मुख्यमन्त्री गुरुङले गरे दुई विद्यार्थीको भर्ना
पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा मासबारको श्रीकृष्ण माविमा दुई बालबालिकालाई भर्ना गरेका छन्। शिखा जिरेल र अभिषेक नेपालीलाई मुख्यमन्त्रीले आइतबार आफैं विद्यालय पुगेर कक्षा १ मा भर्ना गरेका हुन्।
उनीहरुको अभिभावकत्व ग्रहणसम्बन्धी कागजातमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री गुरुङले आवश्यक जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘ड्रेस, कापी कलम के के चाहिन्छ’, उनले भने, ‘त्यस्को व्यवस्था गर्छु, यी छोराछोरीले यही स्कुलबाट १० कक्षासम्म पढ्ने वातावरण बनाउन स्कुललाई अनुरोध गर्छु।’
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियानमा जनप्रतिनिधिलाई सहभागी हुन आह्वान गरेअनुरुप मुख्यमन्त्री गुरुङले २ विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका हुन्। उनले आफ्नो प्रदेशमा सबैलाई साक्षर बनाउने र कोही पनि विद्यालय जाने उमेरका बालबालिका शिक्षाबाट बञ्चित नहुने वातावरण बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले भर्ना गरेका विद्यार्थी अभिषेक नेपाली पोखरा ७ कै हुन् भने शिखा जिरेल दोलखाकी हुन्। नेपालीका बाबुआमा विपन्न छन्। उनका बाबु सिकिस्त बिरामी रहेको र आमाले घरेलु मजदुरी गरी जीवन निर्वाह गरेको जानकारी मुख्यमन्त्री गुरुङले दिए। जिरेल परिवार पनि भूकम्प पीडित भएर रोजगारीका लागि पोखरामा आएर मजदुरी गरिरहेको छ।
कास्कीका उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालका अनुसार जनप्रतिनिधिहरुले नै भर्ना अभियानमा चासो देखाएर सामुदायिक विद्यालयप्रति ध्यानाकर्षण गरेको पहिलोपटक भएको सुनाए। उनकै भनाइमा पोहोरसम्मको तथ्यांकअनुसार कास्कीमा विद्यालय जाने उमेरका ९७ प्रतिशत बालबालिका विद्यालयको पहुँचमा छन्।
श्रीकृष्ण माविका प्रधानाध्यापक केदार अधिकारीले आफ्नो विद्यालयमा ९ र १० मा बाहेकमा अंग्रेजी माध्यमबाट पढाइ भइरहेको जानकारी दिए। अंग्रेजी माध्यम सुरु गरेयता विद्यार्थी आकर्षित भइरहेको उनको भनाइ थियो।