन समय बिमालाई नै दिने र सक्रिय रूपमा काम गर्नेको संख्या करिब ५ प्रतिशत मात्रै रहेको अनुमान छ। समितिमा वार्षिक नवीकरण गराउनेको संख्या ९५ हजार भए पनि संघमा आबद्धको संख्या भने १२ हजार मात्रै छ। यसमा पनि सक्रियको संख्या कम भएकाले आफ्नो मात्रै बिमा गरेर बस्ने, परिवारको मात्रै गराउने, अन्य रोजगारीको विकल्पमा मात्रै अभिकर्ता बन्ने, फुर्सदको समयमा मात्रै अभिकर्ताको भूमिका निर्वाह गर्नेको जमानत ठूलो छ। यो जमानतबाट खासै ठूलो अपेक्षा पनि गर्न नसकिने तिवारीको बुझाइ छ।
कुनै पनि बिमा कम्पनीको ९८ प्रतिशत आम्दानी बिमा अभिकर्ताबाटै हुने गरेको भए पनि अभिकर्ताकै सक्रियता कम हुनु भनेको यो क्षेत्रकै लागि सबैभन्दा ठूलो चुनौती भएको नेपाल लाइफ इन्सुरेन्स कम्पनीका महाप्रबन्धक विवेक झाले बताए। ‘अभिकर्ता बनाउनै गाह्रो छ भने भएकैले पनि मुस्किलले वार्षिक ३० प्रतिशतले मात्रै इजाजत नवीकरण गरेर काम गर्ने गरेका छन्’, उनले भने। कम्पनी टिकाउन नयाँलाई तालिम दिनैपर्ने हुन्छ। तालिम लिएर बजारमा जानेले आफ्नो पेसागत मर्यादालाई बलियोसँग प्रस्तुत गर्न नसक्दा जति नयाँ अभिकर्ता आए पनि सक्रियको संख्या न्यून हुने बुझाइ झाको छ।
अभिकर्ताले बिमाको बारेमा बुझाउन नसक्ने, सतही ज्ञानबाटै बजारमा जाने गरेकाले पनि पेसागत रूपमै क्रियाशील हुनेको संख्या कम देखिएको सम्बन्धित बिमा कम्पनी बताउँछन्। अभिकर्ताले बिमितलाई सीधै डबल हुन्छ, बिमा गर्नुस्, भन्छन्। तर, यो भन्नु गलत हो। सबै बिमा योजना फरकफरक हुन्छन्। प्रतिहजारका दरले बोनस दर हिसाब गरिन्छ। यसो गर्दा १० वर्षमा आउने बोनस दर र २० वर्षभन्दा बढीमा आउने दर फरक हुन्छ। जसका कारण लामो अवधि गर्ने र बोनस दर पनि राम्रो भएको अवस्थामा मात्रै बिमांक रकम बजारकै रकम आउन सक्छ। अन्यथा बचत हुने, जोखिम वहन गर्ने र सुरक्षाका दृष्टिले मात्रै बिमा गरिन्छ भने बुझाउन सकिएको अवस्थामा भने कम फाइदा हुने भए पनि बिमा गराउन सकिने सम्बन्धित कम्पनीको भनाइ छ।
नेपालमा बिमा व्यवसायमा क्रियाशील जीवन र निर्जीवनका गरी करिब ३ लाख ९० हजार जना अभिकर्ताले बिमा समितिबाट इजाजतपत्र लिएका छन्।
जीबन बिमा व्यवसाय एजेन्टकै भरमा चलेको हुन्छ। सोही एजेन्ट परिचालन गर्न नसक्दा यो क्षेत्रको सबैभन्दा ठूलो समस्या भोग्नुपरेको तिवारीको बुझाइ छ। उनका अनुसार बिमा सचेतना, ग्राहकमुखी बिमालेख, आवश्यक तालिम र दक्षता, स्वस्थ प्रतिस्पर्धासहितका विषयमा एजेन्ट परिचालन गर्न बिमा कम्पनी चुकेका छन्। जसका कारण एजेन्ट उत्पादन घरघरबाटै भइरहेका छन्। तर परिचालन गर्न नसक्दा अधिकांश निष्क्रिय भएर बसेको तिवारीको भनाइ छ।
अभिकर्ता बढाउन तालिम
बिमा कम्पनीले अभिकर्ता बढाउन दक्षता नभएका व्यक्ति जोकोही आउँदा पनि तालिम दिइरहेका छन्। सकेसम्म बिमा गराउन प्रयास गर्ने र बिमा नगरेको व्यक्तिलाई आफैं अभिकर्ता भएर आफ्नो बिमा आफैं गर्न कम्पनीले नै हौस्याउने भएकाले पनि दक्षताबिनाका व्यक्ति पनि एजेन्ट भएका छन्। एजेन्टले बिमितको संख्या बढाउन र आफ्नो पारि श्रमिक (अभिकर्ताले पाउने बोनस) फिर्ता दिने गरेका छन्। आफ्नो पेसागत मर्यादालाई दाउमा राखेर एजेन्टले आफन्त र साथीभाइलाई मेरो कमिसन घटाइदिन्छु भन्दै एजन्टले पाउने पारि श्रमिक कम गराउने संस्कृतिका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको हो।
