राष्ट्रियसभा सांसदको पदावधीका लागि गोलाप्रथा
काठमाडौं : राष्ट्रियसभामा जुन सदस्य जुन क्लस्टरबाट आएको हो त्यही क्लस्टरका सदस्यबीच गोला हालेर पदावधी निर्धारण गरिने भएको छ। संसद् सचिवालयले तयार पारेको राष्ट्रियसभा सदस्यको पदावधीसम्बन्धी कार्यविधिमा चार क्लस्टर बनाएर सदस्यहरूबीच गोला हाल्ने उल्लेख छ।
राष्ट्रियसभा सांसदको पदावधी ६ वर्ष हुने भए पनि पहिलो पटक एक तिहाइ सदस्यको पदावधी प्रत्येक दुई वर्षमा सकिन्छ। ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको २ वर्ष, एक तिहाइको ४ वर्ष र एक तिहाइको कार्यकाल ६ वर्षको हुनेछ। पदावधी निर्धारण भने गोला प्रथाद्वारा हुनेछ।
संसद् सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्की नेतृत्वको समितिले तयार पारेको गोला प्रथाद्वारा पदावधी कायम गर्ने कार्यविधिमा खुला, महिला, मनोनीत तथा दलित÷अल्पसंख्यक गरी चार क्लस्टर बनाइएको छ। ७ वटा प्रदेशबाट खुलामा तीन र महिलामा तीन जना सदस्य निर्वाचित भएका थिए। कार्यविधिअनुसार प्रत्येक प्रदेशबाट खुलामा आएका तीन जना सांसदबीच गोला हालिनेछ। त्यसरी गोला हाल्दा प्रत्येक प्रदेशमा एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र एक जनाको ६ वर्षको कार्यकाल निर्धारण हुनेछ।
महिला कोटाबाट निर्वाचित सांसदबीच पनि खुला सदस्यकै जस्तो प्रदेशका तीन सांसदबीच गोला हाली २, ४ र ६ वर्षको कार्यकाल निर्धारण हुनेछ।
दलित र अल्पसंख्यक÷सिमान्तकृत कोटाबाट आएका सांसदको भने देशभरिकै एउटा क्लस्टर बनेको छ। यो कोटामा प्रत्येक प्रदेशबाट एक÷एक जनाका दरले दलित र अल्पसंख्यक वा सिमान्तकृत कोटामा सांसद निर्वाचित भएका थिए।
दलितबाट ७ र अल्पसंख्यक÷सिमान्तकृतबाट आएका ७ जना गरी १४ जनाको क्लस्टर बनाइएको छ। १४ जनामध्ये ४ जनाको २ वर्ष, ४ जनाको ४ वर्ष र ४ जनाको ६ वर्षको कार्यकाल हुनेछ। बाँकी २ जनामध्ये एक जनाको ४ र अर्कोको ६ वर्ष कार्यकाल हुने गरी कार्यविधिमा व्यवस्था गरिएको छ। मनोनीत कोटामा आएका तीन जनाबीच गोला हालिनेछ। एक जनाको २, अर्कोको ४ र अर्को एकजनाको ६ वर्षको कार्यकाल हुनेछ। राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको कार्यकाल पनि गोलाप्रथाद्वारा तय हुनेछ।
राष्ट्रियसभामा ७ प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए। सबै प्रदेशमा समान रूपमा सांसदको पदावधी कायम गर्न कार्यविधिमा प्रदेश स्तरका क्लस्टरमा गोला हाल्ने उल्लेख छ। ‘हामीले कार्यविधि बनाएर राष्ट्रियसभा अध्यक्षलाई दिएका छौं’, संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘अध्यक्षज्यूले अध्ययन गरिसकेपछि गोलामार्फत माननीयज्यूहरूको कार्यकाल निर्धारण गरिनेछ।’
राष्ट्रियसभा चुनाव माघ २४ मा भएको थियो। संसद्को पहिलो अधिवेशन चैत २० मा सकिए पनि कार्यविधि नबन्दा राष्ट्रियसभा सांसदहरूको पदावधी निर्धारण हुन सकेको छैन। ‘अब आगामी अधिवेशनसम्म पदावधी निर्धारण हुन्छ होला’, उनले भने, ‘राष्ट्रियसभा नियमावली पनि सँगसँगै तयार भइरहेकाले केही दिन ढिलाइ भएको हो।’