कुनै पनि एजेन्टले पाउने कमिसन भनेको उसको पारि श्रमिक हो। एजेन्टले कन्भेन्स गर्न नसक्दा र बिमाको सचेतना कम हुँदा दक्षता नभएका अभिकर्ता बढी उत्पादन भएका र सोही जनशक्ति निष्क्रिय हुन पुगेको पनि पेसागत बिमा अभिकर्ता संघको भनाइ छ।
अहिले बिमा कम्पनीले एजेन्ट बढाउने र आफ्नो भए पनि बिमा गर्छ भनेर जोकोहीलाई पनि तालिम दिने गरेका छन्। चार दिनको तालिम लिने गरेको भए पनि सबै दिन उपस्थित नहुने र दक्ष हुन नसकेकाले पनि इजाजत पाउने गरेकाले पनि निष्क्रियको संख्या बढिरहेको दाबी संघको छ। बिमा समितिले आफैंले अभिकर्तालाई तालिम दिनुपर्ने तिवारीको भनाइ छ। यदि समितिले आफैं तालिम दिन नसके कम्तीमा एउटा परीक्षा लिएर दक्षताको मापदण्ड निर्धारण गर्न सकेको अवस्थामा पनि धेरै अभिकर्ता सक्रय हुन सक्ने उनले बताए।
पहुँच र दायरा विस्तार गर्दै समिति
जीबन बिमा कम्पनी थपिएका र यसको बजार पहुँच र दायर अब फराकिलो हुने भएको छ। बिमा कम्पनीहरूको नियामक निकाय समितिले आगामी आवबाटै तालिम दिने, बिमा सचेतनाको अभियान सञ्चालन गर्ने, हरेक गाउँसम्म यसको पहुँच पुग्ने गरी योजना अगाडि सारेको पनि बिमा समितिको भनाइ छ। समितिबाट तालिम लिएका अभिकर्ताले सबै कम्पनीको पोलिसी बेच्न पाउँछन्। कम्पनीबाट लिएको तालिमले सोही कम्पनीको पोलिसी नै बेच्नुपर्ने हुन्छ।
समितिबाट तालिम लिएका अभिकर्ताले सबै कम्पनीको पोलिसी बेच्न पाउँछन्। कम्पनीबाट लिएको तालिमले सोही कम्पनीको पोलिसी नै बेच्नुपर्ने हुन्छ।
समितिले अभिकर्ता परिचालन गर्न नसकेकै कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको उल्लेख गरेको छ। स्वस्थ प्रतिस्पर्धाको दायरा बढाउने, अभिकर्तालाई बढीभन्दा बढी निखारता ल्याउने, ग्रामीण भेगसम्म पनि नगद प्रवाह हुन थालिसकेको र जोखिम न्यूनीकरणमा उपभोक्ताको चासो बढेको छ, जसका कारण अब बिमा कम्पनी सहरकेन्द्रित नभएर ग्रामीण भेगसम्म पुग्ने गरी योजना ल्याउने तयारी भइरहेको पनि समितिका निर्देशक पौडेलले बताए।
साढे ६ करोडसम्मको जीवन बिमा
एउटा व्यक्तिले आफ्नो आम्दानी र उनको खर्च क्षमताका आधारमा जीबन बिमाको पोलिसी चयन गर्ने गरेका छन्। सामान्यता नेपालमा अहिले ५० हजार रुपैयाँदेखि पाँचदस लाख रुपैयाँसम्मको बिमा बढी चल्तीमा छन्। बिमा कम्पनीले जति ठूलो रकमको पनि बिमा स्वीकार गर्ने गरेका छन्। बिमामा आउने पोलिसी एजेन्टले गर्ने कमिसनमा भर पर्छ। एजेन्टले आफ्नो क्षमतालाई जति बढी प्रयोग गर्न सक्यो उति नै ठूलो रकमको बिमा पोलिसी बिक्री गर्न सक्ने बुझाइ तिवारीको छ।
पेसागत बिमा अभिकर्ता संघका अध्यक्ष तिवारीले हालसम्मको ठूलो रकमको बिमा पोलिसीका रूपमा एक जना व्यापारीको साढे ६ करोड रुपैयाँको जीबन बिमा गराएका छन्। नेपाल लाइफ इन्सुरेन्स कम्पनी (एनएलआईसी) ४ वर्षअगाडि १५ वर्षे योजनामा गराएको उक्त रकमको बिमाका लागि करिब ४ महिना बिमितलाई कन्भेन्स गर्ने समय लागेको उनको भनाइ छ।
बिमा भनेकै भविष्यका लागि बचत गर्ने आधार भएकाले मासिक कमाइएको निश्चित रकमल बिमाकै लागि भने अलग्गै राखेर साढे २२ लाख रुपैयाँका निम्ति बिमा प्रिमियम तिर्ने गरेको ताप्लेजुङका टेकेन्द्र बिष्टले बताए। पानीपोखरीको टे«नवे म्यानपावरमा कार्यरत विष्टले आफ्ना मामा भीम दाहालबाट एनएलआईसीमा बिमा गराएका हुन्। बढीमा पाँच लाख रुपैयाँसम्मका मात्रै बिमा गराउने सोचाइमा रहेको बिष्टलाई उनका मामाले गरेको कन्भेन्सकै कारण उक्त रकमको बिमा गरेर चार वर्षदेखि नियमित किस्ता तिर्दै आएको पनि उनको भनाइ छ।